कुरा जोडकोणको – बस् 'युद्व' मात्रै आफैंमा सधैं गलत !

झुण्डयाइनुको १० दिनअघि दमस्कसमा सुनुवाइ गर्दाको क्षण, एली काेहेन (बायाँ) र उनका साथीहरु

माहोल युद्वको छ, त्यो पनि इजरायली भूमि, सेना, खुफिया एजेन्सी अनि एउटा देशले अर्कोलाई सिध्याउने खेल। यस्तो बेलामा एकपल्ट फेरि नेटफ्लिक्स खोलेर SPY त हेर्नै पर्यो।

SPY फ्रान्सको एउटा कम्पनीले बनाएको ड्रामा सिरिज हो। यो फ्रेन्च पुस्तक L'espion qui venait d'Israël मा आधारित छ। जसको अङ्ग्रेजी ट्रान्सलेसन "The Spy Who Came from Israel" हुन्छ। यो इजरायली खुफिया एजेन्सी मोसादको एक चर्चित एजेन्ट एली कोहेनको जीवनमा आधारित (या जीवनबाट प्रभावित) छ।

अरेबिक (मुस्लिम) मूलका कोहेल सुरुमा मुस्लिम या अरेबिक भएकाले मोसादमा भर्ती हुन पाउँदैनन्। तर, पछि मोसादलाई सिरियामा एक मुस्लिम एजेन्ट नै पठाउनुपर्ने भएपछि उनको सपना साकार हुन्छ। उनी बढो मुस्किल र खतरा झेलेर दक्षिण अमेरिका हुँदै सिरियामा पुग्छन् र त्यहाँ नामुद व्यापारी बन्छन्, कामेलको नाममा।

कामेल धनी र क्षमतावान भएकाले त्यहाँको सेना हुँदै राजनीतिज्ञसम्म पुग्छन्। मान्छेलाई प्रयोग गर्न र धोका दिन सक्ने खुबिका कारण राष्ट्रपतिसँग नजिक हुँदै सिरियाको रक्षा मन्त्रालयको सहायकमन्त्रीसम्म बन्छन्। उनले मोसादलाई र आफ्नो देश इजरायलका लागि यति धेरै योगदान गर्छन् कि दुनियाँमा कुनै एजेन्टले आफ्नो देशको लागि त्यसको छेउछाउसम्म पनि गर्नै सक्दैन। उनले ठूलो जोखिम उठाएर आफ्नो देशलाई भयंकर गुन लगाउँछन्– अन्तिम साससम्म, नझुन्ड्याउन्जेलसम्म!

पहिला जासूस कामेललाई इजरायलको "हिरो" का रूपमा हेरियो। उनले गरेका हरेक कामको गर्ब गरेर हेरियो। उनले उठाएका हरेक जोखिम डराएर हेरियो। उनलाई पूरा समर्थन गरेर हेरियो। त्यति मात्रै होइन, आफै कामेल बनेर हेरियो।

यसपाली SPY फेरि हेरियो, फरक पाटोबाट। यसपालि आफू सिरियाली बनेर हेरियो। एउटा विदेशी एजेन्ट आफ्नो देशमा छद्म भेषमा पसेर आफ्ना देशका नागरिकले, सेनाले, राजनीतिज्ञले गरेको विश्वास र दिएको आतिथ्यताबाट गलत फाइदा उठाएको पाटोबाट हेरियो। यसपाली कामेललाई एक भिलेन मानेर पनि हेरियो। कामेल पस्नु अगाडिको स्वर्ग सिरिया र आजको नर्क सिरियाबीचको फरकपन तुलना गरेर पनि हेरियो।

तपाईंले कुन कोणबाट हेर्नुहुन्छ, दुबै कोणको लागि 'परफेक्ट' छन् कामेलहरु,मोस्सदहरु, हमासहरु, इजरायलहरु, प्यालेस्टाइनहरु, रुसहरु, युक्रेनहरु, मर्नेहरु, मार्नेहरु, लड्ने लडाकुहरु, भाग्ने भगौडाहरु, युद्वसँग सम्बन्धित अरु सबै "हरु"। हरेकका कथा आफ्नो ठाउँमा सही छन्। तिनका कथा बिपक्षीका कोणबाट हेर्दा गलत पनि छन्।

बस् 'युद्व' आफैमा सधैं गलत छ।