खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या

गत जुनमा, म सन् २०२६ को ReFED फूड वेस्ट सोलुसन समिट (खाद्य अपव्यय समाधान सम्मेलन) मा जाँदा खाद्य सामग्रीको पुनःप्राप्ति, तिनलाई खेर जान नदिने रणनीतिहरू र उदयमान प्रविधिहरूका बारेमा छलफल हुने अपेक्षामा थिएँ। ती विषयहरूमा छलफल त भए, तर म भने त्योभन्दा धेरै ठूलो र गहिरो विषयबारे सोच्दै फर्किएँ।

नीति, प्रविधि, आपूर्ति श्रृङ्खला  र सामुदायिक साझेदारीका दायराहरूमा भएका अनेकौँ छलफलहरूमा एउटा फरक ढाँचा वा प्रवृत्ति देखा पर्‍यो: खाद्य अपव्यय कहिल्यै पनि एउटा छुट्टै वा एक्लो समस्याका रूपमा प्रस्तुत भएन। यसको सट्टा, यो त हाम्रा गहिरा प्रणालीगत असफलताहरू र कमजोर सम्बन्धहरूको सङ्केतका रूपमा अगाडि आयो।

मैले जति धेरै सुन्दै गएँ, खाद्य अपव्ययलाई केवल ‘अपव्ययको समस्या’ मात्र सोच्न मलाई त्यति नै गाह्रो हुँदै गयो।

खाद्य अपव्ययका समाधानहरू पनि पुनःप्राप्ति, पुनर्वितरण, कम्पोस्टिङ वा व्यवस्थापनमै सीमित गरेर तय गरिन्छन्। यी प्रयासहरू पक्कै पनि महत्त्वपूर्ण छन्। तर, समस्या उत्पन्न गराउने मूल कारणहरूलाई पूर्ण रूपमा सम्बोधन नगरी केवल बाहिरी लक्षणहरूमा मात्र ध्यान केन्द्रित हुने जोखिम पनि यसमा रहन्छ।

खाद्य अपव्ययलाई प्रायः अत्यधिक उत्पादन, खरिद वा उत्सर्जन जस्ता अतिको समस्याका रूपमा हेर्ने गरिन्छ। त्यसैगरी, यसका समाधानहरू पनि पुनःप्राप्ति, पुनर्वितरण, कम्पोस्टिङ वा व्यवस्थापनमै सीमित गरेर तय गरिन्छन्। यी प्रयासहरू पक्कै पनि महत्त्वपूर्ण छन्। तर, समस्या उत्पन्न गराउने मूल कारणहरूलाई पूर्ण रूपमा सम्बोधन नगरी केवल बाहिरी लक्षणहरूमा मात्र ध्यान केन्द्रित हुने जोखिम पनि यसमा रहन्छ।

सम्मेलनभरि स्पष्ट भएको कुरा के थियो भने खाद्य अपव्यय एकैसाथ सञ्चालित बहुप्रणालीहरूको चौबाटोमा उभिएको छ। यसले स्रोतसाधनहरू कसरी परिचालन हुन्छन्, प्रोत्साहन वा लाभहरू कसरी संरचना गरिन्छन्, सूचनाहरू कसरी आदानप्रदान हुन्छन् र मानिसहरूले आफ्नो वरपरका प्रणालीहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरालाई प्रतिबिम्बित गर्दछ।

अर्थशास्त्रले विस्तार र पहुँच तय गर्छ

वक्ताहरूले प्रविधि, सञ्चालन वा साझेदारी, जुनसुकै विषयमा कुरा गरे पनि एउटा विषय भने पटक-पटक उठिरह्यो: केवल उद्देश्यले मात्र कुनै कुराको प्रयोग वा प्रवर्द्धन गराउन सक्दैन।

धेरै संस्थाहरू लोभलाग्दा उद्देश्य र स्पष्ट निष्ठाका साथ दिगोपनाका कामहरूमा प्रवेश गर्छन्। तर, केवल राम्रा नीयत वा भावनाले मात्र कुनै समाधान सफल हुन्छ वा हुँदैन भन्ने कुराको निर्धारण बिरलै गर्छन्। सञ्चालनका व्यावहारिक यथार्थहरू अझै पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्; लागत, कार्यान्वयनको सहजता र विद्यमान कार्यशैलीहरूले अझै पनि ठूलो अर्थ राख्छन्।

कतिपय वक्ताहरूले संस्था वा समुदायहरूलाई उनीहरूको काम गर्ने तरिका पूर्ण रूपमा फेर्न आग्रह गर्नुको साटो, ग्राहकका सञ्चालन प्रक्रियाहरू बुझ्न र उनीहरूका झन्झट वा कठिनाइहरू घटाउनमा जोड दिएका थिए। व्यावहारिक रूपमा भन्नुपर्दा, सफल समाधानहरूले बिल्कुलै नयाँ प्रणालीको माग गर्नुको साटो विद्यमान प्रणालीमै सहज रूपमा अटाउने बाटो रोज्छन्।

यो निष्कर्ष खाद्य अपव्ययको दायराभन्दा धेरै माथिसम्म विस्तार हुन्छ।

दिगोपनाका पहलहरूलाई प्रायः यसरी छलफल गरिन्छ मानौं पर्यावरणीय लाभ आफैँमा एउटा पर्याप्त प्रेरणा हो। तर वास्तविकतामा, संस्थाहरूले एकैसाथ अनेकौँ दबाबहरू सन्तुलनमा राख्नुपर्ने हुन्छ: बजेट, जनशक्तिको सीमा, सञ्चालनगत बाध्यताहरू र प्रतिस्पर्धी प्राथमिकताहरू। तसर्थ, पहुँच विस्तार गर्न सफल समाधानहरूले एकैसाथ एकभन्दा बढी समस्याहरूको समाधान गर्छन्। तिनले पर्यावरणीय परिणामका साथसाथै लागत घटाउँछन्, कार्यकुशलता बढाउँछन्, जोखिम न्यूनीकरण गर्छन् वा अतिरिक्त मूल्य सिर्जना गर्छन्।

खाद्य अपव्यय अन्ततः एउटा प्रणालीगत चुनौती नै हो भने, ती प्रणालीहरूभित्र निहित प्रोत्साहनहरूलाई बुझ्नु आफैँमा अपव्ययको प्रकृति बुझ्नु जत्तिकै महत्त्वपूर्ण हुन जान्छ।

यसले मूल उद्देश्यको महत्त्वलाई घटाउँदैन; बरु यसले हामीले चाहेर वा नचाहेर, प्रणालीहरूले प्रोत्साहन प्रति कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरालाई सहज रूपमा स्वीकार गर्छ।

र यदि खाद्य अपव्यय अन्ततः एउटा प्रणालीगत चुनौती नै हो भने, ती प्रणालीहरूभित्र निहित प्रोत्साहनहरूलाई बुझ्नु आफैँमा अपव्ययको प्रकृति बुझ्नु जत्तिकै महत्त्वपूर्ण हुन जान्छ।

अदृश्य पूर्वाधारको समस्या

पटक-पटक दोहोरिएको अर्को विषय के थियो भने हामी कतिपय अवस्थामा देखिने खालका नवीनताहरूमा ध्यान केन्द्रित गर्छौँ, तर ती नवीनताहरूलाई सम्भव बनाउने प्रणालीहरूलाई भने ओझेलमा पार्छौँ। यसले मलाई रूखहरू हेर्दा जङ्गल नै नदेखिने अवधारणाको सम्झना गरायो। हामी आफ्नो ठिक अगाडि रहेको समाधानमा ध्यान दिन्छौँ, तर त्यसको वरपर सञ्चालित बृहत् प्रणालीलाई भने छुटाइरहेका हुन्छौँ।

कहिलेकाहीँ पूर्वाधार डेटाका मापदण्डहरू, साझा सूचना प्रणालीहरू, मापनका खाकाहरू  वा विभिन्न संस्था र क्षेत्रहरूबीचको सञ्चालनगत समन्वयका रूपमा पनि रहन्छ।

जब मानिसहरू पूर्वाधारको बारेमा सोच्छन्, उनीहरू प्रायः बाटो, भवन, मेसिनरी वा अन्य भौतिक संरचनाहरूको कल्पना गर्छन्। तर पूर्वाधार सधैँ देखिने खालको मात्र हुँदैन। कहिलेकाहीँ पूर्वाधार डेटाका मापदण्डहरू, साझा सूचना प्रणालीहरू, मापनका खाकाहरू  वा विभिन्न संस्था र क्षेत्रहरूबीचको सञ्चालनगत समन्वयका रूपमा पनि रहन्छ।

यो विचार धेरै सत्रहरूमा उठ्यो, विशेष गरी मापनलाई सार्थक बनाउने महत्त्वमा केन्द्रित एउटा सत्रमा, जहाँ छलफलहरू केवल कानुनी पालनाको प्रतिवेदन भन्दा माथि उठेर सञ्चालनगत निर्णय प्रक्रियातर्फ अगाडि बढेका थिए। खाद्य क्षति र अपव्ययलाई केवल पर्यावरणीय चिन्ताका रूपमा मात्र नहेरी अर्थशास्त्र, कार्यकुशलता र संस्थागत कार्यक्षमतासँग प्रत्यक्ष जोडिएका विषयका रूपमा छलफल गरियो। त्यहाँ परिष्कृत मापनलाई तथ्याङ्क सङ्कलन गर्ने माध्यमका रूपमा मात्र नभई निर्णय प्रक्रियामा सुधार ल्याउने तरिकाका रूपमा प्रस्तुत गरिएको थियो।

वक्ताहरूले एउटा परिचित चुनौतीलाई पनि स्वीकार गरे: उपयोगी तथ्याङ्क सङ्कलन गर्नु र विभिन्न प्रणालीहरूबीच आपसमा मिलेर काम गर्न सक्ने क्षमता (interoperability) सिर्जना गर्नु अझै पनि कठिन छ। सूचनाहरू प्रायः छुट्टाछुट्टै प्रणालीहरूमा, फरक-फरक व्यक्ति वा संस्थाहरूसँग र असमान ढाँचाहरूमा रहेका हुन्छन्। आपूर्ति श्रृङ्खलाको पारदर्शीतामा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै, केही छलफलहरूले साझा मापदण्ड र एकीकृत पहुँचले कसरी मजबुत आधार सिर्जना गर्न सक्छन् भन्ने उदाहरणका रूपमा कार्बन क्षेत्रमा भइरहेका कामहरूलाई औँल्याएका थिए।

खाद्य अपव्ययलाई प्रायः हामीले प्रत्यक्ष रूपमा फ्याँकिएको देख्ने खानेकुराका रूपमा मात्र बुझ्ने गरिन्छ। तर यसको प्रभाव ल्याण्डफिल वा कम्पोस्ट बिनमा पुग्ने कुराभन्दा धेरै माथिसम्म फैलिएको छ।

खाद्य अपव्ययको वास्तविक जलवायु लागतमा केन्द्रित अर्को छुट्टै सत्रले मापन किन महत्त्वपूर्ण छ भन्ने अर्को कारणलाई उजागर गर्‍यो। खाद्य अपव्ययलाई प्रायः हामीले प्रत्यक्ष रूपमा फ्याँकिएको देख्ने खानेकुराका रूपमा मात्र बुझ्ने गरिन्छ। तर यसको प्रभाव ल्याण्डफिल वा कम्पोस्ट बिनमा पुग्ने कुराभन्दा धेरै माथिसम्म फैलिएको छ। मलखाद, रेफ्रिजेरेंट(refrigerants), यातायात प्रणाली, अन्तर्निहित जल उपयोग, अनि मिथेन र नाइट्रस अक्साइड जस्ता कडा प्रदूषकहरूसँग जोडिएका उत्सर्जनहरू सबै वातावरणीय र आर्थिक प्रभावहरूको एउटा धेरै ठूलो सञ्जालभित्र अस्तित्वमा रहेका हुन्छन्।

यस प्रणालीको ठूलो हिस्सा हाम्रो प्रत्यक्ष दृष्टिभन्दा बाहिर रहेको छ।

यदि हामीले यी प्रणालीहरू कसरी सञ्चालन हुन्छन् भन्ने कुरा अझ राम्ररी बुझ्न आवश्यक मसिनो वा सूक्ष्म डेटा सङ्कलन गर्न सक्यौँ भने हामीले अन्यथा ओझेलमै रहने सम्भावना र अवसरहरूलाई उजागर गर्न थाल्छौँ। डेटाले अक्षमताहरू देखाउन, ढाँचाहरू पहिचान गर्न र निर्णय प्रक्रियालाई मजबुत बनाउन सक्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यसले हामीलाई अझ उत्तम प्रश्नहरू सोध्न मद्दत गर्न सक्छ।

म सामुदायिक उत्थानशीलता र ऊर्जा रूपान्तरणका कामहरूमा पनि यस्तै किसिमको गतिशीलता देख्छु। यी क्षेत्रहरूमा हुने प्रगति प्रायः हामीले पहिले नजरअन्दाज गरेका कुराहरूलाई मापन गर्ने र सुरुमा अदृश्य लाग्ने सङ्केतहरूमा ध्यान दिने कुरामा निर्भर हुन्छ। डेटा आफैँमा अन्तिम लक्ष्य होइन। लक्ष्य त प्रणालीहरू वास्तवमा कसरी काम गर्छन् भन्ने कुराको स्पष्ट समझ सिर्जना गर्नु हो, ताकि समाधानहरू अझ बृहत् सोच र उद्देश्यका साथ तयार पार्न सकियोस्।

अन्य शब्दमा भन्नुपर्दा, पूर्वाधार सधैँ हामीले निर्माण गर्ने भौतिक वस्तु मात्र हुँदैन। कहिलेकाहीँ पूर्वाधार भनेको हामीले देख्न सिक्ने दृष्टिकोण पनि हो।

खाद्य अपव्ययले आपसमा जोडिएका प्रणालीहरूलाई उजागर गर्छ

खाद्य अपव्यय एकैसाथ पर्यावरणीय, सामाजिक र आर्थिक मुद्दा हो। सम्मेलनभरि मैले जति धेरै सुन्दै गएँ, एउटा प्रभावलाई अर्कोबाट अलग गर्न त्यति नै गाह्रो हुँदै गयो; किनकि एउटा सानो धागो मात्र तान्दा पनि त्यसमुनि एउटा सिङ्गो सञ्जाल नै जोडिएर आउँथ्यो।

एउटा सत्रमा, मेरो मनमा गडेको एउटा तथ्याङ्क के थियो भने—अमेरिकामा खपत हुने कुल पानीको करिब ८०% भाग कृषि क्षेत्रले प्रयोग गर्छ। बाहिरबाट हेर्दा यो सामान्य सुनिन्छ। तर जब हामी अन्ततः खेर जाने वा अपव्यय हुने खानेकुराबारे सोच्छौँ, त्यो सङ्ख्याले अचानक धेरै ठूलो अर्थ बोक्छ: भू-उपयोग, सिँचाइ प्रणाली, ऊर्जाको प्रयोग, श्रम, यातायात र खाद्यान्नलाई खेतदेखि उपभोक्तासम्म पुर्‍याउन आवश्यक पर्ने सम्पूर्ण स्रोतसाधन।

ReFED को हालैको प्रतिवेदनले पनि यो अन्तरसम्बन्धलाई थप बल पुर्‍याउँछ। उक्त संस्थाको अनुमान अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२४ मा करिब ७ करोड टन अतिरिक्त खाद्यान्न सिर्जना भएको थियो, जुन देशको कुल खाद्यान्न आपूर्तिको लगभग २९% हो। उक्त अतिरिक्त खाद्यान्नको अनुमानित मूल्य ३८० अर्ब अमेरिकी डलर थियो भने त्यसले ५ करोड १० लाख कारहरूले एक वर्षमा उत्सर्जन गरेसरहको हरितगृह ग्यास सिर्जना गरेको थियो।

खाद्य अपव्यय ल्याण्डफिलमा पुग्ने कुरामा मात्र सीमित छैन। यो कोल्ड चेनहरूलाई सञ्चालन गर्ने ऊर्जा, कृषि उत्पादनभरि प्रयोग हुने पानी, आपूर्ति श्रृङ्खलाहरूमा लगानी गरिएका आर्थिक स्रोतहरू र अन्ततः त्यस प्रक्रियाको प्रत्येक चरणसँग जोडिएका मानिसहरूसँग पनि उत्तिकै जोडिएको छ।

यी तथ्याङ्कहरूले खाद्य अपव्यय अन्य प्रणालीहरूमा कत्तिको गहिरोसँग जेलिएको छ भन्ने कुरा उजागर गर्छन्। खाद्य अपव्यय ल्याण्डफिलमा पुग्ने कुरामा मात्र सीमित छैन। यो कोल्ड चेनहरूलाई सञ्चालन गर्ने ऊर्जा, कृषि उत्पादनभरि प्रयोग हुने पानी, आपूर्ति श्रृङ्खलाहरूमा लगानी गरिएका आर्थिक स्रोतहरू र अन्ततः त्यस प्रक्रियाको प्रत्येक चरणसँग जोडिएका मानिसहरूसँग पनि उत्तिकै जोडिएको छ।

यसले अर्को प्रश्न उब्जाउँछ: यदि प्रणालीहरू सञ्चालन हुन मानिसहरूमै निर्भर हुन्छन् भने, समाधानहरूमा मानिसहरूको स्थान कहाँ रहन्छ?

उत्थानशीलता प्रविधिमा मात्र होइन, मानिसहरूमा निर्भर हुन्छ

प्रविधिले मात्रै उत्थानशील वा दिगो प्रणालीहरू निर्माण गर्न सक्दैन।

सम्मेलनभरि, एआई (AI) र नवीनताका वरपर भएका छलफलहरूले पूर्वानुमान, सञ्चालनगत कार्यकुशलता र निर्णय प्रक्रियामा सुधार ल्याउने रोमाञ्चक सम्भावनाहरूलाई उजागर गरे। मलाई विश्वास छ कि त्यहाँ अर्थपूर्ण सम्भावनाहरू छन्। तर साथसाथै, म आफैँ अर्को एउटा विचारतर्फ मोडिएँ: यसको समाधान सम्भवतः प्रविधिको विकास र मानवीय सहभागिताको बीचमा कहीँ न कहीँ अवस्थित छ।

यदि मानिसहरू नै खाद्य प्रणालीबाट अलग थलग छन् भने, सबैभन्दा बलियो प्रविधिले पनि निश्चित सीमासम्म मात्र काम गर्न सक्छ। धेरै जसो छलफलहरूले केवल डरमा आधारित कथ्यहरूमा भर पर्नुको साटो सकारात्मक सन्देश दिने र मानिसहरू जहाँ छन्, उनीहरूलाई त्यहीँबाट जोड्ने महत्त्वमा जोड दिएका थिए। उपभोक्ताहरूलाई खाद्य अपव्ययसँगको उनीहरूको आफ्नै सम्बन्ध बुझ्न प्रोत्साहित गर्नाले केवल अमूर्त तथ्याङ्कहरू प्रस्तुत गर्नुभन्दा बढी दिगो र दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।

ReFED  का निष्कर्षहरूले यसको प्रमाण अगाडि नै देखिइसकेको सङ्केत गर्छन्। किनमेल, भोजनको योजना र खाद्यान्न व्यवस्थापनसम्बन्धी घरायसी व्यवहारहरूमा आएका परिवर्तनहरूले हालैका वर्षहरूमा खाद्य अपव्यय घटाउन योगदान पुर्‍याएका छन्। निस्सन्देह, मजबुत प्रणालीहरू अझै पनि तिनमा सहभागी हुन इच्छुक मानिसहरूमै निर्भर रहन्छन्।

प्रविधिले हामीलाई अझ द्रुत गतिमा अघि बढ्न मद्दत गर्ला, तर प्रणालीहरू अन्ततः टिकिरहन्छन् वा रहँदैनन् भन्ने कुरा निर्धारण गर्ने मुख्य कडी भने मानिसहरू नै हुन्।

त्यो सहभागिता स्थानीय स्तरमै हुने गर्छ। यो तब सम्भव हुन्छ जब समुदायहरू साझा आवश्यकताहरूका लागि एकीकृत हुन्छन्, जब मानिसहरूले एक-अर्कालाई सिकाउँछन् र जब समाधानहरू दैनिक जीवनको हिस्सा बन्छन्। चाहे त्यो सहरी खाद्य बगैँचा मार्फत होस्, खाद्य सहकारीहरू मार्फत होस् वा पहुँच र उत्थानशीलता सुधार गर्ने स्थानीय प्रयासहरू मार्फत। समस्या समाधानका लागि समुदायहरू एकजुट भएका उदाहरणहरूबाट मैले सधैँ प्रेरणा पाएको छु।

प्रविधिका पक्षधरहरूको तर्क मान्ने हो भने, प्रविधिले हामीलाई अझ द्रुत गतिमा अघि बढ्न मद्दत गर्ला, तर प्रणालीहरू अन्ततः टिकिरहन्छन् वा रहँदैनन् भन्ने कुरा निर्धारण गर्ने मुख्य कडी भने मानिसहरू नै हुन्।

दिगोपनाका चुनौतीहरू विरलै कुनै एउटा निश्चित वर्ग वा दायराभित्र सीमित हुन्छन् भन्ने कुराको सम्भवतः सबैभन्दा स्पष्ट उदाहरण खाद्य अपव्यय हो। यी समस्याहरू विभिन्न क्षेत्र, समुदाय र संस्थाहरूको बीचमा विद्यमान हुन्छन्, जसले हामीले सूक्ष्म रूपमा हेर्न सुरु नगरेसम्म छुट्न सक्ने अन्तरसम्बन्धहरूलाई उजागर गरिदिन्छन्।

यदि खाद्य अपव्यय अन्ततः एउटा प्रणालीगत चुनौती नै हो भने, समाधानका लागि हामीले के फ्याँकिन्छ भन्ने कुराभन्दा बढी त्यसको वरपर हामीले कस्तो प्रणाली निर्माण गर्छौँ भन्नेबारे सोच्न आवश्यक हुन्छ। किनकि जब हामी प्रणालीहरूलाई मजबुत बनाउँछौँ, तब हामी केवल अपव्यय मात्र घटाइरहेका हुँदैनौँ; हामी अझ स्वस्थ समुदाय, अझ उत्थानशील पूर्वाधार र अझ दिगो भविष्यका लागि अनुकूल वातावरण पनि सिर्जना गरिरहेका हुन्छौँ।

Source: https://www.resilience.org/

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/

बेभर्ली पोपोला

बेभर्ली पोपोला दिगोपना रणनीति, सरोकारवालाहरूको सहभागिता र जलवायु-सम्बन्धी पहलहरूमा काम गरेको अनुभव भएका दिगोपना (Sustainability) विज्ञ हुन्छ। उनको कार्यक्षेत्र जटिल वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न लचिलोपन (Resilience), प्रणालीगत सोच (Systems thinking) र समुदाय-केन्द्रित दृष्टिकोणहरूको सङ्गममा आधारित छ। उनले हालै अमेरिकन युनिभर्सिटीबाट 'सस्टेन्याबिलिटी म्यानेजमेन्ट' (दिगोपना व्यवस्थापन) मा स्नातकोत्तर (M.S.) पूरा गरेकी छिन्।