थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको नयाँ संकट

पश्चिम एशियाको भूराजनीतिक रङ्गमञ्चमा केही समयदेखि थामिएको जस्तो देखिएको युद्ध पुनः एकपटक भयानक रूपमा भड्किएको छ। सन् २०२६ को अप्रिल महिनामा भएको युद्धविराम र द्विपक्षीय समझदारी पत्र (MoU) सँगै केही शान्त बनेको अमेरिका-इजरायलले इरानमाथि जबरजस्ती थोपरेको युद्ध एकाएक विस्फोटको बिन्दुमा पुगेको छ। पछिल्लो २४ घण्टामा भएका सैन्य आक्रमण र प्रत्याक्रमणका शृङ्खलाहरूले यस क्षेत्रलाई पूर्णकालीन क्षेत्रीय युद्धको सँघारमा धकेलिदिएका छन्।

बहराइन र कुवेतमा मध्यरातदेखि बजिरहेका हवाई आक्रमणका चेतावनी सूचक 'साइरन' हरू, इरानी भूमिमा अमेरिकी लडाकु विमान र ड्रोनहरूको भीषण बमबारी, र स्ट्रेट अफ हर्मुज (Strait of Hormuz) मा व्यापारिक जहाजहरूमाथिका आक्रमणका घटनाहरुले युद्धलाई स्थायी विराम दिने कूटनीतिक प्रयासहरू लगभग असफल भइसकेका छन् भन्ने संकेत गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अंकारामा जारी नेटो (NATO) शिखर सम्मेलनकै बीच इरानमाथि ‘शक्तिशाली प्रहार’ गरिएको घोषणा गरेका छन् । उता इरानले पनि अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै भयानक प्रत्याक्रमण गरेर अमेरिकी आक्रमणको तीव्र बदला लिइरहेको छ।

युद्ध भड्किनुको कडी: स्ट्रेट अफ हर्मुज र 'एमओयू' को फरक व्याख्या

यो नयाँ सैन्य टकरावको मुख्य जड रणनीतिक र आर्थिक रूपमा निकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज को नियन्त्रण र गत अप्रिलमा अमेरिका र इरानबीच भएको समझदारी पत्र (MoU) को व्याख्यामा रहेको छ।

द्वन्द्वको सुरुवात: गत जुन २४ मा ओमान र संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (IMO) ले खाडीमा फसेका जहाजहरू सुरक्षित रूपमा बाहिर निकाल्न ओमानको तट हुँदै एउटा अस्थायी करिडोर (मार्ग) को घोषणा गरेका थिए । त्यसको सुरक्षाको जिम्मा अमेरिकाले लिएको थियो। इरानले यस कदमलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै तत्कालै अस्वीकार गर्‍यो र आफ्नो अनुमति बिना कुनै पनि जहाजलाई सो मार्ग प्रयोग नगर्न चेतावनी दियो।

शृङ्खलाबद्ध आक्रमण: जुनको अन्त्यतिर सो ओमान मार्ग प्रयोग गर्ने दुई जहाजमाथि आक्रमण भएपछि आईएमओको उद्धार योजना रोकिएको थियो। त्यसपछि २६ र २७ जुनमा अमेरिकाले इरानी तटमा हमला गर्‍यो, जसको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी अखडातर्फ मिसाइल प्रहार गर्‍यो। जुन २८ मा केही समयका लागि युद्ध थामिए पनि र जुलाई १ मा कतारमा अप्रत्यक्ष प्राविधिक वार्ता भए पनि त्यसले निकास दिन सकेन।

ताजा विष्फोट: गत मंगलबार स्ट्रेट अफ हर्मुजमा कतारी र साउदी ट्याङ्करसहित तीनवटा व्यापारिक जहाजमाथि पुनः आक्रमण भयो। अमेरिकाले यसको सीधा दोष इरानमाथि थोपर्दै इरानी सैन्य संरचना ध्वस्त पार्ने गरी भीषण हवाई हमला सुरु गर्‍यो।

यो द्वन्द्व मुख्य रूपमा एमओयूको धारा ४ र ५ को उल्लङ्घनसँग जोडिएको छ। धारा ४ अन्तर्गत अमेरिकाले इरानमाथिको आंशिक नौसैनिक नाकाबन्दी हटाउने र तेल बिक्री गर्न दिने सहमति गरेको थियो भने धारा ५ अन्तर्गत इरानले अन्तर्राष्ट्रिय जहाजहरूलाई बिना अवरोध र बिना शुल्क आवतजावत गर्न दिने तथा बन्द गरिएका जलमार्गहरू खोल्न मद्दत गर्ने प्रतिबद्धता जनाएको थियो। अमेरिकी दाबी अनुसार  इरानले नागरिक जहाजहरूमाथि आक्रमण गरेर धारा ५ को खुला उल्लङ्घन गरेको छ । त्यसैले अहिलेको सैन्य कदम चालिएको हो ।

अमेरिकी बमबारी र इरानको प्रत्याक्रमण

बुधबार बिहानैदेखि दुवै पक्षले एकअर्कामाथि अभूतपूर्व सैन्य शक्ति प्रयोग गरिरहेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले इरानभित्र ८० भन्दा बढी रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेको दावी गरेको छ।

 अमेरिकी वायुसेनाले इरानको दक्षिणी प्रान्त हर्मोजगान र बन्दर माहशहरको बन्दरगाह सहरलाई मुख्य निशाना बनाएको छ। विभिन्न सञ्चार माध्यमहरुले जनाएअनुसार केशम टापुमा ७ वटा फरक-फरक सैन्य स्थानमा अमेरिकी हमला भएको छ। स्ट्रेट अफ हर्मुजको ठीक अगाडि रहेको सिरिक सहरमा ६ वटा स्थानमा बमबारी भएको छ, जहाँ माछा मार्ने घाट र नागरिक पूर्वाधारमा समेत क्षति पुगेको इरानी सञ्चारमाध्यमको दाबी छ।

त्यसैगरी बन्दर अब्बासमा दूरसञ्चार टावरहरू सहित १० वटा स्थानमा अमेरिकी मिसाइल खसेका छन्। इरानको अर्ध-सरकारी एजेन्सी 'फार्स' का अनुसार बु बुशहर प्रान्तको दाश्ती र चोगादक नजिकैका दुईवटा सैन्य शिविरमा शत्रुको क्षेप्यास्त्र प्रहार भएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले अमेरिकी आक्रमणको जवाफमा बहराइन र कुवेतमा रहेका ८५ वटा अमेरिकी सैन्य प्रतिष्ठानहरू लाई निशाना बनाएर संयुक्त ड्रोन र मिसाइल अपरेसन सञ्चालन गरेको घोषणा गरेको छ।

बहराइनमा सन्त्रास

 बहराइनको सलमान पोर्टमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडिको मुख्यालय (US Fifth Fleet) र शेख इसा एयर बेस (Sheikh Isa Air Base) लाई लक्षित गरी इरानले व्यापक ड्रोन आक्रमण गरेको छ। बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा शरण लिन चेतावनी जारी गर्दै चौथो पटकसम्म हवाई आक्रमणको साइरन बजाएको छ।

कुवेतमा आक्रमण

कुवेतको अली अल सालेम एयरबेस (Ali Al Salem Airbase) मा इरानी मिसाइल र ड्रोन प्रहार भएपछि कुवेती सेनाले 'शत्रुतापूर्ण आक्रमण' को प्रतिकार गरिरहेको जनाएको छ।

ड्रोन खसालिएको दाबी

इरानले बुशहर प्रान्तको खोरमुज आकाशमा अमेरिकी सेनाको शक्तिशाली MQ-9 रीपर (Reaper) ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको दाबी गरेको छ। साथै बन्दर माहशहरमा अमेरिकी ड्रोनसँगको भिडन्तमा इरानी नौसेना (IRGC Navy) का एक सदस्यको मृत्यु भएको छ।

आर्थिक नाकाबन्दीको पुनरागमन: इरानी अर्थतन्त्रमाथि अन्तिम प्रहार?

सैन्य आक्रमण सँगसँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध फेरि लागू गरेको छ। अमेरिकी वित्त मन्त्रालयले इरानी तेल र पेट्रोकेमिकल निर्यातमाथि यसअघि खुकुलो पारिएका सबै प्रतिबन्धहरू जुलाई १७ देखि लागू हुने गरी पुनः ब्युँताएको घोषणा गरेको छ।

विगत कैयन दशकदेखि अमेरिकी नाकाबन्दी भोगिरहेको इरानलाई यो प्रतिबन्धले के कस्तो असर पार्ला त भन्ने हेर्न बाँकी छ ।

कतिपय विश्लेषकहरुका अनुसार विगत लामो समयदेखि जारी आर्थिक नाकाबन्दीले इरानको अर्थतन्त्र धरमराउने स्थितिमा पुगिसकेको छ । युद्धले त्यसलाई झनै थिलथिलो पारेको छ । यो स्थितिमा इरानका लागि अर्थतन्त्र टिकाउने एकमात्र लाइफलाइन तेल र पेट्रोकेमिकल निर्यात नै थियो, जुन एमओयूका कारण सम्भव भएको थियो। अब प्रतिबन्धहरू पुनः लागू भएपछि एमओयूको धारा १० स्वतः खारेज हुनेछ र जारी शान्ति वार्ता पूर्ण रूपमा समाप्त हुनेछ।

भूराजनीतिक दाउपेच र आन्तरिक राजनीतिको रसायन

यो युद्ध केवल सैन्य मैदानमा मात्र होइन, अन्तर्राष्ट्रिय कूटनीति र देशहरूका आन्तरिक राजनीतिमा पनि उत्तिकै जटिल मोडमा खेलिँदैछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा छन्। त्यहाँबाट उनले इरानका शासकहरूलाई ‘अति खतरनाक र मानसिक रूपमा अस्वस्थ’ भन्दै आफ्नो पछिल्लो आक्रमणको बचाउ गरेका छन्। नेटोका महासचिव मार्क रुट्टे र डच प्रधानमन्त्री रोब जेटेनले अमेरिकी कदमको समर्थन गर्दै युद्धविराम उल्लङ्घन गर्ने इरानलाई पाठ सिकाउन यो आक्रमण ‘पूर्ण रूपमा आवश्यक’ रहेको बताएका छन्।

इरानको रणनीतिक दाउपेच र खामेनीको शवयात्रा

यो युद्ध यस्तो समयमा भड्किएको छ, जब इरान आफ्ना भर्खरै मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ७ दिने राजकीय शोक र शवयात्रामा डुबेको छ। इराकको पवित्र सहर नजफ र कर्बलामा २३ लाखभन्दा बढी मानिस खामेनीको अन्तिम संस्कारको जुलुसमा सहभागी भइरहेका छन्।

इरानले यो ऐतिहासिक र धार्मिक भावनात्मक क्षणलाई फितलो बनाउन अमेरिकाले जानाजानी यही समयमा आक्रमण गरेको आरोप लगाएको छ। अवकाशप्राप्त अमेरिकी नौसैनिक अधिकारी हार्लन उल्मनका अनुसार इरानले जानाजानी खामेनीको शवयात्रा र नेटो सम्मेलनको समय पारेर अमेरिकालाई जिस्क्याउने रणनीति लिएको हो। इरानलाई थाहा छ कि अमेरिकाले शोक मनाइरहेका विशाल जनसागरमाथि आक्रमण गर्न सक्दैन, किनकि त्यसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराध मानिनेछ। यही 'रणनीतिक ढाल' को प्रयोग गरेर इरान वार्तामा आफ्नो पल्ला भारी बनाउन अमेरिकामाथि दबाब बढाउन चाहन्छ।

रोचक कुरा के छ भने, ट्रम्पको यो सैन्य कदमको विरोध अमेरिकाभित्रै उनको आफ्नै राजनीतिक आन्दोलन 'मागा– मेक अमेरिका ग्रेट अगेन'का पूर्व हस्तीहरूले गर्न थालेका छन्। पूर्व रिपब्लिकन सांसद मारजोरी टेलर ग्रीनले सामाजिक सञ्जाल एक्स (X) मा कडा व्यङ्ग्य गर्दै लेखेकी छन्:

‘म त निकै खुसी छु कि ट्रम्पले सधैंभरि चलिरहने वैदेशिक युद्धहरू (forever foreign wars) अन्त्य गर्न राष्ट्रपतिको चुनाव लडेका थिए! नत्र त मलाई लाग्ने थियो कि हामीले ४० पटक जितिसकेको भनिएको यो युद्ध फेरि पश्चिम एशियाको अर्को कहिल्यै नसकिने अन्तहीन युद्धमा परिणत हुँदैछ।’

राष्ट्रिय काउन्टरटेररिज्म सेन्टरका पूर्व निर्देशक जो केन्टले पनि इरानसँगको एमओयू अब पूर्ण रूपमा मरिसकेको र स्ट्रेट अफ हर्मुजको सैन्य समाधान खोज्नु अमेरिकी मूर्खता हुने टिप्पणी गरेका छन्।

क्षेत्रीय धु्रवीकरण: अरब देशहरूको आक्रोश र इजरायली मोर्चा

पछिल्लो इरानी प्रत्याक्रमणले अरब देशहरूलाई स्पष्ट रूपमा दुई कित्तामा बाँडिदिएको छ। इरानले आफ्ना छिमेकी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो भूमि वा सुविधाहरू प्रयोग गर्न नदिन चेतावनी दिएको छ। यदि कसैले सहयोग गरेमा त्यसलाई 'अपराधको साझेदार' मानिने इरानको भनाइ छ।

यसको विपरीत, इरानी ब्यालेस्टिक मिसाइल र ड्रोनको त्रासमा रहेका केही खाडी मुलुकहरू इरानको विरुद्धमा उभिएका छन् । त्यसक्रममा कतारको विदेश मन्त्रालयले बहराइन र कुवेती सार्वभौमिकतामाथि इरानले गरेको आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ। इजिप्टले पनि खाडीको सुरक्षा आफ्नो सुरक्षाको अभिन्न अङ्ग भएको भन्दै इरानको कदमलाई ‘अस्वीकार्य र अनुचित उत्तेजना’ भनेको छ।

इजरायल र लेबनान मोर्चाको वस्तुस्थिति

विश्वको ध्यान अमेरिका-इरान सीधा टकरावमा मोडिए पनि इजरायलले आफ्ना अन्य मोर्चाहरूमा सैन्य कारबाही तीव्र पारेको छ । इजरायली सेनाले वेस्ट ब्यांकको हेब्रोन, जेनिन, नाबलुस र पूर्वी जेरुसेलममा व्यापक छापा मारेर कयौँ प्यालेस्टिनीहरूलाई पक्राउ र घाइते बनाएको छ। अर्कोतर्फ, लामो समयको विछोडपछि केही प्यालेस्टिनीहरू इजिप्टको रफाह नाका हुँदै गाजा फिर्ता भइरहेका छन्।

त्यसैगरी, इजरायली वायुसेनाले दक्षिणी लेबनानको बिन्त जेबैल जिल्लामा हिजबुल्लाहलाई लक्षित गरी रातभर तीन पटक भीषण हवाई हमला गरेको छ, जसमा एक हिजबुल्लाह लडाकु मारिएका छन्।

यसबीच अमेरिकी रक्षा सचिव पिट हेगसेथ (Pete Hegseth) बुधबार नै इजरायल पुगेर प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग आकस्मिक बैठक गर्दैछन्। टर्कीलाई F-35 स्टेल्थ फाइटर जेट बिक्री गर्ने अमेरिकी योजनाबाट असन्तुष्ट बनेको इजरायललाई फकाउन र इरान विरुद्धको साझा रणनीति बनाउन यो भ्रमण तय गरिएको जानकारहरु बताउँछन् ।

भावी परिदृश्य: युद्ध कि नयाँ कूटनीति?

जुलाई २०२६ को यो तातो महिनामा पश्चिम एशिया इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ। केही महिना अगाडि गरिएको युद्धविराम प्रयास बालुवाको महल जस्तै भत्किएको छ। यो विश्लेषणबाट आगामी दिनका लागि मुख्य तीनवटा परिदृश्यहरू (Scenarios) देखा पर्छन्:

१. पूर्णकालीन क्षेत्रीय युद्ध (All-out Regional War):

इरानको मिसाइल आक्रमणबाट बहराइन वा कुवेती भूमिमा रहेका अमेरिकी सैनिकहरूको ठूलो संख्यामा मृत्यु भयो भने, डोनाल्ड ट्रम्पले इरानका मुख्य आणविक र आर्थिक केन्द्रहरूमा सिधै ठूलो आक्रमणको आदेश दिन सक्नेछन्। यसले हिजबुल्लाह, हुथी र इराकी प्यारामिलेट्री (PMF) लाई समेत पूर्ण रूपमा युद्धमा तान्नेछ र पूरै पश्चिम एशिया ध्वस्त हुनेछ।

२. नियन्त्रित सैन्य दबाब र नयाँ सम्झौता:

 हार्लन उल्मनले भने जस्तै, दुवै पक्षलाई थाहा छ कि पूर्ण युद्ध कसैको हितमा छैन। त्यसैले अमेरिकाले इरानको तेल निर्यात ठप्प पारेर र इरानले स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाज तर्साएर एकअर्कामाथि अधिकतम दबाब (Maximum Pressure) सिर्जना गर्नेछन्, जसले गर्दा आगामी हप्ताहरूमा कतार वा ओमानकै मध्यस्थतामा नयाँ परिमार्जित सम्झौताका लागि वातावरण बन्न सकोस्।

३. विश्वव्यापी आर्थिक संकट:

स्ट्रेट अफ हर्मुज बन्द हुनु र इरानमाथिको प्रतिबन्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिने निश्चित छ। यसले अमेरिका र युरोपमा पुनः मुद्रास्फीति बढाउनेछ, जसको राजनीतिक मूल्य ट्रम्पले आफ्नै देशमा चुकाउनुपर्ने हुन सक्छ।

अन्ततः, थामिएको भनिएको अमेरिका-इरान युद्ध फेरि ब्युँतिनुले के प्रमाणित गर्छ भने, जबसम्म पश्चिम एशियाका आधारभूत समस्याहरू (जस्तै प्यालेस्टाइन संकट, क्षेत्रीय शक्तिको होडबाजी र जलमार्गको सुरक्षा) को दीर्घकालीन राजनीतिक समाधान खोजिँदैन, तबसम्म कागजमा गरिने क्षणिक 'एमओयू' हरूले स्थायी शान्ति दिन सक्दैनन्। आगामी केही दिनहरू विश्व राजनीतिको दिशा र दशा तय गर्नका लागि निकै चुनौतीपूर्ण र निर्णायक हुनेछन्।