प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

दायित्वबोध अनलाइनको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियात्मक छलफलको रिपोर्ट

आजको विश्व परिवेशमा वामपन्थी वैचारिकी र यसले बोकेका न्यायपूर्ण समाजको निर्माणको प्रयत्न–अभ्यास/माथि चौतर्फी हमला भइरहेको छ। इतिहासको अन्त्य भएको भ्रम छर्ने र वैकल्पिक चिन्तनलाई किनारा लगाउने प्रयत्नहरू तीव्र बनेका छन्। यस्तो जटिल र चुनौतीपूर्ण घडीमा, जब वामपन्थी आन्दोलनहरू एक प्रकारको प्रतिरक्षात्मक अवस्थामा छन्, वैचारिक स्पष्टता र बहसको आवश्यकता अझ बढेर गएको छ।

यस पृष्ठभूमिमा विगत तीन वर्षदेखि निरन्तर र नियमित रुपमा सञ्चालित हुँदै आएको प्रगतिशील विचारप्रधान अनलाइन दायित्वबोध डटकमले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर ‘वाम वैचारिकताको आवश्यकता तथा दायित्वबोध अनलाइनमाथिको मन्थन’ शीर्षकमा एक छलफल कार्यक्रमको आयोजना गरेको थियो । गत जेठ ३० गते आयोजित उक्त कार्यक्रममा नेपालका वाम बुद्धिजिवीहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।

कार्यक्रममा दायित्वबोध अनलाइनका प्रधान सम्पादक चन्द्र खाकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यको क्रममा खाकीले ‘वाम–प्रगतिशील वैचारिकीको साझा मञ्च बनाउने ध्येयका साथ शुरु गरिएको दायित्वबोध अनलाइनमा वैचारिक चिन्तनको भयानक खडेरीबाट चिन्तित व्यक्ति समुहहरुबाट सामुहिक उत्तरदायित्वबोधको भावनाअनुकूल हातेमालो हुने, आर्थिक–भौतिक र लेखनमा गच्छेअनुसारको सहयोग प्राप्त हुने आफूहरुको अपेक्षा रहेको तर त्यसतर्फ खासै  खासै प्रगति हुन नसकेको’ बताए । उनले ‘आफ्नै कमीकमजोरी र सीमाहरुका कारण दायित्वबोधलाई सामुहिक अभियानमा रुपान्तरण गर्न नसक्दा दायित्वबोधमार्फत् गरिरहेको कर्म र प्रयत्नहरु कतै बालुवामा पानी खन्याएको जस्तो त भइरहेको छैन भन्ने अनुभूति हुन थालेको पृष्ठभूमिमा केही हितचिन्तकहरुबाट दायित्वबोध निरन्तर हुनु जरुरी रहेको तथा त्यसका लागि उपायहरु खोजिनुपर्ने उत्साह र उत्प्रेरणा प्राप्त भएको’ बताए । उनले ‘'दायित्वबोध' लाई सामुहिक स्वामित्व र सामुहिक चिन्तन प्रणालीको एक साझा थलोका रूपमा स्थापित गर्दै अघि बढ्ने निष्कर्षमा आफूहरु पुगेको बताउँदै दायित्वबोधको सामुहिकीकरणको उपाय खोज्न’ प्रस्ताव गरेका थिए ।

प्रस्तुत छ: सोही कार्यक्रमको सम्पादित रिपोर्ट:

श्याम श्रेष्ठ

दायित्वबोधमा साथीहरुसँग कुरा गर्दा उहाँहरु यसलाई यही रुपमा अगाडि बढाइरहन जरुरी नभएको, वाम वैचारिकी निर्माण र बहस–चिन्तनको लागि  अपेक्षाकृत साथसहयोग नपाइरहेको पृष्ठभूमिमा यसलाई निरन्तर गरिरहन आवश्यक नरहेको मानसकितामा पुगेको मैलै पाएँ ।

त्यो सुनेर म स्तब्ध भएँ ।

दायित्वबोध पढ्दा त्यसका कैयन   लेखहरुबाट आफूलाई फाइदा पुगेको, केही कुरा नया कुरा सिकेको जस्तो   लागेको   कुरा मैले उहाँहरुलाई बताएँ । दायित्वबोध जस्तो   संस्थाहरु बाँच्न जरुरी छ, यस्तो यसलाई त   अझ मजबुत पो पार्न जरुरी छ । यसलाई कुनै पनि हालतमा मार्ने होइन।   यो सम्बन्धमा छलफल गरौं भनेर   उहाँहरुको टिमै अर्थात तीनजना सञ्चालक–संस्थापकहरु चन्द्र खाकी, केदार सिटौला र सीताराम भट्टराईसँग बसेर छलफल   गरियो। कुराकानीको क्रममा थाहा भयो– उहाँहरुसँग अनलाइन चलाउने मात्रै हैन, त्यसलाई डिजिटल मिडियाकै रुपमा सञ्चालन गर्ने पूर्वाधारहरु समेत पो रहेछ ।

अहिले  नेपाल, अझ भनौं समग्र दक्षिण एसियाको   स्थिति सोसल मिडियाले सरकारलाई नै पल्टाउने हदसम्मको जनमतलाई प्रभावित पार्ने स्थिति पैदा भएको हामी देख्छौं । नेपाल, बङ्गलादेश, श्रीलंकामा भएका घटनाहरु तथा अहिले भारतमा भइरहेका घटनाहरुले त्यही देखाइरहेको छ । यो स्थितिमा वाम वैचारिकताको रक्षाको लागि  जनपक्षीय मिडियाहरुलाई सशक्त डिजिटल मिडियामा रुपान्तरण नगरिकन सुखै छैन। नेपालका बामपन्थीहरुले डिजिटल   मिडिया तथा सोसल मिडियामा   दक्षता,   सिद्धहस्तता हासिल गरेर मात्रै हामीहरुले जनमत सिर्जना तथा प्रभावित गर्न सक्ने स्थिति छ।

नेपालमा भएका  ठुलठुला पार्टीहरुले यो तिर कुनै ध्यानै   दिएनन्, महत्वै पनि दिएनन्। त्यही   हुनाले आकारमा ठूला भए पनि  जनमतमा उनीहरु ठुला भएनन्।   जनमत अरुले नै हाइज्याक गर्ने स्थिति रह्यो।   उनीहरुका कुकर्मले पनि त्यस्तो गर्न सहयोग पुग्यो ।  गर्नुपर्ने राम्रो काम   नगरेर नगरेर उल्टो उल्टो काम गरेर नेपाललाई गलत दिशातिर लैजानुको कारणले पनि यस्तो भएको हो ।    नेपालका पार्टीहरुबाट भएको त्यो   कुकर्म माथि टेकेर डिजिटल मिडिया,  सोसल मिडियाले नेपालको जनमतलाई ठिक उल्टोतिर लगेको कारण नेपाल ब्ल्याक होलतिर जान   लागिरहेको अहिलेको स्थिति हो।

त्यो स्थितिमा हामी  सबै बामपन्थी चिन्तन राख्ने, त्योसँग विभिन्न ढंगले जोडिएका   मान्छेहरु सबै मिलेर दायित्वबोधअनलाइन जस्तो वाम वैचारिकी बोक्ने मिडियालाई बचाउनु, बलवान पार्नु जरुरी छ ।   त्यसैले  यसलाई सबै मिलेर   साझा वैचारिकीको मञ्च बनाऔं।  

अहिले नेपालमा डिजिटल मिडियाको उपयोग गर्दै प्रतिध्रुवबाट एकलौटी विचार   सिर्जना भइराखे छ। उनीहरुले जे चाह्यो   त्यो खालको जनमत सिर्जना भइराखेको कारण समाज अर्कैतिर, नजानुपर्नेबाटोबाट नेपाल गइरहेको छ ।  नया खालको   फासीवादतिर गइराखे नेपाललाई त्यतातिर जानबाट रोक्नको   लागि हामीहरुले सबैले सक्दो प्रयत्न गरौ।  साझा वैचारिकीको थलोको रुपमा दायित्वबोधलाई विस्तारित गरौ। आर्थिक, भौतिक तथा लेखरचनाहरुमा सहयोगका अलावा यसलाई सबैको सामुहिक   उत्तरदायित्वसहितको सामुहिक स्वामित्वको मोडलमा लैजाने विधिहरु उपायहरु के हुन   सक्लान् ? त्यसमा पनि त्यसमा पनि केन्द्रित भएर हामी छलफल गरौं ।

सीताराम भट्टराई

कानूनी रुपमा यो प्राइभेट लिमिटेड भएकोले हामी तीनजनाको स्वामित्वमा छ । तर यसको शुरुवात गर्दा नै हामीले यसलाई सामुहिक प्रयत्नमा रुपान्तरण गर्ने सोचका साथ अगाडि बढेका हौं । यसमा अहिले सम्म हामीले   गरिरहेको प्रयत्न, आर्थक, बौद्धिक लगानीलाई  सामाजिक उत्तरदायित्वको रुपमा स्वीकार गरेर अगाडि बढेका हौं । त्यसकारण पनि हाम्रो   टिम यसलाई सामुहिक उत्तरदायित्वसहितको मोडेलमा अगाडि बढ्न सदैव तयार छ । हामीले बाम बैचारिकको   आवश्यकता र दायित्वबोध अनलाइन माथिको   मन्थन भनेर कार्यक्रमको शीर्षक राख्नुको अर्थ नै नेपालमा बाम   बैचारिक को आवश्यकता कति छ भन्ने कुरामा   एउटा बहस पनि होस् भन्ने हाम्रो उद्देश्य पनि  हो   ।

हामीले एउटा दायित्व बोधका साथ वाम वैचारिक क्षेत्रमा काम गर्ने उद्देश्यले जुन यात्रा सुरु गरेका थियौँ, हामी सोही दिशामा छौँ कि छैनौँ र हाम्रा कामले वाम वैचारिकीमा कस्तो योगदान पुर्‍याइरहेका छन् भन्ने विषयमा यहाँहरू जस्ता नियमित पाठकहरूबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गर्दछौँ। साथै, यस कार्यक्रमको अर्को प्रमुख उद्देश्य व्यक्तिगत पहलमा भइरहेका प्रयासहरूलाई सामूहिक रूपमा अघि बढाउनु हो।त्यसपछि भट्टराईले दायित्वबोधका उद्देश्य, यसले गरेका कर्महरु र भविष्यमा डिटिजल मिडियामा रुपान्तरण गर्ने खाकाबारे प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।

श्याम श्रेष्ठ (प्रिजेन्टेसनमाथि टिप्पणी गर्दै): तपाईंहरुको यो तयारीसहितको प्रस्तुति हेरिसकेपछि मलाई लागेको छ–तपाईहरु  सुस्ताउनै मिल्दैन,  मिल्दैन । हामी सबै मिलेर, एकताबद्ध भएर अगाडि बढ्यौं भने तपाईहरुले यहाँ प्रस्तुत गर्नुभएको  उद्देश्य हासिल गर्न सम्भव छ।

अहिले वाम इतर पक्षले कब्जा गरेको जनमतलाई   फेरि पनि सही   दिशामा ल्याउनको लागि र त्यसलाई रुपान्तरणकारी बनाइ राख्नको लागि दायित्वबोधलाई बचाउनु र थप उन्नत बनाउनु जरुरी छ ।  

डा. बिन्दू शर्मा

यहाँ   साथीहरुले प्रस्तुत गर्नु भएको अवधारणाप्रति सहमति जनाउदै मेरो पक्षबाट मैले लेखेर सेयर गरेर अथवा आर्थिक सहयोग   अथवा अ त्यो भोलेन्टियर सहयोग के गरेर   हुन्छ म चाहिँ सहयोग गर्न तयार छु।

राम कार्की

हाम्रो परम्परामा कुनै पनि अभियान उत्साहका साथ सुरु गर्ने तर पछि आपसी विवाद र गुटबन्दीमा फसी टुक्रा-टुक्रा हुने प्रवृत्ति रहँदै आएको छ। समूहबाट बाहिरिएपछि विभिन्न ठाउँमा आ-आफ्नै ढंगले टिप्पणी गर्ने पुरानो रोगबाट मुक्त हुन अब हामीले सुरुमै बहस र छलफलका लागि एउटा फराकिलो वैचारिक दायरा निर्माण गर्नुपर्छ।

मार्क्सवादका विभिन्न व्याख्या र धाराहरूलाई लिएर आपसी द्वन्द्वमा उत्रिने इतिहासबाट हामीले सिक्नुपर्छ। आजको जटिल अवस्थामा समाजवाद हाम्रो साझा धरोहर हो। यसका विभिन्न प्रयोग र व्याख्यालाई पूर्णतः अस्वीकार गर्नुको साटो, मार्क्सवादका आधारभूत सिद्धान्तबाहेकका अन्य विषयमा खुला बहस गर्ने माध्यमका रूपमा ‘दायित्वबोध’लाई विकसित गर्न आवश्यक छ। हाम्रा विरोधी विचारहरूलाई समेत स्थान दिँदै यसलाई एउटा साझा वैचारिक मञ्च बनाउनुपर्छ।

यसका लागि आर्थिक र वैचारिक रूपमा हामी सबैले सहयोग जुटाउनुपर्छ। दायित्वबोधले विगतमा सीमित स्रोत-साधनका बाबजुद समयमै महत्त्वपूर्ण सामग्री अनुवाद गरी जुन सक्रियता देखाएको छ, त्यो सराहनीय छ। अब हामीले यो अनुभवबाट पाठ सिक्दै गुटगत संकीर्णताबाट माथि उठ्नुपर्छ। विशेषगरी, कम्युनिस्ट स्कुलिङमा नभए पनि सामाजिक अन्यायविरुद्ध आवाज उठाउने युवा पुस्तालाई यस्ता मञ्चमा कसरी आकर्षित गर्न सकिन्छ, त्यसतर्फ सोच्नु जरुरी छ। विश्वभर अभ्यासमा रहेका नयाँ र प्रभावकारी विधिको अवलम्बन गर्दै यस मञ्चलाई थप व्यवस्थित र फराकिलो बनाउन म तत्पर छु।

ज्योतिलाल वन

अहिलेको सन्दर्भमा दायित्वबोधले निर्वाह गर्दै आएको भूमिका निकै महत्वपूर्ण छ। यसलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउनु हामी सबैको साझा दायित्व हो। यसका लागि दायित्वबोधको टिमले महिनाको एक पटक आर्थिक, सामाजिक, सांस्कृतिक वा राष्ट्रिय महत्वका विषयमा बहस सञ्चालन गर्ने र त्यसबाट प्राप्त निष्कर्षहरूलाई प्रकाशनमा ल्याउने परम्पराको निरन्तरता दिनु आवश्यक देखिन्छ।

हामीले आफ्नो वैचारिक दायरालाई फराकिलो बनाउँदै आलोचनात्मक चेतका साथ विषयवस्तुको उठान गर्नुपर्छ। इतिहासका विभिन्न पात्र र घटनालाई हेर्ने दृष्टिकोणमा समेत नयाँ तथ्य र विश्लेषणका आधारमा पुनरावलोकन गर्न सक्नुपर्छ। वैचारिक स्पष्टता कायम राख्नु आजको आवश्यकता हो।

संस्थागत स्थायित्वका लागि आर्थिक स्रोतको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण विषय हो। डिजिटल मिडियाको सञ्चालन खर्चलाई मध्यनजर गर्दै दिगो आर्थिक स्रोतको सुनिश्चितता गर्ने योजना तर्जुमा गर्नु जरुरी छ। लेखकहरूलाई उचित पारिश्रमिकको व्यवस्था र संस्थागत क्षमता विस्तारका लागि टिममा नयाँ जनशक्ति थप्नुका साथै सञ्चालक समितिलाई अझ फराकिलो बनाउनु आवश्यक छ। वर्तमान समयमा वामपन्थी विचारमाथि भइरहेको प्रहारलाई चिर्दै वैचारिक आन्दोलनलाई माथि उठाउनु हामी सबैका लागि एउटा गम्भीर चुनौती हो। तसर्थ, हामी सबै मिलेर दायित्वको भावनालाई आत्मसात गर्दै यसलाई थप सबल र सशक्त बनाउन अग्रसर हुनुपर्छ।

 दिपेन्द्र बहादुर क्षेत्री

सन् १९९० को दशकमा विश्वस्तरमा देखिएको संकटजस्तै अहिले हाम्रो मुलुकको वामपन्थी आन्दोलन गम्भीर संकटबाट गुज्रिरहेको छ। हिजो सँगै संघर्ष गरेका साथीहरूमा आएको वैचारिक विचलन र उनीहरूको बदलिँदो भाष्य चिन्ताको विषय बनेको छ। निजीकरणको वकालत गर्ने र वर्ग संघर्षलाई लत्याउने प्रवृत्ति युवा पुस्तामा समेत मौलाउँदै जानु वामपन्थी विचारका लागि ठूलो चुनौती हो।

यस्तो विषम परिस्थितिमा 'दायित्वबोध' जस्ता मञ्चहरूको भूमिका अझ महत्वपूर्ण हुन जान्छ। हाल यसको सञ्चालन र आर्थिक व्यवस्थापन निकै चुनौतीपूर्ण छ। प्रविधिको विकाससँगै पाठकहरूको पढ्ने बानीमा आएको परिवर्तन र निजी क्षेत्रको विज्ञापनमुखी बजारका कारण पनि वैकल्पिक बौद्धिक थलोहरू सञ्चालन गर्न कठिन भइरहेको छ। तथापि, आजको अन्तरक्रियामा देखिएको सहभागिता र तत्परताले आशा जगाएको छ।

हामीले प्रविधिको आधुनिक प्रयोग गर्दै आफ्नो प्रस्तुतिलाई थप आकर्षण बनाउनुपर्ने आवश्यकता छ। यसका लागि एउटा बलियो सञ्चालक समिति गठन गरी स्पष्ट गाइडलाइन बनाउनु आवश्यक छ। संस्थागत दिगोपनका लागि उपकरण व्यवस्थापन र आर्थिक स्रोतको सुनिश्चितता पहिलो सर्त हो। यिनै विविध पक्षमाथि गम्भीर मन्थन गर्दै ठोस निष्कर्षमा पुग्न सहयोग गर्न म पूर्ण रूपमा तयार छु।

भुवन फुँयाल

सामाजिक संस्थाहरूको सञ्चालन र विकासका लागि इमानदार तथा अनुशासित नेतृत्व अपरिहार्य हुन्छ। नेतृत्वको अभावमा संस्था असफल हुनसक्ने जोखिम रहन्छ। वर्तमान डिजिटल युगमा प्रविधिको सही सदुपयोग, जनमतको प्रभाव र सार्वजनिक प्रतिक्रियाको उचित मूल्याङ्कन संस्थाको सफलताका आधार हुन्। साथै, बाह्य स्रोत वा दातामा निर्भर नभई संस्थालाई स्वतन्त्र र दिगो बनाउन नियमित छलफल, जनसहभागिता र स्पष्ट भिजन आवश्यक छ। विश्वासिलो र सानो टिमले नै संस्थालाई सही दिशामा अघि बढाउन र समयसापेक्ष गतिविधि सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

तुल्सीदास महर्जन

 'दायित्वबोध' अनलाइनको स्थापना र विकासमा मेरो निरन्तर संलग्नता र प्रतिबद्धता रहेको छ। कुनै पनि संस्था भावनाले मात्र चल्दैन; यसका लागि सुदृढ आर्थिक आधार, स्पष्ट संरचना र बलियो टिमको आवश्यकता पर्दछ। हालको टिमलाई नै संगठित र सशक्त बनाएर अघि बढ्नु नै वैज्ञानिक र व्यावहारिक कदम हुनेछ।

सामाजिक रूपान्तरणको उद्देश्य बोकेको यो संस्था पूर्णतः सामूहिक हुनुपर्छ। वर्तमान समयमा प्रविधिलाई परिवर्तनको मुख्य कारक मान्ने भाष्य प्रचलित छ, तर यो पूर्ण सत्य होइन। प्रविधि त केवल नयाँ पुस्ताले प्रयोग गर्ने माध्यम मात्र हो। आन्दोलन र राजनीतिक दलहरूले आफ्नो मूल वर्ग, आदर्श र गन्तव्यबाट विचलित नभई समयानुकूल नयाँ विचारको विकास गर्नुपर्छ। पुराना नारा र पश्चगामी सोचले अबको परिवर्तन सम्भव छैन। तसर्थ, संस्थाले सामाजिक बहस र वैचारिक मन्थनलाई प्राथमिकता दिँदै समाजवादको दिशामा स्पष्ट भिजनका साथ अगाडि दायित्वबोध बढ्नु अपरिहार्य छ।

पुष्कर गौतम

'दायित्वबोध'लाई एउटा साझा वामपन्थी मञ्चका रूपमा विकास गर्न यसको वैचारिक स्पष्टता र उद्देश्यमा गम्भीर छलफल आवश्यक छ। अहिलेको डिजिटल युगमा परम्परागत वामपन्थी धारहरू जनतामाझ पुग्न असफल भइरहेको सन्दर्भमा, यो मञ्च मार्क्सवादी विश्वदृष्टिकोणभित्र रही समसामयिक र विवादित विषयहरूमा पनि खुला बहस गर्न सक्ने हुनुपर्छ। लेनिनवाद वा माओवादको व्याख्यामा जडता नराखी, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव र कमजोरीहरूको समेत आलोचनात्मक समीक्षा गर्दै नयाँ विमर्श निर्माण गर्नु आजको आवश्यकता हो।

व्यावहारिक धरातलमा हेर्दा, राजनीतिक दलहरूप्रतिको आम वितृष्णाका कारण परम्परागत शैलीको राजनीति कमजोर बनेको छ। सुकुमबासी बस्ती वा उत्पीडित समुदायमा दलका नेताहरूभन्दा स्वतन्त्र व्यक्तिहरूको पहुँच र स्वीकार्यता बढी देखिएको छ। तसर्थ, 'दायित्वबोध'ले पार्टीभन्दा माथि उठेर यस्ता जनसवालहरूलाई प्रखर रूपमा उठाउनुपर्छ।

बन्धुविक्रम क्षेत्री

अहिलेको नेपाली कम्युनिस्ट तथा वामपन्थी आन्दोलन गम्भीर विकल्पविहीनता र वैचारिक स्खलनको चरणबाट गुज्रिरहेको छ। विगतमा ठूला भनिएका कम्युनिस्ट पार्टीहरूले जनताका मुद्दालाई बेवास्ता गर्दै सत्ताको खेलमा मात्र केन्द्रित हुँदा आज यो आन्दोलन कमजोर भएको हो। जनताका समस्यालाई सम्बोधन गर्न नसक्नु र पुरानै ढर्रामा चल्नु नै वर्तमान संकटको मुख्य कारक हो।

यस्तो अवस्थामा अब हामीले अग्रगामी सोच बोक्नेहरूको एक साझा मञ्च निर्माण गर्न आवश्यक छ, जुन पूर्णतः श्रमजीवी वर्गप्रति प्रतिबद्ध हुनुपर्छ। दायित्वबोधले स्पष्ट वैचारिक दृष्टिकोण राख्दै वर्तमानका ज्वलन्त मुद्दाहरूलाई उठाउनुपर्छ। यस्तो मिडिया वा अभियान सञ्चालन गर्न आर्थिक स्रोतको व्यवस्थापन चुनौतीपूर्ण रहे पनि व्यक्तिगत सक्रियता र सहयोगबाट यसलाई अगाडि बढाउन सकिन्छ।

श्रवण गौतम

डिजिटल माध्यममा सामग्रीको गुणस्तर जतिसुकै राम्रो भए पनि त्यसको प्रस्तुतीकरण र 'ग्रुमिङ' प्रभावकारी नभएमा ती सामग्रीले अपेक्षित महत्त्व पाउँदैनन्। सामाजिक सञ्जालमा छोटो समयमै सूचनाहरू स्क्रोल हुने भएकाले प्रयोगकर्ताको मनोविज्ञान र भावनात्मक पक्षलाई ध्यानमा राख्दै सामग्री पस्कनु आजको आवश्यकता हो।

डिजिटल प्लेटफर्मलाई सामान्य ठान्नु गलत हुनेछ; तसर्थ, यसलाई नै प्राथमिकतामा राखेर हामीले आफ्नो वजनदार सामग्रीलाई थप आकर्षक र सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ। अहिले धेरैले एआई (AI) बाट उत्पादित सामग्रीलाई जस्ताको तस्तै प्रयोग गर्ने गरेको पाइन्छ। यस्तो प्रवृत्तिका बीच हामीले एआईलाई केवल सहायक साधनका रूपमा लिई आफ्नो मौलिकता र सृजनशीलता जोडेर सामग्री उत्पादन गरेमा मात्रै हाम्रो डिजिटल उपस्थिति थप प्रभावशाली र सान्दर्भिक बन्न सक्नेछ। यही नै वर्तमान चुनौती र समाधानको मुख्य बाटो हो।

मुक्ता श्रेष्ठ

वर्तमान सन्दर्भमा 'जेन-जी' (Gen-Z) पुस्तालाई प्रगतिशील रूपान्तरणको बाटोमा डोर्‍याउनु अपरिहार्य छ। उनीहरूलाई केवल गम्भीर र जटिल सैद्धान्तिक सामग्रीले मात्र आकर्षित गर्न सकिँदैन, त्यसैले दायित्वबोधले यस्ता सामग्रीहरूलाई रोचक र सहज शैलीमा प्रस्तुत गर्नुपर्छ। यस पुस्तामा नैतिकता, विवेकशीलता र श्रमप्रति आस्था जगाउनु आजको मुख्य आवश्यकता हो, किनकि भोलिको देशको कर्णधार तिनै हुन्।

अहिलेको समाजमा व्याप्त अराजकता र स्वार्थकेन्द्रित प्रवृत्तिको अन्त्य गर्न र भविष्यमा नेताहरू भ्रष्ट नभई इमानदार बनून् भन्ने सुनिश्चित गर्न, तिनलाई सानैदेखि प्रशिक्षित गर्नु आवश्यक छ। अत: हाम्रा सामग्रीहरूमा वैचारिक स्पष्टताका साथै युवामैत्री प्रस्तुतीकरणको संयोजन हुनुपर्छ, जसले उनीहरूलाई नागरिक दायित्व र देशप्रति बफादार हुन अभिप्रेरित गरोस्।

डा. शरद वन्त

 हामी आज कुनै दल, नेता वा वामपन्थी आन्दोलनको समीक्षा गर्न यहाँ भेला भएका होइनौँ। यस्ता मञ्चमा हुने सीमित छलफल वा आलोचनाले मात्रै आन्दोलनको सही दिशा निर्धारण गर्न सक्दैन। आजको हाम्रो मुख्य कार्यसूची भनेको अहिले यो माध्यमले भोगिरहेको संकटलाई कसरी जोगाउने भन्ने नै हो। मेरो स्पष्ट बुझाइ छ—यसलाई बचाउनै पर्छ, यसको अर्को विकल्प छैन।

यसलाई जोगाउने एउटा महत्त्वपूर्ण पाटो आर्थिक आधार पनि हो। श्यामजीले उठाउनुभएको आर्थिक सहयोगको प्रस्ताव स्वागतयोग्य छ, तर केवल आर्थिक स्रोतको उपलब्धताले मात्रै कुनै माध्यम टिक्न सक्दैन। धनराशिको थुप्रो हुँदाहुँदै पनि कतिपय मिडिया टाट पल्टेका उदाहरण हाम्रा सामु छन्। त्यसैले, हामी सबै व्यक्तिगत तवरले प्रतिबद्ध हुनु आवश्यक छ।

यसका साथै, डिजिटल युगमा यसलाई दिगो बनाउन ‘मोनेटाइजेशन’ (मुद्रीकरण) का विकल्पबारे पनि गम्भीर बहस गर्नुपर्छ। अरूको सिको गर्ने हाम्रो उद्देश्य होइन, तर सधैँ स्वैच्छिक योगदानको भरमा मात्रै यति ठूलो संरचना धान्न सकिँदैन। यो माध्यम आवश्यक छ कि छैन र छ भने यसलाई कसरी जोगाउने भन्ने दुई प्रश्नमा आजको छलफल केन्द्रित गरौँ। म व्यक्तिगत रूपमा पूर्ण सहयोग गर्न तयार छु र हामी सबैको हातेमालोले यो माध्यम संकटमुक्त हुनेछ भन्नेमा म विश्वस्त छु।

कुमार उपाध्याय

 सीतारामजीले प्रस्तुत गर्नुभएको दायित्वबोधको प्रस्तुति निकै प्रभावकारी र तार्किक लाग्यो। कम्युनिस्ट वृत्तमा देखिने अनावश्यक शब्दजाल वा व्यक्तिगत गाली–गलौजभन्दा माथि उठेर तपाईंहरूले प्रस्तुत गर्नुभएका विषयवस्तु अत्यन्त स्पष्ट र वस्तुपरक छन्। नेपालको सन्दर्भमा सैद्धान्तिक रूपले अझै सम्बोधन हुन बाँकी रहेका आधारभूत मुद्दाहरूलाई यसले समेटेको छ।

संस्थागत संरचनाका सन्दर्भमा ‘प्रोफिटलेस प्रालि’ को अवधारणाबारे छलफल गर्न सकिन्छ, साथै टिमलाई थप सबल बनाउन आवश्यक कदम चाल्नु उचित देखिन्छ। यो माध्यमको आवश्यकता र महत्त्वलाई आत्मसात् गर्दै, यसको सञ्चालनका लागि म पूर्ण समर्थन गर्न प्रतिबद्ध छु। प्रस्तुतिमा रहेका केही सामान्य पुनरावृत्तिलाई सुधार गर्दै अघि बढेमा यो प्रयास थप उत्कृष्ट हुनेछ।

झलक सुवेदी

राजनीतिभन्दा बाहिर रहेर विचार निर्माणमा सहयोग गर्ने यस्ता मञ्च वा संस्थाहरूको आवश्यकता अहिले खड्किएको छ। यद्यपि सबैले संकट महसुस नगरेका हुन सक्छन्, तर सचेत वर्गका लागि यो ठूलो चुनौती हो। त्यसैले, आम मानिसको पहुँच रहेको डिजिटल माध्यमको प्रयोग गर्दै विचारको निरन्तरता र स्रोत व्यवस्थापन गर्नु आजको मुख्य आवश्यकता हो।

दायित्वबोधलाई आर्थिक रूपमा दिगो बनाउन प्रविधिमैत्री डिजिटल उत्पादन र त्यसको प्रभावकारी वितरण आवश्यक छ। स्रोत जुटाउन विज्ञापनका साथै जनताको विश्वास जितेर सहयोग सङ्कलन गर्न सकिन्छ। म स्वयम् आर्थिक व्यवस्थापनमा कमजोर भए पनि वैचारिक बहसमा सहभागी भई, संवाद कार्यक्रमहरू आयोजना गरेर वा स्वैच्छिक योगदानमार्फत सहयोग गर्न तत्पर छु।

मिडियाले प्रतिवाद गर्न डराउनु हुँदैन, बरु त्यसको प्रतिकार गर्ने साहस बटुल्नुपर्छ। राजनीतिक दलहरूमा देखिएको विचलनको आलोचना गर्दा निषेधको बाटो रोज्नुभन्दा सच्याउने र प्रश्न गर्ने शैली अपनाउनु आवश्यक छ। वैचारिक बहसको खडेरी र केही सीमित व्यक्ति वा बिचौलियाको स्वार्थले आन्दोलनलाई कमजोर बनाएको सन्दर्भमा, सबैलाई एउटै डालोमा राखेर निषेध गर्नु उचित हुँदैन। तसर्थ, दायित्वबोध जस्तो मञ्चले मार्क्सवाद लगायतका वैचारिक विमर्शसँगै आजका जल्दाबल्दा मुद्दाहरूमा केन्द्रित भई बहसलाई अगाडि बढाउनुपर्छ।

जगत बस्नेत

दायित्वबोधको यस प्रयासप्रति मेरो पूर्ण समर्थन छ। संस्थालाई आगामी तीनदेखि पाँच वर्षसम्म निरन्तर अगाडि बढाउन स्पष्ट आर्थिक स्रोतको व्यवस्थापन अपरिहार्य छ। हामीले विज्ञापनको मोडेल अपनाउने वा अन्य कुनै वैकल्पिक स्रोत खोज्ने भन्ने विषयमा प्रष्ट हुनुपर्छ।

संस्थाको दिगोपनका लागि टिमवर्क वा टिमको संरचना कस्तो रहने भन्ने कुरा अर्को महत्वपूर्ण पक्ष हो। त्यसैगरी, हालको गम्भीर सामाजिक यथार्थलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन। आज युवा पुस्ता ठूलो धनराशि खर्चिएर विदेशिन बाध्य छ र नेपालमा कोही पनि बस्न चाहिरहेका छैनन्। यस्तो अवस्थामा 'लेफ्ट' वा वामपन्थी विचारमा मात्र सीमित नभई, देशमा युवा वर्गलाई कसरी टिकाइराख्ने भन्ने प्रश्नमा दायित्वबोधले के कस्तो विमर्श अगाडि बढाउँछ, त्यो निकै अर्थपूर्ण हुनेछ। म यी एजेन्डाहरूमा सहकार्य गर्न तत्पर छु । यी आधारभूत विषयहरूमा स्पष्टता आवश्यक देख्दछु।

नारायण ढकाल 

 समयको सीमालाई ध्यानमा राख्दै म छोटोमा आफ्ना कुरा राख्न चाहन्छु। 'दायित्वबोध' सँग मेरो भावनात्मक सम्बन्ध छ, त्यसैले म यहाँ उपस्थित भएको हुँ। यहाँ प्रकाशित सामग्री र वैचारिक विमर्शमा मेरो निरन्तर चासो रहँदै आएको छ।

म आफैँलाई बामपन्थी मान्छु, तर मेरो बामपन्थी चिन्तन 'स्वान्त सुखाय' अर्थात् आफ्नै मानसिक सन्तुष्टिका लागि हो। आजका चुनौतीहरू सामना गर्न विगतको ज्ञान अपर्याप्त भइसकेको छ, त्यसैले नयाँ र मौलिक विमर्शको खाँचो छ। म इतिहासको समीक्षाका विषयमा निकै कट्टर छु, जसले गर्दा कतिपयले मेरो वैचारिक निष्ठामाथि शङ्का पनि गर्ने गर्छन्। यस सन्दर्भमा, मेरा धारणा स्पष्ट पार्न मेरो पुस्तक ‘जगत जननी उसकी आमाको नाम होइनֹ’ पढ्न यहाँहरूलाई अनुरोध गर्दछु।

अहिलेको राजनीतिक तथा वैचारिक अवस्थालाई म डुब्न लागेको जहाजको क्याप्टेनका रूपमा अनुभव गरिरहेको छु। यो सङ्कटबाट पार पाउन म पूर्ण सहयोग गर्न चाहन्छु। संस्थाको दिगो सञ्चालनका लागि म मेरो लेखनबाट प्राप्त हुने रोयल्टीको १० प्रतिशत हिस्साबाट सक्दो आर्थिक सहयोगस्वरूप उपलब्ध गराउने छु ।

राजेन्द्र महर्जन

नेपालको समकालीन सन्दर्भमा हामी वास्तवमै गम्भीर चिन्तन गरिरहेका छौँ वा केवल यथास्थितिमा रमाउँदै छौँ, त्यो प्रश्न अहम् छ। हामी चिन्तनशील छौँ भने, त्यसका लागि 'दायित्वबोध' जस्तो एउटा सशक्त मञ्च वा आउटलेटको आवश्यकतामा दुईमत छैन। यसअघि अनलाइन सञ्चालनमा संलग्न भई असफलता भोगेका अनुभवहरू हाम्रा लागि पाठ बन्न सक्छन्। त्यसैले, मिडिया सञ्चालनको मोडेल र त्यसको व्यवस्थापकीय पाटोमा गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ।

अतीतमा हामीले ठूलो रकम संकलन गरे पनि कुशल व्यवस्थापन र दिगो प्रणालीको अभावमा ती मिडियाले निरन्तरता पाउन सकेनन्। हाम्रो विगतको अनुभवबाट सिक्दै, आर्थिक स्रोतको निरन्तरता र टिमको व्यवस्थापनमा स्पष्ट कार्ययोजना बनाउनु आजको प्रमुख चुनौती हो। अहिलेको संकटपूर्ण घडीमा वैचारिक बहस र सामाजिक ध्रुवीकरणको आवश्यकता अझ बढेको छ। हामीजस्ता बामपन्थी चिन्तन राख्ने र निरन्तर लेखिरहने मानिसहरूका लागि यो मञ्च एउटा प्रभावकारी माध्यम बन्न सक्छ। म दायित्वबोधको अभियानसँग जोडिएको छु र कुनै न कुनै रूपमा मेरो सहयोग निरन्तर रहनेछ। दायित्वबोधले यस्ता संगठनात्मक र व्यवस्थापकीय कमजोरीहरूलाई चिर्दै वैचारिक विमर्शको एउटा बलियो आधारस्तम्भ निर्माण गर्न सक्ने प्रवल सम्भावना देख्दछु।

युग पाठक

वर्तमान समयमा बामपन्थी चिन्तन र यसको इकोसिस्टम गम्भीर वैचारिक एवं दार्शनिक संकटबाट गुज्रिरहेको छ। सरकारको मिडिया–विरोधी दृष्टिकोण र कमजोर आर्थिक नीतिहरूले सिर्जना गरेको आर्थिक मन्दीले बामपन्थी संस्थाहरूको स्रोत र साधन जुटाउने क्षमतामा ह्रास ल्याएको छ। यस अवस्थामा बामपन्थीहरूले आफूलाई कसरी उभ्याउने र कुन आर्थिक मोडेल अवलम्बन गर्ने भन्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता छ। क्षणिक सहयोगले मात्र आन्दोलन धान्न सकिँदैन; बरु एउटा ठोस वैचारिक आधार र सांगठनिक संरचना अनिवार्य छ।

डिजिटल प्रविधिले मानिसको पठन–संस्कृतिमा ह्रास ल्याउनुका साथै उत्तेजक र नकारात्मक विषयलाई बढी प्राथमिकता दिने अल्गोरिदममार्फत मानिसको सोचलाई प्रभावित पारिरहेको छ। तसर्थ, केवल डिजिटल माध्यममा भर पर्दा मात्र वैचारिक हस्तक्षेप सम्भव छैन। विश्वभरका 'अरब स्प्रिङ' वा 'अकुपाई वाल स्ट्रिट' जस्ता आन्दोलनहरूले एजेन्डा र नेतृत्वको अभावमा सफलता हासिल गर्न सकेनन्। नेपालको राजनीतिक इतिहासले के देखाएको छ भने, राजनीतिक दलहरूले उठाउन नसकेका मुद्दाहरूलाई नागरिक आन्दोलनले अगाडि सार्दा र पछि राजनीतिक दलहरूले त्यसको स्वामित्व लिँदा मात्र परिवर्तन सम्भव भएको थियो। तसर्थ, बौद्धिक बहसलाई जीवन्त राख्न र समाजका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न एउटा सशक्त जनआन्दोलनको खाँचो छ। यस्तो आन्दोलन विना वैचारिक उत्पादन र पठन–संस्कृतिको पुनर्जागरण असम्भव छ।

करण बुढा

 दायित्वबोधले वैचारिक बहसलाई समयानुकूल र डिजिटल माध्यमबाट बृहत् रूपमा अघि बढाउने प्रयास गरिरहेको छ। वर्तमानमा युवा पुस्तामा देखिएको वैचारिक रिक्तता र राजनीतिक छलफलप्रतिको वितृष्णा चिर्न नयाँ शैलीको आवश्यकता छ। विश्वविद्यालय पढ्ने युवाहरू समेत परम्परागत वा गैर-राजनीतिक विषयमा मात्र केन्द्रित रहेको अवस्थामा, पुराना वैचारिक मोडलहरू प्रभावहीन देखिएका छन्। तसर्थ, शासक वर्गले प्रयोग गरिरहेको डिजिटल प्रविधिलाई नै प्रतिवादको हतियार बनाउँदै हामीले आफ्ना वैचारिक सामग्रीहरूलाई आकर्षक र व्यवस्थित रूपमा प्रस्तुत गर्नुपर्छ। बामपन्थी विचारको पुनर्जागरण र नयाँ आन्दोलनको निर्माणका लागि यस्ता सामूहिक बहसहरू आजको अपरिहार्य आवश्यकता हुन्।

जटिल कार्की

नेपालमा अहिले ‘वैचारिक विमर्शको कुनै औचित्य छैन’ भन्ने भाष्य निर्माण गरी समाजलाई योजनाबद्ध रूपमा राजनीतिविहीन (Depoliticize) बनाउने खतरनाक प्रवृत्ति मौलाएको छ। यस प्रकारको अवस्थामा 'दायित्वबोध' जस्ता संस्थाहरूले बामपन्थी वैचारिक विमर्श र आलोचनात्मक बहसलाई निरन्तर अगाडि बढाउनु अपरिहार्य छ। कुनै पनि समूह वा अभियानको सफलताका लागि सक्षम टिमको निर्माण र व्यवस्थापनसँगै संस्थागत पारदर्शिता सबैभन्दा महत्त्वपूर्ण आधार हो। तसर्थ, दायित्वबोधले वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणलाई सँगसँगै लैजाँदै आफ्नो अभियानलाई अझ प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउनेछ भन्ने कुरामा म विश्वस्त छु। यस्तो सक्रियताले नै समाजमा व्याप्त वैचारिक शून्यतालाई चिर्न र नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्न मद्दत गर्नेछ।

प्रदीप नेपाल

आन्दोलनबाटै मिडियाको जन्म हुनुपर्छ, तब मात्र यसले सार्थकता पाउँछ। सुकुम्बासी आन्दोलनमा क्रियाशील रहँदा हामीले आन्दोलनले नै वैचारिक सामग्री र पाठक निर्माण गर्ने रहेछ भन्ने अनुभव गरेका छौँ। तसर्थ, मिडिया र आन्दोलनलाई अलग गरी हेर्नुहुँदैन।

सामाजिक सञ्जाललाई मिडियाको मुख्य विकल्प मान्नु वा यसले नै सत्ता परिवर्तन गर्छ भनी विश्वास गर्नु व्यावहारिक देखिँदैन; यी केवल साधन मात्र हुन्। पुरानो पुस्तामा देखिएको निराशा सान्दर्भिक छैन; हामीलाई निराशा होइन, सङ्घर्षको खाँचो छ। 'दायित्वबोध' लाई बजारको मागअनुसार ढाल्नुभन्दा नयाँ विचार निर्माण गर्ने माध्यम बनाउनुपर्छ। आन्दोलनलाई नै आधार बनाएर अगाडि बढेमा हामीले आफ्नै वैचारिक बजार निर्माण गर्न सक्छौँ भन्नेमा म विश्वस्त छु।

राजेन्द्रप्रसाद   अधिकारी 

 स्वामित्व र जिम्मेवारीको विषयलाई अहिले नै ठूलो मुद्दा बनाउनुभन्दा हालका तीन जनाको तहमा नै सीमित राखी निरन्तरता दिनु उपयुक्त हुन्छ। कार्यको निरन्तरता सुनिश्चित गर्न तपाईंहरू तीनै जनाले ठोस र स्पष्ट कार्ययोजना प्रस्तुत गर्न आवश्यक छ। नयाँ व्यक्तिहरूलाई समावेश गर्ने कुरामा हतार गर्नुभन्दा पहिले अघि आएका साथीहरूका राय र सुझावहरूलाई नै प्राथमिकता दिनु उचित देखिन्छ।

सहयोगको खाका तयार गर्दा व्यक्ति विशेषको अनुहार हेरेर होइन, आवश्यकता र औचित्यका आधारमा स्पष्टसँग धारणा राख्नुहोस्। यो भेलाको मुख्य उद्देश्य विचार निर्माण र गहन मन्थन गरी कार्यलाई कसरी निरन्तर अघि बढाउने भन्ने नै हो। हामीले 'कन्ट्रोल्ड अनलर्निङ' (नियन्त्रित सिकाइ) को अवधारणालाई आत्मसात् गर्न सक्छौँ कि सक्दैनौँ भन्नेमा गम्भीरतापूर्वक सोचौँ।

टंक कार्की

 म 'दायित्वबोध' को सुरुआती कालदेखि नै यस वैचारिक यात्रामा निरन्तर रूपमा संलग्न रहँदै आएको छु। वर्तमान समयमा नेपाली वामपन्थी आन्दोलनमा क्रियाशील रहेका बौद्धिक मञ्चहरू खास-खास पार्टीविशेषको छायामा सञ्चालित छन्। त्यसैले साझा वामपन्थी एजेन्डाको पैरवी र वकालत गर्ने स्वतन्त्र मञ्चहरूको नितान्त खाँचो खड्किएको छ। इतिहासमा पहिलो पटक नेपाली वामपन्थी आन्दोलनले ठुलो धक्का बेहोरेको छ। यो ह्रास रातारात भएको होइन; बरु लामो समयदेखि क्रमिक रूपमा सञ्चित भएका साना-ठुला गल्तीहरूको एकीकृत परिणाम हो। 'जेन-जी' (Gen Z) पुस्ता र डिजिटल प्रविधिको यस उत्कर्षमा आइपुग्दा हामी संकटको चरम बिन्दुमा पुगेर ढलेका छौँ। जसरी यो अवस्थामा पुग्न लामो समय लाग्यो, त्यसैगरी रातारात हिजोकै शीर्ष स्थानमा पुग्न सम्भव छैन।

यस ऐतिहासिक कालखण्डमा हामीले कहाँ गल्ती गर्‍यौँ, के राम्रा काम गर्‍यौँ र अब के गर्नुपर्छ भन्ने विषयमा संकुचित घेराभन्दा माथि उठेर फराकिलो ढङ्गले सोच्नु आवश्यक छ। आफ्नै समूहको मात्र प्रशंसा गर्ने प्रवृत्ति त्याग्नुपर्छ। यो आन्दोलनको पुनरुत्थान कुनै दलविशेषको आन्तरिक विषय मात्र नभएर हामी सम्पूर्ण वामपन्थीहरूको साझा दायित्व हो। यसमा नीतिगत, दार्शनिक, सैद्धान्तिक र आचरणगत समस्याहरू विद्यमान छन्, जसलाई पहिचान गरी ज्ञानको ढोका खोल्नुपर्छ।

आजको युगमा केवल राजनीतिक वामपन्थी (Political Left) लाई मात्र समेटेर मुलुकलाई दिशा दिन सम्भव छैन; सामाजिक वामपन्थी (Social Left) हरूलाई पनि एउटै भावधारामा गोलबन्द गर्नु अनिवार्य छ। विगतमा 'संकल्प', 'झिसमिसे', 'मूल्याङ्कन' र 'नेपाल पत्र' जस्ता मञ्चहरू किन निरन्तर चल्न सकेनन् र सत्तामा पुग्दा समेत हामीले एउटा साझा वामपन्थी सञ्चार माध्यम स्थापना गर्न किन सकेनौँ भन्नेमा गम्भीर समीक्षा हुनुपर्छ। आलोचना मर्यादित र सिंगो वामपन्थी आन्दोलनको हितलाई केन्द्रमा राखेर गरिनुपर्छ, जसले विरोधीलाई बल नपुगोस्। यो पुनर्जीवनको यात्रा सहज छैन, तर वैचारिक क्षेत्रमा कसैको अधिनायकत्व स्वीकार नगरी कुनै दलविशेषको छाया पर्न नदिने सर्तमा, म आफ्नो सामर्थ्यले भ्याएसम्म यस साझा प्रयत्नमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।

परशुराम तामाङ

म लामो समयदेखि मार्क्सवादी चिन्तनको क्षेत्रमा आएको ह्रासलाई महसुस गर्दै यस विषयमा लेख्दै आएको छु। म दलमा आबद्ध भए पनि नभए पनि यस क्षेत्रमा वैचारिक विमर्श गर्ने साथीहरूको सधैँ नजिक रहन चाहन्छु। वर्तमान समयमा मार्क्सवादी चिन्तनमा ठुलो संकट आएको छ। यस संकट निवारणका लागि कुनै एउटा राजनीतिक दलको लाइन मात्र नसमाती मार्क्सवादप्रति आलोचनात्मक र रचनात्मक दृष्टिकोण राखेर फराकिलो बहस चलाउनु आवश्यक छ।

अहिले यो सञ्चार माध्यम वा मञ्चलाई अगाडि बढाउन हामीसँग साधन र समर्पित समूह त छ, तर आर्थिक र प्राज्ञिक स्रोतको खाँचो छ। यसलाई निजी कम्पनीका रूपमा राख्नुभन्दा 'ट्रस्ट' (गुठी) को मोडेलमा लैजानु उपयुक्त हुन्छ, जसले गर्दा सदस्यता वा अन्य माध्यमबाट आम समुदायले योगदान गर्न सकून्। आजको आर्थिक मन्दी र संसद्मा देखिएका विकृतिले मुलुकलाई फासीवादतर्फ धकेल्ने खतरा बढेको छ। राष्ट्रियतामाथि चोट पुग्दा समेत क्षमा नमstateाग्ने राजनीतिक प्रवृत्तिले गम्भीर संकट निम्त्याएको छ।

यस्तो बेला चिन्ता मात्र गरेर बस्नुभन्दा संकटबाट मुक्त हुने व्यवहारिक उपाय खोज्नुपर्छ। नयाँ र पुराना शक्तिबीचको अन्धभक्तिका कारण सही र गलत छुट्टिन छाडेको यो जटिल परिस्थितिमा म यस अभियानलाई अगाडि बढाउन आफ्नोतर्फबाट आर्थिक सहयोग गर्न तत्पर छु । संस्थालाई दिगो बनाउन र अन्य इच्छुक साथीहरूबाट पनि व्यवस्थित रूपमा सहयोग जुटाउन तत्काल एउटा ठोस आर्थिक कार्यविधि र ढाँचा तयार पारौँ।

 बिमल फुँयाल

म शिक्षा क्षेत्रलाई वामपन्थी (लेफ्ट) दृष्टिकोणबाट विश्लेषण गर्ने र शिक्षण सिकाइ प्रक्रियाको लोकतान्त्रिकरणका पक्षमा क्रियाशील अभियन्ता हुँ। 'दायित्वबोध' समूहले विगत तीन वर्षमा गरेका प्रगति र आगामी योजनाहरू अत्यन्तै सराहनीय तथा प्रगतिशील छन्। हालैको निर्वाचनमा कम मत आएकै कारण वामपन्थी आन्दोलनले एक्कासि धक्का खाएको भन्ने भाष्यसँग म सहमत छैन। वास्तवमा, २०६३ सालको राजनीतिक परिवर्तनपछि आम जनताले वामपन्थी दलहरूलाई दुई-तिहाइ बहुमतसहित सत्तामा पुर्‍याएका थिए। तर, नेतृत्वले प्रगतिशील भूमिसुधार, सुदृढ सार्वजनिक शिक्षा र सर्वसुलभ स्वास्थ्य जस्ता मौलिक मुद्दामा काम गर्नुको सट्टा शिक्षाको नवउदारवादी बजारीकरणलाई प्रोत्साहन गर्‍यो। यो वैचारिक विचलन र उल्टो यात्रा धेरै अगाडिदेखि सुरु भएको हो।

अब दायित्वबोध जस्ता मञ्चहरूले मिटरब्याज पीडित, सुकुम्बासी र काठमाडौँ उपत्यकाबाट विस्थापित भई होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताइरहेका हजारौँ नागरिकका समसामयिक मुद्दामा वैचारिक हस्तक्षेप गर्नुपर्छ। हालैको एसईई (SEE) परीक्षामा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु व्यक्तिको असफलता नभई नेपालको समग्र शिक्षा प्रणालीकै विफलता हो। तसर्थ, यस मञ्चलाई संकुचित दायरामा मात्र सीमित नराखी भारतको ऐतिहासिक किसान आन्दोलनबाट सिकेर सम्पूर्ण प्रगतिशील शक्ति र उत्पीडित वर्गको साझा आवाज बनाउनुपर्छ।

यस संस्थालाई कसैको निजी लिमिटेडका रूपमा नभई सामूहिक मोडेलमा लैजान ५-६ महिनाको गृहकार्य आवश्यक छ। यसका लागि भारतको 'इपीडब्लू' (EPW) को फाउन्डेसन मोडेल, बेलायतको 'न्यू इन्टरनेसनलिस्ट' को सहकारी मोडेल वा 'मन्थली रिभ्यु' को संगठनात्मक स्वरूप अनुकूल हुन सक्छ। यसलाई कानुनी परिधिभित्र रही व्यवस्थापन, सल्लाहकार, सञ्चालक समिति, सहयोगी र योगदानकर्ता गरी पाँचवटा तहमा विस्तार गर्नुपर्छ। शिक्षालाई बजारको वस्तु बनाउनबाट रोक्न तथा कक्षाकोठादेखि राजनीतिक दलसम्म माओत्सेतुङको 'जनताबाट सिक्ने' र पाउलो फ्रेरेको 'उत्पीडितहरूको शिक्षाशास्त्र' जस्तो आलोचनात्मक एवं जनमुखी शिक्षण पद्धतिको विकास गर्न म निरन्तर प्रतिबद्ध रहनेछु।

चन्द्र खाकी

यहाँ उपस्थित प्रबुद्ध वर्गबाट व्यक्त महत्त्वपूर्ण विचारहरूका लागि हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। प्राप्त सबै रचनात्मक सुझावहरूलाई आत्मसात् गर्दै आगामी दिनमा यहाँहरूका रचनाहरूलाई थप सङ्श्लेषित, सैद्धान्तिक र गहन रूपमा प्रस्तुत गरिदिनुहुन म अनुरोध गर्दछु। यस्ता बौद्धिक सामग्रीहरूलाई ‘दायित्वबोध’ले ससम्मान प्रकाशन गर्नेछ।

यस सन्दर्भमा म एउटा प्रसङ्ग स्मरण गर्न चाहन्छु। प्रसिद्ध समाजशास्त्री जुर्गेन हेबरमासको निधनको समाचार हामीले प्रकाशन गरेलगत्तै प्राज्ञिक व्यक्तित्वहरूबाट हेवरमासलाई प्रत्यक्ष भेटेका, उनका अन्तर्वार्ता समेत लिएका प्रा.डा. कृष्ण भट्टचनसँग यस विषयमा लेख माग्न सुझाव आयो। सुखद कुरा, त्यसको केही मिनेटमै स्वयम् भट्टचन सरले नै फोन गरेर हेबरमासका बारेमा आफ्नो लेख छाप्न प्रदान गर्नुभयो। लेखक र चिन्तकहरूबाट स्वतःस्फूर्त रूपमा मिल्ने यस्तै उत्प्रेरणाले नै हामीलाई अघि बढ्ने ऊर्जा दिइरहेको छ।

हाम्रो कार्यटोली निकै सीमित छ। अर्थशास्त्र, समाजशास्त्र र शिक्षाशास्त्र लगायत सबै क्षेत्रमा जानी नजानी हेर्न बाध्य हामी तीन जनाको सानो समूहले मात्र चौतर्फी विषयमा दृष्टि पुर्‍याउन सकिरहेका छैनौँ। विशिष्ट विषयहरुमा सामग्रीहरु प्रकाशित गर्न नसक्नु, बहसहरू चलाउन नसक्नु तथा समयमै बौद्धिक विश्लेषण पस्कन नसक्नु हाम्रै स्रोत र साधनको सीमा हो, जसमा हामी कसैलाई दोष दिँदैनौँ। तर, भट्टचन सरले जस्तै अन्य लेखक–बुद्धिजीवीहरूले पनि हामीलाई स्वत:स्फूर्त रुपमा आफ्ना लेखरचनाहरु दिएर उत्प्रेरित गरिदिनुभयो भने पक्कै पनि ‘दायित्वबोध’ले नयाँ जीवन पाउनेछ।

हाम्रो मुख्य चुनौती आर्थिक नै मात्र होइन। वैकल्पिक जीविकोपार्जनका माध्यम हुँदा र पारिवारिक सहयोगका कारण विशुद्ध स्वयंसेवी रूपमा यसलाई चलाउँदा वार्षिक रुपमा खर्च हुने करिब दुई लाख हामी आफैँ बेहोर्न सक्छौँ। वास्तविक चुनौती त वैचारिक गतिरोधको हो। हामी तीनजनाको वैचारिकीको सीमाभित्रको गन्थन मात्र दोहोर्‍याइरहँदा हामी विचारमा ‘स्याचुरेटेड’ (सन्तृप्त) भइसकेका छौँ, जसले वाम-वैचारिक आन्दोलनलाई ठोस मद्दत पुर्‍याउँदैन।

तसर्थ, ‘दायित्वबोध’लाई केवल आत्मसन्तुष्टिको माध्यम मात्र नबनाई फरक कोण र दृष्टिकोणहरूको मन्थन गर्ने साझा थलो बनाउनु आवश्यक छ भन्ने हामी ठान्छौं। व्यापक मस्तिष्कहरुमाझको गहन बहस र सङ्श्लेषणबाट मात्र नयाँ विचारको मार्ग प्रशस्त हुन सक्छ। यसका लागि यस पत्रिकालाई सामूहिक प्रयत्न र स्वामित्वको अभियान बनाउन जरुरी छ भन्ने हामीलाई लाग्छ।

श्याम श्रेष्ठ

यहाँ उपस्थित सहभागीहरूबाट 'दायित्वबोध'को निरन्तरता र यसको सामूहिक स्वामित्वका सबालमा अत्यन्तै महत्त्वपूर्ण एवं दूरगामी सुझावहरू प्राप्त भएका छन्। छलफलका क्रममा व्यक्त विचारहरूको सार एउटै छ– दायित्वबोध समसामयिक रूपमा आवश्यक छ, तर यसको सामूहिकताको स्वरूप (सहकारी, ट्रस्ट वा अन्य) लाई स्पष्ट रूपमा परिभाषित गरिनुपर्छ। उपस्थित बौद्धिक जमातले संस्थालाई वैचारिक, आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्न तत्परता जनाइसकेकाले यस सकारात्मक ऐक्यबद्धतालाई संस्थाको अमूल्य सम्पत्तिका रूपमा ग्रहण गरी कार्यटोली विस्तार गर्नु आवश्यक देखिन्छ।

यसका लागि सम्पादकीय र आर्थिक स्रोत परिचालन गर्ने बलियो टोली गठन गरिनुपर्छ। केवल व्यक्तिगत र खुद्रे आर्थिक सहयोगले मात्र दीर्घकालीन निरन्तरता सम्भव नहुने हुँदा दिगो आर्थिक स्रोतको खोजी र कार्ययोजना स्पष्ट हुन जरुरी छ। सहभागी महानुभावहरूले छोटो समयको सीमाभित्र राख्नुभएका गहन विचार र विज्ञताका आधारमा उहाँहरूलाई विषयगत समूहमा वर्गीकरण गरी थप विस्तृत छलफल थाल्नुपर्छ। वैचारिक स्पष्टता र राजनीतिक उतारचढाव जस्ता विषयमा पनि अलग-अलग समूह बनाएर सघन बहस चलाउनु उपयुक्त हुन्छ।

सीताराम भट्टराई

हाम्रो संस्थासँग एक सुविधासम्पन्न रेकर्डिङ स्टुडियो, अफिस र वर्क स्टेसन रहेको छ। हामीले समन्वय गरेपछि तपाईंहरू उक्त स्टुडियोमा आइदिनु भएमा संवाद रेकर्डिङ र त्यसको रुपान्तरण (ट्रान्सक्रिप्सन) एकैसाथ गर्न सकिन्छ। तीनवटै प्लेटफर्मका लागि उपयोगी र गुणस्तरीय सामग्री (कन्टेन्ट) तयार पार्न सकिन्छ।

दोस्रो कुरा, विगतमा जस्तै महिना-महिनामा यस्ता विचार-मन्थन वा राउन्ड टेबल बैठकहरू आयोजना गर्नु आवश्यक छ।

उक्त स्टुडियोमा एकैपटक तीन-चार जना बसेर गहन छलफल गर्न सकिने आधुनिक र ठूलो पूर्वाधार छ, जहाँबाट तत्कालै प्रत्यक्ष प्रसारण (लाइभ) समेत गर्न सकिन्छ। हामीसँग उच्च गुणस्तरका क्यामराहरू र कुशल भिडियो सम्पादकहरू (एडिटर) समेत उपलब्ध भएकाले यस्ता प्राज्ञिक तथा रचनात्मक कार्यहरू सहजै सम्पन्न गर्न सम्भव छ।

केदार सिटौला

हाम्रो मुख्य चुनौती आर्थिक मात्र नभएर सामाग्री उत्पादनको पनि हो। हाल 'दायित्वबोध' अनलाइनमा मात्र तीन जनाको सीमित टोली कार्यरत रहेकाले सबै प्रकारका सामग्री लेखन सम्भव छैन। आफ्नै खल्तीको पैसा र स्वयंसेवाबाट सञ्चालित यस अनलाइनले लेखकहरूलाई पारिश्रमिक दिन सक्ने अवस्था छैन। वर्तमान समयमा सामाजिक उत्तरदायित्वको भावना कमजोर हुँदै गएको परिप्रेक्ष्यमा मूलधारका मिडियामा लेख्ने बुद्धिजीवीहरूले सामाजिक उत्तरदायित्व सम्झेर वर्षमा दुई-तीनवटा वैचारिक लेख मात्र उपलब्ध गराइदिए पनि यो अनलाइन थप सबल हुने थियो। लेख्न असमर्थ व्यक्तिहरूले बजेट, शिक्षा, स्वास्थ्य, नीति तथा संस्कृतिका जल्दाबल्दा विषयमा १०-१५ मिनेट मात्र बोलिदिए पनि त्यसलाई रूपान्तरण (ट्रान्सक्राइब) गरेर स्तरीय लेख तयार पार्न सकिन्छ।

यस अभियानलाई आर्थिक सहयोग, बौद्धिक लेखन वा वैचारिक संवादमार्फत सहयोग गर्न सकिन्छ। यी विकल्प सम्भव नभएमा फेसबुक पेज र सामग्रीहरूलाई लाइक तथा सेयर गरेर पनि फेसबुक एल्गोरिदमको जालो तोड्न र मिडियाको पहुँच बढाउन ठुलो मद्दत पुग्नेछ। नेपालमा दक्षिणपन्थी दबाब बढ्दै जाँदा विगत तीन दशकदेखि वामपन्थले पाएको प्राज्ञिक स्थान खुम्चिँदै गएको छ। यस्तो अवस्थामा 'दायित्व बोध' जस्ता प्रगतिशील र वामपन्थी सञ्चारमाध्यमको आवश्यकता झन् टड्कारो बनेकाले यसको संरक्षण गर्नु स्वयम् नेपालका वामपन्थी शक्तिहरूको हितमा छ। अन्त्यमा, हाल देखिएका आर्थिक र सामग्रीगत (कन्टेन्ट) अभावलाई परिपूर्ति गर्न विज्ञहरूबाट प्राप्त हुने विस्तृत विश्लेषणात्मक लेख तथा अडियो सामग्रीहरू यसका अमूल्य सम्पत्ति हुन्।

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …