मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
दक्षिणी इरानी सहर मिनाबमा, जहाँ जमिनबाट रापका तरंगहरू उठ्छन् र साम्राज्यवादको वास्तविकता हरेक बन्दरगाह एवं सैन्य अखडामा मडारिइरहन्छ, सन् २०२६ फेब्रुअरी २८ का दिन एउटा मिसाइल विद्यालयमा बजारियो। उक्त आक्रमणमा १५६ जनाको ज्यान गयो, जसमा विशेष गरी १२० जना स्कुले बालबालिकाहरु थिए। इरानी सरकारले यसलाई तुरुन्तै 'निर्लज्ज अपराध' भन्यो। संयुक्त राष्ट्रसंघले यस हमलालाई 'मानवीय कानूनको गम्भीर उल्लंघन' भन्यो। मारिएका बालबालिकाहरूको नाम विश्वव्यापी शक्तिका केन्द्रहरूमा त्यसरी गुन्जिएन, जसरी जनरलहरू, हतियार प्रणालीहरू र प्रविधि प्लेटफर्महरूका नाम गुन्जिन्छन्। आर्टिफिसियल इन्टेलिजेन्सको भविष्यबारे बहस गर्नेहरूका लागि ती मृत इरानीहरू प्रायः अज्ञात नै रहे जुन प्रविधिको प्रयोग, पछि खुलेअनुसार, अमेरिकाले यसै आक्रमणमा गरेको थियो।
बालबालिकाहरूको यो हत्याले हाम्रो युगको एउटा केन्द्रीय प्रश्नतर्फ ढोका खोलेको छ: जब कुनै मेसिन हिंसाको श्रृंखलामा प्रवेश गर्छ, तब त्यसको जिम्मेवारी कसले लिन्छ? यसमा एआईको भूमिका के थियो भन्ने कुरा अझै अस्पष्ट छ। सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, अमेरिकी सेनाको 'मेभन स्मार्ट सिस्टम' (Maven Smart System), जसमा एन्थ्रोपिकको 'क्लोड' (Claude) मोडल लगायतका एआई उपकरणहरू समावेश छन्, इरानविरुद्धको सैन्य कारबाहीमा संलग्न थियो। एआई-सहायता प्राप्त प्रणालीहरूले लक्ष्य निर्धारण गर्ने प्रक्रियामा कुनै किसिमको भूमिका खेलेका थिए वा थिएनन् भन्नेबारे अनुसन्धानकर्ताहरूले अझै अध्ययन गरिरहेका छन्। उपलब्ध प्रमाणहरू अझै अपूर्ण छन्।
यसमा उल्लेखनीय कुरा के छ भने, एआई उद्योगका नेतृत्वकर्ताहरू अब युद्धको संयन्त्रभन्दा बाहिर छैनन्। तिनीहरू यसको भित्रै छन्। यस आक्रमणबारे सोधिँदा, एन्थ्रोपिकका सीईओ डारियो अमोदेईले यस हमलामा क्लोडको प्रयोग कसरी भएको थियो भन्ने कुरा आफूलाई 'सटीक रूपमा थाहा नभएको' बताए, जसलाई उनले 'वास्तवमै, निकै भयानक' 'गल्ती' का रूपमा चित्रण गरे। यद्यपि, अमोदेईले जोड दिँदै भने कि विद्यालयमाथिको त्यो आक्रमण 'एउटा यस्तो प्रयोग थियो, जसले हाम्रो लक्ष्मणरेखा (रेड लाइन्स) समेत उल्लंघन गर्दैन।' यसो भन्नुको कारण, विद्यालयमा आक्रमण गर्ने अन्तिम निर्णय अन्ततः एक मानव योद्धाले नै लिएको थियो। अमोदेईको यो जवाफमाथि गम्भीर ध्यान दिनु जरुरी छ।
दशकौंदेखि, प्राविधिक शक्तिका निर्माताहरूले एउटा यस्तो भाषाको विकास गरेका छन् जसले जिम्मेवारीलाई यसरी व्यापक रूपमा बाँडिदिन्छ कि त्यो अन्ततः हराएर जान्छ। इन्जिनियरले उपकरण बनाउँछ, ठेकेदारले प्रणालीलाई एकीकृत गर्छ, सैन्य विश्लेषकले नतिजाको समीक्षा गर्छ, अधिकारीले आक्रमणको अनुमति दिन्छ र राजनीतिज्ञले युद्धलाई स्वीकृति दिन्छ। यसको परिणाम एउटा यस्तो श्रृंखला बन्न पुग्छ जहाँ सबैजना सहभागी हुन्छन्, तर कोही पनि जवाफदेही हुँदैनन्। 'ह्युमन इन द लुप' (प्रक्रियामा मानवको संलग्नता) को भाषा यही परम्पराको हिस्सा हो। निश्चित रूपमा, अन्तिम निर्णय मानिसले नै गर्छन्। एसिया र अफ्रिकालाई ध्वस्त पार्ने पश्चिमी औपनिवेशिक युद्धहरूका क्रममा पनि अन्तिम निर्णय मानिसहरूले नै गरेका थिए। अमेरिकाले भियतनामका गाउँहरूमा बमबारी गर्दा पनि अन्तिम निर्णय मानिसहरूले नै गरेका थिए। इराकमाथि अमेरिकाको अवैध आक्रमणको क्रममा पनि अन्तिम निर्णय मानिसहरूले नै गरेका थिए। कुनै प्रक्रियाको अन्त्यमा मानव हस्ताक्षर हुनुले मात्र, उक्त परिणाम निम्त्याउने शक्ति संरचनाको बारेमा खासै केही बताउँदैन।
यसभन्दा महत्वपूर्ण प्रश्न यो हो: ती मानिसहरूका लागि उपलब्ध निर्णयका विकल्पहरू तय गर्नमा एआईले कस्तो भूमिका खेल्छ? आधुनिक सैन्य प्रणालीहरू केवल हिसाबकिताब गर्ने यन्त्र मात्र होइनन्। तिनीहरूले सूचनाहरूलाई व्यवस्थित गर्छन्, सम्भावनाहरूलाई प्राथमिकता दिन्छन्, ढाँचाहरू पहिचान गर्छन्, सिफारिसहरू तयार पार्छन् र ध्यानलाई केन्द्रित गराउँछन्। कमाण्डरहरूले के देख्छन् र के देख्दैनन् भन्ने कुरालाई तिनीहरूले प्रभावित पार्छन्। कुनै मानिससँग औपचारिक अधिकार सुरक्षित हुँदा पनि, बुझाइको रूपरेखा (आर्किटेक्चर अफ पर्सेप्सन) पहिल्यै मेसिनहरूद्वारा निर्माण भइसकेको हुन सक्छ। त्यसैले, यो बहस 'अन्तिम निर्णय मानिसले नै गरेको हो' भन्ने वाक्यांशमा मात्र टुंगिन सक्दैन।
मिनाबको यो अपराध यस्तो समयमा आएको छ, जब प्रविधि कम्पनीहरूले आफूलाई नैतिक सीमाहरूको रक्षकका रूपमा बढचढ गरी प्रस्तुत गरिरहेका छन्। विशेष गरी एन्थ्रोपिकले सतर्कताको एउटा छवि बनाएको छ (यो 'क्लोडको संविधान' मा स्पष्ट देखिन्छ)। यसले सुरक्षा, संरेखण (अलाइनमेन्ट) र सीमाहरूको बारेमा कुरा गरेको छ। प्रविधिको आक्रामक प्रयोग गर्ने अन्य दृष्टिकोणहरूभन्दा यसले आफूलाई अलग राखेको छ। तैपनि, कुनै पनि संस्था अन्ततः आफ्ना सिद्धान्तहरूद्वारा होइन, बरु ती सिद्धान्तहरूको परीक्षण हुने परिस्थितिहरूद्वारा प्रकट हुन्छ। विद्यालयमा बालबालिकाहरूको मृत्युले यस्तै एउटा परीक्षणलाई प्रतिनिधित्व गर्छ।
कुनै कम्पनीले आफ्नो प्रविधि सैन्य कारबाहीमा कसरी प्रयोग भयो भन्ने कुरा पत्ता लगाउन सक्दैन भने, निगरानीको अर्थ के रहन्छ? कार्यकारीहरूसँगै प्रविधिको प्रयोगबारे स्पष्टता छैन भने, सुरक्षात्मक उपायहरूका दाबीहरूको मूल्याङ्कन गर्न गाह्रो हुन्छ। कुनै प्रणालीले यस्तो सैन्य प्रक्रियामा योगदान पुर्याउँछ, जसको परिणाम ठूलो संख्यामा सर्वसाधारणको हताहती हुन्छ भने, के जिम्मेवारीलाई केवल अन्तिम मानव कर्तामा मात्र सीमित गर्न सकिन्छ? यी प्रश्नहरू एन्थ्रोपिकका लागि मात्र होइनन्। यसले सिलिकन भ्याली र अमेरिकी राष्ट्रिय सुरक्षा संयन्त्रबीच उदय भइरहेको समग्र गठबन्धनलाई नै चुनौती दिन्छ। इतिहासभरि, प्राविधिक रूपान्तरणका कालखण्डहरूले पूँजी र सैन्य शक्तिबीच नयाँ साझेदारीहरू सिर्जना गरेका छन्। रेलवे, टेलिग्राफ, उड्डयन, आणविक भौतिकी र डिजिटल नेटवर्कहरू—सबैले यही बाटो पछ्याए। आर्टिफिसियल इन्टेलिजेन्स पनि अहिले त्यही मार्गमा हिँडिरहेको छ। यसका समर्थकहरूले सटिकता, कार्यदक्षता र कम गल्तीहरूको वाचा गर्छन्। तैपनि, हरेक पुस्ताले यस्तै किसिमका वाचाहरू सुन्दै आएका छन्।
बीसौं शताब्दी नयाँ प्रविधिहरूले युद्धलाई बढी स्वच्छ, विवेकपूर्ण र मानवीय बनाउनेछन् भन्ने दाबीहरूले भरिएको थियो। ऐतिहासिक अभिलेखले यस्तो आशावादितालाई खासै समर्थन गर्दैन। प्रविधिको प्रयोगले अक्सर हिंसालाई रोक्ने वाचा गरे पनि यसको दायरा र गतिलाई भने अझ बढाउने गर्छ। मिनाबका बालबालिकाहरूले एआईलाई कुनै दार्शनिक बहसका रूपमा सामना गरेनन्। तिनीहरूले यसलाई एउटा यस्तो सैन्य प्रणालीको हिस्साका रूपमा भोगे, जसको परिणाम विस्फोटक शक्तिका रूपमा आयो। लक्ष्य निर्धारण गर्ने प्रक्रियामा क्लोडले महत्त्वपूर्ण भूमिका खेल्यो, सानो भूमिका खेल्यो वा कुनै पनि भूमिका खेलेन भन्ने कुरा अझै निश्चित हुन बाँकी छ। अनुसन्धानकर्ताहरूले तथ्यहरू स्थापित गर्नुपर्छ, पत्रकारहरूले कठिन प्रश्नहरू सोधिरहनुपर्छ र नागरिकहरूले पारदर्शिताको माग गर्नुपर्छ। तर ती तथ्यहरू पूर्ण रूपमा बाहिर आउनु अघि नै, यस घटनाले हाम्रो राजनीतिक अवस्थाको बारेमा एउटा महत्त्वपूर्ण कुरा उजागर गर्छ। अब प्रश्न एआईलाई युद्धमा समावेश गरिनेछ कि छैन भन्ने होइन। त्यो समायोजन पहिल्यै सुरु भइसकेको छ। अबको मुख्य प्रश्न त यो हो कि के मानव समाजले जीवन र मृत्युका निर्णयहरूलाई ती प्रणालीहरूद्वारा निर्देशित हुन दिइरहनेछ, जसको निगरानी, व्याख्या वा नियन्त्रण गर्न स्वयं तिनका निर्माताहरू समेत संघर्ष गरिरहेका छन्?
मिनाबको त्यो विद्यालय एउटा चेतावनीका रूपमा खडा छ, केवल एउटा आक्रमण, एउटा कम्पनी वा एउटा युद्धको बारेमा मात्र होइन। यसले यस्तो भविष्यको चेतावनी दिन्छ, जहाँ प्राविधिक शक्ति सार्वजनिक जवाफदेहिता भन्दा तीव्र गतिमा अघि बढ्छ। र, एआई एवं ड्रोनहरूको उपस्थितिले गर्दा इन्जिनियर र युद्धमैदान बीचको दुरी दिनानुदिन घट्दै गइरहेको त्यो भविष्यमा, आफ्ना लागि मार्न भनी मेसिनहरू पठाउने मानिसहरूमाझ त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा खोज्न झन्-झन् गाह्रो हुँदै जानेछ।
Source: https://globetrotter.media/
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’
चीनमा गरिवी निवारण कार्यक्रमको अन्तरकथा
राहुल क्यास्ट्रोमाथिको हस्तक्षेप बन्द गर!
पश्चिम एशियामा बढ्दो तनाव: इरान-अमेरिका मुठभेड र क्षेत्रीय अस्थिरताको जोखिम
एआई, औद्योगिक सार्वभौमिकता र प्याक्स सिलिका
युद्ध विजेता इरान: ट्रम्प र नेतान्याहु अब हिसाब-किताबको कठघरामा
प्रतिक्रिया