नेपालमा पीडाको पुस्तान्तरणको चक्र
नेपालमा राजनीतिक संकटलाई प्रायः सरकार परिवर्तन, दलगत द्वन्द्व, नीतिगत असफलता वा संस्थागत कमजोरीका रूपमा मात्र बुझ्ने गरिन्छ। तर राजनीतिक संकट केवल सत्ता र शासनको विषय मात्र होइन; यसले समाजले विगतमा भोगेका पीडा, असुरक्षा र अनुभवहरूलाई पनि पुनः सतहमा ल्याउने काम गर्छ। दशकौँदेखि युद्ध, विद्रोह, प्राकृतिक प्रकोप, नाकाबन्दी, राजनीतिक अस्थिरता, बेरोजगारी र व्यापक बसाइँसराइले नेपाली समाजको राजनीतिक र मनोसामाजिक संरचनामा गहिरो छाप छोडेका छन्। त्यसैले नेपालमा राजनीतिक घटनाहरूलाई केवल राजनीतिक दृष्टिकोणबाट मात्र होइन, मानिसहरूको भावना, सामूहिक अनुभव र मनोवैज्ञानिक अवस्थासँग जोडेर पनि हेर्न आवश्यक छ। यही कारण राजनीति र मनोविज्ञानबीचको अन्तरसम्बन्ध तथा परस्पर प्रभाव नेपालजस्तो समाजमा विशेष रूपमा प्रकट हुन्छ।
नेपालमा राजनीतिक घटनाहरूलाई केवल राजनीतिक दृष्टिकोणबाट मात्र होइन, मानिसहरूको भावना, सामूहिक अनुभव र मनोवैज्ञानिक अवस्थासँग जोडेर पनि हेर्न आवश्यक छ।
यस लेखले नेपालका राजनीतिक संकटहरूलाई बुझ्ने दृष्टिकोणमा एउटा महत्त्वपूर्ण प्रश्नलाई केन्द्रमा राख्छ। के नेपालका राजनीतिक संकटहरू केवल संस्थागत असफलता, शासन प्रणालीको कमजोरी वा नीतिगत त्रुटिहरूको परिणाम मात्र हुन्? वा यी संकटहरू विशेष गरी अन्तर-पीढीगत आघात (इन्टरजेनेरेशनल ट्रमा) को सामाजिक अभिव्यक्ति अझ गहिरो सामाजिक तहमा जरा गाडेर बसेका, लामो समयदेखि सञ्चित हुँदै आएका अनुभवहरूको परिणाम हुन्? यस प्रश्नमार्फत लेखले राजनीतिक घटनाहरूलाई केवल वर्तमान संरचनाको समस्याका रूपमा मात्र होइन, बरु इतिहास, स्मृति र पुस्तान्तरण हुँदै आएको सामूहिक अनुभवसँग जोडेर विश्लेषण गर्ने प्रयास गर्नेछ।
नेपालको आधुनिक राजनीतिक इतिहास स्थिरताको खोजभन्दा बढी निरन्तर परिवर्तनको इतिहास हो। सन् १९९६ देखि २००६ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वले हजारौँको ज्यान लियो, धेरै परिवारहरू विखण्डित भए र देशभर डर एवं असुरक्षाको वातावरण बन्यो। युद्ध अन्त्य भए पनि धेरै समुदायका लागि शान्ति केवल राजनीतिक घोषणाजस्तो मात्र रह्यो, किनकि मनोवैज्ञानिक पुनःस्थापनाको काममा राज्य व्यवस्था पर्याप्त रूपमा अघि बढ्न सकेन। त्यसपछि सन् २०१५ को विनाशकारी भूकम्पले देशलाई फेरि ठूलो मानवीय संकटमा धकेल्यो। यसले भौतिक संरचना मात्र होइन, मानिसहरूको सुरक्षा अनुभूति र भविष्यप्रतिको विश्वासलाई पनि गम्भीर रूपमा कमजोर बनायो। यसैबीच नेपालले निरन्तर नाकाबन्दी, कुशासन, राजनीतिक अस्थिरता र संस्थागत अविश्वास भोग्दै आयो। यस्ता घटनाले समाजमा गहिरो मनोवैज्ञानिक समस्या सिर्जना गरे, जसले आम नागरिकको मनोसामाजिक जीवन र समस्या समाधानको क्षमतालाई पनि प्रभावित गर्यो। तर यी चुनौतीहरूलाई सम्बोधन गर्ने सरकारी प्रयासहरू भने पर्याप्त र प्रभावकारी रूपमा अघि बढ्न सकेनन्। यसरी हेर्दा, नेपालमा “सामान्य जीवन” स्थिर र दीर्घकालीन रूपमा स्थापित हुन सकेको छैन।
नेपालले निरन्तर नाकाबन्दी, कुशासन, राजनीतिक अस्थिरता र संस्थागत अविश्वास भोग्दै आयो। यस्ता घटनाले समाजमा गहिरो मनोवैज्ञानिक समस्या सिर्जना गरे, जसले आम नागरिकको मनोसामाजिक जीवन र समस्या समाधानको क्षमतालाई पनि प्रभावित गर्यो।
यसै क्रममा सन् २०२५ सेप्टेम्बरमा भएको जेन जी आन्दोलनले नेपालमा राजनीतिक अस्थिरताको नयाँ अध्याय थपिदियो। यो युवा-केन्द्रित आन्दोलन हिंसात्मक बन्न पुग्यो। घटनाका क्रममा प्रत्यक्ष रूपमा सडकमा सहभागी र साक्षी बनेका युवाहरूले हिंसात्मक दृश्यहरू देख्नुपर्यो। उनीहरूले घाइते साथीहरू, आगो लागेका भवनहरू र झडपका दृश्यहरूको प्रत्यक्ष सामना गरे।
यो प्रत्यक्ष हिंसात्मक एक्सपोजरले युवाहरूलाई गम्भीर मनोवैज्ञानिक र न्यूरोलोजिकल जोखिममा पार्न सक्छ। यसले मस्तिष्कको भावना नियन्त्रण गर्ने भाग (Amygdala) लाई प्रभावित पार्न सक्छ, जसका कारण अत्यधिक सतर्कता, फ्ल्याशब्याक, निद्राको समस्या, क्रोध व्यवस्थापनमा कठिनाइ र भावनात्मक सुन्नता जस्ता लक्षणहरू देखिन सक्छन्। दीर्घकालीन रूपमा यसले युवाहरूको विकासशील मस्तिष्कमा स्थायी प्रभाव पार्न सक्छ।
अर्कोतर्फ, सामाजिक सञ्जालबाट अप्रत्यक्ष रूपमा प्रभावित लाखौँ नेपालीहरू, विशेष गरी जेन जी र युवा पुस्ताले यी घटनाहरूका ग्राफिक छवि र भिडियोहरू बारम्बार देखे। गोली हानेको, आगो लागेको र हिंसाका दृश्यहरू देशव्यापी रूपमा फैलिए। यस्तो बारम्बार दोहोरिने अप्रत्यक्ष एक्सपोजरले अप्रत्यक्ष आघातको जोखिम बढाउँछ। यसले युवाहरूमा सामूहिक चिन्ता, भावनात्मक सुन्नता, सामाजिक अविश्वास, निद्रासम्बन्धी समस्या र भविष्यप्रतिको निराशा बढाउन सक्छ। यो एक्सपोजरले उनीहरूको विकासशील मस्तिष्कलाई प्रभावित पार्न सक्छ, जसले भावी पुस्तामा अन्तर-पुस्तागत आघातको चक्रलाई थप बलियो बनाउने सम्भावना रहन्छ।
गोली हानेको, आगो लागेको र हिंसाका दृश्यहरू देशव्यापी रूपमा फैलिए। यस्तो बारम्बार दोहोरिने अप्रत्यक्ष एक्सपोजरले अप्रत्यक्ष आघातको जोखिम बढाउँछ। यसले युवाहरूमा सामूहिक चिन्ता, भावनात्मक सुन्नता, सामाजिक अविश्वास, निद्रासम्बन्धी समस्या र भविष्यप्रतिको निराशा बढाउन सक्छ।
यस आन्दोलनमा धेरै मानिसहरूले अन्याय महसुस गरेका छन्। छानबिन समिति गठन भए तापनि सहिद परिवार र घाइतेहरूले पूर्ण न्याय महसुस गर्न सकेका छैनन्। अर्कोतर्फ, देशलाई आफ्नो ठानेका मानिसहरूले पनि हिंसा र आगजनीबाट उत्पन्न सामूहिक अन्याय महसुस गरेका छन्।
हालै सुकुम्बासी बस्तीहरूको बलपूर्वक विस्थापनका क्रममा बालबालिकाहरूले प्रत्यक्ष रूपमा गहिरो आघात महसुस गर्नुपरेको थियो। यस्तो अचानक र जबर्जस्ती विस्थापनले बालबालिकामा छोडेको पीडा र असुरक्षा भविष्यमा अर्को हिंसाका लागि ऊर्जा बन्न सक्छ।
अन्तर-पुस्तागत आघातको चक्र
अन्तर-पुस्तागत आघात केवल मनोविज्ञानको व्यक्तिगत विषय होइन; यो सामाजिक संरचनाभित्रै सिर्जना गरेको परिणाम हो। ‘द बडी किप्स द स्कोर’ का लेखक बेसल भान डर कोल्क भन्छन्: “आघात केवल विगतमा घटेको घटना होइन; यो अनुभवले मन, मस्तिष्क र शरीरमा छोडेको छाप पनि हो।” आधुनिक आघात अनुसन्धान अनुसार लामो समयसम्म रहने तनाव र हिंसाले तनाव प्रतिक्रिया प्रणालीलाई परिवर्तन गर्छ, भावनात्मक नियन्त्रण कमजोर बनाउँछ, र सुरक्षाको अनुभूतिलाई अस्थिर बनाउँछ। यो प्रभाव व्यक्तिमा मात्रमा सीमित हुँदैन, बरु परिवार, समुदाय हुँदै पुस्तान्तरणसम्म विस्तार हुन्छ। नेपाली समाजमा यसका संकेतहरू विदेश बसाइँसराइलाई “पलायन” का रूपमा बुझ्ने प्रवृत्ति, संस्थागत विश्वासको कमी, भविष्यप्रतिको अनिश्चितता, र भावनात्मक दमनमा स्पष्ट रूपमा देखिन्छन्।
राजनीतिक संकटहरू प्रायः संविधान, दल र नेतृत्वको भाषामा व्याख्या गरिन्छन्। तर यस्ता राजनीतिक संकटहरूलाई आघात-संवेदनशील दृष्टिकोणले हेर्दा, यी केवल राजनीतिक प्रतिक्रिया मात्र हुन् कि जैविक स्तरमा समेत परिवर्तन ल्याउने अवस्थाहरू हुन् भन्ने प्रश्न उठ्छ। आघात-संवेदनशील दृष्टिकोण अनुसार राजनीतिक संकटहरूले केवल नीतिगत परिवर्तन मात्र ल्याउँदैनन्; मनोसामाजिक रूपमा मानिसहरूमा अतिसतर्कता बढ्ने, सामाजिक विश्वास कमजोर हुने, सामूहिक चिन्ता सामान्य बन्ने, र निर्णय प्रक्रिया प्रायः प्रतिक्रियात्मक दिशातर्फ जाने जस्ता मानसिक रूपमा अस्थिर अवस्थाहरू सिर्जना गर्छन्। स्नायु विज्ञानले यस्तो अवस्थालाई निरन्तर खतराको मानसिक ढाँचा (पर्सिस्टेन्ट थ्रेट स्टेट) का रूपमा व्याख्या गर्छ, जहाँ शरीर र मस्तिष्क दुवै सधैँ “सुरक्षा खोज्ने मोड” मा रहन्छन्। यसले मनोवैज्ञानिक अस्थिरताको संकेत मात्र होइन, दीर्घकालीन मानसिक अस्वस्थताको जोखिम पनि देखाउँछ।
राजनीतिक संकटहरू प्रायः संविधान, दल र नेतृत्वको भाषामा व्याख्या गरिन्छन्। तर यस्ता राजनीतिक संकटहरूलाई आघात-संवेदनशील दृष्टिकोणले हेर्दा, यी केवल राजनीतिक प्रतिक्रिया मात्र हुन् कि जैविक स्तरमा समेत परिवर्तन ल्याउने अवस्थाहरू हुन् भन्ने प्रश्न उठ्छ।
नेपालको मानसिक स्वास्थ्य सेवा प्रणाली अझै पनि सीमित स्रोत, उपेक्षित र चुनौतीपूर्ण अवस्थामा छ। विश्व स्वास्थ्य संगठनका प्रतिवेदनहरूले मानसिक स्वास्थ्य जनशक्तिको अभाव, ग्रामीण क्षेत्रमा कमजोर सेवा पहुँच, र उच्च सामाजिक अपहेलनालाई मुख्य समस्याका रूपमा देखाएका छन्। तर यो केवल चिकित्सकीय समस्या होइन; यो मनोसामाजिक संरचनात्मक संकट हो। किनभने जब समाजले युद्ध, प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र बेरोजगारी जस्ता अनुभवहरू भोग्छ, ती अनुभवहरू केवल व्यक्तिगत स्मृतिमा मात्र सीमित हुँदैनन्, बरु सामूहिक स्मृतिका रूपमा पुस्तौँसम्म हस्तान्तरण हुन्छन्।
नेपालजस्ता समाजहरूमा राजनीतिक अस्थिरता सीधा रेखामा अघि बढ्दैन, बरु दोहोरिरहने चक्रजस्तो ढाँचामा देखिन्छ; पहिले अस्थिरता, त्यसपछि केही समयको स्थिरता, फेरि संस्थागत कमजोरी, र पुनः अस्थिरता। अन्तर-पुस्तागत आघात सिद्धान्त अनुसार, लामो समयसम्म समाधान नभएको सामूहिक तनाव (अनरिजोल्भ्ड कलेक्टिभ स्ट्रेस) ले राज्य संरचनालाई कमजोर बनाउँछ। यसले संस्थागत अविश्वास बढाउँछ, नेतृत्व बारम्बार परिवर्तन हुन्छ, र सामाजिक एकता कमजोर हुँदै जान्छ। त्यसैले राजनीतिक अस्थिरता केवल कारण मात्र होइन, यसको परिणाम पनि हो।
चक्र तोड्ने प्रश्न
आघात अनुसन्धान (Trauma research) को एउटा मुख्य निष्कर्ष के हो भने समाधान नभएको आघात समयसँगै हराउँदैन, बरु विभिन्न रूपमा फेरि देखापर्छ। नेपालको सन्दर्भमा यसलाई राजनीतिक अस्थिरताको चक्र, संस्थागत अविश्वास, र सामाजिक निराशाको निरन्तर पुनरावृत्तिको रूपमा देख्न सकिन्छ।
कुनै न कुनै रूपमा आफूमाथि अन्याय भएको महसुस गर्ने मानिसहरू रहेसम्म, समाज शान्त देखिए तापनि उचित मौका पाउँदा हिंसा भड्किन सक्ने र त्यो आफूमाथि भएको अन्यायको बदलाभावका रूपमा भड्किने डर रहन्छ।
जेन जी आन्दोलनको आघातलाई न्यायको सिद्धान्तअनुसार पहिचान र सम्बोधन गर्नु तथा राज्यले काम गर्दा सुकुम्बासी जस्ता समुदायमा पर्ने दीर्घकालीन प्रभावलाई ध्यान दिनु महत्त्वपूर्ण हुन्छ।
यो चक्रलाई तोड्नु केवल राजनीतिक सुधारको विषय मात्र होइन, बरु एक बहु-स्तरीय प्रक्रिया हो। यसका लागि व्यक्तिगत स्तरमा आघातको स्वीकार र उपचार, सामुदायिक स्तरमा विश्वासको पुनर्निर्माण, संस्थागत स्तरमा जवाफदेहिता र दीर्घकालीन रूपमा सामाजिक सम्झौताको पुनः परिभाषा आवश्यक हुन्छ। जेन जी आन्दोलनको आघातलाई न्यायको सिद्धान्तअनुसार पहिचान र सम्बोधन गर्नु तथा राज्यले काम गर्दा सुकुम्बासी जस्ता समुदायमा पर्ने दीर्घकालीन प्रभावलाई ध्यान दिनु महत्त्वपूर्ण हुन्छ।
नेपालको राजनीतिक अस्थिरता केवल राजनीतिक समस्या मात्र होइन। यो भावनात्मक, मनोवैज्ञानिक, र ऐतिहासिक रूपमा सञ्चित अनुभवहरूको परिणाम हो। अन्तर-पुस्तागत आघातले देखाउँछ कि राष्ट्रहरू केवल नीतिले होइन, स्मृतिले पनि चल्छन्। आघातका स्मृतिहरू उपचारविहीन रहे भने ती पुस्तौँसम्म पुनरावृत्ति भइरहन्छन्। नेपाल अहिले एक निर्णायक मोडमा उभिएको छ, आफ्ना स्मृतिमा रहेका आघातहरूको उपचार गर्ने वा ती आघातको पुनरावृत्तिमार्फत समाजलाई यथास्थितिको चक्रमा घुमाइरहने भन्ने विकल्पका बीचमा।
फिडेल क्यास्ट्रो १०० वर्षमा: इतिहासले उनलाई निर्दोष सावित गरिसकेको छ!
धितो खोज्ने राज्यमा उत्पादनको सपना !
क्युबाको इन्धन आपूर्तिमा अवरोधपछि अब खाद्यान्न आपूर्तिमाथि निशाना साध्दै अमेरिका
नरेन्द्र मोदी नेतृत्वको सरकार : गाजा नरसंहारको एक साझेदार
अमेरिका र इजरायल किन अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई विघटन गराउन चाहन्छन् ?
दासताबाट मुक्ति
माओवादी विद्रोहको गन्तव्य कतातिर?
प्रतिक्रिया