सावधान ! तपाईंको जिब्रोको स्वादले क्यान्सरको जोखिम त बढाइरहेको छैन ?
आलुचिप्स, फ्रेन्च फ्राइहरु खाँदा क्यान्सरको जोखिम बढ्न सक्छ !
नेपालमा हामीमध्ये धेरैलाई आलुका परिकारहरू मन पर्छन्। बिहान नास्तामा तारेको आलु, बच्चाहरूको मनपर्ने आलुचिप्स, वा साँझको खाजामा फ्रेन्च फ्राइज—यी सबै हाम्रो खानपानको हिस्सा बनिसकेका छन्। तर के तपाईंलाई थाहा छ, यी खानेकुराहरुको अत्यधिक सेवन गर्ने बानीले हामीलाई क्यान्सरको जोखिम बढ्न सक्छ भन्ने कुरा ?
हो, तारेका आलु, फ्रेन्चफ्राइ वा आलु चिप्सहरु खानको लागि त निक्कै स्वादिलो हुने गर्छ तर यी खानेकुराहरु तयार गर्दा अत्यधित तापमा तताइएको तेलमा तारिने गरिन्छ । त्यसरी ती खानेकुराहरु पकाउँदा एउटा खतरनाक रासायनिक पदार्थ बन्न सक्छ, जसले क्यान्सरको खतरा बढाउन सक्छ । त्यो रसायन हो — एक्रिलामाइड (Acrylamide)।
कसरी बन्छ एक्रिलामाइड ?
एक्रिलामाइड भनेको एउटा रासायनिक यौगिक हो जुन विशेषगरी "स्टार्च" (carbohydrate) भएको खाना धेरै उच्च तापक्रममा पकाउँदा बन्ने गर्छ—जस्तै: तारेको आलु (फ्राइ), बेकरी सामग्री (कुकीज, टोस्ट, बिस्कुट), चिप्स आदि । अनुसन्धानहरुमा क्यान्सरको जोखिम बढाउन सक्ने देखिएको एक्रिलामाइड यौगिक खाना बनाउने क्रममा 'Maillard reaction' नामक प्रक्रियाबाट बनिन्छ — जसले खानालाई खैरो वा सुनौलो रङ र स्वाद दिने गर्छ।
एक्रिलामाइडको असर: स्वास्थ्यमा कति खतरनाक?
वैज्ञानिक अनुसन्धानहरू अनुसार, एक्रिलामाइडले जनावरहरूमा क्यान्सर बढाउने देखिएको छ । त्यसैगरी, यसले स्नायु प्रणालीमा असर गर्न सक्छ भने अत्यधिक मात्रा र दीर्घकालीन सेवन गरिँदा प्रजनन स्वास्थ्य मा नकारात्मक प्रभाव पार्न सक्छ ।
अहिलेसम्म मानवमा यो कति मात्रामा हानिकारक भन्ने निश्चित प्रमाण कम भए पनि, स्वास्थ्य विशेषज्ञहरू यसलाई "सावधानीपूर्वक कम गर्नुपर्ने जोखिमयुक्त यौगिक" मान्छन्।
नेपाली खानपानमा किन समस्या?
नेपालमा धेरैजसो खाना तेलमा अत्यधिक तापमा तारेको खाने चलन विद्यमान छ । विशेषतः तारेको आलु, बजारमा पाइने प्लास्टिकमा प्याक चिप्स, अनि रातो रङ चिप्स जस्ता परिकारमा एक्रिलामाइड बन्ने सम्भावना धेरै हुन्छ । कतिपय चिया पसल र क्यान्टिनहरूमा तेल पटक–पटक प्रयोग गरिन्छ, जसले यो जोखिम झन बढाउँछ ।
कसरी घटाउने त यसको असर?
केही निश्चित सावधानी अपनाएर हामी एक्रिलामाइडको असर घटाउन सक्छौं। त्यसका लागि अपनाउनुपर्ने केही उपयोगी उपायहरू निम्नानुसार छन्:
अलि कम तापमा पकाउने:
आलु फ्राइ गर्दा एकदमै खैरो वा गाढा रंगको नपार्ने, हल्का सुनौलो–गुलाबी रंगमै पकाएर निकाल्ने ।
पकाउनुअघि आलु पानीमा भिजाउने
आलु काटेपछि केही समय पानीमा भिजाएर पकाउँदा एक्रिलामाइडको मात्रा घट्ने गरेको पाइएको छ । सामान्यत: पकाउनुअघि काटेको आलुलाई १५ देखि ३० मिनेट पानीमा भिजाएर राख्न सिफारिश गरिन्छ । यसरी भिजाएर राखेको आलुलाई तार्दा एक्रिलामाइड बन्ने प्रक्रियामा निक्कै कमी आउँछ ।
तेलको बारम्बार प्रयोगमा रोक
एकै तेल बारम्बार गर्नुहुन्न । पटक पटक उही तेल प्रयोग गर्दा रसायनको मात्रा बढ्छ ।
ओभन वा स्टीमिङ जस्ता विकल्प रोज्ने:
आलुलाई तारेर भन्दा उमालेर वा ओभनमा पकाएर खाने गर्दा एक्रिलामाइड कम बन्ने गर्छ ।
बजारको चिप्स नखाने
बजारमा पाइने ज्यादै ब्राउन बनाइएको तथा प्लास्टिकमा प्याकेज गरिएको चिप्स खाने बानी छ भने आजै छाडिदिनुहोस् ।
हामी सबैले खानामा स्वाद खोज्छौं — तर स्वादका नाममा स्वास्थ्य जोखिमको वेवास्ता गर्नु उचित हुँदैन।त्यसैले एक्रिलामाइड जस्ता रसायन पैदा हुने खानेकुराहरु खाने बानीलाई आजै त्यागिदिनु उचित हुन्छ । यसो भन्नुको अर्थ के हो भने तपाईंलाई तेलमा तारेका खानेकुराहरु मन पर्छ भने पनि क्यान्सरको जोखिमबाट बच्नका लागि त्यो बानीलाई बदल्नु जरुरी छ ।
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
चरम गर्मी अब स्वास्थ्य संकट: पूर्वाधार र ज्यान दुवै जोखिममा
कब्जियतबाट छुटकारा पाउनका लागि फाइबरयुक्त उत्तम पाँच खानेकुराहरू
प्रतिक्रिया