विचित्रको मानसिक समस्या एरोटोमेनिया !

जब व्यक्तिलाई प्रसिद्धि कमाएका मानिसले आफूलाई गहिरो प्रेम गर्छ भन्ने भ्रम हुन्छ !

एरोटोमेनिया (Erotomania) एक दुर्लभ र विचित्र खालको मानसिक समस्या हो, यो एक किसिमले जटील मानसिक रोग हो । यो समस्या भएका व्यक्तिलाई उच्च सामाजिक प्रतिष्ठा वा प्रसिद्ध व्यक्तित्व भएका मानिसले आफूलाई गहिरो प्रेम गर्छ भन्ने भ्रम (delusion) हुन्छ । उसलाई त्यस्ता व्यक्तिसँग आफ्नो गहिरो प्रेम सम्बन्ध रहेको छ भन्ने विश्वास हुन्छ ।

यथार्थमा चाहिँ भने त्यस्तो केही हुँदैन । यस्तो समस्याले पीडित व्यक्तिलाई उसले आफूलाई प्रेम गर्छ भनेर ठानिरहेको व्यक्ति (सेलिब्रिटी, चिकित्सक, वा उच्च सामाजिक दर्जा भएको व्यक्ति) ले चिन्दापनि चिन्दैन र ऊ त्यस किसिमको समस्याबाट गुज्रिरहेको छ भन्नेकुराको उनलाई पित्को पनि ज्ञान हुँदैन ।  भन्ने नै हो भने अधिकांश अवस्थामा त्यस्ता प्रतिष्ठित व्यक्तिले उसलाई भेटेकै पनि हुँदैन ।

यो विचित्रको मानसिक समस्यालाई एरोटोमेनिया भनिन्छ ।

एरोटोमेनिया भएका व्यक्तिको भ्रमपूर्ण प्रेम एकपक्षीय हुन्छ ।   पीडित व्यक्तिले उक्त व्यक्ति (target) सँग आफू प्रेम सम्बन्धमा रहेको विश्वास गर्छ, जबकि वास्तविकता भने भिन्न हुन्छ। पीडित व्यक्ति आफ्नो भ्रमलाई सत्य मान्छ र यसबारे  अन्यथा सोच्न सक्दैन।

एरोटोमेनियामा पीडित व्यक्तिले आफूलाई प्रेम गर्छ भनेर ठानेको चर्चित व्यक्तिसँग  सम्पर्कमा रहनको लागि प्रयास गर्न सक्छ । उसले  पत्र लेख्ने, फोन गर्ने, सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने, वा भेट्न जाने जस्ता कामहरु गर्न सक्छन् । स्वभाविक कुरा हो– उसका यी प्रयासहरू सफल हुँदैन । तर बारम्बार असफल भए पनि पीडित व्यक्ति आफ्नो भ्रमबाट बाहिरिन सक्दैन ।

कतिपय अवस्थामा एरोटोमेनियाका पीडितहरूले आफ्नो भ्रममा आधारित भय वा निराशाका कारण धम्कीपूर्ण वा हिंस्रक व्यवहार देखाउन सक्छन्। यसले त्यसबेला खतरनाक रुप लिन सक्छ, जब पीडित व्यक्तिले आफूलाई तिरस्कार गरेको महसूस गर्छ, ऊ आफ्नो भ्रमको संसारबाट मुक्त हुन सक्दैन र आफूलाई अस्वीकार गरेको कुरा स्वीकार्न सक्दैन।

एरोटोमेनियाको समस्याले व्यक्तिको सामाजिक जीवनमा गम्भीर समस्या उत्पन्न गर्न सक्छ। यस समस्याले ग्रसित भएपछि पीडितको काममा, अन्य व्यक्तिहरूसँगको  सम्बन्धमा वा दैनिक जीवनमा सम्बन्धमा यसले गम्भीर असर पार्न सक्छ।

एरोटोमेनिया भएका व्यक्तिहरूमा स्वयंको महत्त्व र मूल्यलाई अत्यधिक उच्च मान्ने प्रवृत्ति (Grandiosity) देखापर्न सक्छ। यस अवस्थामा उनीहरुले आफू अति सुन्दर रहेको तथा आफ्नो सुन्दरता, आकर्षण, वा कुनै विशेष गुणका कारणले नै अरू मानिसहरूले आफूलाई प्रेम गर्ने गरेको भ्रम हुन सक्छ ।

एरोटोमेनिया भएका व्यक्तिहरुले नार्सिसिस्टिक विशेषताहरू पनि देखाउन सक्छ । त्यो भनेको आफूलाई विशेष, सुन्दर, वा सबैभन्दा योग्य मान्ने प्रवृत्ति  उनीहरुमा देखापर्न सक्छ ।  नार्सिसिस्टिक व्यक्तिहरू प्रायः आफूलाई अतिरञ्जित रूपमा सकारात्मक रूपमा हेर्ने गर्छन्, जसले गर्दा उनीहरूले अरू व्यक्तिले पनि आफूलाई त्यही रूपमा हेर्छ भन्ने भ्रम पाल्न सक्छन्।

एरोटोमेनियामा पीडित व्यक्तिले आफ्नै आकर्षणलाई गलत रूपमा व्याख्या गर्न सक्छ। उदाहरणका लागि, यदि कसैले तिनीहरूलाई सामान्य रूपमा शिष्टता देखायो भने पनि  तिनीहरूले त्यसलाई आकर्षणको संकेत मान्न सक्छन्।

यस समस्याले  पीडित व्यक्तिहरु आफ्नो वरपरको वातावरणलाई अत्यधिक संवेदनशील हुन्छन् र सामान्य घटनाहरूलाई पनि आफ्नो प्रेमसँग जोडेर हेर्छन्। उनीहरू आफ्नो प्रेमी/प्रेमिका भएको मानिने व्यक्तिसँग असम्भव अपेक्षा राख्छन्।

रमाइलो कुरा के छ भने यस समस्याले पीडित व्यक्तिहरु  आफ्नो यस भ्रमको संसारमा रमाएर बस्छन् । त्यसबाहेक अन्य सम्बन्ध वा गतिविधिमा कम चासो राख्छन्।

 

 

 

एरोटोमेनियाको कारणहरू:

एरोटोमेनिया किन हुन्छ भन्नेबारे अहिलेसम्म ठोस कारणहरु पत्ता लागिसकेको छैन । यो समस्या अन्य मानसिक स्वास्थ्य अवस्थाहरू, जस्तै स्किजोफ्रेनिया (Schizophrenia), बाइपोलर डिसअर्डर (Bipolar Disorder), वा प्रमुख डिप्रेसन (Major Depression) सँग जोडिएको हुन सक्छ भनेर ठानिँदै आइएको छ । यस समस्यालाई थप चर्काउनका लागि पीडितको  जीवनमा रहेको जस्तै एकाकीपन, असफल सम्बन्ध, वा आत्मसम्मानको कमीले पनि भूमिका खेल्न सक्छ। त्यसै गरी, मस्तष्कको कुनै भागमा चोटपटक लाग्दा वा क्षतिग्रस्त हुँदा पनि यस्तो समस्या देखापर्न सक्छ ।

उपचार:

एरोटोमेनियाको उपचार मनोचिकित्सा (psychotherapy) र औषधि उपचार (medication) दुवैमा मा आधारित हुन्छ। मनोचिकित्सा (Psychotherapy) अन्तर्गत कॉग्निटिभ बिहेवियरल थेरापी (CBT) अपनाइने गरिन्छ । यस उपचार पद्दतिले  पीडित व्यक्तिलाई आफ्नो भ्रमको यथार्थ महसूस गर्न र त्यसबाट बाहिर निस्कनका लागि सहयोग गर्छ ।

त्यसैगरी, यस समस्याको उपचारमा मनोरोगीय परामर्श (Counseling) को तरिका पनि अपनाइने गरिन्छ । यसले पीडित व्यक्ति र उनका परिवारलाई एरोटोमेनियाका असरहरुबारे सचेत गराउँछ र त्यसलाई कसरी सामना गर्ने भन्ने सिकाउँछ।

त्यसो त एरोटोमानियको उपचारमा मनोचिकित्सासँग औषधि उपचार (Medication) पनि चलाइन्छ । पीडितको  भ्रमलाई कम गर्न वा नियन्त्रण गर्नका लागि एन्टिसाइकोटिक्स (Antipsychotics) औषधिहरू प्रयोग गरिन्छ। साथी पीडितमा डिप्रेसनका लक्षणहरू पनि देखिएका छन् भने चिकित्सकले एंटीडिप्रेसन्ट्स (Antidepressants) पनि दिन सक्छ ।

निचोडमा भन्दा एरोटोमेनिया व्यक्तिको जीवनमा गहिरो असर पार्न सक्ने एक गम्भीर मानसिक स्वास्थ्य समस्या हो ।  यसलाई चिनेर उचित उपचारको लागि चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ। समयमै दिइने उपचार र परामर्शले पीडित व्यक्तिलाई यो रोगबाट मुक्त हुन तथा उसको आफ्नो जीवनलाई पुनर्स्थापित गर्न मद्दत गर्न सक्छ।