उपेन्द्र यादव समूहको ढलपल सत्तायात्रा

सत्ताको छिनाझप्टीबीच गठबन्धन बनाउने र भत्काउने खेल चलिरहँदा सत्तासीन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले सोमबार पदबाट राजीनामा गरेका छन् ।

वर्तमान सत्ता गठबन्धनका मुख्य घटकमध्येका एकको रुपमा उपेन्द्र यादवले सरकारमा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको पद सम्हालिरहेका थिए । तर अहिलेको गठबन्धनलाई भत्काएर कांग्रेस–नेकपा समाजवादी पार्टीसँग मिलेर नयाँ गठबन्धनको तयारीमा उपेन्द्र लागिरहेको चर्चाबीच उनकै पार्टीका वरिष्ठ नेता अशोक राई समेतको पहल र सक्रियतामा केही दिनअघि मात्रै जसपा विभाजित भएको थियो । यस घटनाक्रमले यादवको सत्ताको मोलमोलाइ गर्ने शक्तिमा ठूलो ह्रास आएको थियो । कतिसम्म भने त्यही परिघटनाले यतिखेर यादव समूहले मधेश प्रदेशमा सम्हालिरहेको सरकारबाट समेत हट्नुपर्ने अवस्था सिर्जना भएको छ ।