घुँडा टेक्न अस्वीकार गर्ने पुस्ता: जेन जी वर्गीय संघर्ष हो
जुलाई २० मा, हजारौँ युवाहरूले जन्तरमन्तरदेखि संसद्सम्म जुलुस निकाल्ने प्रयास गरे। उनीहरूले हातमा प्लेकार्ड बोकेका थिए, नारा लगाएका थिए, र पटक-पटक भएका परीक्षाका अनियमितता, प्रश्नपत्र लिक, रद्द गरिएका परीक्षाहरू तथा विद्यार्थीहरूमाथि परेको विनाशकारी असरको जिम्मेवारी लिन सरकारले गरेको अस्वीकारलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए। दिल्ली प्रहरीले उनीहरूलाई ब्यारिकेड, लाठी र अश्रुग्याँसद्वारा जवाफ दियो। केही आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिइयो भने अन्यले आफूलाई साना समूहहरूमा पुनर्गठित गर्दै संसदालतर्फको यात्रा जारी राखे। आन्दोलनले एउटा महत्त्वपूर्ण सीमा पार गरिसकेको थियो। सामाजिक सञ्जालमा व्यङ्ग्यका रूपमा सुरु भएको विषय राज्य सत्तासँगको मुठभेडका रूपमा सडकमा ओर्लिएको थियो।
अपमानसामु पछि हट्नुको साटो, युवाहरूले त्यसैलाई सामूहिक प्रतिरोधको प्रतीक बनाए। यदि भारतमा शासन गर्नेहरूले त्यहाँका बेरोजगार युवाहरूलाई साङ्लाका रूपमा देख्छन् भने, तिनै साङ्लाहरू अब एकबद्ध हुनेछन्।
आन्दोलनकारीहरू आफूलाई 'ककरोच जनता पार्टी' (सीजेपी) भन्छन्। अभियन्ताहरू र बेरोजगार युवाहरूलाई साङ्ला (ककरोच) र परजीवीहरूसँग तुलना गर्दै अदालतले गरेको एउटा अपमानजनक टिप्पणीपछि यो नाम अगाडि आएको हो। अपमानसामु पछि हट्नुको साटो, युवाहरूले त्यसैलाई सामूहिक प्रतिरोधको प्रतीक बनाए। यदि भारतमा शासन गर्नेहरूले त्यहाँका बेरोजगार युवाहरूलाई साङ्लाका रूपमा देख्छन् भने, तिनै साङ्लाहरू अब एकबद्ध हुनेछन्। यो नामले भारतीय जनता पार्टीको उपहास त गर्छ नै, साथै यसले त्यो पुस्ताको अनुभवलाई पनि समेट्छ जसलाई पटक-पटक उनीहरू अत्यधिक भएको, अकृतज्ञ भएको, रोजगारीका लागि अयोग्य भएको र साथै, आर्थिक प्रणालीको असफलताका लागि उनीहरूलाई नै व्यक्तिगत रूपमा जिम्मेवार ठहर्याइन्छ। त्यस्तो प्रणाली जसले उनीहरूलाई रोजगारी दिनुपर्ने हो, तर एउटा निर्मम पुँजीवादी व्यवस्थाका रूपमा उनीहरूलाई काम नलाग्ने वा प्रतिस्थापनयोग्य वस्तुसरह व्यवहार गर्छ।
परीक्षाको प्रश्नपत्र केवल प्रश्नहरूले भरिएको कागजको पाना मात्र होइन। लाखौँ श्रमजीवी वर्गका परिवारहरूका लागि यो वर्षौँको बचत, त्याग, अध्ययन र आशाको प्रतीक हो। जब त्यो प्रश्नपत्र लिक हुन्छ वा परीक्षा रद्द हुन्छ, तब एउटा सिङ्गो परिवारको कमजोर योजना चकनाचुर हुन्छ।
जुन ६ मा दिल्लीमा भएको पहिलो ठूलो विरोध प्रदर्शनपछि यो आन्दोलन पुणे, मुम्बई, बेंगलुरु, लखनउ र नागपुर लगायतका शहरहरूमा फैलिएको छ। यसका समर्थकहरूले जन्तर मन्तरमा एउटा शिविर स्थापना गरे, जहाँ जलवायु अभियन्ता सोनाम वाङचुकले उनीहरूलाई जबर्जस्ती अस्पताल नपुऱ्याइएसम्म उनीहरूका मागहरूप्रति ऐक्यबद्धता जनाउँदै अनशन बसेका थिए। तत्कालका प्रश्नहरू निकै गम्भीर छन्: प्रवेश र भर्ना परीक्षाहरूको निष्पक्षता, आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति, भ्रष्टाचारले ग्रसित परीक्षा प्रणालीको सुधार, र शिक्षा मन्त्रीको राजीनामा। यद्यपि यी मागहरूको पछाडि एउटा अझ ठूलो सामाजिक सङ्कट लुकेको छ, किनकि परीक्षाको प्रश्नपत्र केवल प्रश्नहरूले भरिएको कागजको पाना मात्र होइन। लाखौँ श्रमजीवी वर्गका परिवारहरूका लागि यो वर्षौँको बचत, त्याग, अध्ययन र आशाको प्रतीक हो। जब त्यो प्रश्नपत्र लिक हुन्छ वा परीक्षा रद्द हुन्छ, तब एउटा सिङ्गो परिवारको कमजोर योजना चकनाचुर हुन्छ।
निर्णायक प्रश्न यी युवाहरू कहिले जन्मेका थिए भन्ने होइन, बरु उनीहरूले कस्तो प्रकारको आर्थिक व्यवस्था विरासतमा पाएका छन् र त्यो व्यवस्थाले उनीहरूका लागि कस्तो स्थान तयार गरेको छ, यदि छ भने भन्ने हो।
सञ्चारमाध्यमहरूले ककरोच आन्दोलनलाई भारतको पहिलो जेन जी विरोध प्रदर्शनका रूपमा उत्सुकताका साथ वर्णन गरेका छन्। यो वर्णनमा केही सत्यता पनि छ। यसको भाषा सामाजिक सञ्जालमा जन्मिएको हो, र त्यसैले यसले मीम, व्यङ्ग्य, प्यारोडी, छोटा भिडियोहरू र आत्म-व्यङ्ग्यपूर्ण हास्यलाई अत्यन्तै कुशलताका साथ प्रयोग गर्दछ। यसका धेरै सहभागीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारबाहेक अन्य कुनै सरकार देखेका छैनन्। उनीहरूको राजनीतिक शब्दावली यस्तो परिस्थितिमा विकसित भएको छ, जहाँ टेलिभिजन समाचारहरूले मुख्यतया सत्तासामु आत्मसमर्पण गरिसकेका छन्, असहमतिलाई अपराधीकरण गरिएको छ, र इन्टरनेट निगरानीको संयन्त्रका साथै आक्रोश द्रुत रूपमा फैलिन सक्ने बाँकी रहेका केही सीमित ठाउँहरूमध्ये एक बनेको छ। तर 'जेन जी' शब्दले जति स्पष्ट पारेको जस्तो देखिन्छ, वास्तवमा त्यसभन्दा धेरै कम व्याख्या गर्छ। यो समाजशास्त्रको मुकुन्डो लगाएको एउटा मार्केटिङ वर्ग मात्र हो। यसले एउटा खेतमजदुरकी छोरी र अर्बपतिको छोरालाई केवल एउटै उमेर समूहमा जन्मेकै आधारमा एउटै समूहमा राख्छ। पुस्ताहरू परीक्षामा बस्दैनन्, रोजगारी खोज्दैनन्, खाना डेलिभरी गर्दैनन्, वा कोचिङ शुल्कका लागि ऋण लिँदैनन् तर यो सब सामाजिक वर्गहरूले गर्छन्। निर्णायक प्रश्न यी युवाहरू कहिले जन्मेका थिए भन्ने होइन, बरु उनीहरूले कस्तो प्रकारको आर्थिक व्यवस्था विरासतमा पाएका छन् र त्यो व्यवस्थाले उनीहरूका लागि कस्तो स्थान तयार गरेको छ, यदि छ भने भन्ने हो।
यी युवा आन्दोलनकारीहरू उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता कम भएकाले वा अधिकारीहरूप्रति उनीहरूको विशेष सांस्कृतिक वितृष्णा भएका कारण विद्रोहमा उत्रिएका होइनन्। उनीहरू किन विद्रोहमा उत्रिएका हुन् भने पुँजीवादले उनीहरूलाई मर्यादित आर्थिक जीवनमा समावेश गर्न सक्दैन। उनीहरूलाई अध्ययन गर्न, डिग्री हासिल गर्न, नयाँ सीपहरू सिक्न, प्रतिस्पर्धात्मक रहन र 'उद्यमी' बन्न भनिएको छ। उनीहरूका परिवारले शिक्षा र कोचिङको खर्च जुटाउन ऋण लिएका छन्, जग्गा जमिन बेचेका छन्, स्वास्थ्य उपचार पछाडि धकेलेका छन् र घरायसी उपभोग कटौती गरेका छन्। यो कष्टकर यात्राको अन्त्यमा, धेरैले वाचा गरिएको रोजगारीको अस्तित्व नै नरहेको पाउँछन्। अरूहरूले भने अस्थायी सम्झौता, बेतनरहित इन्टर्नशिप, प्लेटफर्म कार्य, वा उनीहरूको योग्यतासँग कुनै मेल नखाने ज्याला पाइने जागिरहरू मात्र भेट्टाउँछन्।
आधिकारिक तथ्याङ्कले समेत समस्याको गम्भीरतालाई उजागर गर्छ। सरकारको २०२५ को आवधिक शक्ति सर्वेक्षण (Periodic Labour Force Survey) ले १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूमा बेरोजगारी दर ९.९ प्रतिशत राखेको छ, जुन सहरी युवाहरूमा बढेर १३.६ प्रतिशत पुगेको छ। सर्वेक्षणले १५ देखि २९ वर्ष उमेरका एक चौथाइ भारतीयहरू न त रोजगारीमा छन्, न त शिक्षा वा तालिममै छन भन्ने पनि फेला पारेको छ। यी मुख्य तथ्याङ्कहरूले व्यापक अर्ध-बेरोजगारी, बेतनरहित पारिवारिक श्रम, र मानिसहरूलाई जुनसुकै कामलाई पनि रोजगारीका रूपमा स्वीकार गर्न बाध्य पार्ने निराशालाई ओझेलमा पार्छन्। भारतीय श्रमिकहरूमध्ये केवल २३.६ प्रतिशत मात्र नियमित ज्याला वा तलब पाउने रोजगारीमा थिए, जबकि ५६.२ प्रतिशतलाई स्वरोजगारका रूपमा वर्गीकृत गरिएको थियो। जसमा समृद्ध पेशेवरहरूदेखि लिएर सडक व्यापारी र पारिवारिक खेतमा काम गर्ने बेतनरहित श्रमिकहरूसम्म पर्छन्।
इन्स्टिच्युट फर ह्युमन डेभलपमेन्ट (Institute for Human Development) र ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन’ (ILO) द्वारा तयार पारिएको इन्डिया इम्प्लोयमेन्ट रिपोर्टले अझ प्रस्ट चित्र प्रस्तुत गर्छ। सन् २०२२ मा शिक्षित युवा स्नातकहरूमा बेरोजगारी दर २९.१ प्रतिशत थियो, जुन लेखपढ गर्न नसक्ने युवाहरूको दरभन्दा नौ गुणा बढी हो। श्रमशक्तिको लगभग ८२ प्रतिशत हिस्सा अनौपचारिक क्षेत्रमा थियो भने झण्डै ९० प्रतिशत अनौपचारिक रूपमा नियोजित थिए। नियमित श्रमिकहरूको वास्तविक ज्याला कि त स्थिर रहेको थियो कि त घटेको थियो, र डिजिटल रूपमा निगरानी गरिने अनौपचारिक श्रमको विस्तारका रूपमा प्लेटफर्म रोजगारी बढेको थियो, जुन मुख्यतया सामाजिक सुरक्षाविहीन छ। प्रतिवेदनले पहिलो जागिर पाउनका लागि औसत पर्खाइ समय एक वर्षभन्दा बढी रहेको र प्राविधिक रूपमा योग्य धेरै युवाहरूले आफ्नो तालिमसँग असम्बन्धित काम गरिरहेको फेला पारेको थियो।
शिक्षाले युवा भारतीयहरूको आकाङ्क्षा र क्षमताको विस्तार त गरेको छ, तर अर्थव्यवस्थाले उनीहरूका लागि उपलब्ध मर्यादित रोजगारीको सङ्ख्या बढाउन सकेको छैन। उनीहरूको डिग्री उनीहरूको अयोग्यताको होइन, बरु वित्त, पुँजी-प्रधान उत्पादन, निजीकरण, र केही सीमित कर्पोरेट अभिजात वर्गको समृद्धिलाई केन्द्रमा राखेर बनाइएको आर्थिक मोडेलको असफलताको प्रमाण बन्छ।
यो विरोध प्रदर्शनको केन्द्रमा रहेको तीतो विरोधाभास हो। शिक्षाले युवा भारतीयहरूको आकाङ्क्षा र क्षमताको विस्तार त गरेको छ, तर अर्थव्यवस्थाले उनीहरूका लागि उपलब्ध मर्यादित रोजगारीको सङ्ख्या बढाउन सकेको छैन। उनीहरूले जति धेरै अध्ययन गर्छन्, समाजले गरेको बाचा र यसले प्रदान गर्न सक्ने वास्तविक स्थितिबीचको अन्तर उनीहरूले त्यति नै स्पष्टसँग देख्छन्। उनीहरूको डिग्री उनीहरूको अयोग्यताको होइन, बरु वित्त, पुँजी-प्रधान उत्पादन, निजीकरण, र केही सीमित कर्पोरेट अभिजात वर्गको समृद्धिलाई केन्द्रमा राखेर बनाइएको आर्थिक मोडेलको असफलताको प्रमाण बन्छ।
यो सङ्कट मोदी सरकारबाट मात्र सुरु भएको होइन, तर १२ वर्षको भाजपा शासनले यसलाई अझ गहिरो बनाएको छ। नोटबन्दी र कमजोर रूपमा डिजाइन गरिएको वस्तु तथा सेवा कर (GST) ले साना व्यवसायहरूलाई क्षति पुऱ्यायो। जसले ऐतिहासिक रूपमा ठूलो सङ्ख्यामा श्रमिकहरूलाई खपत गर्ने गर्थे। सार्वजनिक क्षेत्रको भर्ना प्रक्रियामा ढिलाइ गरिएको छ वा कटौती गरिएको छ, रिक्त पदहरू पूर्ति भएका छैनन्, र सुरक्षित रोजगारीलाई करार श्रमले विस्थापित गरेको छ। प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ युवाहरूलाई रोजगारी दिन आवश्यक मात्रामा उत्पादन क्षेत्रको वृद्धि हुन सकेको छैन। यसैबीच, सार्वजनिक शिक्षालाई कमजोर पारिएको छ र कोचिङ उद्योग फस्टाएको छ, जसले मानिसहरूको चिन्ता र अन्योलतालाई अत्यन्तै लाभदायक व्यापारमा परिणत गरिदिएको छ। सरकारले कुल गार्हस्थ्य उत्पादन (GDP) को वृद्धि, राजमार्गहरू, डिजिटल भुक्तानी, युनिकर्न कम्पनीहरू र भारतीय अर्बपतिहरूको सम्पत्तिको उत्सव मनाउँछ, तर यी कुनै पनि तथ्याङ्कले अनगिन्ती घरहरूमा गुन्जिने एउटै प्रश्नको जवाफ दिँदैनन्: रोजगारी खोइ?
सार्वजनिक शिक्षालाई कमजोर पारिएको छ र कोचिङ उद्योग फस्टाएको छ, जसले मानिसहरूको चिन्ता र अन्योलतालाई अत्यन्तै लाभदायक व्यापारमा परिणत गरिदिएको छ।
त्यसैले, प्रश्नपत्र लिक हुनुलाई प्रशासनिक भ्रष्टाचारभन्दा बढी रूपमा बुझिनुपर्छ। यी त अझ ठूलो वर्ग अन्यायका सघन अभिव्यक्ति हुन्। लाखौँ युवाहरू सीमित सङ्ख्याका पदहरूका लागि प्रतिस्पर्धा गर्छन् किनभने सुरक्षित कामलाई जानाजानी दुर्लभ बनाइएको छ। प्रत्येक आवेदकले शुल्क तिर्नुपर्छ, लामो दूरीको यात्रा गर्नुपर्छ, अध्ययन सामग्री किन्नुपर्छ, र कहिलेकाहीँ कोचिङ सेन्टरहरूमा वर्षौँ बिताउनुपर्छ। जब कुनै परीक्षामा धाँधली हुन्छ, राज्यले प्राविधिक त्रुटि र छानबिन समितिबारे कुरा गर्छ। तर उम्मेदवारका लागि भने, उनीहरूको समय नै लुटिएको भएको हुन्छ। उमेरको माथिल्लो सीमा नजिकिन्छ, पारिवारिक ऋण थपिँदै जान्छ र अर्को एउटा वर्ष त्यसै हराएर जान्छ।
सरकार यस आन्दोलनलाई एउटा अधैर्य पुस्ताको भावनात्मक आवेगका रूपमा सीमित पार्न चाहन्छ। यसले उपहास, दमन, परामर्शका आश्वासनहरू र आन्दोलनलाई विभाजित गर्ने प्रयासहरूबीच अदलबदल गरिरहनेछ। युवाहरूलाई उनीहरूमा अनुभवको कमी रहेको, विदेशी शक्तिहरूले उनीहरूलाई भ्रामित पारिरहेको, वा उनीहरूको विरोध प्रदर्शनले राष्ट्रको छवि बिगारेको भनिनेछ। तर कुनै देशले आफ्ना युवाहरूलाई उपयोगी कामको व्यवस्था गरोस् भन्ने माग गर्नुमा कुनै राष्ट्रविरोधी कुरा छैन। भारतलाई हानि पुऱ्याउने कुरा त त्यस्तो व्यवस्था हो, जहाँ युवाहरूलाई उपभोक्ता, डेटाका अङ्क, डेलिभरी कामदार र चुनावी भिडका रूपमा त आवश्यक ठानिन्छ, तर अधिकारसहितका श्रमिक, आवाजसहितका नागरिक र भविष्यका हकदार मानवका रूपमा भने स्वीकार गरिँदैन।
ककरोच आन्दोलनको ऊर्जा महत्त्वपूर्ण छ, तर जरा गाडेर बसेको सत्तालाई स्वतःस्फूर्तता र डिजिटल पहुँचले मात्र परास्त गर्न सक्दैन। यसको दीर्घकालीन शक्ति परीक्षा सुधारलाई रोजगारीको सङ्घर्ष, सार्वजनिक शिक्षा, श्रम अधिकार र आर्थिक पुनर्वितरणसँग जोड्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुनेछ। जन्तर मन्तरमा रहेका विद्यार्थीहरूको भविष्य करारका शिक्षकहरू, योजना अन्तर्गत कार्यरत श्रमिकहरू, डेलिभरी राइडरहरू, फ्याक्ट्रीका प्रशिक्षार्थीहरू, बेरोजगार स्नातकहरू र ग्रामीण श्रमिकहरूसँग गाँसिएको छ। आन्दोलनले सङ्गठित राजनीति, ट्रेड युनियनहरू र स्थापित विद्यार्थी सङ्गठनहरूलाई अर्कै पुस्ताका पुराना अवशेषका रूपमा चित्रित गर्ने प्रयासहरूको प्रतिरोध गर्नुपर्छ। सङ्गठित श्रमजीवी वर्गले संकलन गरेको अनुभव युवा विद्रोहका लागि बोझ होइन; यो त त्यस्तो स्रोत हो जसले यस्ता विद्रोहलाई दीर्घजीविता र स्पष्ट दिशा प्रदान गर्न सक्छ।
ककरोच आन्दोलनको ऊर्जा महत्त्वपूर्ण छ, तर जरा गाडेर बसेको सत्तालाई स्वतःस्फूर्तता र डिजिटल पहुँचले मात्र परास्त गर्न सक्दैन।
'ककरोच' नामले एउटा अनपेक्षित ऐतिहासिक सत्य बोकेको छ। साङ्लाहरू जीवित रहन्छन् किनभने तिनीहरूलाई निर्मूल पार्न गाह्रो हुन्छ। तर सडकमा उत्रिएका युवाहरू केवल एउटा जीर्ण व्यवस्थाका धाँजाभित्र जीवित रहन मात्र माग गरिरहेका छैनन्। उनीहरू जिउन, काम गर्न, आफूले सिकेका कुराहरू प्रयोग गर्न र स्वाभिमानका साथ समाजमा योगदान पुऱ्याउन चाहन्छन्। उनीहरूको आक्रोश बाहिरबाट हेर्दा पुस्तागत देखिए तापनि यसको सार भने पूर्ण रूपमा वर्गमा -आधारित छ। वामपन्थीहरूका सामु रहेको कार्यभार यो आक्रोशलाई रोमान्टीकरण गर्नु वा टाढाबाट उपदेश दिनु होइन, बरु उनीहरुसँग संवादमा प्रवेश गर्नु, उनीहरुलाई आफ्ना पीडाकाहरू पछाडिको संरचनागत कारणहरू चिन्न मद्दत गर्नु, र तत्कालका मागहरूलाई लाखौँ सुरक्षित तथा सामाजिक रूपमा उपयोगी रोजगारीहरू सिर्जना गर्न सक्ने कार्यक्रमसँग जोड्नु हो।
संसद् बाहिर हानिएको अश्रुग्याँसले आन्दोलनकारीहरूले उठाएका प्रश्नको जवाफ दिन सक्दैन। भारतका शासकहरूले उनीहरूलाई ब्यारिकेड पछाडि धकेल्न सक्छन् र उनीहरूलाई कीरा, परजीवी वा उपद्रवी भन्न सक्छन्। तर आफ्ना युवाहरूका लागि ठाउँ बनाउन अस्वीकार गर्ने समाजले ढिलो-चाँडो यो महसुस गर्नेछ कि युवाहरूले स्वयं समाजलाई नै नयाँ रूप दिने निर्णय गरिसकेका छन्।
Source: globetrotter.media
अनुवाद: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
तपाईंसँग आफ्नो भन्ने केही हुनेछैन: रेन्टियर पुँजीवादको युग
कक्रोच लोकतन्त्र: निशस्त्र र खतरनाक
राष्ट्रियता: नेपालको सन्दर्भमा
डिजिटल फासीवाद: पुँजीवादको उच्चतम चरण
बाजजस्तो ट्रम्प र डरपोक युरोपेली नेताहरू
मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो?
पास्ता: फासीवाद विरुद्धको एक हतियार
प्रतिक्रिया