सूर्यको गर्भबाट पृथ्वीसम्मको प्रकाशको रोमाञ्चक लामो यात्रा
सूर्यको प्रकाश पृथ्वीमा आउन आठ मिनेट: केन्द्रबाट सतहमा आउन भने हज्जारौं वर्ष !
हामी हरेक बिहान सूर्यको न्यानो किरण ताप्छौं । यो कुरा हाम्रा लागि सामान्य नै लाग्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि त्यो प्रकाश हाम्रो छालामा परेर न्यानोको अनुभूति हुनुभन्दा अगाडि कस्तो महायात्रा पार गरेर आएको होला? मानिसहरूलाई लाग्छ कि प्रकाश सूर्यमा पैदा हुन्छ र तुरुन्तै पृथ्वीमा आइपुग्छ । तर यो धारणा पूर्णतः सत्य होइन। वास्तवमा, एउटा फोटोन अर्थात् प्रकाशको कण सूर्यको अतल गर्भ (Core) बाट निस्किएर हाम्रो आँखा वा शरीरसम्म आइपुग्न एउटा अनौठो र निकै लामो समय खर्चिनुपर्छ। सूर्यको गर्भबाट हाम्रो धर्तीसम्म प्रकाश आइपुग्ने प्रक्रिया वैज्ञानिक रूपमा निकै रोचक छ र यसको पछाडि ब्रह्माण्डको एउटा आश्चर्यजनक रहस्य पनि लुकेको छ।
वैज्ञानिक तथ्यहरूका अनुसार, सूर्यको केन्द्र वा कोरमा आणविक संलयन (Nuclear Fusion) प्रक्रियामार्फत ऊर्जा उत्पन्न हुन्छ। यो प्रक्रियामा हाइड्रोजनका परमाणुहरू मिलेर हिलियम बन्छन् । यसै क्रममा विशाल मात्रामा ऊर्जा प्रकाशका रूपमा बाहिर निस्कन्छ। यहाँबाट नै एउटा फोटोनको कठिन यात्रा सुरु हुन्छ।
सूर्यको कोरभित्रको यति धेरै घनत्व हुन्छ कि त्यहाँ पैदा भएको फोटोनले सिधै र सजिलै बाहिर निस्किन पाउँदैन। त्यो फोटोन सूर्यको भित्री तहहरूमा जथाभावी ठोक्किँदै, परावर्तित हुँदै सतहतिरको यात्रामा अगाडि बढ्ने गर्छ। यसलाई 'र्यान्डम वाक' (Random Walk) भनिन्छ। सूर्यको कोरमा हुने त्यो भयानक चाप र तापक्रमले गर्दा फोटोनले त्यहाँबाट बाहिर निस्किन निकै संघर्ष गर्नुपर्छ। वैज्ञानिक तथ्याङ्क अनुसार, सूर्यको कोरको तापक्रम १ करोड ५० लाख डिग्री सेल्सियसभन्दा बढी हुन्छ। यस्तो अवस्थामा फोटोनहरू निरन्तर रूपमा ग्यासका परमाणुहरूसँग ठोक्किन्छन् र आफ्नो दिशा परिवर्तन गर्छन्। उनीहरूले एक सेन्टिमिटर अगाडि बढ्नका लागि पनि लाखौँ पटक दिशा फेर्नुपर्ने हुन्छ। एउटा फोटोन सूर्यको कोरबाट सतहसम्म आइपुग्न लाग्ने समयबारे वैज्ञानिकहरूबीच मतभेद भए तापनि यो सामान्यतया दश हजार वर्षदेखि एक लाख ७० हजार वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ। यस आधारमा सूर्यको गर्भबाट सतहसम्म फोटोन आइपुग्न मोटामोटी ४०,००० वर्षको समयावधि लाग्ने गर्छ । यो निकै धेरै समय हो ।
सूर्यको सतहमा तापक्रम तुलनात्मक रूपमा निकै कम, करिब ५,५०० डिग्री सेल्सियस हुन्छ। जब फोटोन सूर्यको सतहमा पुग्छ, त्यो मुक्त हुन्छ। अर्थात् सूर्यको सतह अर्थात् 'फोटोस्फियर' (Photosphere) मा पुगेपछि भने त्यो फोटोन स्वतन्त्र बन्न पुग्छ । अब त्यसले सूर्यको बाक्लो र सघन भित्री भागको जस्तो अवरोधको सामना गर्नु पर्दैन । अब यसको अगाडि केवल खाली अन्तरिक्ष (Space) छ। सूर्यको सतहबाट निस्किएपछि त्यो फोटोनले प्रकाशको गतिमा अनन्त अन्तरीक्षको यात्रा गर्छ। त्यसको केही हिस्सा हाम्रो पृथ्वीतिर आइपुछ। विज्ञानले सिद्ध गरेको कुरा के हो भने भ्याकुममा प्रकाशको गति प्रतिसेकेन्ड लगभग २,९९,७९२ किलोमिटर हुन्छ। सूर्य र पृथ्वीबीचको औसत दूरी करिब १५ करोड किलोमिटर छ। यो विशाल दूरी पार गर्न प्रकाशलाई सामान्यतया ८ मिनेट २० सेकेन्डको हाराहारीमा समय लाग्छ। अर्थात् सूर्यको सतहबाट पृथ्वीसम्म प्रकाश आइपुग्न ८ मिनेट २० सेकेण्डको समय लाग्छ ।
यो भनेको हामीले सूर्यलाई आठ मिनेट २० सेकेन्डअघिको अवस्थामा देखिरहेका हुन्छौँ। रोचक त के छ भने सूर्यबाट पृथ्वीसम्म आइपुगेको त्यो प्रकाशको कणको उत्पत्ति भने हजारौँ वर्षअघि भएको थियो। यो सोच्दा पनि निकै रोमाञ्चक लाग्छ कि सूर्यको प्रकाश हाम्रो छालामा ठोक्किँदा हामी वास्तवमा एउटा प्राचीन ऊर्जालाई अनुभव गरिरहेका हुन्छौँ।
के एआई नियन्त्रणबाहिर जान सक्ने जोखिम छ?
अन्तरिक्षको गहिराइमा भेटियो जीवनको आधारभूत गुलियो तत्त्व
पृथ्वीको नजिकैबाट गुज्रियो विशाल आकाशीय पिण्ड
सूर्य र पृथ्वीको भविष्य: समयको अन्त्यसम्मको एक रोमाञ्चक यात्रा
कार्बन डेटिङ: प्राचीन इतिहास बुझ्ने वैज्ञानिक समय यन्त्र
मानव उत्पत्तिको नयाँ रहस्य: होमो इरेक्टसको जीवित अंश
पृथ्वी सोचेभन्दा धेरै तातिँदै छ: अबको तीन वर्षमा हामी १.५ डिग्रीको 'रेड जोन'…
प्रतिक्रिया