तपाईंसँग आफ्नो भन्ने केही हुनेछैन: रेन्टियर पुँजीवादको युग

सम्पत्तिको सट्टा 'अनुमति'

एआइको सहयोगमा तयार चित्र

प्लेस्टेशनले हालै एउटा घोषणा गर्‍यो, जस अनुसार सन् २०२८ देखि उसले आफ्ना कन्सोलहरूमा आउने सबै नयाँ गेमहरूका लागि डिस्कको भौतिक उत्पादन बन्द गर्नेछ। यस निर्णयको व्यापक विरोध भए पनि, यो खासै अचम्मलाग्दो कुरा भने होइन। भौतिक माध्यम बाट क्लाउड-आधारित सेवाहरूतर्फको यो यात्रा विगत एक दशकभन्दा बढी समयदेखि भइरहेको छ। कुनै वस्तुको स्वामित्व लिने परम्पराबाट भाडामा लिने वा सेवाका रूपमा सफ्टवेयरको मोडलमा जाने पहिलो प्रमुख कम्पनीहरूमध्ये एक एडोबी (Adobe) थियो। एडोबी फोटोशपका सुरुवाती लाइसेन्स खरिदकर्ताहरूले करिब $३०० देखि $५०० तिरेपछि सधैँका लागि त्यसको स्वामित्व पाउँथे। तर, ग्राहकहरूलाई एकपटक मात्र सामान बेच्दा दीर्घकालीन र नियमित आम्दानी गुमिरहेको कुरा एडोबीले बुझ्यो। त्यसैले, सन् २०१३ मा उसले फोटोशपलाई मासिक शुल्कमा भाडामा दिने मोडलमा लग्यो। अब उपभोक्ताले त्यो सफ्टवेयर प्रयोग गरिरहन प्रत्येक महिना, सधैँभरि पैसा तिरिरहनुपर्ने भयो। उनीहरूसँग त्यसको स्थायी स्वामित्व लिने कुनै विकल्प बाँकी रहेन। जसको नतिजा, एकपटकको $३०० को सट्टा, अब प्रयोगकर्ताले सो सफ्टवेयर प्रयोग गरुन्जेल प्रतिवर्ष $३०० तिर्नुपर्ने भयो।

त्यही समयमा, नेटफ्लिक्सले पनि आफ्नो स्ट्रिमिङ सेवामा ध्यान केन्द्रित गर्न हुलाकबाट डीभीडी पठाउने व्यवसायलाई बन्द गर्दै लगेको थियो (जुन सन् २०२३ सम्म जसोतसो चलिरहेकै थियो)। मासिक शुल्क तिरेरै आफूले चाहेका लगभग सबै कुरा हेर्न पाइने भएपछि डीभीडीहरुको लाइब्रेरी किनेर घरमा राख्ने झन्झट कसले गरोस्? पक्कै पनि घरमा हजारौँ शीर्षकतहरू सङ्कलन गर्नुभन्दा स्ट्रिमिङ सेवाका लागि शुल्क तिर्नु धेरै सहज छ, तर यसका आफ्नै नकारात्मक पक्षहरू पनि छन्।

कुनै लोकप्रिय शो वा चलचित्रको उचित लाइसेन्स नवीकरण भएन भने, त्यसलाई इन्टरनेटमा भेट्टाउन असम्भवप्रायः हुन्छ।

यदि कुनै लोकप्रिय शो वा चलचित्रको उचित लाइसेन्स नवीकरण भएन भने, त्यसलाई इन्टरनेटमा भेट्टाउन असम्भवप्रायः हुन्छ। केही डिजिटल सामग्रीहरू त पूर्ण रूपमा मेटिइसकेका छन्। विशेषगरी, केभिन स्मिथको  डगमा (Dogma)  र जोर्ज रोमेरोको  डन अफ दि डेड (Dawn of the Dead ) जस्ता चलचित्रहरू जटिल लाइसेन्स सम्झौताका कारण स्ट्रिमिङ साइटहरूमा कतै पनि पाइँदैनन्। ती हेर्न कि त पाइरेसीको सहारा लिनुपर्छ कि त भौतिक प्रतिलिपिनै हुनुपर्छ।

यति मात्र होइन, भौतिक माध्यमको अन्त्यले दोस्रो बजारलाई पूर्ण रूपमा समाप्त पारिदिएको छ। अब तपाईं कुनै गेम वा चलचित्र आफ्नो साथीलाई सापटी दिन सक्नुहुन्न, न त त्यसलाई पुनः बिक्री नै गर्न सक्नुहुन्छ। तपाईंले गेमस्टप (GameStop) मा गएर सस्तो मूल्यमा प्रयोग भइसकेको गेम किन्न पाउनुहुन्न। सामग्री जतिसुकै पुरानो भए पनि त्यसको खरिद मूल्य पुँजीपतिहरूले नै तय गर्छन्,  वितरण प्रणाली उनीहरूकै नियन्त्रणमा हुन्छ र बजार सीमित पारिन्छ।

पुँजीपतिहरूले डिजिटल साझा सम्पत्तिमा आफ्नो पूर्ण एकाधिकार कायम राख्दै एक कृत्रिम अभाव सिर्जना गरेका छन्। यसले गर्दा तपाईंले वर्षौँदेखि प्रयोग गर्दै आएको कुरा प्रयोग गर्नका लागि पनि उनीहरूले जब चाह्यो, जति चाह्यो त्यति शुल्क आफ्नै सर्तमा असुल्न पाएका छन्।

यस सबैको मुख्य उद्देश्य हाम्रो व्यक्तिगत सम्पत्तिलाई भाडामा परिणत गर्नु हो, ताकि हामी कुनै वस्तुको मालिक बन्नुको सट्टा त्यसको प्रयोगको पहुँचका लागि निरन्तर पैसा तिरिरहन बाध्य भइरहौँ।

अब कुनै वस्तुको बिक्री भनेको वास्तविक बिक्री रहेन, यो त निश्चित समयका लागि कुनै वस्तु प्रयोग गर्न पाउने एउटा अस्थायी सम्झौता मात्र बनेको छ, जसलाई उनीहरूले आफ्नो मर्जी अनुसार जुनसुकै बेला रद्द गर्न सक्छन्।

हामी हाम्रा शोहरू स्ट्रिमिङ सेवाहरूमा हेर्छौँ, आफ्ना तस्बिरहरू क्लाउड स्टोरेजमा अपलोड गर्छौँ, र इ-रिडरमा रद्द हुन सक्ने लाइसेन्स भएका इ-बुकहरू किन्छौँ—जुन अमेजनले चाहेमा कुनै पनि दिन काम गर्न छाड्न सक्छन्। हामी बन्द गर्नै नमिल्ने विज्ञापन आउने स्मार्ट होम  उपकरणहरू किन्छौँ, र अचेल त हाम्रा गाडीहरूमा समेत 'पेवाल' (Paywall ) राखिएका छन्। अब कुनै वस्तुको बिक्री भनेको वास्तविक बिक्री रहेन, यो त निश्चित समयका लागि कुनै वस्तु प्रयोग गर्न पाउने एउटा अस्थायी सम्झौता मात्र बनेको छ, जसलाई उनीहरूले आफ्नो मर्जी अनुसार जुनसुकै बेला रद्द गर्न सक्छन्।

नयाँ आविष्कारको पछाडि लाग्नुको सट्टा अनन्त नाफा कमाउने होडमा, पुँजीपति वर्गले तपाईंलाई एउटै वस्तुको लागि बारम्बार शुल्क असुलिरहनु नै उत्तम ठानेका छन्। पुँजीपतिहरू साधारण वस्तु उत्पादनबाट अघि बढेर एउटा अझ अस्पष्ट वस्तुतर्फ मोडिएका छन्: अनुमति। तपाईंसँग आफ्नो भन्ने केही हुनेछैन, तर के तपाईं खुसी हुनुहुनेछ?

केही निर्माताहरूले गाडीमा यस्ता 'किल स्विच' (Kill switches) जडान गरेका छन्, जसले गर्दा यदि तपाईंले किस्ता तिर्न ढिलाउनुभयो भने ऋण दिने कम्पनीले टाढैबाट गाडीको इन्जिन बन्द गरिदिन सक्छ। यो परम्परागत पुँजीवादी व्यवस्थाभन्दा पनि सामन्तवादी व्यवस्था जस्तै हो: तपाईं वस्तु प्रयोग त गर्न सक्नुहुन्छ, तर जमिन्दारको सर्त र ढोकाभित्र रहेर मात्र।

गत वर्ष भक्सवागन (Volkswagen) ले आफ्ना 'ID.3 Pro' 'Pro S' गाडीहरूको पूर्ण हर्सपावर लाई पेवाल पछाडि राख्ने निर्णय गरेर निकै चर्चा कमायो। गाडीलाई आफ्नो पूर्ण क्षमतामा चलाउनका लागि उपभोक्ताले प्रत्येक महिना थप शुल्क तिर्नुपर्ने भयो। अन्य गाडी निर्माताहरूले पनि तताउने सिट (Heated seats), जीपीएस (GPS), 'रिमोट स्टार्ट' जस्ता सुविधाहरूलाई ग्राहकको पहुँचबाट रोकेर मासिक सदस्यता पछाडि राख्ने प्रयोग गरिसकेका छन्। अझै खराब कुरा त के छ भने, केही निर्माताहरूले गाडीमा यस्ता 'किल स्विच' (Kill switches) जडान गरेका छन्, जसले गर्दा यदि तपाईंले किस्ता तिर्न ढिलाउनुभयो भने ऋण दिने कम्पनीले टाढैबाट गाडीको इन्जिन बन्द गरिदिन सक्छ। यो परम्परागत पुँजीवादी व्यवस्था (जहाँ श्रमिकले सामान बनाउँछ, पुँजीपतिले उपभोक्तालाई बेच्छ, र उपभोक्ताले त्यसको स्वामित्व लिएर प्रयोग गर्छ) भन्दा पनि सामन्तवादी व्यवस्था जस्तै हो: तपाईं वस्तु प्रयोग त गर्न सक्नुहुन्छ, तर जमिन्दारको सर्त र ढोकाभित्र रहेर मात्र।

पुँजीले अनन्त नाफाको खोजीलाई प्रोत्साहन गर्छ, त्यसैले कम्पनीहरूले आफ्ना ग्राहकको सङ्ख्या बढाउने प्रयास मात्र गर्दैनन्, बरु भइरहेका ग्राहकहरूबाटै बढीभन्दा बढी रकम असुल्ने बाटो खोज्छन्। कुनै उत्पादनको पूर्ण उपयोगितालाई सीमित गरेर र त्यसलाई पेवाल पछाडि राखेर, कम्पनीहरूले एउटै मुहानबाट निरन्तर नाफाको जल पिउन सक्छन्। यसको अर्थ नवीन खोज वा आविष्कार पूर्ण रूपमा मरेको छ भन्नु त होइन, तर त्यो आविष्कारको प्रयोग अब उपभोक्ताकै विरुद्धमा भइरहेको छ। पाँच वर्षमै कम्प्रेसर नबिग्रिने फ्रिज बनाउनुको सट्टा, अब तपाईंको 'स्मार्ट फ्रिज' मा विज्ञापनहरू अझ राम्रोसँग देखाउन सक्ने स्क्रिन बनाउनेतर्फ ध्यान दिइएको छ। उपभोक्ता अब एक 'भाडावाल' बनेको छ भने पुँजीपति 'घरबेटी'। कुनै वस्तुको खरिदसँगै अब व्यापारिक सम्बन्ध सकिँदैन, बरु विक्रेताले आफ्नो वस्तुमाथि कायम राख्ने अधिकार र शक्तिमार्फत यो सम्बन्ध निरन्तर चलिरहन्छ।

औद्योगिक पुँजीवादको लक्ष्य कुनै सामान बेच्नु र ग्राहकलाई सन्तुष्ट बनाएर उसलाई पुनः नयाँ सामान किन्न फर्कने वातावरण बनाउनुमा केन्द्रित हुन्थ्यो। तर, यसको आधुनिक रूप प्रायः उपभोक्ताका आवश्यकता र चाहनाहरूसँगै टकराइरहेको देखिन्छ। आफ्ना उपभोक्ताहरूप्रति पुँजीको यो दृष्टिकोण प्रायः सीधा-सीधी शत्रुतापूर्ण नै हुन्छ।

कुनै सेवा रद्द गर्ने जस्ता सामान्य कामहरूलाई पनि जानीजानी सकेसम्म झन्झटिलो बनाइएको हुन्छ।  सामानहरू निश्चित समयपछि आफैँ बिग्रिने गरी बनाइन्छन्; वेबसाइटहरूले ग्राहकलाई झुक्याएर सामान किन्न बाध्य पार्न डार्क प्याटर्नको प्रयोग गर्छन् (जस्तै: “एक महिनाका लागि नि:शुल्क सदस्यता लिनुहोस्!”); र यदि तपाईंले आफैँ मर्मत गर्ने प्रयास गर्नुभयो भने सामानको वारेन्टी नै रद्द गरिदिइन्छ। यी कुनै पनि कुराले उपभोक्ताको हित गर्दैनन्, तर यी सबै केवल बढीभन्दा बढी फाइदा निचोर्नका लागि सञ्चालित हुन्छन्। जब स्वामित्व सधैँ आंशिक मात्र हुन्छ र जुनसुकै बेला रद्द हुन सक्छ, यसले पुँजीपतिहरूलाई आफ्ना सामानहरूमाथि पहिले कहिल्यै नभएको स्तरको नियन्त्रण प्रदान गर्छ।

नाफाको खोजीमा साझा क्षेत्रहरूलाई सीमित गर्दै लग्दा पर्ने एउटा प्रायः वेवास्ता गरिने दुष्परिणाम के हो भने, अब भावी पुस्ताका लागि हाम्रा संस्कृति र इतिहास जोगाउने जिम्मा ठूला निजी कम्पनीहरूको हातमा पुग्नेछ। इतिहासकार र सङ्कलनकर्ताहरूले आफूसँग भएका सबै कुरा अभिलेख गर्नका लागि पनि तिनै निजी कम्पनीहरूकै अनुमतिमा भर पर्नुपर्नेछ।

नाफाको खोजीमा साझा क्षेत्रहरूलाई सीमित गर्दै लग्दा पर्ने एउटा प्रायः वेवास्ता गरिने दुष्परिणाम के हो भने, अब भावी पुस्ताका लागि हाम्रा संस्कृति र इतिहास जोगाउने जिम्मा ठूला निजी कम्पनीहरूको हातमा पुग्नेछ।

जब भौतिक रूपमै अस्तित्वमा नरहेका कुराहरूको 'फिजिकल कपी' बनाउन पनि अभिलेखकर्ताहरूलाई स्पष्ट अनुमतिको आवश्यकता पर्छ भने, हाम्रो इतिहासलाई दस्तावेजका रूपमा सुरक्षित राख्ने उनीहरूको क्षमता कति सीमित होला? यहाँसम्म कि हाम्रा तस्बिरहरूको संरक्षण पनि क्लाउड (Cloud) सधैँ हाम्रा लागि उपलब्ध भइरहनेछ भन्ने आशामै टिकेको छ। हामी आफ्नो आईक्लाउड (iCloud)  खाता आफ्ना बालबच्चाका नाममा हस्तान्तरण गर्न सक्दैनौँ, त्यसैले यदि कहिल्यै कुनै ठूलो 'डेटा दुर्घटना' भयो भने हामीले पछाडि के छाडेर जानेछौँ त? पुनः बिक्री हुने दोस्रो बजारलाई पूर्ण रूपमा समाप्त पार्ने यस होडमा, पुँजीपतिहरूले हाम्रा अस्तित्वका पदचिह्नहरू केवल साइबर संसारमा मात्र सीमित रहून् भन्ने कुरा सुनिश्चित गरिरहेका छन्, चाहे वास्तविक संसार ध्वस्त नै किन नहोस्।  

यो केवल भौतिक माध्यमहरू हराउँदै गएको विषय मात्र होइन,  यो त पूँजीपति वर्गले अब स्वामित्वको अवधारणालाई नै आफ्नो नाफा कमाउने प्रक्रियामा एउटा अवरोधका रूपमा लिन थालेको छ भन्ने हो। यो नाफा दोहनमा बाधा हो,  यो नियन्त्रणमा पनि बाधा हो पूँजीवादले कम्पनीहरूलाई यस्तो सोच विकास गर्न प्रेरित गरेको छ कि, बजारबाट बिक्री भई बाहिरिएको कुनै पनि सामान उनीहरूको भविष्यको नाफाका लागि खतरा हो।  त्यसैले उनीहरू त्यो सामान बजारबाट कहिल्यै पूर्ण रूपमा बाहिर नजाओस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छन्।

कार्ल मार्क्सले लेखेका थिए, " बुर्जुवा वर्गकोले उत्पादनका साधनहरू, र यसको फलस्वरूप उत्पादनका सम्बन्धहरू एवं समग्र सामाजिक सम्बन्धहरूलाई निरन्तर क्रान्तिकारी रूपमा परिवर्तन नगरी आफ्नो अस्तित्व कायम राख्न सक्दैन।"  आज, बुर्जुवा वर्गले उत्पादनलाई मात्र होइन, स्वयं स्वामित्वको अवधारणालाई नै पूर्ण रूपमा बदलिदिएको छ।

भविष्यको नाफा सुरक्षित गर्नुको अर्थ तपाईंसँग आफ्नो भन्ने केही पनि बाँकी नरहोस् भन्ने कुरा सुनिश्चित गर्नु हो। कुनै वस्तुको बिक्री अब लेनदेनको अन्त्य नभएर एउटा परजीवी सम्बन्धको सुरुवात बनेको छ।  यस्तो सम्बन्ध, जसले सामान बिक्री भइसकेको धेरै समयपछि सम्म पनि त्यसै वस्तुबाट बारम्बार नाफा चुसिरहन्छ। भिडियो  गेमहरू अब लाइसेन्स बनेका छन्। गाडीहरू सदस्यतामा आधारित सेवा बनेका छन्। सफ्टवेयरहरू सेवामा परिणत भएका छन्।

वास्तवमा, यहाँ कुनै पनि कुरा कहिल्यै तपाईंको हुनेछैन।

Source: https://www.dialecticsofdecline.com
 

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला ।  –दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?

सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर ।

विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर ।

दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर ।

दायित्वबोधको फेसबुक पेजयुट्युबट्विटरटिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर ।

दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि

https://dayitwabodh.com/page/support-us/