जनता नै ज्ञानका भरपर्दा खानी: जनसमुदाय र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मार्क्सवादी पाठ

पुष्पलालको प्रेरणाले पाएका जीवनका अनुभूतिहरू

सन्दर्भ त्यो बेलाको हो जब काठमाडौँको नयाँ सडक र खिचापोखरीको मोडमा राणाजीहरूको फोटो लिने र चित्र बनाउने आकर्षक भवनलाई नवीकरण गरी झकिझकाउ अमेरिकन लाइब्रेरी उद्घाटन गरियो। हामी साम्यवादी संस्कृतिउन्मुख विद्यार्थी कार्यकर्ताहरूमा अमेरिकी प्रभाव नेपालमा बढ्ने भयो र हामी निष्प्रभावी हुने भयौं कि भनी हामी निराशामा रहेको कुरा सुन्नु भएछ पुष्पलालजीले। एक दिन क्लास लिन भनी इटुम्बहालको किसान नेता सान्दाइको घरसँग जोडिएको सान्दाइको भाइको घरको मटानमा बोलाउनु भो। विषय थियो– अध्ययन के र कसरी।

हामी थुप्रै पुगेका थियौँ– चन्द्रानन्द नेवा, वाहाँको भाइ, रामेश्वर प्रधान, भरत जोशी, प्रचण्ड प्रधान, वासुदेव ढुङ्गाना, आनन्ददेव भट्ट, सायद चन्द्रधर उप्रेती पनि र अरू धेरै।

पुष्पलालजीले यस्तो निराशा र समस्याबाट विमुख भयो कि भनेर चिन्ता लिनु राम्रै हो। तर चिन्तालाई चिरेर आफ्नो उद्देश्य र गन्तव्यतिर अविचलित ढालिँदै, बढ्दै जानु कम्युनिस्ट स्पिरिट हो। निराश भई निष्कृय भएर बाटो छाडी बिलाउने प्रवृत्ति कम्युनिस्ट चरित्र हुनुहुन्न भन्नुभयो।

सामन्ती संस्कारले मथुरा जीवन, जगत् र प्रकृतिसँग जुधेर वा द्वन्द्व गर्दै र खेलीसिकी गर्ने अवसरबाट टाढा हुन गएकोले बाटो हराएको हुनुपर्छ। किसानको छोरा भएको भए हराउँदैनथ्यो होला।

यत्तिकैमा मलाई, "मथुरा, तिमी बन्दीपुरको सतिघाट जाँदा जङ्गलमा हराउँदाको अनुभव हामी सबलाई सुनाऊ त?" भन्नुभयो । यो अनपेक्षित आदेशले म झस्किएँ । कसरी थाहा पाएछन् पुष्पलालजीले त्यो घटना, जुन मैले पनि बिर्से जस्तो लागेको थियो। तर सम्झँदै, कनिकुथी, नर्भस हुँदै भनें, "म गाउँकै अतिसम्पन्न सामन्त परिवारको केटा हुँ। तर लगानबाली उठाउने मेरो क्षमता पनि थिएन, रुचि पनि थिएन। ‘धेबा बाग मवंम्ह, दुकुलन्ठु जक्क ख थो। छुंया ज्या मवनिम मचा जुला थ्व।’ (फुटेको कौडी जति पनि काम नलाग्ने, डुकुलन्ठु भयो यो। कुनै काम दिने देखिँदैन यसले।) भनी खिसी गर्थे। त्यस्तो गालीले मभन्दा मेरी आमा र बाजे, लालगोविन्द पिया, मर्माहत हुनुहुने रहेछ। बाजेले ‘केही गर्नु पर्दैन। सबै मोहीले छुट्याउँछन्। हाम्रो भाग पनि उनीहरूले नै ल्याइदिन्छन्। साक्षी जस्तै बस्ने मात्र हो’ भनी सम्झाई घरको रिसल्ला घोडा चढाइ सतिघाटको खेतमा पठाउनु भो– एक्लै। जाँदा ठीकै पुगें। मोहीहरूले खुब स्वागत गरी कालो पोथी काटी भात खुवाएर सम्मान गरे। परालको एक कप्टेरा बनाई मलाई सुताए र मोहीहरू अर्कै कप्टेरा सुते– खेतमै। भोलि बिहान दाइँ आदि गरी हाम्रो भाग खरानीले घेरा हाली छुट्याए। त्यस बेला मलाई ज्वरो आएकोले म फर्कन्छु भनें। छामेर ‘ओहो!’ भनि मलाई घोडा चढाइ बाटोमा खस्ला भनी कपडाले काठीमा बाँधेर ‘खस्न लागे घोडाको जेगर बलियो गरी समाउनु, नछाड्नु’ भनी सिकाइ एक्लै फर्काइ दिनु भो। बाटो घना जङ्गल पार गर्नु पर्थ्यो। जाँदाजाँदा बीचमा दुई बाटो भेटियो। बढी चौडाको बाटो सही होला भनी लगाम उतैतिर लगाएँ। घोडा पनि मानेर गयो। तर पछि बाटो कानो भयो। तैपनि बाटो भेट्टिएला भनि जङ्गलतिरै घोडा बढाएँ। भेट्टिएन। डर लाग्यो, बाघभालुले खाला भनी। तर त्यस बेला कुनै चरा, काग पनि कराएको थिएन। पछि भएन भनी फर्केर त्यही दोबाटोमा आइपुगें र मैले लगामले निर्देशन नगर्ने बरु गामबेसी गरेको घोडाले नै बाटो पैलाउला भनी विश्वाससाथ लगाम छाडी घोडा हिँड्न लगाएँ– आफ्नै तजवीजले। बाटोमा घाँसदाउरा बोकी आउनेहरूले बीचबीचमा ‘बन्दीपुरे साहुको छोरा रहेछ, बिमार छ जस्तो छ’ भनी नजिस्काइरहेको भए घोडाबाट पनि खसिन्थ्यो होला। घर पुग्दा अबेर रात भइसकेको थियो। घोडा हिनहाएको सुनेर कदम दाइ (जेठाबाको छोरा र मेरा महत्त्वपूर्ण राजनीतिक गुरु) आएर बोकी कोठामा लगी त्यही रात जडीबुटी खुवाई दुई दिनपछि निको भएँ।"

मेरो यही कुरामा पुष्पलालजीले सामान्य छलफल चलाएर आफ्नो कुरा राख्नु भो–

"सामन्ती संस्कारले मथुरा जीवन, जगत् र प्रकृतिसँग जुधेर वा द्वन्द्व गर्दै र खेलीसिकी गर्ने अवसरबाट टाढा हुन गएकोले बाटो हराएको हुनुपर्छ। किसानको छोरा भएको भए हराउँदैनथ्यो होला। बरु पशु भए पनि प्रकृतिसँग गामबेसी गर्ने घोडाले सिकायो। जे भए पनि बाटो हराएर आफैँ पनि बिलाउने अवस्थाबाट घोडाको सहायताले पैलाएर सुरक्षित हुने बिन्दु नै सिक्ने कलाको महत्त्वपूर्ण प्रस्थानबिन्दु हो" भन्दै आफ्नो लेक्चर सुरु गर्नु भो।

अहिलेको सन्दर्भमा म चार कुरा भन्छु–

१. अमेरिकी पुस्तकालयको झकिझकाउ वा कुनै शक्तिबाट तर्सिने हामी कम्युनिस्टहरू हुनुहुन्न। सिक्ने कुरामा शत्रुबाट पनि सिक्नुपर्ने हुन्छ। शत्रु नै भने पनि उसका कुरा नसुनी, नबुझी र सिंगोपांगो उसलाई देख्न-बुझ्न नसकी कसरी विवाद, सामना र प्रतिकार गर्न सकिन्छ? त्यस लाइब्रेरीमा छाती तानेर गएर उपलब्ध किताबहरू पढ्नुहोस्। राम्रो कुरा छ भने ग्रहण पनि गर्ने हो। नराम्रा, झूटा र हानिकारक सामग्री भए ‘यो यो कारणले यो ठीक छैन’ भनी जानी दुत्कार गर्न सक्नुपर्छ। हाम्रो तार्किक क्षमताका लागि पनि यसो गर्नु जरुरी हुन्छ।

साधारण नेपाली जनता जतिसुकै अबुझ या चेत नभएको भनी प्रचार गरिए तापनि जनतालाई हाम्रा गुरुमा पनि महागुरु सम्झी उनीहरूबाट सिक्न सक्नुपर्छ हामी कम्युनिस्टहरूले।

२. सिक्ने भनेको महापण्डित, दार्शनिक वा हाम्रै मार्क्स, एङ्ग्ल्स, लेनिन आदिबाट मात्र होइन; एकपटमूर्ख वा समाजमा निकम्मा भनिएकाहरूबाट पनि सिक्न सकिने छ भने सिक्नु पर्छ। साधारण नेपाली जनता जतिसुकै अबुझ या चेत नभएको भनी प्रचार गरिए तापनि जनतालाई हाम्रा गुरुमा पनि महागुरु सम्झी उनीहरूबाट सिक्न सक्नुपर्छ हामी कम्युनिस्टहरूले। किनभने जनता हाम्रा सबै इतिहास, कला, संस्कृति, समाजदर्शन, परम्परा सबैका भरपर्दा खानी हुन्, स्रोत पनि हुन्। जनतामाझ भिडी बितेको जमानाका स्मृतिपटल खोतल्न सके धेरै सिक्ने र जान्नैपर्ने ज्ञानभण्डार हुन्छ जनसागरमा। तर खोतल्न सजिलो खेल होइन। जनतासँग भिज्न सक्नेले मात्र केही खोतल्न सक्छ। यसैसँग गाँसिएको सिक्ने कला हो– ज जुनसुकै गाह्रोसाह्रो र असहज परिस्थितिमा र तीसँग जुधेर सिक्ने स्पिरिट लिनु पर्छ हामी कम्युनिस्टहरूले। कहिलेकाहीँ केही जटिल समस्याका समाधान निस्केन भने सो प्रश्न लिएर जनतामाझ गई सँगै अध्ययन गरे पाइन सकिन्छ।

अध्ययन भन्ने कुरा केही भाग, पक्ष वा विषयमा बन्दी बनी टुक्रे उस्ताद बन्ने होइन। सकेसम्म सर्वपक्षीय र समग्रतामा अध्ययन गर्नुपर्छ।

३. सिक्ने भनेको बुद्धकालदेखि चली आएको सुनेर, पढेर, सत्सङ्गत गरी जान्ने र जान्न खोज्ने मात्र होइन; त्यसलाई मन, विवेकदेखि व्यवहारको कसीमा उतारी सर्वपक्षीय विवेचना र विश्लेषण गरी आत्मसात् गरेपछि पनि व्यवहारमा खोजअनुसन्धान गरी र भोग गरी, ठीकबेठीक र ग्राह्य गर्न सक्ने-नसक्ने कसीमा उतारी मात्र ग्रहण गर्नु राम्रो हुन्छ। नत्र हामी ‘कागले कान लग्यो’ भनेको सुनेर कागको पछाडि भागिरहने मात्र हुन्छौँ।

४. अध्ययन भन्ने कुरा केही भाग, पक्ष वा विषयमा बन्दी बनी टुक्रे उस्ताद बन्ने होइन। सकेसम्म सर्वपक्षीय र समग्रतामा अध्ययन गर्नुपर्छ। अबेला भइसकेकोले म यसबारे एक उदाहरण मात्र दिन चाहन्छु– माओत्सेतुङको। माओ जब साङ्घाईमा आए, उनलाई एउटा प्रश्नले पिरल्यो– "चीन त्यति शक्तिशाली, संस्कृति, इतिहास र दर्शनसहित व्यापार आदिमा त्यस्तो कर्मठ र सम्पन्न देशलाई ती फासीवादी, उपनिवेशवादी र साम्राज्यवादी देशहरूले कसरी छिन्नभिन्न पारिरहन सकेर देशकै अस्तित्वमा खतरा पुर्‍याउन लागे?" भनी। जवाफ खोज्न एउटा लाइब्रेरीको पाले जागिर खाएर पनि त्यहाँ भएका भएभरका किताबहरू गहिरो अध्ययन गर्न भ्याए। उत्तर समग्रमा आएन भनी साङ्घाईका प्रसिद्ध प्राध्यापकसँग अन्तरक्रिया गरी उत्तर खोजे। प्राध्यापककी छोरीसँग विवाह पनि गरे (लङ मार्चको दौरान कुओमिन्ताङ फौजले समाती फाँसीको सजाय दिएको थियो माओपत्नीलाई)। समग्र ज्ञान प्राप्त गर्न सिङक्याङसानको अनकन्टार टुप्पोमा बसेर ४ वर्षसम्म अति पौराणिक बाँसपत्र र हड्डीपत्रदेखि आधुनिकतम इतिहास, कला, साहित्य, दर्शन पढ्न थाले। चीनका क्रूरतम र अत्याचारी भनिएका बादशाह, प्रधानमन्त्री र जनरल, यहाँसम्म कि युद्धसरदारहरूका जीवन, उनीहरूका भनाइ, सिद्धान्तदेखि पौराणिक सन्त, गुरु, दार्शनिक जस्तै लाओत्से, कन्फ्युसियस, मेन्सियस आदिका सिद्धान्तहरू गहिरिएर आत्मसात् गरी मनमा उठेका खुल्दुली सबै निवारण गरी सम्पूर्ण चीन र जनताका इतिहासदेखि दर्शन साङ्गोपाङ्गो बुझ्न सकेकाले नै माओको नेतृत्वमा चिनियाँ क्रान्ति सफलतामा मात्र टुङ्गिएन, चीनलाई पुनः एक, शक्तिशाली र एकीकृत बनाउन सके। हामीले पनि अध्ययन भनेको समग्रता र क्रियाशील प्रतिकारात्मक रूपमा गर्नै परेको छ। झिना-मसिना कुराबाट विचलित हुने होइन भन्दै पुष्पलालजीले आफ्नो कुरा टुङ्ग्याउनु भो। मलाई याद छ, आनन्ददेव भट्टले यति धेरै प्रश्न र प्रतिप्रश्न गर्नुभो र त्यसबाट हामी अझ स्पष्ट भयौँ जस्तो लाग्यो। म भने कुनै प्रश्न नै राख्ने हिम्मत राख्न सकिनँ।

पुष्पलालजीले त्यति बेला उहाँको लेक्चर सारांशमा लेखेर दिनू भनी अह्राउनुभएको थियो, जुन मैले पूरा गर्न सकिनँ। लेख्न किन हो मलाई ज्यादै गाह्रो लाग्दथ्यो।

प्रयोग: पहिलो

त्यसपछि हामी त्यस अमेरिकन लाइब्रेरीमा गई अमेरिका बारे धेरै अध्ययन गर्न थाल्यौँ– त्यहीँ टेबलमा बसेर। तर म लाइब्रेरीको सदस्यता कहिल्यै लिइनँ। प्रचारबाजीका सानोसाना पुस्तिकाबाट सुरु गर्यौँ। एक जना प्रोफेसर फिसर, जो सोभियत रुसको कट्टर विरोधी थिए, उसका सबैजसो किताब पढेँ पनि (धेरै पछि त्यो प्रोफेसर त अमेरिकाबाट भागेर सोभियत युनियनमा शरण लिन गएर बाँकी जिन्दगी त्यहीँ बिताएको मान्छे हो। त्यस्तो कम्युनिस्टविरोधी पनि तत्कालीन अमेरिकाको म्याकआर्थरिज्मको तानाशाही विचहन्टबाट टिक्न सकेन। त्यति बेला अमेरिकाका धेरैभन्दा धेरै विद्वान, चिन्तक, वैज्ञानिक, दार्शनिक, सामाजिक अभियन्ताहरू त्यही म्याकआर्थरिज्मको बर्बरताले हराएर, बिलाएर कति गए गए, हिसाबै छैन; कसैले हिसाब राख्न कष्ट पनि गरेन। मलाई विश्वास छ, त्यस म्याकआर्थरिज्मको महाउद्दण्डताले अमेरिकालाई कति हानि गर्यो भनी कुनै बेला अमेरिकाकै इतिहासले बताइदिने छ)।

त्यस लाइब्रेरीको हट्टाकट्टा (सायद प्रमुख) एक नेवाः थियो। उसले एकातिर मलाई "तिमी कम्युनिस्ट यहाँ के पढ्छौ?" भनी व्यङ्ग्य हान्थे भने अर्कोतिर गहिरो अध्ययन गर्ने भनी शनिबार र आइतबार पढेर जस्ताको तस्तै सोमबार फर्काउने सर्तमा मलाई मात्र धेरै किताबहरू पढ्न दिन्थे।

त्यस बेला त्यस लाइब्रेरीमा बाहिर लान नपाउने अमेरिकाका धेरैभन्दा धेरै चिन्तक, वैज्ञानिक, विद्वान, लेखक, कलाकार र प्रोफेसरहरूका किताब त्यहीँको रिडिङ रुममा मात्र पढ्न पाइन्थ्यो। त्यहाँ जोन मिलरका किताब, जर्ज ओरवेलको ‘एनिमल फार्म’ आदि धेरैभन्दा धेरै किताबहरू पनि पढियो। ‘एनिमल फार्म’ किताब कम्युनिस्ट, खास गरी सोभियत युनियनविरोधी भनी जोडबलले प्रचार भइरहे पनि कथित आधुनिक अमेरिकी समाजलाई तिखो व्यङ्ग्यका कुराबाट गहिरिएर पढ्नेहरूबाट छुपेन, मबाट पनि छुपेन। त्यस लाइब्रेरीको हट्टाकट्टा (सायद प्रमुख) एक नेवाः थियो। उसले एकातिर मलाई "तिमी कम्युनिस्ट यहाँ के पढ्छौ?" भनी व्यङ्ग्य हान्थे भने अर्कोतिर गहिरो अध्ययन गर्ने भनी शनिबार र आइतबार पढेर जस्ताको तस्तै सोमबार फर्काउने सर्तमा मलाई मात्र धेरै किताबहरू पढ्न दिन्थे र दिएथे। त्यस किताबबाट मैले अमेरिकाको झाँकी धेरै मात्रामा स्पष्ट हेर्ने मौका पाएँ। त्यस लाइब्रेरीको उहाँ कहाँ र कता हुनुहुन्छ, मलाई थाहा छैन; म सायद भेटे पनि चिन्दिनँ होला, म उहाँमा हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्न चाहन्छु– जहाँ भए पनि। कहिलेकाहीँ अमेरिकामा सम्मेलन आदिमा जाँदा मलाई यस्तो पनि आभास हुन्थ्यो, ती किताबहरू पढेकोले सायद साधारण अमेरिकनभन्दा अमेरिकाको इतिहास, संस्कृति र विरासत बारे मलाई बढी थाहा भएको भान हुन्थ्यो।

प्रयोग दोस्रो

पुष्पलालजीको त्यस प्रवचन झलझली सम्झनुपर्ने दोस्रो घटना यस्तो छ: जब म एमबीबीएसको फाइनल जाँचअगाडि सोसल एन्ड प्रिभेन्टिभ मेडिसिनको प्रिफाइनल क्वालिफिकेसन जाँचमा हुँ। त्यस विभागको प्रोफेसर र एचओडी, प्रा. डा. दक्षिणामूर्ति एक विद्वान र हस्ती व्यक्तित्व हुनुहुन्थ्यो। कोर्स बाहिर गएर भए पनि समष्टिगत रूपमा विषयहरूको अध्ययन सबले गर्नुपर्छ भनी मान्यता राख्नुहुन्थ्यो र प्रिक्वालिफिकेसन जाँच टफ हुन्छ र पास गर्नै पर्छ भनि पूर्वउद्घोष गर्नुभएको थियो। त्यस बेला म होस्टेल बाहिर विशाखापटनमको बुद्धभरोसा गार्डेनमा बस्थें। कलेजको गेटअगाडि होस्टेलबाट आउने बस समातेर क्लास जाने गर्थें। त्यस दिन बस छुटेकोले जाँचमा ५/६ मिनेट पछि पुगें। मुख्य प्राक्टिकलको चीट गाह्रो भनी अरूले साटेर राखेको त्यही अन्तिम चीट मेरो हुन गयो– एनोफिलिज लामखुट्टेको सेलिभरी ग्ल्यान्ड एक्सपोज गरी चित्रङ्कित र लेबल गर्नु। म्याग्निफाइङ ग्लास जडित स्टेज वाक्स ट्रेमा लामखुट्टेको सेलिभरी ग्ल्यान्ड ट्वाइजरहरूको मद्दतले एक्सपोज गर्न सक्नु चानचुनो कुरा थिएन। जम्मा दुई पोथी एनोफिलिज लामखुट्टेहरू राखिएको थियो सो वाक्स ट्रेमा। कम्तीमा एकमा सफल अपरेसन गरी देखाउनु थियो मैले। दुर्भाग्यवश वा भाग्यवश म दुवैको अपरेसनमा असफल भएँ।

यस घटनाबाट मैले "जस्तो सुकै विषम परिस्थिति र जस्तो सुकै नगण्य र अनपढबाट पनि सिक्न सक्नु नै वास्तविक शिक्षा हो" भनी पुष्पलालजीले भनेको कुरा झलझली सम्झें।

 त्यही बेला त्यहाँको सबले पागल भन्ने एक रक्स्याहा पाले सुटुक्क आएर "आठ आना झिक" भनी लिएर अर्को दुई लामखुट्टे ट्रेमा राखिदियो। त्यसमा पनि म असफल भएँ। जाँच सुपरभाइजर र मनिटरहरू सब गफमा व्यस्त थिए, मेरो परेशानी देखिएन। त्यस पालेले झर्केर अर्को एक अठन्नी लिएर दुई पिनको सहाराले यसो घोचेको जस्तो गरी च्यातेर लामखुट्टेको सेलिभरी ग्ल्यान्ड राम्रोसँग एक्सपोज गरिदिनु भो– त्यस बहुला भनी सबले तिरस्कार गरेको अनपढ र रक्स्याहा पालेले। म राम्ररी हेरिरहें थें उसले गरेको अपरेसनको नौलो तर प्रभावकारी प्रविधि। मैले अर्को एक रुपैयाँ दिएर दुई लामखुट्टे मगाएँ। त्यसको नक्कल गरी म दुवै लामखुट्टेको सफल अपरेसन गरी माउन्ट गरें। पहिले असफल भएको लामखुट्टे र सो पालेले सफल अपरेसन गरेको लामखुट्टे सब सिङ्कमा पखाली पठाएँ र दुवै लामखुट्टेका राम्रोसँग प्रदर्शित गरी बाँकी काम पूरा गरें। त्यसपछि स्पटिङ गर्ने र हरेक बारे दुई इपिडेमोलजिकल नोटहरू लेख्नुपर्थ्यो, जुन मैले सबै ठीकठीक स्पट गरी नोटहरू पनि ठीक लेखी पूरा गरें। स्वयम् प्रोफेसर दक्षिणामूर्ति आउनु भएर ओरल क्रसक्वेसनहरू गर्नु भो। त्यस बेला मैले सबैभन्दा बढी नम्बर मात्र पाएको होइन, "सबलाई बोलाई यस्तो राम्रो सबले गर्नुपर्छ र सक्छ" भनी दिनु भो। भित्रको वास्तविकता मैले उहाँलाई भन्ने कुरा भएन। तर यस घटनाबाट मैले "जस्तोसुकै विषम परिस्थिति र जस्तो सुकै नगण्य र अनपढबाट पनि सिक्न सक्नु नै वास्तविक शिक्षा हो" भनी पुष्पलालजीले भनेको कुरा झलझली सम्झें। त्यस अनपढ, रक्स्याहा र सबले पागल भनी हेला गरिएको त्यस पाले, जसको नाम पनि मलाई थाहा छैन तर मेरा लागि सबैभन्दा ठूला गुरुहरूमध्ये एक हो, भनी सदासर्वदा सम्झन्छु र सम्झिरहने छु।

पछि लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा १९७८ मा पोस्टग्राजुएट गर्न जाँदा त्यही लामखुट्टेको अपरेसन रोनाल्ड रोसले डिजाइन गरेको हलुका स्टेनलेस स्टिल ट्वाइजरले गर्दा सफलताको रेट राम्रै थियो। त्यति बेलासम्म पिनको चलन प्रशस्त हुने हुनाले मैले त्यस अनपढ पालेबाट सिकेको पिन प्रविधिबाट देखाउँदा सबै इन्टोमोलोजिस्ट छक्क परे। पछि चिफ इन्टोमोलोजिस्टले मलाई "पिन प्रविधि धेरै सजिलो र सफल छ, रोनाल्ड रोसको प्रविधिभन्दा" भनेको मैले बिर्सेको छैन।

प्रयोग तेस्रो

नेपालको मेडिकल एजुकेसनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हामी आइओएमका सबैको महत्त्वपूर्ण दायित्व थियो। तर त्यसबेला पञ्चायतको कालरात्री समय। डीन कार्यालयको र त्यस माथिका भारतपरस्त सोच। भारतले दिएको मान्यता मात्र मान्यता हो भनी सोचको प्रभावबाट हामी मर्माहत थियौँ। यद्यपि हाम्रा एमबीबीएस पास गरेका विद्यार्थीहरू इङ्गल्याण्ड, अमेरिका, अस्ट्रेलिया र युरोपका कैयौँ सेन्टरहरूमा मेडिसिन, सर्जरी, पब्लिक हेल्थ र रिसर्च विषयहरूमा अन्तर्राष्ट्रिय स्तरका हाराहारीमै मेडिकल शिक्षा चुपचाप हासिल गरिरहेका थिए। त्यसको प्रचारसम्म पनि हामी नगरी बस्नुपर्यो। किनभने ती जेहन्दार विद्यार्थीहरूका वैधानिक अडचन नेपालका टाठाबाठा नीतिनिर्माताहरूबाटै आउन सक्दथ्यो। त्यही बेला जोन्स हप्किन्सका केही नेपाल आउन सक्ने मेडिकल विद्यार्थी, आइओएमका इच्छुक विद्यार्थी मिलाएर संयुक्त रूपमा नेपालका कम्युनिटी फिल्ड एक्सपिडिसन, अनुसन्धान, लेक्चर र कम्पिटेन्सी इभ्यालुएसन प्रोग्राम आयोजना गर्यौँ। जोन्स हप्किन्स युनिभर्सिटीको अमेरिकाकै हस्ती, प्रोफेसर कार्ल टेलर, डा. बब पार्कर आदि र हामी सिनियरहरू मिलेर सुपरिवेक्षण गर्यौँ। हामी नवलपुरको उत्तरी डाँडो काटेर कोटाघाट पुग्यौँ। त्यहाँका गाउँहरू र नवलपुर साइडका पहाडका गाउँहरूको विस्तृत अध्ययन र इपिडिमोलजिकल सर्भे विद्यार्थीहरू कै विभिन्न संयुक्त टोलीहरूको पहलमा सुरु गरायौँ। हाम्रो काम बेलाबेलामा नेपाल र अन्तर्राष्ट्रिय स्वास्थ्यका मूलभूत समस्याबारे प्रवचन गर्नु, सबै टिमको सुपरिवेक्षण गर्नु र विद्यार्थीहरूका समस्या, जिज्ञासा आदि छलफल गरी समाधान गर्नु थियो।

सर्भेमा के पाइयो भने लुतोको प्रकोप धनीमानी पढेलेखेका त्यस गाउँका बासिन्दाहरूमा ९५ प्रतिशत सङ्क्रमित थियो भने कोटाघाटमा विपन्न बोटे समुदायका बासिन्दाहरूमा लुतोको सङ्क्रमण ५ प्रतिशतभन्दा कम पाइयो।

त्यहाँ मेडिकल र पब्लिक हेल्थ फिल्डमा अप्रत्यासित समस्या आयो। नवलपुर साइडका पहाडी गाउँ, जो धनीमानी जमिन्दारहरूका घरहरू थिए र जसको नवलपुर फाँट र तनहुँको कोटाघाट साइडको सबैभन्दा उब्जाउ र राम्रो जमिन त्यही गाउँका बासिन्दाहरूको थियो, सर्भेमा के पाइयो भने लुतोको प्रकोप धनीमानी पढेलेखेका त्यस गाउँका बासिन्दाहरूमा ९५ प्रतिशत सङ्क्रमित थियो भने कोटाघाटमा विपन्न बोटे समुदायका बासिन्दाहरूमा लुतोको सङ्क्रमण ५ प्रतिशतभन्दा कम पाइयो। सबैले लुतो त विपन्न, सरसफाइमा कमी भएका बालबालिकाहरूमा हुने भनी चिनेको हो लुतोलाई। यस्तो उल्टो परिणाम कसरी आयो भनि छलफल खुब चलायौँ। दोहोर्याएर पुनः सर्वेक्षण गर्ने निर्णय गर्यौँ। जोन्स हप्किन्सका प्रोफेसर र म स्वयम्को सीधा सुपरिवेक्षणमा पनि त्यही डेटा आयो। किन भनी हामी विद्यार्थी र शिक्षकहरूको घनीभूत छलफल चलायौं। निष्कर्ष निकाल्ने हामी कसैको क्षमता भएन। आखिर माथि र तल गाउँहरूका गन्यमान्य जनसहभागितामा अर्को दिन छलफल गरी जवाफको आशा गर्न सक्ने निष्कर्ष निकाल्यौँ। भोलिपल्ट कोटा साइडको कालीगण्डकीको किनारको बलौटे चौरमा थुप्रै मानिसहरू भेला भए र गहन छलफल चलायौं। जवाफ त त्यहाँबाट पनि आउला जस्तो देखिएको थिएन। तर एक ४५-४६ सालकी अधबैंसे बोटे महिला, जो पहिले नै अलि रक्सी खाइसकी थिइन्, "म भन्छु किन भनी" बोल्न अनुमति मागिन्। अरू गन्यमान्य व्यक्तिहरूले "चुप लाग बहुलाही" भनी बोल्न नदिने प्रयास गरे। तर हामीले बोल्न हौसला दियौँ। विश्वकै स्तरीय वैज्ञानिक प्रोफेसरहरूले पेस गर्न सक्ने वस्तुस्थिति र दलील पेस गरिन्, जसले हामी सबै विद्वान भनाउँदाहरूका आँखा उघारी दियो।

वाहाँले जस्तो खरो र स्पष्ट बोलेको यहाँ उतार्न सक्ने ममा क्षमता छैन, तर पनि वाहाँले आफ्नो भनाइ यसरी राख्नु भो:

“कागे नुहाएका बाहिर सुकिलामुकिला भित्र फोहोरी केटाकेटीहरूमा लुतो नभए कस्मा हुन्छ? हाम्रा केटाकेटी दिनमा कम्तीमा तीन पटक कालीगण्डकीमा हेलिएर, पौडी खेलेर वारपार गर्नैपर्नेहरूमा लुतो कसरी लाग्छ?"

"त्यो जिम्वाल र धनीमानीहरूको गाउँमा के छ? ठूलाठूला झकिझकाउ घरहरू मात्र भएर हुन्छ? त्यस गाउँभर जम्मा पाँच कुवा-धारा छन्। त्यहाँका बाहुनबाजे र केटाकेटी दिनदिनै नुहाउँछन्– कागले नुहाएको जस्तो, बस्। यहाँ त हाम्रा केटाकेटीहरू प्रकृति, गरिबी सबसँग जुध्न बाध्य छन्। हाम्रा केटाकेटीहरू स्कुल जाँदा घरका गाईभैँसी-चौपायाहरू सँगसँगै लगेर कालीपार नवलपुर र त्यस गाउँको फेदीको जङ्गलमा छाडेर मात्र स्कुल जान पाउँछन्। पुलबाट वस्तुभाउ तार्न नदिने हुनाले ती वस्तुभाउ सँगसँगै कालीमा हेलिएर, पौडी खेलेर, वस्तुभाउ पारी जङ्गलमा छाडी, पौडी नै खेली वारि छाडेको किताब र लुगा च्यापेर स्कुल जान्छन्– सब। स्कुलपछि पनि पारी जङ्गल गई पौडी खेलेर गाईवस्तु घरगोठ ढुकाई मात्र आराम गर्न पाउँछन्। ल भन्नुहोस्, कागे नुहाएका बाहिर सुकिलामुकिला भित्र फोहोरी केटाकेटीहरूमा लुतो नभए कस्मा हुन्छ? हाम्रा केटाकेटी दिनमा कम्तीमा तीन पटक कालीगण्डकीमा हेलिएर, पौडी खेलेर वारपार गर्नैपर्नेहरूमा लुतो कसरी लाग्छ?"

त्यस अनपढ अधबैंसे महिलाले मेरो मात्र होइन, जोन्स हप्किन्सका प्रोफेसर, विद्यार्थी र हाम्रै अन्य शिक्षक र विद्यार्थीहरूका ‘इको हेल्थ’ वा हेल्थ इकोलजी (भर्खरै चर्चामा आउन थालेको विषय) मा विहङ्गम दृष्टिकोण राख्ने अपूर्व मौका पायौँ। त्यस "अनपढ" महिला त्यस बेला र त्यस कारण हामी सबैका गुरुमा पनि महागुरु हुन सक्नु भो। पुष्पलालजीले भनेबमोजिम जनमानसभित्रको ज्ञानभण्डार अथाह र अपूर्व हुन सक्छ, यदि हामी त्यसको लागि लायक बनाउन सकी सोधखोज गर्न सक्यौं भने।

यस्ता थुप्रै अनुभूति छन् तर अहिले यति।

(पोष्ट कोभिड फंगल न्युमोनिया संग जुध्दै,  अक्सिजन सप्लिमेन्टेसन (0.75 L/mt) लिंदै २०७८ जेष्ठ ९ मा लेखिएको अनुभूति )