राष्ट्रियता: नेपालको सन्दर्भमा

‘राजा अत्याचारी, निरङ्कुश र घोर जनविरोधी भए पनि राष्ट्रवादी त हो नि !’ २०१७ सालको काण्ड भइसकेपछि पनि एकजना सज्जनले मसँग यस्तो तर्क पेस गरे । म एकछिन स्तब्ध भएँ र उनको मुख हेर्न थालेँ । ती विद्वान् सज्जनको चिन्तनलाई २०१७ सालको काण्डले कुनै प्रभाव नपरेको देख्दा र जनताका मौलिक अधिकारको अपहरणलाई राष्ट्रवादको नमुना ठानेको देख्दा मैले एकछिन सोचेर भनें- ‘राष्ट्रियतासँग जनताको केही सम्बन्ध हुन्छ कि हुँदैन ? कि त्यो जनतासँग पूरै असम्बन्धित तत्व हो ?’ अब, मेरे प्रश्नको आशय नबुझेर छक्क भएर मतिर हेर्ने उनको पालो थियो । उनी र उनीजस्ता धेरै सदाशयी व्यक्तिहरूले पक्कै पनि राष्ट्रियताका सम्बन्धमा चिन्तन गरेर आफ्नो मस्तिष्कललाई थकाउन चाहेका छैनन् । उनीहरूका लागि राष्ट्रियता भनेको एउटै शून्य नारा मात्र हो । मैले यहाँ दरबारबाट भत्ता पाउञ्जेलसम्म राजालाई विष्णुको अवतार मानेर ठाउँ-कुठाउँ मौका-बेमौका स्तुति-गान गर्न नबिराउने र राजाको स्तुति-गान गर्ने व्यक्तिहरूको सन्दर्भ उठाएको होइन ।

ती विद्वान् सज्जनको चिन्तनलाई २०१७ सालको काण्डले कुनै प्रभाव नपरेको देख्दा र जनताका मौलिक अधिकारको अपहरणलाई राष्ट्रवादको नमुना ठानेको देख्दा मैले एकछिन सोचेर भनें- ‘राष्ट्रियतासँग जनताको केही सम्बन्ध हुन्छ कि हुँदैन ?

मसँग प्रश्न गर्ने व्यक्ति राजाको स्तुति-गान गाउने खालका थिएनन् । उनी आफूलाई नेपालको राजनीतिमा स्वतन्त्र चिन्तन भएको व्यक्ति भन्न रुचाउँथे । ती विद्वान् सज्जन नेपालको राजनीतिले धारण गरेको उग्र रूपको परिप्रेक्ष्यमा स्वतन्त्र चिन्तन गर्ने सिद्धान्तले सदाशयी व्यक्तिहरूमा समेत कत्रो भ्रम उत्पन्न गर्न सक्छ भन्ने एउटै दृष्टान्त मात्र हुन् । मैले उनलाई सोधेँ- के जनताका अधिकार खोसेर राष्ट्रियताको रक्षा हुन्छ त ? राजा महेन्द्रलाई ०१७ सालको ऐतिहासिक काण्ड घटाएबापत कृतज्ञताका साथ होस् या घृणाका साथ, इतिहासले पछि सम्झेला ? त्यो कुनै अर्थमा पनि राष्ट्रिय अभियान थियो ? उनले त चार्ल्स प्रथमले जनताका प्रतिनिधिहरूको सभा ‘संसद्’ भङ्ग गरेजस्तो गरे । (चार्ल्स प्रथमले भङ्ग गरेको संसद्ले नेपालको ०१७ सालको संसद्ले नेपाली जनताको जति प्रतिनिधित्व गर्दथ्यो, त्यति प्रतिनिधित्व पनि गर्दैनथ्यो । तर, त्यस संसद्ले चार्ल्स प्रथम व्यक्ति को भन्दा बढी राष्ट्रिय प्रतिनिधित्व गर्थ्यो ।)

मैले विषय-प्रवेश गर्नेहेतुले ती सज्जनको चर्चा गरेँ । ती सज्जन मात्र कोरा नाराको सिकार बनेका रहेछन् भन्ने प्रमाण मैले केही दिनपछि नै पाएँ । मैले विराटनगरको इलिट क्लबमा भाषण गरिसकेपछि देशभक्ति र राष्ट्रियताका सम्बन्धमा मलाई एउटा प्रश्न सोधियो । मलाई सोधिएको प्रश्नको उत्तर दिने क्रममा मैले प्रश्नकर्तालाई सोधेँ- ‘राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता होइन र ? जनताको अधिकार खोसेर देशको हितको रक्षा कसले, कसरी गर्यो ?’

देश वा राष्ट्र भनेको भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । तसर्थ, जनताको हित हुने कुरा नै देशहितको कुरा पनि हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो । नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ ।

मैले भन्न खोजेको के हो भने- देश वा राष्ट्र भनेको भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । तसर्थ, जनताको हित हुने कुरा नै देशहितको कुरा पनि हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो । नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ । तर, त्यो भूगोल भने आफ्नो ठाउँमा जस्ताको त्यस्तै रहिरहनेछ । २०१७ साल पुस १ गतेका दिन देशवासीहरूले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, सङ्गठन स्वतन्त्रतालायतबाट जनता वञ्चित पारिए, जनप्रतिनिधिहरू थुनिया, संसद् विघटन गरियो, फेला परेका एउटै सांसदलाई पनि नछोड़ी बन्दी बनाइयो, संसद्का सभामुख थुनिया, जननिर्वाचित प्रधानमन्त्रीदेखि चाहे भूतपूर्व प्रधानमन्त्री हुन् वा साधारण कार्यकर्ता, राजनीतिमा लागेका कोही व्यक्ति पनि राजाको त्यो दमन-चक्रबाट जोगिएनन् । त्यस दिनपछि पनि कसैले राजालाई राष्ट्रियताको समर्थक वा प्रतीक मान्छ भने नेपालको राजनीतिमा सम्बन्ध त्यो जस्तो ठूलो भ्रम अर्को कुनै हुनै सक्तादैन । त्यस दिन राजाले स्पष्ट रूपमा आफूलाई जनताभन्दा पृथक तत्व मात्र होइन, विरोधी तत्वको रूपमा समेत प्रकट गरे ।

राष्ट्रियताका सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता नै हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । समय-समयमा प्रकट हुने व्यापक समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्दा सहजै उत्पन्न हुने एकताको जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा व्यापक समस्या, तिनको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता गरी तीन तत्व सामेल छन् । अर्को शब्दमा १. जनता, २. जनताको अगाडि उपस्थित समस्या, ३. त्यस समस्यालाई सबैले मिलकर समाधान गर्ने सामूहिक प्रयत्न र ४. त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्व हुन् । राष्ट्रियतालाई यसरी विचार गर्दा उसमें भूगोलको भूमिका गौण भएर जान्छ ।

राष्ट्रियतालाई जनताको सन्दर्भमा नसोची एउटा भूभागको अर्थमा लिन थाल्यौँ भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन सक्छ ।

हामीले राष्ट्रियताको सन्दर्भमा विचार गर्दा जनताको सन्दर्भमा सोच्ने बानी बसाल्नुपर्छ । त्यसो भयो भने मात्र राष्ट्रियतासम्बन्धी सत्यतथ्य बुझ्न सकिन्छ । राष्ट्रियतालाई जनताको सन्दर्भमा नसोची एउटा भूभागको अर्थमा लिन थाल्यौँ भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन सक्छ । त्यही काम राजाले गर्न थालेका छन् । उनले आफ्नो हुकुमी शासनको तानाशाही व्यवस्थालाई टेवा पुऱ्याउनका लागि राष्ट्रियताको नारा प्रचार गरिहेका छन् । हामीले यस यथार्थलाई बुझ्नका निम्ति २००३ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्न गर्दै राष्ट्रियताको नारा प्रचार गरेको यथार्थलाई बिर्सनु हुँदैन । यहाँसम्म कि राणा शासकले वर्तमान राजा र उहाँका पितासम्मलाई पनि अराष्ट्रिय तत्व घोषित गरेर उहाँहरू सबैलाई राजच्युत गर्ने काम गरेको थियो । भाषामा भन्नुहोस्, चाहे प्रचार-प्रणालीमा अहिलेको राजाबाट गरिएको राष्ट्रियताको प्रचार राणाहरूबाट गरिएको प्रचारको हुबहु नक्कल मात्र हो । दुवैले गरेको राष्ट्रियताको प्रचारको उद्देश्य : १. हुकुमी राज्यको स्थापना, २. प्रजातन्त्रको बढ़दो मागका विरुद्ध षड्यन्त्र गर्नु नै हो । परिवेशले त्यस समय राजा जनताको पक्षमा मिसिन आइपुगेका हुँदा त्यसबखत उनी तत्कालीन तानाशाहको नजरमा अराष्ट्रिय तत्व ठहरिए र राज्यच्युत गरिए । आज तिनै राजा मोहनशमशेरको स्थानमा पुगेका छन् र मोहनशमशेरकै हतियार प्रयोग गरेर प्रजातन्त्रका पक्षपाती जनतालाई दमन गर्दै राष्ट्रियताको प्रचार गर्दै छन् । राजा-पक्ष वा हुकुमी शासनको पक्ष र जनता पक्ष वा प्रजातान्त्रिक पक्ष मात्र नेपालको राजनीतिकै दुई पक्ष हुन् । २००३ सालको श्री ३ मोहनशमशेर वा २०१७ सालको श्री ५ महेन्द्र, तानाशाह वा उनको पृष्ठपोषकको हतियार सैनिक दृष्टिबाट होस्, वा सैद्धान्तिक प्रचारनात्मक दृष्टिबाट होस्, त्यो एकै किसिमको हुन्छ । पाठकहरूसँग म राणापक्षबाट २००३ सालमा गरिएको प्रचारबाजीलाई एकपटक फेरि पढेर आफ्नो स्मृतिलाई ताजा पार्न अनुरोध गर्दछु । त्यसबाट मैले भन्न खोजेको कुरा स्पष्ट हुन्छ र, त्यसको प्रभावकारिता पनि सिद्ध हुन्छ ।

भाषामा भन्नुहोस्, चाहे प्रचार-प्रणालीमा अहिलेको राजाबाट गरिएको राष्ट्रियताको प्रचार राणाहरूबाट गरिएको प्रचारको हुबहु नक्कल मात्र हो । दुवैले गरेको राष्ट्रियताको प्रचारको उद्देश्य : १. हुकुमी राज्यको स्थापना, २. प्रजातन्त्रको बढ़दो मागका विरुद्ध षड्यन्त्र गर्नु नै हो ।

राष्ट्रियताको इतिहास

राष्ट्रियताको सन्दर्भमा अध्ययन गर्दा नेपालको इतिहासमाथि दृष्टिपात गर्नु आवश्यक हुन्छ । इतिहासले यस सम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाका एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । अठारौँ शताब्दीमा हिन्दुस्तानी भू-भागमा मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिबाट लाभ उठाउँदै अनेकों राजा-महाराजा, जागिरदार तथा साहसी सरदारहरू आ-आफ्नो क्षेत्रको विस्तार र नयाँनयाँ राज्यको गठनमा तँछाडमछाड गर्दै विजयको होडमा लागेका थिए । पृथ्वीनारायण शाह पनि त्यस्तै एउटा राजा हुन् । उनी आफ्ना छिमेकका राजा-रजौटाहरूभन्दा बढ़्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढ़ी अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एक ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटै ऐतिहासिक तत्व हो ।

पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढ़ी अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एक ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ ।

त्यस समयमै ब्रिटिश साम्राज्यको जग पनि बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्वीपको राजा-रजौटाहरूबीच राज्य विस्तारको होड चलिरहेको तत्कालीन राजनीतिक परिस्थितिबाट फाइदा उठाएर अङ्ग्रेजीले ब्रिटिश साम्राज्यको स्थापना गर्न सफलता पाएका थिए । अङ्ग्रेजीहरूले ब्रिटिश साम्राज्यको स्थापनाको प्रक्रियामा आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानको आर्थिक दृष्टिले लोभलाग्दो अधिकांश भागलाई त आफ्नो कब्जामा पारे, बाँकी रहेका भागका सम्बन्धमा पनि स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौली-सन्धि भएको थियो । ती सन्धिहरू कुन अर्थमा समेत असमान भए भने ती सन्धिद्वारा देशी शासकलाई थेरैथोर प्राप्त भएको भए पनि तद्नुरूप उनीहरूले टक्र्याउनुपर्ने सम्मान, शक्ति र तोपको सलामीको सङ्ख्या निर्धारित गरिएको थियो । यसरी अङ्ग्रेजीले श्रेणीबद्ध ढङ्गले भारतीय भूगोलमा रहेका राज्यमा सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । उनीहरूले त्यस अवस्थामा नेपाललाई सबभन्दा ठूला र सम्मानित स्थान दिएका थिए । अनि क्रमशः निजाम, कस्मिर, बडौदा आदिको स्थान आउँथ्यो । सुगौलीको सन्धिले गोरखा राज्यविस्तारको अभियान समाप्त पान्यौ । गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन । त्यस समयका शासकहरू न नेपाली राष्ट्रिय भावनाले प्रेरित थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टन्सका सिपाही वा अफिसरहरू नै राष्ट्रवादी थिए । गोर्खाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र राष्ट्रिय नेताको होइन, विजेताको थियो । तसर्थ, विजय देशहरूका राजा र प्रदेशहरूसँग कहिल्यै कोमल व्यवहार गरिएन । काठमाडौँका नेवार प्रजाहरूलाई अद्यापि त्यसको गुनासो छ ।

सुगौलीको सन्धिले राष्ट्रको निर्माण गरेन, नेपाल देशको भूगोल मात्र निर्धारित गर्यो । हो, उस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भने बन्यो । एउटा देशको गठन भयो । यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरू, विभिन्न धर्मावलम्बीहरू र अनेक भाषाभाषीहरूको एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय-अभियानको परिणामस्वरूप र साथसाथै अङ्ग्रेज विदेशी विजेताहरूको अभियानसँग जुग्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली-सन्धिबाट प्रारम्भ हुन्छ ।

सुगौलीको सन्धिले राष्ट्रको निर्माण गरेन, नेपाल देशको भूगोल मात्र निर्धारित गर्यो । हो, उस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भने बन्यो । एउटा देशको गठन भयो ।

त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तयार भयो । १. एउटै राजाको मातहतमा देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो, २. देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा-माध्यम नेपाली भाषा भयो ।

प्रशासकीय एकताको सन्दर्भमा नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले राष्ट्रियताको लागि तयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकताअन्तर्गत नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ । यसरी, दुई प्रकारका सामग्रीहरूको चर्चा गर्नुको सट्टा एउटै मूल सामग्रीको चर्चा गरे पनि पुग्छ । अर्थात्, सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोर्खाली राजाहरूको विजय अभियानको एउटा अप्रत्याशित माध्यम फेला पर्यो । कुनै पनि विजेताले देशहरूमा विजय हासिल गरिसकेपछि आफ्नो लक्षण र गुण कायम राख्दै विजय देशहरू वा भू-भागहरूमाथि आफ्नो प्रशासन-यन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले पनि त्यही काम गरे । तिनीहरूले विजय नेपाली भू-भागमा आफ्नो प्रशासन कायम गरेर, तर विजेताको आफ्नो लक्षण र गुण-दोषलाई कायममै राखे । २०० वर्षपछि आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेका छैनन् । र, जनता पक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा वा अधिकारका लागि आवाज उठाउँदा वा राजा र प्रजाका प्रतिनिधिहरू एउटै थलोमा उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले उल्टै राजाको दमनको सिकार हुनुपर्छ । कतिपय दरबारियाहरूले राजाले जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोग गर्दा राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा पनि गर्न सक्छन् । मानौँ, देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पत्ति हो । राजमुकुट-राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शिरशोभा हो । यो बहुमूल्य भएकोले उनलाई हारजितको दाउमा राख्ने अधिकार प्राप्त छ ।

गोर्खालीहरूको विजय अभियानमा अप्रत्याशित रूपले एउटा ठूलो ऐतिहासिक कार्यका रूपमा नेपालको वर्तमान विस्तार गरेपछि गोरखा पल्टन र त्यसका नेतागण अरू कुनै ऐतिहासिक जिम्मेवारीको अभावमा दरबारको षड्यन्त्रको हथकण्डा वा हतियार बन्न पुगेको पाइन्छ । राष्ट्रिय भावनाको सिर्जना नभएकोले तिनीहरू राष्ट्रिय सेनामा परिणत हुन सकेनन् ।

नेपालको राष्ट्रियताको इतिहासमा नेपाली भाषाको इतिहासलाई छाडेर सन् १८१६ पछिको काललाई मरुभूमियुग भने पनि हुन्छ । शासकवर्गको विजयको बाढी रोकिएपछि उनीहरूको शासन र राजनीति केवल दरबारिया षड्यन्त्रको दोस्रो नाम मात्र हुनपुगेको पाइन्छ । गोर्खालीहरूको विजय अभियानमा अप्रत्याशित रूपले एउटा ठूलो ऐतिहासिक कार्यका रूपमा नेपालको वर्तमान विस्तार गरेपछि गोरखा पल्टन र त्यसका नेतागण अरू कुनै ऐतिहासिक जिम्मेवारीको अभावमा दरबारको षड्यन्त्रको हथकण्डा वा हतियार बन्न पुगेको पाइन्छ । राष्ट्रिय भावनाको सिर्जना नभएकोले तिनीहरू राष्ट्रिय सेनामा परिणत हुन सकेनन् । राज्य विस्तारमा क्षेत्रीय विजयको मार्ग पनि अवरुद्ध भएपछि गोरखा पल्टन केवल भरौटे पल्टन हुन पुग्यो । उनीहरू दरबारका षड्यन्त्रकारीहरूको स्वार्थसिद्धिमा प्रयोग भइदिने शक्तिको रूपमा अवतरण भए । आज पनि नेपालको पल्टन ‘शाही पल्टन’ मात्र भएर रहेको छ, राष्ट्रिय पल्टन हुन पाएको छैन । यसको विवेचना अर्को अवसरमा गर्नेछु । यस लेखमा शासक र उनका अनुयायीहरूले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् भन्ने मात्र मेरो उद्देश्य हो । उनीहरूबाट विभिन्न जाति र धर्मावलम्बीहरूको ठूलो नेपाली जमातलाई राष्ट्रको रूपमा गठन गर्ने प्रयास भएन । प्रशासन पनि जमिन्दारी खालको केवल तिरो उठाउने व्यवस्था मात्र बन्ने गयो । उसमें राष्ट्र निर्माणको भावनाले पटक्कै ठाउँ पाएन । पल्टन केवल गोर्खाली पल्टन बनेर रह्यो । विदेशीसँग मुकाबिला गर्नु नपरेको र जसको भर्तीको आधार सीमित भएकाले त्यसको दृष्टिकोण राष्ट्रिय हुन सकेन । सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्वारा विभिन्न जाति तथा भाषा-भाषीहरूलाई एउटै संस्थामा आबद्ध गरेर राष्ट्रियताको चेतना दिन सकिन्छ, त्यो पनि भएन । योग्यताको आधारमा वा अरू कुनै निश्चित आधारमा गठन नभएकोले कर्मचारीतन्त्र पनि राष्ट्रिय हुन सकेन । शासकको खुसीमा कर्मचारीको योग्यता निर्भर रहने हुनाले तिनीहरूमा चाकरीको मनोवृत्तिको प्रोत्साहन पायो । झन् वार्षिक पजनीको प्रणालीले गर्दा त त्यो मनोवृत्तीने चरम सीमा प्राप्त गर्यो । तिनीहरू राजाको नोकर भए, राष्ट्रको सेवक भएनन् ।

शासक र उनका अनुयायीहरूले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् भन्ने मात्र मेरो उद्देश्य हो । उनीहरूबाट विभिन्न जाति र धर्मावलम्बीहरूको ठूलो नेपाली जमातलाई राष्ट्रको रूपमा गठन गर्ने प्रयास भएन ।

नेपाली राष्ट्रियता

नेपालका शासकले नेपाली समाज र देशको हितको ध्यान राखेको भए सबैभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो । जनताको सामूहिक प्रयासबाट नेपालको शासन व्यवस्थाको आधुनिकीकरण र नेपाली जनताको असहनीय दरिद्रताको निराकरण गर्न सकिन्थ्यो । शासनयन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा जनताको सामूहिक अभियान साथ-साथ हुन सकेको भए नेपाल यति पिछडिएको देश हुने थिएन । गरिबी मेटाउनका लागि प्रयुक्त र शासनयन्त्रमा सहयोगी भएको जनता ठूलो राष्ट्रिय शक्ति बन्ने थियो र नेपालको आधुनिकीकरणको बाटो सरल हुने थाल्यो । शाह हुन् वा राणा, नेपालका कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो ऊर्जा हो, शक्ति हो भन्नेतर्फ उनीहरूको ध्यान गएन । उसमें ध्यान गएको भए पनि राष्ट्रिय शक्तिको उदय नै आफ्नो निहित स्वार्थका लागि घातक हुने सम्झेर त्यसको विकासका सारा बाटो थुनेर राखे । हजारौं सङ्ख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर ऋण तिर्न कर लाउने तत्वले राष्ट्रियताको ढ्वाड पिट्नु किञ्चित पनि सुहाउँदैन ।

१८१६ सालपछि नेपाल देश त बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा खडा भयो तर उसमा आत्मा आउन सकेन । फ्रेम बनाइयो, तर तस्विर राखिएन । भाँडो कुँदियो, तर त्यसभित्र आवश्यक तत्व राखिएन ।

मैले भन्न खोजेको के हो भने १८१६ सालपछि नेपाल देश त बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा खडा भयो तर उसमा आत्मा आउन सकेन । फ्रेम बनाइयो, तर तस्विर राखिएन । भाँडो कुँदियो, तर त्यसभित्र आवश्यक तत्व राखिएन । उक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा ‘जहिलेसुक्कै नेपालको एकतन्त्रीय शासनव्यवस्थाको विरुद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो’ भन्न सकिन्छ । नेपालको ऐतिहासिक सन्दर्भमा एकतन्नीय शासन वा हुकुमी राज्य राष्ट्रियताको घातक हो । शासनयन्त्रमा प्रजा समावेश हुनु प्रजातन्त्रको मूलभूत सिद्धान्त हो । राष्ट्रियताको भावनाबाट प्रेरित नेपाली जनताले मात्र गरिबीको चुनौतीको सामूहिक रूपबाट मुकाबिला गर्न सक्छन् । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्दजस्ता हुन पुगेका छन् ।

राजाले राष्ट्रियताको बढ़दो गतिलाई आफ्नो सैनिक बल प्रयोगद्वारा २०१७ सालमा एकैचोटि रोके । उनी २००७ देखि २०१७ सालसम्मको १० वर्षको राष्ट्रियताको उपलब्धिलाई समाप्त गरेर आफू पुनः विजेताको रूपमा प्रकट भए ।

यस सन्दर्भमा राष्ट्रियताको विवेचना गर्दा २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । सायद नेपालको इतिहासमै पहिलोपटक जनताबाट एउटा सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड र उपत्यकाका अनेक जाति, वर्ण र धर्मावलम्बीहरूले सामूहिक आवाज उठाए । एउटै सशक्त देशव्यापी भावना जागृत भयो र राष्ट्रियताको उदय भयो । राष्ट्रियताको विकासका सन्दर्भमा २००३ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो भन्न सकिन्छ । त्यसभन्दा पहिले नेपाली जनताले देशव्यापी रूपमा एउटै भावनामा बाधिएर कुनै कार्य सम्पादन गरेका थिए ? २००७ सालको क्रान्तिको यस महत्वलाई विर्सनु हुँदैन । त्यस क्रान्तिले शासनव्यवस्थामा मात्र परिवर्तन ल्याएन, राष्ट्रियताको भावनाको उदय पनि गर्यो । कोतपर्वले पनि शासनव्यवस्था त परिवर्तन गरेको थियो । २००७ सालपछि जनतालाई प्रजातान्त्रिक अधिकार प्राप्त भएकाले राष्ट्रियताले पनि विकसित हुने मौका प्राप्त भयो । देशभरि राजनीतिक, सामाजिक पार्टीहरू स्थापित भए, जसमध्ये धेरैजसो देशव्यापी थिए । प्रत्येक पार्टीले आ-आफ्नो मञ्चबाट देशका कुना-कुनामा देशव्यापी रूपमा आफ्नो सामाजिक, आर्थिक वा राजनीतिक कार्यक्रमको घोषणा गरे । देशमा जनताको आवाज घन्किन थाल्यो । २००७ सालको प्रजातान्त्रिक क्रान्तिले राणाहरूको एकतन्नीय शासन मात्र समाप्त पारेन, नेपाल नेपाली जनताको हो भन्ने भावना पनि जाग्रत गरायो । र, त्यसले नेपाली भन्नाले धर्म, वर्ण र लिङ्गको विभेदहित नेपाल राज्यभित्र बस्ने सम्पूर्ण नेपाली नागरिकलाई परिलक्षित गर्ने भावना सृजना गर्यो । राष्ट्रियताको अभिवृद्धिमा २०१५ सालको आमचुनावालाले मद्दत गर्यो । संसद् एउटा राष्ट्रियसभा थियो । राजाले राष्ट्रियताको बढ़दो गतिलाई आफ्नो सैनिक बल प्रयोगद्वारा २०१७ सालमा एकैचोटि रोके । उनी २००७ देखि २०१७ सालसम्मको १० वर्षको राष्ट्रियताको उपलब्धीलाई समाप्त गरेर आफू पुनः विजेताको रूपमा प्रकट भए । ‘मुकुट’ २००३ सालमा एउटा राष्ट्रिय प्रतीकजस्तो भएको थियो । मुकुटधारीको आन्तरिक उद्देश्य जेसुकै भए पनि २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतीक नभएर एउटै विजेताको शिरशोभा हुन पुगेको छ ।

यस दृष्टिबाट २०१७ साल पुस १ गतेको काण्ड केवल घोर अप्रजाततांत्रिक मात्र होइन, घोर अराष्ट्र्रिय कदम पनि हो । जनताको मौलिक अधिकार हनन गर्ने कदमलाई कुनै अर्थमा पनि राष्ट्रियताको कदम भन्न सकिंदैन ।

१९७१ (स्रोतः तरुण अङ्क २, वाराणसी) । विश्वेश्वरप्रसाद कोइराला-राजनीतिक अभिलेखबाट साभार