चरणबद्ध आन्दोलनको निरन्तरता
वामपन्थीहरुको समाजवादी आन्दोलन अझै पनि विश्वभर प्रतिरक्षात्मक अवस्थामा छ । समाजवादबाट साम्यवादको बाटोतर्फ अग्रसर हुनुपर्ने सोभियत संघको विघटन पछि प्रतिरक्षात्मक अवस्थामा संघर्ष गरिरहेको विश्वका वामपन्थीहरुको राजनीतिमा पुन गतिशीलता र कृयाशीलता देखा पर्न थालेको छ । एकध्रुवीय विश्वमा विश्वव्यापीकरणको नेतृत्व गर्ने वित्तीय साम्राज्यवादी अमेरिकाले केही समय विश्वलाई एक ध्रुवीय अवस्थामा लैजान सफलता पाए पनि पूँजीवादभित्रको आर्थिक संकट र चीनको आर्थिक विकास तथा रुसको आर्थिक पुनरुत्थान र राजनीतिक स्थिरताले पूँजीवादीहरुवीचकै विरोधाभास वढेको छ र विश्व पुनः बहुध्रुवीय वन्दै छ । तर यसो भए तापनि वित्तीय साम्राज्यवादले स्वार्थवस विश्वका गरीब र अविकसित देशका प्रतिक्रियावादी शासकहरुको समर्थन र सुरक्षा गरिरहेको हुँदा ती देशमा आन्दोलनरत वामपन्थीहरुले जनविरोधी शासकका विरुद्धको संघर्षलाई तीव्र पार्दै लगेका छन् तर अव रुसी, चिनियाँ, क्युवाली, कोरियाली, भियतनामीलगायतका क्रान्तिहरुमध्ये कुनै मोडलमा अगाडि बढाउन युगानुकूल संभव नहुने सर्वविदित भएकोले कुन मोडलमा अगाडि बढाउने भन्ने कुराको निर्क्योल भने गर्नसकेको पाइदैन । त्यसो त यसवीच दक्षिण अमेरिका, युरोप र एसियाका कतिपय भागमा निर्वाचन र आन्दोलनकै माध्यमबाट पनि बामपन्थी र समाजवादीहरुले जनविरोधी, प्रतिगामी र साम्रज्यवादका दलालहरुलाई शासनसत्ताबाट हटाएर वामपन्थी सरकार गठन गर्न सफलता पनि पाएका हुन् । तर सत्तामा पुगेपछि पनि तिनले आआफ्ना देशको आर्थिक सामाजिक रुपान्तरण गर्न सकेनन् भने केही हदसम्म हुनसकेका रुपान्तरणको पनि साम्राज्यवाद र तिनका दलाल प्रतिगामीहरुको प्रतिगमनबाट रक्षागर्न सकेनन् । यसकारण पनि वढ्दो जनसमर्थनका वावजूद अझै वामपन्थी आन्दोलन र राजनीति प्रतिरक्षात्मक अवस्थामै रहेको हो । सोभियतसंघ समर्थित समाजवादीक्षेत्रमा त प्रतिगामीहरुले निर्मम दमन गरे र अझै गरिरहेछन् । चे ग्वेवाराको वैचारिक प्रभाव क्षेत्र रहेको दक्षिण अमेरिकामा साम्राज्यवादले यतिवेला प्रत्याक्रमणको निसाना साधिरहेको छ । त्यहाँ सफल भएपछि उसले एसियाका मुलुकहरुमा निसाना साध्नथाल्ने छ । यद्यपि एसियामा साम्राज्यवादले प्रहार गर्ने हिम्मत नगर्ला । तर विश्वको वाम आन्दोलन वा क्रान्तिको कार्यदिशा या मोडल स्पस्ट नभएको कमजोरीले गर्दा वामपन्थीहरुको राम्रो प्रभाव भएका क्षेत्रमा पनि दक्षिणपन्थी लहर बढेको हामी हाम्रै आसपास देखिरहेका छौं । भारतको पश्चिम वङ्गाल लगायतका केही राज्यमा निर्वाचनबाटै वामपन्थी सरकार गठन र संचालन बर्षौसम्म हुँदा पनि त्यहाँ आर्थिक र सामाजिक रुपान्तरणका काम जन अपेक्षा अनुरुप हुन नसके पछि वामपन्थीमाथिको जनसमर्थन गुम्यो र वामपन्थीहरु सरकारबाट त बाहिरिए नै, त्यसको परिणाम कम्युनिष्टहरुको कत्लेआम पनि हुन पुग्यो । यतिसम्म कि अहिले भारतमा वामपन्थी लेखक र साहित्यकारमाथिसमेत अतिवादी दक्षिणपन्थीहरुले विध्वंसात्मक आक्रमण गर्न थालेका छन् । यो सव वामपन्थीहरुले जनविश्वास गुमाउनाको परिणाम हो । स्थिति यति निराशाजनक छ कि एकपटक जनविश्वास गुमेपछि जनसमर्थनको लागि निकै कठोर संघष गनुपर्ने अवस्था देखिदैछ ।
छेउछाउमा यस्तो निराशाजनक स्थिति हुँदा नेपालमा पनि वामपन्थीहरुको लामो समयदेखिको प्रभाव त्यो स्तरमा गिरिसकेको त छैन तर तर अहिले ओरालो लागेको अवस्था भने अवश्य छ । नेपालको वामआन्दोलनको विशिष्टता भारतका कम्युनिष्टहरुको भन्दा फरक छ । नेपालका वामपन्थीहरुले मध्यमार्गीहरुलाई मिलाएर नेपालमा प्रतिगामीहरुको शासनको नेतृत्व गरिरहेको राजतन्त्रलाई सत्ताच्यूत गरेर आफै केन्द्रीय सत्तामा पुग्न सफलता पाए । अर्थात् उनीहरु आन्दोलनबाटै सत्तामा पुग्न सफल भए । निर्वाचनबाट मात्र होइन । यसरी सत्तामा पुगेको पनि दशकौं वितिसक्यो । त्यो चानचुने सफलता होइन । तर आन्दोलन गर्न वा ध्वंस गर्न सफलता पाए पनि सत्तामा पुगेपछि ध्वंसपछिको निर्माण गर्न वा भनौ राजनीतिक रुपले सत्तामा पुग्न सफल भएपछि पनि आर्थिक र सामाजिक रुपान्तरण गर्न र भएको केही रुपान्तरणको श्रेय लिन भने वामपन्थीहरु असफल भएका छन् । सामान्य समीक्षा गर्दा यसोहुनुको मुख्य कारण उनीहरुले आन्दोलन सफल तुल्याउन आन्दोलनका वेला जुन सहमति र संझौता गरे त्यसको मर्ममा पुगेर तिनले पछि फर्केर समीक्षा नै गरेनन्, न त गर्न आवश्यक ठाने । वास्तवमा क्रान्तिको बाटो हिड्नेले विपक्षी वा दुष्मनसँग जुन संझौता छ यसबारे गम्भीर समीक्षा गर्नै पथ्र्याे । तर आन्तरिक राजनीतिक प्रतिस्पद्र्धाका कारण पार्टीका वैठकहरुमा गरिएका सामान्य समीक्षा पनि नेतृत्वले गरेका संझौताहरुको अनुमोदन मात्र गरियो । त्यो केवल औपचारिकता मात्र थियो । त्यसको परिणाम केहुन्छ भन्ने मूल्याङ्कन गर्न सकेनन् । फलस्वरुप आन्दोलनबाट सत्तामा पुगेका भए पनि नेपालका वामपन्थीहरुको शक्ति र प्रभाव निर्वाचनबाट सत्तामा पुगेका भारतीय वापन्थीहरुकोभन्दा भिन्न हुन सकेन । संसारभर वामपन्थीलाई उठ्न नदिन चनाखो भएर वसेको हिंसक साम्राज्यवादी शक्तिले अन्यत्र कतै उठ्न नसकेको वामआन्दोलन नेपालमा उठेपछि त्यसविरुद्ध प्रहार गर्ने मौका छोपेर षड्यन्त्र गर्नुलाई स्वाभाविक मान्नु पर्दछ । त्यसमाथि चीनमाथि नजरलगाउन र उसलाई घेराहालेर दोषारोपण गर्ने अवसर अमेरिकाले कुनै वेला पनि लिनसक्छ भन्ने सोचेर प्रतिकारको तयारी नगर्नु वामपन्थीहरुको अक्षम्य भूल भएको छ । यसैको परिणाम राज्यसत्तामा प्रभाव जमाउनु त कताहो कता भएको राजनीतिक सत्ता पनि गुमेको छ ।
उपर्युक्त वाह्य कुराका अतिरिक्त वामनेता र संगठनका कमजोरी पनि सत्ताच्यूत हुनुका कारण छन् । दीर्घकालीन सोचको अभाव, राज्यसत्तामाथिको पकड खुकुलो हुनु, आपसी फूट र व्यवहारिकताको नाममा वामसिद्धान्तबाट च्यूतहुनेगरी अनुशासनहीन कमाउधन्दामा लिप्त हुनु, कार्यकर्तामा प्रशिक्षणको र सैद्धान्तिक ज्ञानको अभाव, कार्यकर्ता परिचालन गर्न नजानेको आदि । सवभन्दा मुख्य कुरा साम्रज्यवाद पूँजीवादको चरम अवस्था भन्ने मान्यता राख्ने संसारभरका वामपन्थाीहरुकोजस्तै नेपालका वामपन्थीहरुले पनि यो चरम अवस्थाका जुन विभिन्न चरण हुन्छन् तिनको पहिचान र व्याख्या गरेर सही कार्यनीति र कार्यदिशा अँगाल्न नसक्नु नै हो । सोभियतसंघको पतनपछिको साम्राज्यवादको वित्तीय शोषण गर्ने प्रणालीको सही पहिचान गरेर तदनुरुपका आन्दोलन र क्रान्तिका कार्यक्रम संचालन गर्न सक्दा मात्रैनै पूँजीवादसँगको युद्धमा वामपन्थीहरुको विजयको प्रत्याभूति हुन्छ । त्यो हुन नसक्नु नै वामपन्थीहरु प्रतिरक्षात्मक अवस्थामा रहनु हो । जवकि पूँजीवादी साम्राज्यवादीहरुले विश्वभरका गरीब देशमा वामपन्थीहरुले पूँजीपतिहरुको हित विरुद्ध शोषित पीडित जनताको मुक्तिका लागि तत् तत् देशमा आन्दोलन गर्नेछन् र उनीहरु कतिपय देशमा प्रतिगामीहरुको सत्ता ढाल्न पनि सफल हुनेछन् भन्ने अध्ययन र आकलन गरेर त्यसलाई निस्तेज पार्ने अनेक तिकडम र उपाय अपनाउने तयारीमा थिए । तिनले अपनाएका यस्ता पूँजीवाद र शोषणलाई जीवित राख्ने उपाय अपनाउने सिलसिलामा वामपन्थीहरुले राजनीतिक सत्ता प्राप्त गरे भने पनि आर्थिक क्षेत्रमा आफ्ना आर्थिक हितको रक्षा र सामाजिक क्षेत्रमा आफ्ना दलाल प्रतिगामी वर्गको सुरक्षा गर्ने र वामपन्थीहरु कमजोर हुनासाथ पुनः राजनीतिक सत्तामा प्रतिगामी वर्गलाई स्थापित गर्ने प्रणाली विकसित गरेका छन् । तिनले स्थापित गरेका प्रणालीका विधहरु ह्ुन् — राजनीतिमा बहुदलीय प्रतिस्पद्र्धा,स्वतन्त्र न्यायालय, सामाजिक क्षेत्रमा मानव अधिकारको रक्षा, स्वतन्त्र प्रेस,एनजीओ आईएनजीओका कार्यक्रम संचालन, आर्थिक क्षेत्रमा विश्व बैंक, एसियाली विकास बैंक र मुद्राकोषहरुबाट विकास ऋणका नाममा ऋण रकम वितरण र ती संस्थाको आर्थिक समायोजनजस्ता निर्देशनको पालना गर्नुपर्ने शर्त र स्वतन्त्र वैदेशिक व्यापार आदि । झट्ट हेर्दा र पढ्दा यी सवै शर्त र विधिहरु बडो भद्र र सहयोगी(करुणामय ) लाग्दछन् । तर यिनै शर्तहरुको माध्यम प्रयोग गरेर पूँजीवादी साम्राज्यवादीहरु वामपन्थीहरुले राजनीतिक सत्ता प्राप्त गरे भने पनि आर्थिक र सामाजिक रुपान्तरण गर्न वामपन्थी सरकारलाई असफल तुल्याउन सफल हुँदै आएका छन् । अनि प्रतिगामी शोषक वर्गको पुनरुत्थान भएर वामसरकारहरुलाई सत्ताच्यूत गरिएको छ । तर वामपन्थी रानीतिज्ञहरुले भने विभिन्न देशमा सत्ता प्राप्तगर्दै गुमाउँदै गरिसक्दा पनि सम्राज्यवादी पूँजीवादीहरुले तयार गरेको त्यही विधिमा भुल्ने वारम्बार गल्ती गरिरहेका छन् र सोचिरहेछन् — हामी सत्ता प्राप्त गरेर पनि किन सफल हुन सकिरहेका छैनौं ? जवकि रुस र चीनमा जस्तै हामीले पनि आन्दोलनकै माध्यमबाट सत्तामा पुगेका हौं ।
तर होइन । रुस र चीनमा क्रान्ति भएको समय र अहिलेको समय धेरै वदलिइसकेको छ । साम्राज्यवादी देशका पूँजीपतिहरुले शोषण गर्ने पद्धतिमा पनि धेरै फरक आइसकेको छ । करोडपति हुँदाको अवस्थामा पूँजीपतिहरु सर्वहारा उत्पादन गर्थे अहिले खर्वपतिहरु मजदुरलाई पनि बजार वनाउने काम गरिरहेछन् । पहिले एउटै राजनीतिक क्रान्तिबाट पूँजीपतिहरु हार मान्थे, तर अहिले उनीहरुले क्रान्तिलाई कसरी छल्न सकिन्छ भन्ने सिकिसकेका छन् । त्यसैले वामपन्थी क्रान्तिकारीहरुले पनि क्रान्तिलाई कसरी सफल तुल्याउने भन्ने नयाँ नयाँ कार्यशैली अपनाउन जरुरी छ । यस सन्दर्भमा चीनका महान नेता माओत्से तुङ्ले दीर्घकालीन युद्धको नेतृत्व गरेर आफ्नै प्रशासन यन्त्रको विकास गर्दै कम्युनिष्ट सत्ता स्थापित गरेका थिए र पनि उनले चीनको आर्थिक र सामाजिक रुपान्तरणका काममा आन्तरिक र बाह्य क्षेत्रबाट बाधा महसुस गरे र त्यसको निराकरणका लागि जीवनको उत्तरार्धमा सांस्कृतिक क्रान्तिको आवश्यकता महसुस गरेको कुरा स्मरण गर्न आवश्यक छ । तर उनको उमेर, सामर्थ्यको कमी, कार्यकर्ता माझ वहस र प्रशिक्षणको कमी, व्यवहारिकता भन्दा भावुकताको वशीभूत हुनु, शायद सांस्कृतिक क्रान्तिका लागि बाधक तत्वको निशाना तय गर्दा गल्ती हुनु आदि कारणले त्यो क्रान्ति रोकियो तर माओले आफ्नै राज्यसत्ता खडागर्न सफलता पाएर पनि आर्थिक र सामाजिक रुपान्तरणका लागि अर्को क्रान्तिको आवश्यकता महसुस गरेर नै सांस्कृतिक क्रान्ति थालेका थिए भन्ने प्रष्ट बुझिन्छ ।रुसीहरुले त्यो महसुस गरेनन् र नै सोभियत संघको पतन भयो । यसैले मार्क्स र लेनिनले उल्लेख नगरे पनि माओजस्ता अनुभवी कमाण्डरले दोश्रो क्रान्तिको आवश्यकता त्यसै दर्शाएका थिएनन् । चीनमा त्यहाँका नेताहरुले शासनमा अस्थिरता आउने र अनुशासन खल्वलिने बुझेर दोश्रो क्रान्तिको अभियानलाई रोकेका हुन् तर माओको त्यो अनुभवलाई नेपालमात्र होइन विश्वभरका वामपन्थीहरुले हृदयङ्गम गरेर एकपटक आन्दोलन गरेर राजनीतिक सत्ता प्राप्त भएपछि सवै शक्तिप्राप्त भयो भन्ने सोच्न हुदैन । बहुदलीय प्रतिस्पर्धा लगायतका पूँजीवादी तिकडममा भुलेर राज्य सत्ता पूरा कव्जा गरिनसकेको अवस्थामा आन्दोलन गर्दाको आत्मगत तयारी र भौतिक तयारी दुवैलाई वरकरार (कायम) राख्नै पर्दछ र आर्थिक र सामाजिक रुपान्तरणमा प्रतिगामी शक्तिले बाधा पुर्याउन मानव अधिकार,न्यायिक स्वतन्त्रताजस्ता हतियार प्रयोग गर्न थाले भने आन्दोनलाई दोश्रो तेश्रो अथवा चरणबद्ध आन्दोलनकोरुपमा निरन्तरता दिनै पर्दछ । नत्र वामशक्ति कमजोर हुनासाथ बंगाल र केरलामा जस्तो मात्र होइन नेपाल, भेनेजुएलामा जसरी साम्राज्यवादीहरुले वामपन्थीहरुलाई उखेलेर लखेटनलाई पर्खिरहदैनन् । त्यसैले मार्क्सवादीहरुको त्यो आधारभूत अवधारणा भुल्न हुदैन कि सत्तालाई प्राप्त गर्न जवर्जस्ती पनि गर्नुपर्दछ ।
कृत्रिम छविहरुलाई नै सत्य मान्ने भ्रम
के हो गणेश नेपालीको आत्मदाहको घटनाको अर्थ र कारण?
वैचारिक संघर्षका बारेमा
निःशुल्क यातायातसम्बन्धी फिडेल क्यास्ट्रोको चेत र काठमाडौँमा ब्लु बस
शिरच्छेदन र सत्ताको चक्र: लोकहित भर्सेज आत्म-मोह
प्रतिक्रान्तिको मतियार बन्दै रास्वपा?
के धनको बलमा बदल्न सकिन्छ वैश्विक नैतिकता?
प्रतिक्रिया