जनताको सेवामा खटिएका प्रहरीप्रति सम्मान
रसुवाको बाढीमा परी मैले चिनेका प्रहरी जवान ओमबहादुर सिंजाली बेपत्ता भएको खबर पाएँ। सास भेटिएन भन्ने पीडासँगै कम्तीमा शव भेटिएला र परिवारले अन्तिम संस्कार गर्न पाउला भन्ने आशा स्वाभाविक थियो।
त्यसपछि शवको सम्भावित पहिचान र संरक्षणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय भयो। नेपाल प्रहरीले पोखारा स्थित गण्डकी क्षेत्रिय अस्पतालमा प्राप्त सय भन्दा बढी शवहरुलाई सनाखत गरेर आफन्तहरुलाई जिम्मा लगाउने काम गरिरहेको छ। नदीमा बगेर आएका माटोले लतपतिएको शवहरुलाई सफा गरेर पहिचान योग्य बनाइ पोस्टमोर्टम गराउने सम्मको काममा प्रहरीहरु तैनाथ छन्। शव पहिचानका लागि परिवारका सदस्य तत्काल आउन नसक्ने भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश पण्डित, अपरेसन इन्चार्ज टेकप्रसाद सुवेदी तथा पूर्व चितवन जिल्ला प्रहरी कार्यालयमा सँगै काम गरिसकेका, हाल कास्कीमा कार्यरत इन्स्पेक्टर दीपक रिजालसँग गण्डकी क्षेत्रीय अस्पतालमा भेट भयो।
शवहरुको अवस्था अत्यन्त भयावह रुपमा थियो। शरीरमा गम्भीर क्षति भएकाले पहिचान गर्न सहज थिएन। करिब एक घण्टा त्यहाँ रहँदा म आफैं असहज हुन थालेँ— वाकवाकी र बान्ता हुने अवस्था आयो। सम्बन्धित परिवारसँग इन्चार्जमार्फत समन्वय गराएर म केही समयका लागि बाहिर निस्किएँ।
बाहिर निस्कँदै गर्दा अपरेसन इन्चार्ज टेकप्रसाद सुवेदी पनि मास्क खोलेर केहीबेर असहज देखिनुभयो। उहाँले सहज रूपमा भन्नुभयो, “यस्तै हो सर! खाना रुचेको छैन, घर जान पाएको छैन क्यारे...।”
त्यो छोटो वाक्यले धेरै कुरा भन्यो। हामीजस्ता नागरिकहरू केही समय पनि टिक्न नसक्ने यस्तो कठिन काममा प्रहरीहरू दिनरात खटिरहेका छन्—घटनास्थलदेखि अस्पताल र प्रयोगशालासम्म।
विपद्का बेला उद्धार र राहतमा खटिने सुरक्षाकर्मीको चर्चा हुन्छ। तर शव खोज्ने, पहिचान गर्ने, संरक्षण गर्ने र परिवारलाई जिम्मा लगाउने जस्तो मानसिक र शारीरिक रूपमा कठिन जिम्मेवारीमा खटिने प्रहरीहरू पनि त्यत्तिकै सम्मानका हकदार छन्।
ड्युटीमा खटिएका सम्पूर्ण नेपाल प्रहरीका अधिकारी तथा जवानहरूप्रति हृदयदेखि धन्यवाद र सम्मान।
प्रतिक्रिया