के हो गणेश नेपालीको आत्मदाहको घटनाको अर्थ र कारण?
सामाजिक सञ्जालमा आम नागरिकका तीव्र आक्रोश र "उत्तेजक" अभिव्यक्तिहरू प्रकट भइरहेका छन्। यो आम सरोकारको विषय बनेको छ। गणेश नेपालीको यो घटना समाजमा आम गरिब, मेहनतको थोरै कमाइमा बाँच्न बाध्य र राज्यले बेवास्ता गरेका वर्गको आन्तरिक पीडा र दमित मनोभावना मनोरोगमा परिणत हुँदै गएको अवस्था हो। अर्थात्, नागरिक आफू हारेको अनुभूति गर्दै छन् र यो राज्य व्यवस्था उनीहरूको होइन भन्ने बोध बाक्लिँदै छ। यो शासन व्यवस्थाले उपेक्षा गरेको छ भन्ने मनोविज्ञान र राष्ट्रका सम्मानित नागरिकको मनोभावना तथा मनोबल विसर्जनको मानसिक अवस्थाको यो एउटा प्रतिविम्ब हो। यसको तात्पर्य, देश गरिब, किसान र कामदारको होइन भन्ने अनुभूति भुसको आगोझैँ फैलँदै छ। अतः यो भोलि हुने द्वन्द्वको खतरनाक सङ्केत हो।
१. सडकमा जुन जरिवानाको नियम लगाइएको छ, यो व्यवस्था संविधान र कर सिद्धान्तको विरुद्धमा छ। राज्य प्रशासनका दुई स्वरूप हुन्छन्। यदि शासकको ध्यान कर उठाउने उद्देश्यमा मात्र केन्द्रित छ र करका लागि राज्यका सबै संयन्त्रको बल सञ्चालन गर्ने मनोवृत्तिबाट निर्देशित छ भने त्यो शासन व्यवस्थाको मार्ग निरंकुशतातिर जान्छ भन्ने कुरामा विवाद गर्नुपर्दैन। यदि शासनको उद्देश्य नागरिक कल्याण हो र उसले उठाएको कर नागरिक कल्याणको साधन हो भन्ने मनोवृत्ति छ भने त्यो प्रगतिशील शासनको मार्ग हो। नेपालमा अहिले यो मार्ग पराजित हुँदै छ।
२. हाम्रो सभ्यता र शास्त्रले करमा शास्ति (सजाय) दिने र नागरिक कल्याण विरुद्ध शासन गर्ने सिद्धान्तलाई बहिष्कार गरेको छ। वैदिक, बौद्ध र मुन्धुम (किरात) दर्शनहरूमा कर सङ्कलन, राज्य सञ्चालन र नागरिकप्रतिको व्यवहारका बारेमा उन्नत, न्यायपूर्ण र कल्याणकारी धारणाहरू प्रस्तुत गरिएका छन्। यी ग्रन्थहरूले राज्यलाई शासक होइन, नागरिकको रक्षक र सेवकका रूपमा प्रस्तुत गरेका छन्।
कर प्रणाली र राज्य-नागरिक सम्बन्ध कस्तो हुनुपर्छ?
क) वैदिक वाङ्मय (वेद, उपनिषद् र कौटिल्यको अर्थशास्त्र) मा करलाई 'बलि' वा 'भाग' भनिएको छ। राज्यले नागरिकबाट कर लिने सम्बन्धमा सुन्दर उपमाहरू दिइएका छन्:
भमराको सिद्धान्त: जसरी भ्रमरले फूललाई कुनै चोट नपुर्याई, त्यसको सुन्दरतामा आँच नआउने गरी अलिकति रस चुस्छ, राज्यले पनि नागरिकलाई पीडा नहुने गरी (उनीहरूको आर्थिक ढाड नभाँचिने गरी) कर उठाउनुपर्छ।
सूर्यको सिद्धान्त: सूर्यले वाष्पीकरणमार्फत पृथ्वीबाट पानी सोस्छ (जुन कसैले थाहा पाउँदैन) तर पछि त्यसलाई हजार गुणा पारेर वर्षाको रूपमा पृथ्वीलाई नै फर्काइदिन्छ। राज्यले लिएको कर पनि नागरिककै सुरक्षा, विकास र कल्याणमा खर्च हुनुपर्छ।
गाई र बाच्छोको नियम: गाईले आफ्नो बाच्छोलाई पुग्ने गरी छाडेर मात्र दूध दुहुनुपर्छ। यसको अर्थ हो, नागरिकको आधारभूत आवश्यकता (गाँस, बास, कपास) सुरक्षित गरेर मात्र कर लिनुपर्छ। सडकमा २५/५० हजार जरिवाना गर्नु नागरिक माथिको अत्याचार हो।
३. नागरिकप्रतिको राज्यको व्यवहार कस्तो हुनुपर्छ? वैदिक दर्शन अनुसार राजा वा राज्य भनेको 'प्रजापालक' हो। समाजको शान्ति नागरिकको सुखमा निहित हुन्छ। सङ्कटको समयमा (अनिकाल, महामारी) राज्यले कर छुट दिनुपर्छ र आफ्नो ढुकुटी नागरिकका लागि खोल्नुपर्छ।
४. बौद्ध ग्रन्थमा कर र राज्यको व्यवहारका बारेमा स्पष्ट निर्देशन छन्। गौतम बुद्धका उपदेशहरू समेटिएका त्रिपिटक (विशेष गरी सुत्तपिटकको दीघनिकाय अन्तर्गतको 'चक्कवत्ति सीहनाद सुत्त' र 'कूटदन्त सुत्त') मा आदर्श राज्य र करबारे स्पष्ट चर्चा छ।
समानता र न्यायपूर्ण कर: बुद्धले अत्याचार वा करकापका आधारमा कर उठाउने कुराको कडा विरोध गर्नुभएको छ। राज्यले नागरिकमाथि अत्यधिक कर थोपर्नु हुँदैन।
अपराध नियन्त्रणको आर्थिक मोडल: बुद्धले राज्यमा चोरी वा अपराध सजाय दिएर मात्र रोकिँदैन, नागरिकलाई आर्थिक रूपमा बलियो बनाएर मात्र रोकिन्छ भन्नुभएको छ।
दश राजधर्म (दसराजधम्म): बौद्ध ग्रन्थले शासकका लागि १० वटा नियम तोकेको छ, जसमा दान (उदारता), अज्जब (इमानदारिता), मद्दव (नम्रता), र अविहिंसा (नागरिकलाई दुःख नदिने) प्रमुख छन्। बौद्ध ग्रन्थले भन्छ, "राज्यले नागरिकलाई आफ्ना छोराछोरी सरह संरक्षण दिनुपर्छ।"
५. मुन्धुम (किरात ग्रन्थ) मा कर समतामूलक र सहअस्तित्ववादी दर्शनमा आधारित छ।
सामूहिक स्वामित्व (किपट प्रथा): प्राचीन मुन्धुमी व्यवस्थामा जमिन, जल र जङ्गलमाथि समुदायको सामूहिक स्वामित्व हुन्थ्यो। त्यसैले त्यहाँ आजको जस्तो शोषक प्रकृतिको 'कर' वा 'लगान' थिएन। समुदायका प्रमुख (हाङ वा राजा) लाई स्वेच्छिक रूपमा अन्न उपहार (भेटी) दिने चलन थियो, जुन राज्य सञ्चालन र सामूहिक सुरक्षामा प्रयोग हुन्थ्यो।
समानता र सहअस्तित्व: मुन्धुमले 'तुम्याहाङ' (भद्र/सज्जन समाज) को परिकल्पना गर्छ। राज्य वा शासक र नागरिकका बीचमा उच-नीचको सम्बन्ध हुनु हुँदैन। शासकले नागरिकमाथि हैकम चलाउने होइन, समाजमा न्याय र थिति (रितिथिति) बसाल्न अगुवाइ गर्नुपर्छ।
नेपाली सभ्यताका वेद, बौद्ध त्रिपिटक वा किरात मुन्धुम सबै ग्रन्थहरूको एउटै मत छ: कर भनेको नागरिकलाई शोषण गर्ने हतियार होइन, बरु लोककल्याणका लागि लिइने एक सानो अंश हो। अतः गणेश नेपालीको घटना एक्लो आत्मदाहको घटना होइन, त्यो राज्यको नागरिकबाट असुल्ने दुष्ट कर-प्रशासनको परिणाम हो। उनको मृत्यु कर असुल्ने त्यो प्रणालीको उपज हो, जसले नगरप्रहरीको नाममा एउटा 'भिजिलान्ते' संस्था बनाएर नागरिकमाथि अत्याचार गरिरहेको छ। यसले सार्वजनिक क्षेत्रमा नागरिकमाथि ज्यादती गर्छ। नियम पालनाको नाममा पसलबाट सामान कब्जा गर्छ। बाटोमा सानोतिनो व्यापार गर्नेका सामान खोस्छ। कानुनी प्रक्रिया बिना राज्यले कुनै गतिविधि गर्न पाउँदैन। नगरप्रहरी सञ्चालनको कानुन राज्यले पहिला बनाओस्। गणेश नेपालीका परिवारका तर्फबाट दुस्कृति कानुन बमोजिम राज्यका विरुद्ध क्षतिपूर्तिका लागि न्याय माग्नुपर्छ। जसरी नागरिक दण्डमुक्त छैनन्, त्यसैगरी राज्य पनि दण्डमुक्त छैन।
वैचारिक संघर्षका बारेमा
निःशुल्क यातायातसम्बन्धी फिडेल क्यास्ट्रोको चेत र काठमाडौँमा ब्लु बस
शिरच्छेदन र सत्ताको चक्र: लोकहित भर्सेज आत्म-मोह
प्रतिक्रान्तिको मतियार बन्दै रास्वपा?
के धनको बलमा बदल्न सकिन्छ वैश्विक नैतिकता?
देङले कसरी साम्राज्य बनाए र गोर्भाचोभले कसरी महाशक्ति गुमाए ?
तर्कशील भारतीयले सुन्न पनि सिक्नै पर्छ
प्रतिक्रिया