२५० वर्षमा अमेरिका: विवादित विगतबाट फासीवादी भविष्यतर्फ?
सबै चित्रहरु एआइको सहयोगमा तयार गरिएका हुन् ।
सन् १७७६ मा जब १३ वटा उपनिवेशका ५६ जना प्रतिनिधिहरूले बेलायतबाट स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गरे, तबसम्म सन् १४९२ मा अमेरिकाको युरोपसँग पहिलो सम्पर्क भएको झण्डै ३०० वर्ष नाघिसकेको थियो। युरोपको सामन्ती शासन वा बेलायतमा उनीहरूलाई जमिनबाट बेदखल गरिरहेको कृषि पुँजीवादबाट जोगिनका लागि करिब २६ लाख गरिब युरोपेली किसानहरू सलह जस्तै ‘नयाँ विश्वमा’ मा ओइरिएका थिए।
ती सुरुवाती २०० वर्षहरूमा, अधिकांश गतिविधि वा विनाश मेसो-अमेरिका र दक्षिणी गोलार्धमा भएको थियो। स्पेनिसहरूले केन्द्रीकृत एज्टेक र इन्कन साम्राज्यहरू तथा साना आदिवासी समूहहरूलाई ध्वस्त पारे र त्यहाँका जनतालाई दास श्रम वा अन्य प्रकारका दमनकारी श्रममा लगाउन आफ्नो अधीनमा राखे। युरोपेलीहरूले आफूसँगै भित्र्याएका रोगहरूसँग मिलेर यस प्रक्रियाले लाखौंको संख्यामा रहेका रैथाने अमेरिकी जनसंख्यालाई सखाप पारिदियो।
महाविपत्तिका रूपमा स्थापना
उत्तर अमेरिकाका धेरै कम केन्द्रीकृत आदिवासीहरू भूमिका भोका युरोपेलीहरूसँग सामना गर्न बढी लचिला र प्रतिरोधी साबित भएका थिए। उनीहरूले कडा प्रतिरोध गर्नुका साथै, अधिवासी(settlers) हरू विरुद्ध औपनिवेशिक शासनलाई नै प्रयोग गर्न पनि सिके। जसमा उनीहरूले केही सफलता पनि पाए। उदाहरणका लागि, रैथाने अमेरिकी महासंघहरू र बेलायती अधिराज्य बीच वार्ता भई तय भएको '१७६३ को घोषणा' ले गोरा अधिवासीहरूहरूलाई अपलाचियन (Appalachian) पर्वत शृङ्खलाको पश्चिमतर्फको भूमिमा बसाइँ सर्न प्रतिबन्ध लगाएको थियो।
उत्तर अमेरिकाका धेरै कम केन्द्रीकृत आदिवासीहरू भूमिका भोका युरोपेलीहरूसँग सामना गर्न बढी लचिला र प्रतिरोधी साबित भएका थिए। उनीहरूले कडा प्रतिरोध गर्नुका साथै, अधिवासी(settlers) हरू विरुद्ध औपनिवेशिक शासनलाई नै प्रयोग गर्न पनि सिके।
यसरी, सफल अमेरिकी क्रान्ति रैथाने अमेरिकीहरूका लागि एउटा त्रासदी थियो, किनभने उनीहरूको भूमिमा अधिवासीहरूको बढ्दो प्रभावलाई रोक्न मद्दत गर्ने एउटा प्रमुख सहयोगी समाप्त भएको थियो, र यससँगै बेलायती राजमुकुटसँग उनीहरूले गरेका सबै सन्धिहरू पनि खारेज भए। स्वतन्त्रताको घोषणापत्रका नरसंहारकारी परिणामहरू सुरुवाती दिनहरूमै प्रष्ट भएका थिए। जब उनीहरू बेलायतका सहयोगी भएको बहानामा जनरल जर्ज वासिङ्टनले हालको केन्द्रीय न्युयोर्क राज्यमा पर्ने इरक्वाइ (Iroquois) बस्तीहरू पूर्ण रूपमा ध्वस्त पार्ने आदेश दिएका थिए। यो यस्तो क्रूर कार्य थियो जसका कारण ती आदिवासीहरूले यी भावी राष्ट्रपतिलाई ‘बस्ती विनाशक’ (Town Destroyer) को उपनाम दिएका थिए।
संयुक्त राज्य अमेरिकाको स्थापना काला जातिका मानिसहरूका लागि पनि उत्तिकै विनाशकारी साबित भयो, जो सत्रौँ शताब्दीको सुरुवातदेखि नै अंग्रेजी उपनिवेशहरूमा दासका रूपमा भित्र्याइँदै थिए। सोह्रौं शताब्दीको अन्त्य र सत्रौँ शताब्दीमा सबैभन्दा पहिले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा दास-आधारित बगान अर्थतन्त्रले जरो गाडेको थियो, जहाँ अफ्रिकाबाट लाखौँ काला जातिका मानिसहरूलाई अपहरण गरी आन्ध्र महासागरको पारितर्फबाट ल्याएर काममा जोताइयो। तीमध्ये अधिकांशलाई उखु रोप्ने र काट्ने जस्तो कम्मर भाँच्चिने र जोखिमपूर्ण काममा लगाइएको थियो।
संयुक्त राज्य अमेरिकाको स्थापना काला जातिका मानिसहरूका लागि पनि उत्तिकै विनाशकारी साबित भयो, जो सत्रौँ शताब्दीको सुरुवातदेखि नै अंग्रेजी उपनिवेशहरूमा दासका रूपमा भित्र्याइँदै थिए।
तर यस गणतन्त्रको स्थापना र यसका सुरुवाती सात दशकहरूले अमेरिकी दक्षिण क्षेत्रको बगान अर्थतन्त्रको पूर्ण विकास देख्यो। जुन काला जातिका मानिसहरूको श्रम शोषण गर्नमा निर्मम रूपमा कुशल थियो। कपास उत्पादनमार्फत विश्वव्यापी पुँजीवादी अर्थतन्त्रसँग जोडिएको दक्षिण क्षेत्र उत्तरको तुलनामा धेरै धनी थियो। दास श्रमद्वारा सम्भव भएको यो समृद्धि सँगसँगै यस नवजात गणतन्त्रको राष्ट्रपति पद, संसद्का दुवै सदन र न्यायपालिकामा दक्षिणी बगान मालिक अभिजात वर्गको पूर्ण नियन्त्रण कायम रह्यो।
दक्षिणमा रैथाने अमेरिकीहरूको नरसंहार र अश्वेत दास श्रमको बढ्दो शोषण सँगसँगै अघि बढेका थिए। राष्ट्रपति एन्ड्रयू ज्याक्सनको 'इन्डियन रिमुभल एक्ट' (आदिवासी विस्थापन ऐन) अन्तर्गत पाँचवटा आदिवासी राष्ट्रहरू– चोक्टा (Choctaw), सेमिनोल (Seminole), चेरोकी (Cherokees), चिकास (Chickasaw), र मस्कोगी (Muscogee) लाई सन् १८३० देखि १८५० को बीचमा कपास बगानका लागि ठाउँ खाली गर्न उनीहरूको दक्षिण-पूर्वी पुर्ख्यौली भूमिबाट जबर्जस्ती हटाइएको थियो।
लकको बङ्ग्याइएको विरासत
मार्क्सवादीहरूका अनुसार, विचारहरूको भौतिक स्वार्थसँग एक द्वन्द्वात्मक सम्बन्ध हुन्छ। एकातिर तिनीहरूले स्वार्थलाई प्रतिबिम्बित गर्छन् भने, अर्कोतिर तिनीहरूले ती स्वार्थहरूको प्राप्तिका लागि तुलनात्मक रूपमा स्वतन्त्र रूपमा मार्गनिर्देशन गर्छन्। मैले पहिलेको एउटा निबन्धमा लेखेझैँ, सत्रौँ शताब्दीका अंग्रेजी दार्शनिक जोन लकका विचारहरूले पारेको व्यापक प्रभावलाई विचार नगरी अमेरिकी महाअभियानमा क्रान्ति, विस्तार, नरसंहार र रङ्गभेदको गतिशील अन्तरक्रियालाई बुझ्न सकिँदैन। अमेरिकी क्रान्ति, अमेरिकी राज्यको स्थापना र अमेरिकी संविधानसँग सबैभन्दा बढी जोडिएका विचारक लकलाई मुख्य गरी 'यदि सार्वभौम सत्ता वा सरकारले जनतासँगको आफ्नो ‘सामाजिक सम्झौता’ का सर्तहरू उल्लङ्घन गरेमा विद्रोह गर्ने अधिकार छ' भनी दिएको तर्कका लागि सम्झिइन्छ।
तर अमेरिकाका अधिवासीहरू माझ उत्तिकै प्रभावशाली रहेको लकको अर्को सिद्धान्त 'निजी सम्पत्तिको उत्पत्ति' सँग सम्बन्धित थियो। लकले भनेका थिए कि कुनै व्यक्तिले जमिनसँग आफ्नो श्रम मिसाउँदा मात्रै उक्त जमिनमाथिको उसको सम्बन्ध गैर-स्वामित्वबाट स्वामित्वमा परिणत हुन्छ। यो नै आधारभूत सामाजिक सम्बन्ध हो, जुन प्रसिद्ध ‘सामाजिक सम्झौता’ मार्फत राजनीतिक समाजको निर्माण हुनुभन्दा अघि ‘प्राकृतिक अवस्था’ (state of nature) मा बनेको थियो। वास्तवमा, यो आदिम सम्बन्धको रक्षा गर्नु नै सार्वभौम शासक र समाजबीचको सम्झौताको मुख्य केन्द्रविन्दु हो।
निजी सम्पत्तिको उत्पत्तिका सम्बन्धमा लकले दिएको व्याख्याले गोरा अधिवासीहरूको मनोविज्ञानलाई दुरुस्तै समातेको थियो। युरोपको कठोर कृषि-वर्गीय संरचनाबाट उम्किएका ती अधिवासीहरू, एक साना किसानले झैँ, ‘कुमारी भूमि’ मानिएको क्षेत्रमा आफ्नो लागि केही जमिन ओगट्न र सुरक्षित गर्न चाहन्थे। उदारवादका प्रसिद्ध विद्वान लुइस हार्ज (Louis Hartz) ले उल्लेख गरेझैँ, ती अधिवासीहरूमा एक निम्न-पुँजीवादी मानसिकता थियो । जुन सम्पत्ति थुपार्नुभन्दा पनि जमिनमाथिको आफ्नो स्वामित्वलाई सुरक्षित गर्न बढी चिन्तित रहन्थ्यो। हार्जले दाबी गरेझैँ, 'लकले परिकल्पना गरेको प्राकृतिक अवस्थाको विश्वकै सबैभन्दा नजिकको स्वरूपमा बाँचिरहेका' ती साना किसान अधिवासीहरू ‘आर्थिक रूपमा... नाफा कमाउने चाहनाभन्दा पनि नोक्सानी बेहोर्नुपर्ने डरले बढी ग्रसित थिए।’
निजी सम्पत्तिको उत्पत्तिका सम्बन्धमा लकले दिएको व्याख्याले गोरा अधिवासीहरूको मनोविज्ञानलाई दुरुस्तै समातेको थियो।
सानो सम्पत्तिको व्यक्तिगत स्वामित्वप्रतिको यो लगाव अमेरिकाको सामूहिक सांस्कृतिक मनोविज्ञानमा यति गहिरोसँग गडेको छ कि, हार्जले अमेरिकीहरूको विचारधारालाई ‘तर्कहीन लकवाद’ (irrational Lockeanism) का रूपमा वर्णन गर्न सकिने दाबी गरे। संयुक्त राज्य अमेरिकामा लकवादले ‘किसान र सर्वहारा दुवै वर्गलाई 'निम्न-पुँजीवादी' ढाँचाभित्रै समाहित गरिदियो,’ र यसले उन्न्नासौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीमा भएको तीव्र औद्योगिकीकरणको अवधिमा अमेरिकीहरूको वर्गीय चेतनाको विकासमा गहिरो प्रभाव पार्यो।
तर लकको प्रभाव पुँजीवाद र निजी सम्पत्तिको व्यवस्थाको जग बसाल्नमा मात्र सीमित रहेन। श्रमले निजी सम्पत्तिको अधिकार सिर्जना गर्छ भन्ने लकको यो अवधारणा उनको अर्को उत्तिकै गहिरो रूपमा गडेको विरासतसँग जेलिएको छ: त्यो हो, सम्पत्ति र स्वतन्त्रतामाथि कायम रहेको असमान जातीय पहुँच।
‘सुरुवाती समयमा, यो सम्पूर्ण संसार नै अमेरिका जस्तै थियो,’ राजनीतिक समाजको निर्माण हुनुभन्दा अघिको ‘प्राकृतिक अवस्था’ लाई परिकल्पना गर्दै लकले आफ्नो प्रसिद्ध पंक्तिमा लेखेका थिए। जमिनसँग आफ्नो श्रम मिसाउनाले मात्रै निजी सम्पत्ति सिर्जना हुन्छ भन्ने सिद्धान्तलाई अगाडि बढाउने क्रममा, लकले रैथाने अमेरिकीहरूलाई सम्पत्तिको मालिकका रूपमा स्वीकार गरेनन्। किनभने उनीहरू केवल ती जमिन र जङ्गलहरूमा बस्ने गर्थे, माटोमा खेतीपाती गर्दैनथे।
वास्तवमा लकको नजरमा, रैथाने अमेरिकीहरू ‘ती जङ्गली र हिंस्रक जनावरहरू सरह थिए जससँग मानिसहरूको न त कुनै समाज हुन सक्छ, न त सुरक्षा; र जसलाई सिंह वा बाघलाई झैँ विनाश गर्न सकिन्छ।’ लकले आफ्ना यी शब्दहरूका परिणामहरू पहिल्यै अनुमान नगरेका हुन सक्छन्, तर यिनै विचारले जातीय नरसंहारका लागि एउटा बलियो नैतिक औचित्य प्रदान गरे। फलस्वरूप, गोराहरूले पूर्वी तटीय क्षेत्रको त्यो सिमानालाई तोडे– जहाँ रैथाने अमेरिकीहरूले उनीहरूलाई सीमित राख्ने प्रयास गरेका थिए र पश्चिमतर्फ आँधीझैँ अघि बढे।
लकको नजरमा, रैथाने अमेरिकीहरू ‘ती जङ्गली र हिंस्रक जनावरहरू सरह थिए जससँग मानिसहरूको न त कुनै समाज हुन सक्छ, न त सुरक्षा; र जसलाई सिंह वा बाघलाई झैँ विनाश गर्न सकिन्छ।’ लकले आफ्ना यी शब्दहरूका परिणामहरू पहिल्यै अनुमान नगरेका हुन सक्छन्, तर यिनै विचारले जातीय नरसंहारका लागि एउटा बलियो नैतिक औचित्य प्रदान गरे।
त्यसैगरी, दासप्रथाको पनि लककै विचारहरूसँग सम्बन्ध थियो। यी अंग्रेज दार्शनिकले मालिक र सेवक बीचको सम्बन्ध तथा मालिक र दास (slave) बीचको सम्बन्धमा स्पष्ट भिन्नता देखाएका थिए। उनले पहिलोलाई (मालिक र युरोपबाट आएका अनुबन्धित सेवकबीचको) एक स्वतन्त्र सम्झौताका रूपमा हेरेका थिए, जबकि अफ्रिकाबाट ल्याइएका दास र मालिकबीचको सम्बन्धलाई भने दास पूर्ण रूपमा मालिकको ‘निरंकुश प्रभुत्व’ को अधीनमा रहने व्यवस्थाका रूपमा व्याख्या गरेका थिए।
छोटकरीमा भन्नुपर्दा, लकको उदारवाद (liberalism) एउटा आधारभूत विरोधाभासले भरिएको थियो। एकातिर, उनले 'मानिसको प्राकृतिक स्वतन्त्रता... पृथ्वीमा कुनै पनि उच्च शक्तिबाट मुक्त हुनु हो, र मानिसको इच्छा वा विधायी अधिकारको अधीनमा नरहेर प्राकृतिक नियमलाई मात्र आफ्नो मार्गनिर्देशक मान्नु हो' भन्दै यसको वकालत गरे। अर्कोतिर, उनले रैथाने अमेरिकीहरूलाई सभ्य समाजको दायराभन्दा बाहिरको माने र 'हब्सी' हरूलाई मानवभन्दा तल्लो स्तरको जीव ठान्दै उनीहरूलाई आफ्नो दासत्वको अवस्थाविरुद्ध विद्रोह गर्ने अधिकारबाट वञ्चित गरे।
लकको यो सैद्धान्तिक असङ्गति उनको व्यवहारमा पनि झल्किन्थ्यो। आन्ध्र महासागर पारिको दास व्यापार (transatlantic slave trade) का एक प्रमुख व्यक्ति 'अर्ल अफ शाफ्ट्सबरी' (Earl of Shaftesbury) को सचिवका रूपमा काम गर्दा, लकले क्यारोलिनासको संविधान (Constitution of the Carolinas) लेख्न मद्दत गरेका थिए। यो संविधान निरंकुश शासनको एउटा रूपरेखा थियो। जसले सार्वभौम सत्ता जनतामा निहित हुन्छ भन्ने उनको आफ्नै सिद्धान्तको खण्डन मात्र गरेन, बल्कि काला जातिका मानिसहरूलाई पुस्तौँपुस्तासम्म पशुसरह हलिया बन्धन (chattel bondage) मा राख्ने वैधतासमेत प्रदान गर्यो।
स्याउभित्रको कीरा
मानवीय स्वतन्त्रताको उत्सव मनाउने तर जातीय बहिष्कारलाई वैधता दिने लकको यो विरोधाभासले अमेरिकी महाअभियानको मुटुलाई यसको सुरुवातदेखि नै पच्छ्याइरह्यो। वासिङ्टन र जेफर्सन जस्ता प्रमुख नेताहरूले गोरा जातिका मानिसहरूका लागि अत्याचारविरुद्ध विद्रोह गर्ने लकको अधिकार र ‘मानव अधिकार’ को वकालत गरे। जबकि उनीहरूले आफ्नै काला जातिका दासहरू र रैथाने अमेरिकीहरूलाई भने यी अधिकारहरूबाट वञ्चित राखे। बेलायतीहरूले यो विरोधाभासलाई औँल्याउन छुटाएनन्; जस्तै कि प्रसिद्ध साहित्यकार सामुएल जोन्सनले प्रश्न गरेका थिए, ‘हब्सीहरूलाई कोर्रा हान्नेहरूबाटै स्वतन्त्रताका लागि सबैभन्दा ठूलो चिच्याहट हामी कसरी सुनिरहेका छौँ?’ वास्तवमा, स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गर्ने ५६ जनामध्ये केवल १५ जना मात्रै दास मालिक थिएनन्। र हालैको एक अध्ययनले खुलासा गरे अनुसार, ती १५ जनामध्ये पनि सात जनाले ‘दास बनाइएका मानिसहरूको व्यापार गरेर, दासहरूद्वारा उत्पादित सामानहरू खरिद-बिक्री गरेर वा आन्ध्र महासागर क्षेत्रका दास शिविरहरूमा खाद्यान्न र अन्य सामग्रीहरू आपूर्ति गरेर प्रत्यक्ष रूपमा नाफा कमाएका थिए।’

वासिङ्टन र जेफर्सन जस्ता प्रमुख नेताहरूले गोरा जातिका मानिसहरूका लागि अत्याचारविरुद्ध विद्रोह गर्ने लकको अधिकार र ‘मानव अधिकार’ को वकालत गरे। जबकि उनीहरूले आफ्नै काला जातिका दासहरू र रैथाने अमेरिकीहरूलाई भने यी अधिकारहरूबाट वञ्चित राखे।
इतिहासकार रोबर्ट पार्किन्सनका अनुसार, यो ऐतिहासिक दस्तावेज अपरिहार्य अधिकारहरूका बारेमा जति थियो, त्योभन्दा बढी वा सोसरह नै जातीय डर र बहिष्कारका बारेमा थियो। यस घोषणापत्रको मुख्य चुरो राजा जर्ज तृतीय विरुद्ध लगाइएका २७ वटा आरोपहरूमा निहित थियो। जसमध्ये सत्ताइसौँ आरोप सबैभन्दा महत्त्वपूर्ण थियो: ‘उनले हामीभित्रै आन्तरिक विद्रोह भड्काएका छन्, र हाम्रा सिमानाका बासिन्दाहरूमाथि ती निर्दयी जङ्गली इन्डियनहरूलाई जाइलाग्न उक्साउने प्रयास गरेका छन्, जसको युद्धको नियम नै उमेर, लिङ्ग र अवस्थाको विचार नगरी सबैको विनाश गर्नु हो भनी चिनिन्छ।’ पार्किन्सन लेख्छन् कि अठारौँ शताब्दीको सन्दर्भमा, ‘'आन्तरिक विद्रोह' ले विद्रोही दासहरूलाई बुझाउँछ भने, 'निर्दयी जङ्गली इन्डियनहरू' भन्ने शब्दलाई धेरै व्याख्या गरिरहनु पर्दैन।’
अस्वेत राजनीतिक दार्शनिक दिवंगत चार्ल्स मिल्सले बुझेझैँ, ‘जहाँसम्म आधुनिक विश्व युरोपेली विस्तारवाद (औपनिवेशिकता, साम्राज्यवाद, गोरा अधिवासीका राज्यहरू, जातीय दासप्रथा) द्वारा रूपान्तरित छ,’ लकको सामाजिक सम्झौतालाई ‘वास्तवमा एउटा बहिष्करणकारी आन्तरिक-गोरा 'जातीय सम्झौता' का रूपमा हेर्न सकिन्छ। जसले गैर-गोरा मानिसहरूलाई समान नैतिक, कानुनी र राजनीतिक हैसियत दिन अस्वीकार गर्दछ।’ सन् १७७६ को अमेरिकी क्रान्तिको सफलताले एउटा यस्तो युगको सुरुवात गर्यो जहाँ ‘नागरिक समाजको स्वशासनले स्वतन्त्रताको झन्डा फहराउँदै र निरंकुशता विरुद्धको सङ्घर्ष गर्दै विजय हासिल गर्यो,’ यद्यपि ‘यसले जातीय पशुसरह हलिया प्रथाको विकासलाई तीव्र बनायो र गोरा तथा गैर-गोरा मानिसहरूबीच एक अभूतपूर्व र कहिल्यै पुरिन नसक्ने खाडल सिर्जना गर्यो।’ उदारवादका चतुर इटालेली इतिहासकार डोमेनिको लोसुर्डो यसमा सहमत छन्: ‘एकैसाथ जुम्ल्याहा जन्मझैँ उदाएका यी दुई तत्वहरूबीच तनाव र विरोधाभासले भरिएको सम्बन्ध स्थापित भएको थियो।’
वर्ग, जात र गृहयुद्ध
अमेरिकी गृहयुद्धका पछाडि धेरै पूरक कारणहरू थिए। यद्यपि उत्तरका धेरै मानिसहरू दासप्रथा उन्मूलन गर्ने नैतिक अनिवार्यताबाट प्रेरित थिए, तर त्योभन्दा धेरै बढी प्रभावशाली कारण चाहिँ दास-आधारित बगान अर्थतन्त्रको विस्तारले ती अधिवासीहरूको आकांक्षामा पारेको धक्का थियो। जो स्वतन्त्र श्रमद्वारा स्वतन्त्र रूपमा स्वामित्व प्राप्त जमिनमा खेती गर्न चाहन्थे। यसै कारणले उत्तरी गोराहरूले काला जातिका मानिसहरूप्रति एक प्रकारको द्विविधा महसुस गर्थे। एकातिर, उनीहरूलाई विना-ज्याला काम गर्ने श्रमका रूपमा आफ्नो लागि खतरा ठानिन्थ्यो; अर्कोतिर, जमिनका भोका र अतृप्त दक्षिणी दास-शासकहरू विरुद्ध उनीहरूलाई सहयोगीका रूपमा हेरिन्थ्यो।
यसरी, उन्न्नासौँ शताब्दीको पहिलो खण्डमा अमेरिकी लोकतन्त्रको उदयका प्रतिष्ठित इतिहासकार सिड्नी विलेन्ट्ज (Sidney Wilentz) ले बुझे अनुसार, गृहयुद्धको पूर्वसन्ध्यामा दक्षिण र उत्तरबीचको आधारभूत भिन्नता के थियो भने– ’दक्षिण क्षेत्र ठूलो मात्रामा दासप्रथालाई जग मानेर वर्णभेदी लोकतन्त्र प्रति प्रतिबद्ध थियो, जबकि उत्तर क्षेत्र भने गोरा पुरुष लोकतन्त्र प्रति प्रतिबद्ध थियो र अश्वेत पुरुषहरूको सहभागिताका विषयमा विभाजित भए तापनि दासप्रथाप्रति पूर्णतः अनुदार थियो।’ यी दुवै पिइरे भान डेन बर्ग ले ‘शासक नश्ल लोकतन्त्र’ भनेर नामाकरण गरेका व्यवस्थाकै फरक-फरक रूपहरू थिए।
वर्गीय चेतना विरुद्ध जातीय ऐक्यबद्धता
गृहयुद्धपछि दोस्रो प्रकारको 'शासक नश्ल लोकतन्त्र' को राज चल्यो। दासप्रथाबाट मुक्त भए तापनि यो व्यवस्था गोराहरूको श्रेष्ठताको भावनाले पूर्ण रूपमा ओतप्रोत थियो । जहाँ गृहयुद्धपछिको पुनर्निर्माण कालको दक्षिण क्षेत्रमा काला जातिका मानिसहरूलाई अनौपचारिक रूपमा राजनीतिक अधिकारहरूबाट वञ्चित गर्नु र राज्य तथा नागरिक समाजद्वारा निर्देशित आतङ्क सामान्य जस्तै थियो। त्यस्तै, उत्तर क्षेत्रमा काला जातिका मानिसहरूको मताधिकारप्रतिको कमजोर सहनशीलतासँगै व्यवस्थित सामाजिक र आर्थिक भेदभाव व्याप्त थियो।
गृहयुद्धपछि दोस्रो प्रकारको 'शासक नश्ल लोकतन्त्र' को राज चल्यो। दासप्रथाबाट मुक्त भए तापनि यो व्यवस्था गोराहरूको श्रेष्ठताको भावनाले पूर्ण रूपमा ओतप्रोत थियो ।
तीव्र औद्योगिकीकरणले उन्न्नासौँ शताब्दीको उत्तरार्धमा युरोपबाट करिब १ करोड ६० लाख आप्रवासीहरूलाई आकर्षित गर्यो। जसले मुख्य रूपमा गोरा एङ्ग्लो-स्याक्सन पुँजीपति वर्ग र एक बहुराष्ट्रिय तथा बहुजातीय श्रमिक वर्गबीच कडा तनाव पैदा गरिदियो। तथापि, पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएको आधारभूत लकवादी मनोविज्ञानको दुईतर्फी प्रभाव देखियो: निम्न-पुँजीवादी चेतनाले वर्गमा आधारित ऐक्यबद्धतालाई कमजोर बनायो, जबकि स्वतन्त्रता र लोकतन्त्र आफ्ना लागि मात्र विशेषाधिकार हुन् भन्ने गोराहरूबीचको अघोषित तर वास्तविक बुझाइले नश्लमा आधारित ऐक्यबद्धतालाई अझ बलियो बनायो। सधैँझैँ लचिलो बन्दै, देशको उदाउँदो पुँजीवादी अर्थतन्त्रले गोराहरूको वर्चस्वसँग सम्झौता गर्यो, श्रम शक्तिलाई नश्लका आधारमा वर्गीकरण गर्यो, र ट्रेड युनियनहरूको सङ्गठन पनि ठूलो मात्रामा नश्लीय आधारमै अघि बढ्यो। कोरियाली युद्धको केही समय अघिसम्म सेनामा पनि रङ्गभेद नै नियमका रूपमा लागू थियो। यद्यपि काला जातिका मानिसहरूले स्वतन्त्रता संग्रामकै समयदेखि नै प्रमाणित गरिसकेका थिए कि उनीहरू पनि गोराहरू सरह नै आफ्नो देशका लागि लड्न र मर्न सक्षम छन्। दोस्रो विश्वयुद्धका दौरान जापानी-अमेरिकीहरूले पनि ठूलो मूल्य चुकाएर यही कुरा साबित गरेका थिए।
देशको उदाउँदो पुँजीवादी अर्थतन्त्रले गोराहरूको वर्चस्वसँग सम्झौता गर्यो, श्रम शक्तिलाई नश्लका आधारमा वर्गीकरण गर्यो, र ट्रेड युनियनहरूको सङ्गठन पनि ठूलो मात्रामा नश्लीय आधारमै अघि बढ्यो।
कमजोर वर्गीय ऐक्यबद्धता र बलियो जातीय ऐक्यबद्धता नै ती दुई ध्रुवहरू थिए, जसको बीचमा गृहयुद्धदेखि पचासको दशकको अन्त्य र साठीको दशकको सुरुवाती समयमा भएको नागरिक अधिकार आन्दोलनसम्मको अमेरिकी श्रमिक वर्गको कष्टकर इतिहास विकसित हुने थियो।
यही अवधिमा संयुक्त राज्य अमेरिकाले उत्तर अमेरिकाभन्दा बाहिर आफ्नो पहुँच विस्तार गर्यो, र यसो गर्दा उसले आफ्नो 'लकवादी विरोधाभास' लाई पनि निर्यात गर्यो। यसले फिलिपिन्स, दोस्रो विश्वयुद्धको समयमा प्रशान्त क्षेत्र, कोरिया र भियतनाममा विस्तारवादी तथा साम्राज्यवादी युद्धहरू लड्यो। यीमध्ये अधिकांश युद्धहरू आफ्नो तीव्रताका हिसाबले नरसंहारकारी थिए। तर अमेरिकी नीति-निर्माताहरूको नश्लीय अन्धता यति बलियो थियो कि, उनीहरूले नरसंहार (जसलाई ‘प्रविधि-सघन युद्ध’ को आवरण दिइएको थियो) र अमेरिकी शैलीको लोकतन्त्र निर्यात गर्ने आफ्नो घोषित अभियानबीच कुनै विरोधाभास देखेनन्। किनभने, उनीहरूको अघोषित मान्यता के थियो भने लोकतान्त्रिक अधिकारहरूको पूर्ण प्रयोग र उपभोग गर्न गोराहरू मात्र सक्षम र हकदार छन्। लोकतन्त्र एउटा उपयोगी भ्रम थियो, जुन प्रायः तानाशाही सहयोगीहरू र मित्रवत् सम्भ्रान्तहरूद्वारा आफ्ना जनतामाथि थोपरिएको थियो।
सामाजिक प्रतिक्रान्तिले संयुक्त राज्य अमेरिकाका अन्य राजनीतिक संस्थाहरूलाई पनि यति धेरै जातीयतामा आधारित उग्र बनाइदिएको छ कि, चार्ल्स मिल्सको शब्दमा भन्नुपर्दा, ‘खुला गोरा-वर्चस्ववादी विचारधारा र कानुनी अधीनताका खुला नियमहरूको अनुपस्थितिमा पनि गोराहरूको प्रभुत्वको प्रणाली निरन्तर चलिरहेको छ।’
‘दक्षिणी रणनीति’
सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलन 'शासक नश्ल लोकतन्त्र' माथिको प्रत्यक्ष प्रहार थियो। केही समयका लागि पछि हट्न बाध्य भएको यो प्रवृत्ति, १९७० र १९८० को दशकमा कुख्यात ‘दक्षिणी रणनीति’ (Southern Strategy) को रूपमा अमेरिकी राजनीतिको विकासक्रमलाई चुनौती दिन पुनः उदायो। यस रणनीति अन्तर्गत, रिपब्लिकन पार्टीले खुला रङ्गभेद र ‘सांकेतिक राजनीति’ (dog-whistle politics) दुवैको प्रयोग गर्दै नागरिक अधिकार आन्दोलनसँग डेमोक्रेटिक पार्टीले गरेको गठबन्धनबाट धोका पाएको महसुस गरिरहेका दक्षिणी गोराहरूलाई आकर्षित गर्न आफ्नो छवि र चरित्रलाई बदल्यो। अति-दक्षिणपन्थी रिपब्लिकनहरूले डेमोक्रेटिक पार्टीको नेतृत्वले नवउदारवादी नीतिहरू अपनाएका कारण सिर्जना भएको उत्तरी श्रमिकहरूको आर्थिक असुरक्षाको पनि कुशलतापूर्वक फाइदा उठाए। उनीहरूले श्रमिकहरूको रोजगारी गुम्नु र आम्दानी स्थिर रहनुको दोष डेमोक्रेटिक पार्टीले अल्पसङ्ख्यक र आप्रवासीहरूलाई ‘काखी च्यापेको’ कुरालाई दिए। शताब्दीको अन्त्यतिर आइपुग्दा, रिपब्लिकन पार्टी गोरा वर्चस्ववादीको पार्टी बन्ने दिशामा निकै अगाडि बढिसकेको थियो। यस प्रक्रियाले डोनाल्ड ट्रम्पको नेतृत्वमा आफ्नो उत्कर्ष चुमेको छ, जसले २०१६, २०२० र २०२४ का चुनावहरूमा ५४-५५ प्रतिशत गोरा मतदाताहरूको समर्थन प्राप्त गर्दै गोरा मतदाताहरूको स्पष्ट बहुमतमाथि आफ्नो नियन्त्रण कायम गरे।
रिपब्लिकन पार्टीको सन्दर्भमा जस्तै, सामाजिक प्रतिक्रान्तिले संयुक्त राज्य अमेरिकाका अन्य राजनीतिक संस्थाहरूलाई पनि यति धेरै जातीयतामा आधारित उग्र बनाइदिएको छ कि, चार्ल्स मिल्सको शब्दमा भन्नुपर्दा, ‘खुला गोरा-वर्चस्ववादी विचारधारा र कानुनी अधीनताका खुला नियमहरूको अनुपस्थितिमा पनि गोराहरूको प्रभुत्वको प्रणाली निरन्तर चलिरहेको छ।’
गतिवर्धक तत्वहरू
हालैका वर्षहरूमा, गोरा जातिमा व्याप्त डरलाई तीनवटा उत्तेजक तत्वहरूले थप प्रज्वलित गरिदिएका छन्।
सन् २००८ मा बाराक ओबामाको राष्ट्रपति पदमा भएको निर्वाचन सम्भवतः गोरा राष्ट्रवादका लागि सबैभन्दा ठूलो एकल गतिवर्धक तत्व थियो। यसका साथै, धेरै गोरा पुरुषहरूमा आफूहरू यस्तो संसारमा अलपत्र परेको भावना पैदा भयो जहाँ परम्परागत लैङ्गिक पदानुक्रमहरू धरमराइरहेका थिए, द्वैध लैङ्गिक वर्गीकरणलाई त्यागिँदै थियो, महिलाहरूले आफ्नो शरीरमाथि नियन्त्रण पाउन थालेका थिए, र नयाँ पारिवारिक व्यवस्थाहरूका कारण ‘विषमलैङ्गिक-पितृसत्तात्मक परिवार’ (heteropatriarchal family) को परम्परागत मान्यतामाथि प्रश्न उठिरहेको थियो।
यी सबैले डोनाल्ड ट्रम्पको उदयका लागि पृष्ठभूमि तयार पारे, जसलाई सीआईएकी राजनीतिक विश्लेषक बारबरा वाल्टरले ‘सबैभन्दा ठूला जातीय उद्यमी’ को संज्ञा दिएकी छन्।
आप्रवासीहरूलाई सधैँ शङ्काको दृष्टिले हेरिँदै आएको भए तापनि, हालैका दशकहरूमा ठूलो संख्यामा गैर-गोरा मानिसहरूको आगमनले धेरै गोराहरूलाई ‘ग्रेट रिप्लेसमेन्ट थ्योरी’ (महान् विस्थापन सिद्धान्त) प्रति संवेदनशील बनाइदियो। फ्रान्सेली अति-दक्षिणपन्थी विचारक रेनो कामु (Renaud Camus) द्वारा लोकप्रिय बनाइएको यस सिद्धान्तले 'ग्लोबल साउथ' बाट हुने आप्रवासन, सन् २०४० को दशकसम्ममा गोरा बहुसंख्यकलाई अल्पसङ्ख्यकमा परिणत गर्न उदारवादी सम्भ्रान्त वर्गले रचेको एउटा षड्यन्त्र हो भन्ने दाबी गर्छ।
यी सबैले डोनाल्ड ट्रम्पको उदयका लागि पृष्ठभूमि तयार पारे, जसलाई सीआईएकी राजनीतिक विश्लेषक बारबरा वाल्टरले ‘सबैभन्दा ठूला जातीय उद्यमी’ को संज्ञा दिएकी छन्। उनका अनुसार, ‘विगत पचास वर्षमा कुनै पनि रिपब्लिकन राष्ट्रपतिले यति धेरै नश्लभेदी एजेन्डा अगाडि बढाएका थिएनन्, वा अन्य सबैको मूल्यमा गोरा, इभान्जेलिकल (Evangelical) अमेरिकीहरूको यसरी वकालत गरेका थिएनन्।’
भविष्यका लागि सङ्घर्ष
सन् १९७६ मा जब संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २००औँ वर्ष मनाउँदै थियो, म सान फ्रान्सिस्कोमा थिएँ। त्यतिबेला चौतर्फी रूपमा एउटा राहतको महसुस गरिएको थियो; देशले नागरिक अधिकार आन्दोलनको युग, भियतनाम युद्ध र वाटरगेट काण्डका विभाजनहरूलाई पछाडि छोड्दैछ भन्ने भावना व्याप्त थियो। तर आज जब संयुक्त राज्य अमेरिकाले आफ्नो २५०औँ वर्ष मनाउँदैछ, तब निराशा र आक्रोश हाबी देखिन्छ। ग्यालोप पोलको एक सर्वेक्षण अनुसार, सन् २०१५ मा ७८ प्रतिशतले ‘अमेरिकी हुन पाउँदा निकै वा अत्यधिक गर्व लाग्छ’ भनेका थिए, जुन सङ्ख्या घटेर अहिले मात्र ३१ प्रतिशतमा झरेको छ।
संयुक्त राज्य अमेरिका एउटा यस्तो 'मेल्टिङ पट' (melting pot) हो जसले आफ्ना कमजोरीहरूका बाबजुद विश्वलाई लोकतान्त्रिक शासनको एउटा नमूना प्रदान गर्छ भन्ने उदारवादी सहमति अब वामपन्थी कोणबाट भएका आलोचनात्मक प्राज्ञिक अध्ययनहरूका सामु टिक्न सकेको छैन।
सिनेटर क्रिस मर्फी (डेमोक्र्याट-कनेक्टिकट) देखि अभिनेता रोबर्ट डी निरोसम्मका ठूलो सङ्ख्याका नागरिकहरूमा गम्भीर आशङ्का छ कि यदि ट्रम्प र रिपब्लिकनहरू सन् २०२८ को निर्वाचनमा पराजित भए भने उनीहरूले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने छैनन्। अन्य केही कलाकारहरू, जस्तै एलेन डिजेनेरेस र रोजी ओडोनेलले भने त्यो परिणाम पर्खेर बसेनन् र उनीहरू अन्य देशहरूमा पलायन हुने बाटो रोजिसकेका छन् (यद्यपि धेरैजसो अवस्थामा ट्रम्पप्रतिको वितृष्णासँगै कर तिर्नबाट बच्ने चाहना पनि खुसीसाथ जोडिएर आएको छ)।
संयुक्त राज्य अमेरिका एउटा यस्तो 'मेल्टिङ पट' (melting pot) हो जसले आफ्ना कमजोरीहरूका बाबजुद विश्वलाई लोकतान्त्रिक शासनको एउटा नमूना प्रदान गर्छ भन्ने उदारवादी सहमति अब वामपन्थी कोणबाट भएका आलोचनात्मक प्राज्ञिक अध्ययनहरूका सामु टिक्न सकेको छैन। अर्कोतर्फ, डोनाल्ड ट्रम्पले सबैभन्दा बढी घृणा गर्ने शब्द– 'विविधता' लाई दक्षिणपन्थीहरूद्वारा नामेट पारिँदैछ; र अमेरिकाको इतिहासलाई केवल गोराहरूको सिर्जनाका रूपमा पुनः व्याख्या र परिमार्जन गरिँदैछ। यो ठ्याक्कै त्यही मुख्य भाष्य हो जुन सन् १९५० को दशकमा हाबी थियो, जुन समयमा ट्रम्प हुर्किएका थिए।

डोनाल्ड ट्रम्पले सबैभन्दा बढी घृणा गर्ने शब्द– 'विविधता' लाई दक्षिणपन्थीहरूद्वारा नामेट पारिँदैछ; र अमेरिकाको इतिहासलाई केवल गोराहरूको सिर्जनाका रूपमा पुनः व्याख्या र परिमार्जन गरिँदैछ।
सन् २०२० को रिपब्लिकन राष्ट्रिय महाधिवेशनमा राष्ट्रपतिका उम्मेदवारका रूपमा ट्रम्पले दिएको स्वीकृति भाषणमा यो भाष्य पूर्ण रूपमा प्रकट भएको थियो। त्यहाँ उनले भनेका थिए कि अमेरिकाको अद्वितीय विशेषता भनेको ‘पशुपालक, खानी मजदुर, काउब्वाई, सेरिफ, किसान र अधिवासीहरू’ द्वारा भूमि र पश्चिमतर्फ गरिएको विजयको भावना थियो; र यो विजयी अभियान ‘वायट अर्प, एनी ओक्ली, डेभी क्रोकेट, र बफेलो बिल’ जस्ता व्यक्तिहरूका कारण सम्भव भएको थियो। यसमा ‘गोरा’ शब्दको कुनै प्रत्यक्ष उल्लेख छैन, तर ट्रम्पको यो साङ्केतिक कूट-भाषा उनका 'मागा' (MAGA) समर्थकहरूलाई उत्साहित बनाउन पर्याप्त छ।
तथापि, अमेरिकी गणतन्त्रले आफ्नो २५०औँ वर्षमा प्रवेश गर्दा सामना गरिरहेको सबैभन्दा ठूलो सङ्कट अति-दक्षिणपन्थीहरूद्वारा अमेरिकी ऐतिहासिक भाष्यमाथि कब्जा जमाउने खतरा मात्र होइन। बरु, यो त हरेक विद्यालयका छात्रछात्रालाई ‘अमेरिकी प्रयोग’ को सबैभन्दा अमूल्य गहनाका रूपमा सिकाइने अवधारणा– 'शक्तिको पृथकीकरण' लाई एक यस्तो व्यक्तिद्वारा दृढतापूर्वक कमजोर बनाइनु हो। जसले निरंकुश सत्ता प्राप्त गर्ने आफ्नो चाहनालाई कहिल्यै लुकाएनन्। र उनलाई रिपब्लिकनहरूको वर्चस्व रहेको संसद्बाट निकै कम प्रतिरोध भइरहेको छ, सर्वोच्च अदालतको मिलेमतो छ, र उनको 'मागा' (MAGA) समर्थकहरूको यस्तो अन्धभक्तपूर्ण समर्थन छ जो उनीसँगै फासिवादतर्फ खुसीसाथ कदम मिलाएर अघि बढ्न तयार छन्।
अमेरिकी गणतन्त्रले आफ्नो २५०औँ वर्षमा प्रवेश गर्दा सामना गरिरहेको सबैभन्दा ठूलो सङ्कट अति-दक्षिणपन्थीहरूद्वारा अमेरिकी ऐतिहासिक भाष्यमाथि कब्जा जमाउने खतरा मात्र होइन। बरु, यो त हरेक विद्यालयका छात्रछात्रालाई ‘अमेरिकी प्रयोग’ को सबैभन्दा अमूल्य गहनाका रूपमा सिकाइने अवधारणा– 'शक्तिको पृथकीकरण' लाई एक यस्तो व्यक्तिद्वारा दृढतापूर्वक कमजोर बनाइनु हो।
यति हुँदाहुँदै पनि, गणतन्त्र पूर्ण रूपमा आशाविहीन भने छैन। यो आशा न्युयोर्कका मेयर जोहरान माम्दानी जस्ता प्रगतिशीलहरू र जुन महिनाको अन्त्यमा भएका प्राथमिक चुनावहरूमा व्यापक जित हासिल गर्ने युवा आमुल परिवर्तनकारीमा झल्किएको छ। यी यस्ता मानिसहरू हुन् जसले मार्गदर्शनका लागि ‘संस्थापक पिताहरूको बुद्धिमत्ता’ तर्फ फर्किएर हेर्दैनन्, बल्कि एउटा लोकतान्त्रिक, समाजवादी, र साँच्चिकै समतामूलक एवं बहुजातीय भविष्यतर्फ हेर्छन्।
अनुवाद: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
अमेरिकाले पराजित भएको स्वीकार गर्न नसकेको युद्ध
ढोँगी बहुपक्षीयतावादको दोबाटोमा क्युबा
सपनाको मृत्यु र फासीवादी उन्माद
लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक …
क्षितिज पारिको यात्री: इब्न बतुताको अविस्मरणीय विश्व-परिक्रमा
जब पेन्सिल नै तरबार बन्यो
रुजवेल्ट र फायरसाइड च्याट्स: राजनीतिक सञ्चारको कालजयी विरासत
प्रतिक्रिया