बाजजस्तो ट्रम्प र डरपोक युरोपेली नेताहरू
सन् २०२६ जुलाई ७–८ मा अङ्कारामा नेटो (NATO) शिखर सम्मेलन सम्पन्न भयो। रक्षा खर्च बढाउने नयाँ प्रतिबद्धताहरू, युक्रेनका लागि नयाँ सहायता प्याकेज, सामूहिक सुरक्षाप्रतिको गठबन्धनको "अटल प्रतिबद्धता" पुनः पुष्टि गर्ने घोषणासहित यसलाई ट्रान्स-एटलान्टिक एकताको प्रदर्शनका रूपमा प्रस्तुत गरिएको थियो । टर्कीको राजधानीबाट आएका अधिकांश समाचारहरूले भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिकरूपमा विभिन्न सदस्य राष्ट्रहरूको आलोचना गरेको विषयलाई प्रमुखता दिएको थियो । धेरै टिप्पणीकारहरूले यसलाई युरोपेली नेताहरूलाई उनीहरूको स्थान देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
अङ्कारा शिखर सम्मेलनले फेरि एकपटक राष्ट्रपति ट्रम्प बाजजस्तो आक्रामक (hawkish) नेता भएको जबकि युरोपका प्रमुख शक्तिहरू कुखुराजस्ता डरपोक र निर्णयहीन (chicken) मात्र रहेको स्पष्ट सन्देश दिएको छ ।
स्पेनलाई ट्रम्पको चुनौती
सबैभन्दा तीव्र विवाद स्पेनसँग सम्बन्धित थियो। सन् २०३५ सम्म रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (GDP) को ५ प्रतिशत पुर्याउने नेटोको नयाँ लक्ष्यमा प्रतिबद्ध हुन म्याड्रिडले अस्वीकार गरेको र इरानविरुद्धको अमेरिकी–इजरायली युद्धका क्रममा स्पेनले अमेरिकालाई आफ्ना सैनिक अड्डा तथा हवाई क्षेत्र प्रयोग गर्न नदिएको विषयमा अझै असन्तुष्ट रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक सत्रमै प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारलाई प्रत्यक्ष निशाना बनाए।
शिखर सम्मेलनको क्रममा स्पेन र रक्षा खर्चबारे बोल्दै ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई स्पेनसँगको व्यापार रोक्न निर्देशन दिए। उनले स्पेनलाई "निरर्थक देश (a wasted cause)" र "नेटोको अत्यन्त खराब साझेदार" को संज्ञा दिँदै भने, "उनीहरू सहभागिता जनाउँदैनन् र उनीहरूले आफ्नो हिस्सा पनि तिर्दैनन्।" उनले नेटोका महासचिव मार्क रुट्टलाई पनि भने, "स्पेन कुनै पनि कुरामा सहमत हुँदैन त्यसैले तपाईंहरूले उनीहरूको बोझ बोकिरहनु हुँदैन।" त्यसपछि उनले बेसेन्टलाई निर्देशन दिँदै भने, "कृपया स्पेनसँगको सबै व्यापार बन्द गरिदिनुहोस्, भ्रमणसमेत।"
ट्रम्पको व्यापार सम्बन्धी धम्कीको जवाफमा प्रधानमन्त्री सान्चेजको कार्यालयले प्रारम्भमा ट्रम्पका टिप्पणीलाई "सामान्य राजनीतिक व्यवहार" (business as usual) मात्र भएको बताउँदै अमेरिका–स्पेन द्विपक्षीय सम्बन्धले दुवै देशलाई निरन्तर लाभ पुर्याइरहेको जनाएको थियो। शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा सान्चेजले भने:
"संयुक्त राज्य अमेरिका र स्पेनबीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक सबै दृष्टिले अत्यन्त सकारात्मक सम्बन्ध रहेको छ।"
स्पेनकी स्वास्थ्यमन्त्री मोनिका गार्सियाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखिन् कि "स्पेन बहुपक्षीयता र शान्तिको पक्षमा उभिने एक सार्वभौम र लोकतान्त्रिक राष्ट्र हो," र "खराब कुरा भनेको कूटनीतिलाई दादागिरीसँग भ्रमित गर्नु हो।"
शिखर सम्मेलनपछि आयोजित आफ्नै पत्रकार सम्मेलनमा प्रधानमन्त्री सान्चेजले भने मेलमिलापपूर्ण देखिने अभिव्यक्ति दिए। उनले ट्रम्पसँग फुटबलबारे "अनौपचारिक कुराकानी" भएको उल्लेख गर्दै भने: "हाम्रोबीच कुनै पनि प्रकारको तनाव थिएन। बरु सबै कुरा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा भयो।"
स्पेनले आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (GDP) को ०.९८ प्रतिशतबाट बढाएर करिब २ प्रतिशत पुर्याएको उल्लेख गर्दै सान्चेजले त्यसलाई नेटोप्रतिको आफ्नो प्रतिबद्धताको प्रमाणका रूपमा प्रस्तुत गरे।
नेटो, अमेरिका–इरान युद्ध, युक्रेन र समग्र शिखर सम्मेलन
ट्रम्पले आफू "नेटोसँग निकै असन्तुष्ट" रहेको बताए। उनले यसको कारणका रूपमा ग्रिनल्यान्डको विषय र आफूले "आतङ्कवादलाई सबैभन्दा बढी समर्थन गर्ने राष्ट्र इरान" भनेको देशविरुद्ध सहयोग गर्न नेटोका सदस्य राष्ट्रहरूले इच्छुकता नदेखाएको आरोप लगाए। शिखर सम्मेलनकै क्रममा उनले इरानसँग भएको युद्धविराम समाप्त भएको घोषणा पनि गरे।
पछि भने ट्रम्पको अभिव्यक्ति केही नरम देखियो। उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँगको भेटवार्तामा "कोठाभरि धेरै आत्मीयता र सद्भाव" रहेको बताए। साथै, युक्रेनलाई अमेरिकी प्याट्रियट (Patriot) क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आफ्नै देशमा उत्पादन गर्न अनुमति दिइने पुष्टि पनि गरे।
ग्रिनल्यान्डमाथि फेरि ट्रम्पको दाबी
ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने आफ्नो पुरानो अभियानलाई फेरि दोहोर्याए। आफ्नो पहिलो कार्यकालदेखि नै यस दाबीले नेटोभित्र असहजता सिर्जना गर्दै आएको छ। उनले फेरि पनि ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने तर्क गर्दै भने, " संयुक्त राज्य अमेरिकाका लागि यो अत्यन्त महत्त्वपूर्ण छ तर डेनमार्कका लागि त्यति महत्त्वपूर्ण होइन ।" उनले थपे, "हामीलाई यसको आवश्यकता केवल अमेरिकाको सुरक्षा होइन, सम्पूर्ण विश्वको सुरक्षाका लागि छ।"
ट्रम्पले इतिहासको आफ्नो पुरानै व्याख्या पनि दोहोर्याए। उनका अनुसार, नाजी जर्मनीले डेनमार्कमाथि कब्जा गरेपछि अमेरिकाले ग्रिनल्यान्डको सुरक्षा आफ्नो जिम्मामा लिएको थियो र पछि डेनमार्कलाई फिर्ता दिएको थियो। ट्रम्पले त्यसलाई "गल्ती" भएको बताए।
तर डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेन आफ्नो अडानबाट पछि हटिनन्। युरोपेली आयोगका प्रवक्ताले पनि दोहोर्याउँदै भने, "ग्रिनल्यान्डको भविष्यबारे निर्णय गर्ने अधिकार ग्रिनल्यान्डका बासिन्दा र डेनमार्कको हो।" उनले थपे, "भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता तथा सीमाको अक्षुण्णता अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त हुन्।"
रुट्टको आत्मसमर्पणमुखी भूमिका
नेटोका महासचिव मार्क रुट्टले शिखर सम्मेलनको अधिकांश समय ट्रम्पलाई सन्तुष्ट राख्ने र ट्रम्पको आलोचनाको निशानामा परेका सदस्य राष्ट्रहरूसँग खुला टकराव हुन नदिने प्रयासमै बिताए।
स्पेनको विषयमा रुट्टले विवादलाई मत्थर पार्ने प्रयास गर्दै स्पेनले गत वर्ष रक्षा खर्च उल्लेखनीय रूपमा बढाएको उल्लेख गरे। यद्यपि उनले "अझै समाधान गर्नुपर्ने केही विषय बाँकी छन्" पनि भने।
इरानका आणविक केन्द्रहरूमाथि ट्रम्पले गरेको अमेरिकी आक्रमणबारे भने रुट्टले स्पष्ट समर्थन जनाए। उनले ट्रम्पलाई सीधै भने कि ती आक्रमणहरू "पूर्ण रूपमा आवश्यक" थिए र "अत्यन्त शक्तिशाली प्रतिक्रिया" थिए। उनका अनुसार जब इरानले "युद्धविरामको उल्लङ्घन गरिरहेको थियो," त्यतिबेला अमेरिकाले दृढ र बलियो प्रतिक्रिया दिनु अत्यन्त आवश्यक थियो।
रुट्टले नेटो सदस्य राष्ट्रहरूले रक्षा खर्च बढाउनुमा ट्रम्पलाई व्यक्तिगत रूपमा श्रेय दिँदै भने, "नेटोका लागि तपाईंले हासिल गर्नुभएको उपलब्धि अत्यन्त महत्त्वपूर्ण छ र यो ठूलो विजय हो।"
आर्कटिक क्षेत्रमा ट्रम्पको महत्त्वाकाङ्क्षाबारे सोधिएको प्रश्नमा रुट्टले ट्रम्पको तर्कलाई समर्थन गर्दै भने, "त्यहाँ प्रभाव विस्तार गर्न प्रतिस्पर्धी शक्तिहरू सक्रिय छन् भन्ने कुरामा ट्रम्प सही छन्।" उनले यसलाई रोक्न सहयोगी राष्ट्रहरूले संयुक्त रूपमा काम गर्ने सहमति गरेको पनि बताए।
शिखर सम्मेलनपछि समाचार संस्था रोयटर्ससँग कुरा गर्दै महासचिव रुट्टले नेटोभित्र अमेरिकाको स्थायी प्रभुत्वलाई स्वीकार गर्दै भनेका छन् : "निःसन्देह, यस कोठामा एउटा मात्र प्रमुख शक्ति छ – साँचो कुरा भन्ने हो भने त्यो संयुक्त राज्य अमेरिका हो। अमेरिकाको अर्थतन्त्र मात्रै नेटोको कुल अर्थतन्त्रको आधा बराबर छ र अमेरिकी सैन्य शक्ति अतुलनीय छ। यसको शक्ति नेटोका बाँकी सबै सदस्य राष्ट्रहरूको संयुक्त सैन्य शक्तिसरह ठूलो छ।"
म्याक्रोनद्वारा ट्रम्पको आक्रामक अभिव्यक्तिको सहनशीलता र सार्वजनिक टकरावबाट बच्ने नीति
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यस शिखर सम्मेलनमा स्पेन र डेनमार्कले ट्रम्पसँग गरेको प्रत्यक्ष टकरावको तुलनामा अपेक्षाकृत संयमित सार्वजनिक भूमिका अपनाए। उनले आफ्नो ध्यान मुख्यतः इरानसँगको कूटनीतिक सम्बन्धमा केन्द्रित गरे र ट्रम्पसँग प्रत्यक्ष वाकयुद्धमा उत्रिनुको सट्टा युक्रेनलाई सहयोगसम्बन्धी प्याकेजलाई शिखर सम्मेलनको अन्तिम घोषणापत्रमा समावेश गराउन जोड दिए।
म्याक्रोनको यो दृष्टिकोणले अङ्कारामा देखिएको युरोपेली रणनीतिलाई प्रतिबिम्बित गर्यो – ट्रम्पको आक्रामक अभिव्यक्तिलाई सहने, सार्वजनिक रूपमा विवाद नबढाउने तथा छलफललाई पुनः शिखर सम्मेलनका घोषित उद्देश्यहरूतर्फ केन्द्रित गर्ने। ती उद्देश्यहरूमा ७० अर्ब युरोको युक्रेन सहायता प्याकेज, रक्षा उद्योगमा नयाँ लगानी तथा नेटोको धारा ५ (Article 5) प्रतिको पुनः पुष्टि गरिएको प्रतिबद्धता समावेश थिए।
रूसविरुद्धको वस्तुतः युद्ध घोषणा
यी सबै मतभेद र तनावका बीच पनि शिखर सम्मेलनका औपचारिक निर्णयहरू निकै महत्त्वपूर्ण रहे। सहयोगी राष्ट्रहरूले सन् २०२६ मा युक्रेनका लागि ७० अर्ब युरो (करिब ८० अर्ब अमेरिकी डलर) बराबरको सैन्य सामग्री, आर्थिक सहायता तथा सैनिक तालिम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, सन् २०२७ मा पनि यस्तै स्तरको सहयोगलाई निरन्तरता दिने वाचा गरियो।
नेटोको रक्षा उद्योग मञ्च (Defence Industry Forum) ले ५० अर्ब अमेरिकी डलरभन्दा बढीका नयाँ रक्षा खरिद सम्झौताहरू घोषणा गर्यो। साथै, सदस्य राष्ट्रहरूले गठबन्धनभर इन्धन भण्डारण तथा वितरण पूर्वाधारको आधुनिकीकरणका लागि २७ अर्ब युरो लगानी गर्ने योजना सार्वजनिक गरे।
नेटोका महासचिव मार्क रुट्टका अनुसार सन् २०२५ को हेग शिखर सम्मेलन यता युरोपेली सहयोगी राष्ट्रहरू र क्यानडाले आफ्नो मूल रक्षा खर्चमा १३९ अर्ब अमेरिकी डलरभन्दा बढी वृद्धि गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतको वृद्धि हो। यससँगै पहिलो पटक नेटोका सबै सदस्य राष्ट्रहरूले रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (GDP) को २ प्रतिशत पुर्याउने पुरानो मापदण्ड पार गरेका छन्।
ट्रम्पले युक्रेनलाई अमेरिकी प्याट्रियट (Patriot) क्षेप्यास्त्र रक्षा प्रणाली आफ्नै देशमा उत्पादन गर्न अनुमति दिइने घोषणा पनि गरे। शिखर सम्मेलनको क्रममा भएको भेटवार्तालाई दुवै पक्षले सौहार्दपूर्ण भएको बताएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस निर्णयको स्वागत गरेका थिए।
ट्रम्प : विश्वकै सबैभन्दा अप्रत्याशित राष्ट्रपति
शिखर सम्मेलनमा सहभागी हुन अङ्कारामा पुगेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त अधिराज्य (बेलायत), जर्मनी, फ्रान्स र इटालीमाथि आफूले भनेअनुसार अमेरिकाको इरानविरुद्धको युद्धमा साथ नदिएको भन्दै तीव्र आलोचना गरे। बुधबार बिहान उनले स्पेनले युद्ध प्रयासमा अवरोध सिर्जना गरेको र रक्षा खर्च पर्याप्त नबढाएको आरोप लगाउँदै स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने घोषणा गरे। तर सोही दिन साँझसम्म आइपुग्दा ट्रम्पले ती नै युरोपेली नेताहरूको रक्षा खर्च बढाएको भन्दै प्रशंसा गरे। उनले बन्द कोठामा भएको नेटो नेताहरूको बैठकलाई "प्रेम र आत्मीयताले भरिएको" बैठकको संज्ञा दिए।
पत्रकारहरूले भरिएको सभाहलमा उनले मुस्कुराउँदै भनेका थिए : "यो त निकै अनौठो र रोमाञ्चक अनुभवजस्तै भयो।"
ट्रम्पको यस्तो व्यवहार – केही घण्टाअघि कठोर आलोचना गर्ने र त्यसको केही समयपछि त्यही व्यक्तिको प्रशंसा गर्ने – उनको राजनीतिक शैलीको परिचित विशेषता बनिसकेको छ। पूर्व टेलिभिजन व्यक्तित्वसमेत रहेका ट्रम्पको यो उतारचढावपूर्ण शैलीसँग नेटोका नेताहरू अहिले लगभग अभ्यस्त भइसकेका छन्। गत वर्षको शिखर सम्मेलनमा पनि यस्तै अनुभव गरेका उनीहरूले आवश्यक परे प्रशंसामार्फत ट्रम्पको नरम पक्षलाई बाहिर ल्याउने रणनीति अपनाउँदै आएका छन्।
कूटनीतिज्ञहरूका अनुसार यस्ता प्रयासहरू ट्रान्स-अटलान्टिक गठबन्धनलाई एकताबद्ध राख्न अत्यन्त महत्त्वपूर्ण छन्। यद्यपि, ग्रिनल्यान्डको नियन्त्रणजस्ता संवेदनशील विषयहरूलाई अस्थायी रूपमा थामथुम पारिएको मात्र हो। अमेरिकासँग प्रत्यक्ष सम्बन्धित विषयहरूमा भने खासै नयाँ नीतिगत घोषणा भएनन्।
बुधबार ट्रम्प र नेटोका महासचिव मार्क रुट्टबीच भएको भेटमा रुट्टले इरानमाथिको अमेरिकी आक्रमणको प्रशंसा गरे। साथै, युरोपेली राष्ट्रहरूलाई रक्षा खर्च बढाउन दबाब दिएर ट्रम्पले नेटोलाई रूपान्तरण गरेको भन्दै उनको खुलेर प्रशंसा गरे।
उनले ट्रम्पलाई "यो उपलब्धिलाई आफ्नो सफलताका रूपमा लिनुहोस्। सफलता तपाईंको हातमा छ। तपाईंले यो सम्भव बनाउनुभयो।" भनेका छन् ।
शिखर सम्मेलनको अन्त्यसम्म आइपुग्दा ट्रम्पले पनि रुट्टको सुझावलाई आत्मसात् गरेजस्तो देखिन्थ्यो। उनले स्पष्ट रूपमा स्वीकार गरे कि युरोपेली नेताहरूले सार्वजनिक र निजी दुवै रूपमा देखाएको आत्मीय व्यवहार आफूलाई मन परेको थियो।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, "उनीहरूले मलाई भने, 'सर, हामी तपाईंलाई माया गर्छौं।' यी सबै परिपक्व मानिसहरू हुन्, जसले यस्तो कुरा भने। कत्ति राम्रो होइन र? सायद उनीहरूले मलाई प्रभाव पार्न त्यसो भनेका होलान्। र एक हिसाबले हेर्दा उनीहरू सफल पनि भए।"
गत केही महिनादेखि रिपब्लिकन राष्ट्रपति ट्रम्पले अवसर पाएजति नेटोको आलोचना गर्दै आएका थिए। उनका अनुसार नेटोले इरानविरुद्धको युद्धमा वासिङ्टनलाई अपेक्षित सहयोग गर्न चाहेन।
हालैसम्म त उनी शिखर सम्मेलनमा सहभागी हुने वा नहुने भन्ने विषय पनि अनिश्चित थियो। मंगलबार उनले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानसँगको निकट सम्बन्धका कारण मात्र आफू अङ्काराको सम्मेलनमा आएको बताएका थिए। सम्मेलन टर्कीमा नभएको भए आफू सम्भवतः नआउने पनि उनले संकेत गरेका थिए।
बुधबार बिहानको सुरुआत भने तनावपूर्ण रह्यो। ट्रम्पले स्पेनलाई "अत्यन्त खराब साझेदार" भन्दै आलोचना गरे र स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्न आदेश दिए।
उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई भने, "म स्पेनसँग कुनै सम्बन्ध राख्न चाहन्नँ। कृपया स्पेनसँगको सबै व्यापार बन्द गरिदिनुहोस्, भ्रमणसमेत बन्द गरिदिनुहोस्, ठीक छ?"
ट्रम्पले डेनमार्कअन्तर्गत रहेको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण हुनुपर्ने आफ्नो पुरानो माग पनि पुनः दोहोर्याए । यो विषयले लामो समयदेखि नेटो गठबन्धनभित्र गम्भीर तनाव उत्पन्न गर्दै आएको छ।
तर त्यसपछि बन्द कोठामा भएको बैठकमा भने ट्रम्पको शैली उल्लेखनीय रूपमा परिवर्तन भएको कूटनीतिज्ञहरूले बताएका छन्। उनीहरूले दिएको जानकारीअनुसार ट्रम्पले त्यहाँ स्पेनविरुद्धको आफ्नो धम्की दोहोर्याएनन्, न त ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो चाहनाबारे नै चर्चा गरे। त्यस बैठकमा उनी पहिलेको तुलनामा धेरै नरम र कम आक्रामक देखिएका थिए।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि विवादलाई सामान्य बनाउने प्रयास गर्दै ट्रम्पसँग आफ्नो "अत्यन्त सौहार्दपूर्ण" कुराकानी भएको बताए।
त्यही दिउँसो ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय भेटवार्ता गरे र उनको प्रशंसा पनि गरे। ट्रम्पसँगको अस्थिर सम्बन्धका कारण चिन्तित रहेको किभ नेतृत्वका लागि यो सकारात्मक सङ्केतका रूपमा हेरियो।
केही घण्टापछि शिखर सम्मेलनको समापन पत्रकार सम्मेलनमा ट्रम्प उपस्थित हुँदा नेटोका नेताहरू र कूटनीतिज्ञहरूले राहतको सास फेरे किनभने सहयोगी राष्ट्रहरूबीच कुनै नयाँ सार्वजनिक विवाद उत्पन्न भएन।
ट्रम्पले पत्रकारहरूलाई भने, "उनीहरूको हृदयमा धेरै राम्रो भावना छ, दुष्टता होइन, असल भावना छ। उनीहरूले आफ्ना देशका लागि उत्कृष्ट काम गरिरहेका छन्।"
तर अधिकांश कूटनीतिज्ञहरू यो मेलमिलाप लामो समयसम्म टिक्ने अपेक्षा गर्दैनन्। गत वर्ष हेगमा सम्पन्न नेटो शिखर सम्मेलनमा पनि ट्रम्पले गठबन्धनका नेताहरूको खुलेर प्रशंसा गरेका थिए। तर त्यसको केही सातापछि उनले अमेरिकी भूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए, जसको नेटोका सहयोगी राष्ट्रहरूले निजी रूपमा आलोचना गरेका थिए।
स्वदेश फर्किने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले स्पेनलाई "अत्यन्त उदार देश" भने र नेटोको "अद्भुत एकता" को प्रशंसा पनि गरे।
तर त्यसको केही क्षणपछि नै उनले फेरि युरोपबाट थप अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नो पुरानो चेतावनी दोहोर्याए।
मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो?
पास्ता: फासीवाद विरुद्धको एक हतियार
दक्षिण एसियामा भारतको जल रणनीतिः एक प्रभुत्ववादी दृष्टिकोण
आत्ममुग्ध महाशक्ति
आत्मदाहको शृङ्खला र राज्यको क्रूर नवउदारवादी अनुहार
२५० वर्षमा अमेरिका: विवादित विगतबाट फासीवादी भविष्यतर्फ?
नेपाल चीनको सम्बन्ध र सम्पर्क
प्रतिक्रिया