लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन

महान 'लङ मार्च' मा सहभागी देशकै अन्तिम जीवित महिला लाल सेना योद्धा वाङ क्वानयिङको बुधबार बिहान १२:३० बजे सिचुआन प्रान्तको दुज्याङयानस्थित आफ्नै घरमा शान्तिपूर्वक निधन भएको छ। उनी १०५ वर्षकी थिइन्।

विभिन्न चिनियाँ सञ्चारमाध्यमहरूले उनको निधनको पुष्टि गरेका छन्।

परिवारका अनुसार वाङको आफ्ना छोरीहरू र नातिनातिनाहरूको माझमा कुनै कष्टविना निधन भएको थियो। यसै महिनाको सुरुमा १०५ वर्ष प्रवेश गरेपछि पनि उनको  स्वास्थ्य सामान्यतया राम्रै थियो। तर, जुलाईको सुरुतिर उनको फोक्सो इन्फ्लेमेशन, मसल एट्रोफी, सास फेर्न गाह्रो हुने र कफ निकाल्न गाह्रो हुने समस्या देखिएपछि जुलाई १८ मा अस्पताल भर्ना गरिएको थियो। निधन नभएसम्म उनका शारीरिक अङ्गहरूले बिस्तारै काम गर्न छाड्दै गएका थिए।

सिचुआन प्रान्तको आबा तिब्बती र च्याङ स्वायत्त प्रिफेक्चरस्थित जिन्छुआन काउन्टीको एक गरिब तिब्बती परिवारमा सन् १९२१ मा जन्मेकी वाङको बाल्यकाल निकै कष्टकर अवस्थामा बितेको थियो। उनको जन्म चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएकै वर्ष सन् १९२१ मा भएको थियो। उनले १ वर्षको उमेरमै आमाबाबु गुमाइन र ५ वर्षको उमेरसम्म काका/मामाले हुर्काए । त्यसपछि उनले स्थानीय जमिन्दारकहाँ बालश्रमका रूपमा खेतबारी र घरको कठिन काम गर्नुपरेको थियो।

सन् १९३५ मा रेड आर्मीका सैनिकहरू जिन्छुआन आइपुगेपछि वाङ उनीहरूको अनुशासित र जनताकेन्द्रित व्यवहारबाट निकै प्रभावित भईन् । १४ वर्षको उमेरमा उनी स्वेच्छाले सेनामा भर्ना भईन् । लङ मार्चका क्रममा उनले बाटो देखाउने, खाना पकाउने, खाद्यान्न ओसारपसार गर्ने र घाइते सैनिकको हेरचाह गर्ने जस्ता बन्दोबस्ती र चिकित्सासम्बन्धी जिम्मेवारीहरू सम्हालेकी थिइन्।

मार्च १९३६ मा दानबा काउन्टीमा कुओमिन्ताङ सेनाविरुद्धको भीषण लडाइँका क्रममा वाङ मुख्य टोलीबाट विछोडिइन्। घाइते साथीहरूसँगै अलपत्र परेकी उनले नाङ्गो खुट्टाले हिउँले ढाकिएका हिमालहरू पार गर्दै र अत्यधिक जाडोमा जङ्गली वनस्पति खाएर पुनः सेनाको मुख्य टोलीमा मिसिने प्रयास गरेकी थिइन्।

त्यस कष्टकर यात्राका क्रममा वाङको देब्रे खुट्टाको एउटा औँला गम्भीर रुपमा हिउले खायो, जसका कारण पछि त्यसलाई काट्नुपर्‍यो। त्यसको असरस्वरूप उनले जीवनभरि पानी परेका दिनहरूमा दुखाइ सहनुपरेको थियो।

लगभग एक महिनाभन्दा बढी भौँतारिएपछि, वाङ मे १९३६ मा वेन्चुआन काउन्टीमा आफ्नो पहिचान लुकाएर बस्न थालिन्। दशकौँसम्म उनले लङ मार्चका आफ्ना अनुभवहरूबारे सार्वजनिक रूपमा कहिल्यै केही भनिनन्। उनले स्थानीय निवासी लिउ फुगुआङसँग विवाह गरिन् र पाँच सन्तानलाई जन्म दिइन्, यद्यपि त्यस समयको कठिन जीवनशैलीका कारण दुई छोरीहरू मात्र जीवित रहे।

जनवादी गणतन्त्र चीनको स्थापनापछि, उनले आफ्नो नाम 'गुइच्याङ' बाट बदलेर 'क्वानयिङ' राखिन्।  जसले "देशभरका सबै रेड आर्मीका सैनिकहरू नायक हुन्" भन्ने उनको विश्वासलाई व्यक्त गर्दथ्यो। १९८० को दशकमा भएको प्रान्तीय प्रमाणीकरण अभियानका क्रममा उनलाई आधिकारिक रूपमा रेड आर्मीको योद्धाका रूपमा मान्यता दिइएको थियो।

आफ्नो उत्तरार्द्ध उमेरमा पनि वाङ लङ मार्चको मर्म र भावनालाई संरक्षण एवं प्रवर्द्धन गर्न प्रतिबद्ध रहिन। यसै वर्षको मे महिनासम्म पनि उनले आफ्नै हातले बुनेका फुटोन कुसन(गुन्द्री/म्याटहरू) स्थानीय विद्यालयहरू र 'रेड एजुकेशन'  केन्द्रहरूमा दान गर्दै आएकी थिइन्।

चाइना सेन्ट्रल टेलिभिजन (CCTV) का अनुसार, केही समयअघि जनमुक्ति सेनाको एउटा टुकडीका अधिकारी तथा सैनिकहरू वाङलाई भेट्न उनलाई घर पुगेका थिए। ती १०० वर्ष नाघेकी योद्धा सैनिकहरूलाई स्वागत गर्न रेड आर्मीको पोशाक लगाएर तयार भएकी थिइन्।

वाङले एक सैनिकको टोपीलाई नियाल्दै मुस्कुराएर सोधेकी थिइन्, "के म यो टोपी लगाउन सक्छु? के यो मलाई सुहाउँछ?"

"तपाईंलाई निकै राम्रो देखिएको छ!" सैनिकहरूले जवाफ दिएका थिए।

जब उनीहरूले आफ्नो टुकडीको झण्डा फैलाए, वाङका आँखा आँसुले भरिए। उनले युद्धका ती अशान्त वर्षहरूलाई सम्झिएझैँ गर्दै बिस्तारै कपडा हातले सुम्सुमाइन । त्यसपछि उनले बिस्तारै हात उठाएर झण्डाप्रति गम्भीर सैनिक सलामी अर्पण गरिन्।

वाङकी जेठी छोरी लिउ गुइहुआले वीच्याट मोमेन्ट्समा आफ्नी आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेकी छिन्: "लङ मार्चका क्रममा हिउँले ढाकिएका हिमालहरू पार गर्ने एक वीर महिला सैनिक; जसले आफ्ना उपलब्धिहरूलाई गुप्त राखिन् र जीवनभर आफ्नो मूल संकल्पप्रति सच्चा रहिन् ।"

परिवारका अनुसार, यसै वर्षको उत्तरार्द्धमा पर्न जाने 'लङ मार्च विजयको ९० औँ वार्षिकोत्सव' हेर्न नपाई बिदा हुनु नै वाङको एक मात्र अधुरो इच्छा रह्यो। उनको अन्तिम इच्छाअनुसार, उनको पार्थिव शरीरलाई दशकौँअघि बसोबास सुरु गरिआएको वेन्चुआन काउन्टीमै अन्त्येष्टि गरिनेछ।

Source: https://www.chinadaily.com.cn