राउल क्यास्ट्रो एक नायक हुन्: वास्तविक अपराधी त अमेरिकी साम्राज्यवादीहरू हुन्
ट्रम्प प्रशासनले राउल क्यास्ट्रोलाई अपराधी देखाउन जतिसुकै हतास प्रयास गरे पनि उनी पक्कै पनि अपराधी होइनन्। उनी एक यस्ता क्रान्तिकारी हुन् जसले क्युबामा तानाशाही, वैदेशिक प्रभुत्व र पुँजीवादी शोषणका विरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरे।
उनीविरुद्ध सम्भावित अमेरिकी पक्राउ पुर्जीको नवीकरण गरिएको धम्की अरू केही नभएर एक साम्राज्यवादी अहंकारको पराकाष्ठा हो। यो त्यस्तो राज्यको अहंकार हो जसले विगत ६० वर्षभन्दा बढी समयदेखि नाकाबन्दी, तोडफोड, आर्थिक युद्ध र निरन्तरको राजनीतिक आक्रामकतामार्फत क्युबाली क्रान्तिलाई निसास्साउने प्रयास गरिरहेको छ।
वासिङ्टनको पाखण्डलाई शब्दमा बयान गर्न गाह्रो छ। त्यही संयुक्त राज्य अमेरिका, जसले आफ्नो भू-राजनीतिक स्वार्थको रक्षाका लागि देशहरूमाथि आक्रमण गर्यो, सैन्य कू (विद्रोह) हरू गरायो, प्रतिक्रियावादी शक्तिहरूलाई हतियार दियो र पूरै समाजहरू ध्वस्त पार्यो आज आफूलाई "न्याय" र "लोकतन्त्र" को रक्षकका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैछ। त्यही राजनीतिक संयन्त्र—जसले युद्धहरूमा लगानी गर्छ, सामूहिक दण्डलाई समर्थन गर्छ र विश्वभरका अपराधी शासनहरूलाई खुल्ला रूपमा साथ दिन्छ क्रान्तिकारी क्युबाको सन्दर्भमा अचानक नैतिक अधिकारको दाबी गर्छ।
संयुक्त राज्य अमेरिकाको मियामीबाट सञ्चालित हिंसात्मक 'एन्टी-क्यास्ट्रो' (क्यास्ट्रो विरोधी) चरमपन्थीहरूलाई संरक्षण दिने र वैध बनाउने लामो इतिहास पनि छ। यी त्यस्ता व्यक्ति र सञ्जाल हुन् जो क्युबाविरुद्ध दशकौंसम्म भएका तोडफोड, बम विष्फोट र आतंकवादी हमलाहरूमा संलग्न थिए। त्यही राजनीतिक संयन्त्र आज विश्वलाई "न्याय" र "लोकतन्त्र" का बारेमा उपदेश दिने प्रयास गरिरहेको छ।
राउल क्यास्ट्रो त्यो ऐतिहासिक पुस्ताका प्रतिनिधि हुन् जसले बाटिस्टा तानाशाहीलाई उखेलेर फ्याँकेका थिए । एउटा यस्तो शासन जो दमन, भ्रष्टाचार र अमेरिकी आर्थिक स्वार्थको पूर्ण अधीनमा थियो। फिडेल क्यास्ट्रो, चे ग्वेभारा र हजारौँ क्युबाली क्रान्तिकारीहरूसँग मिलेर त्यो पुस्ताले क्युबालाई अमेरिकी निगमहरू र माफिया स्वार्थहरूको खेलमैदानबाट एक स्वतन्त्र राष्ट्रमा रूपान्तरण गर्यो, जसले लाखौँ सर्वसाधारण जनताका लागि स्वास्थ्य सेवा, शिक्षा, साक्षरता र आत्मसम्मानको सुनिश्चितता गर्यो।
क्युबालाई दशकौँदेखि तारो बनाइनुको वास्तविक कारण यही हो। फिडेल क्यास्ट्रोको एउटा चर्चित भनाई थियो-
"संयुक्त राज्य अमेरिकाकै नाकैमुनि समाजवादी क्रान्ति गरेकोमा उनीहरूले हामीलाई कहिल्यै क्षमा गर्न सक्दैनन्।"
साठी वर्षभन्दा बढी समयदेखि संयुक्त राज्य अमेरिकाले क्युबाली क्रान्तिलाई हरेक सम्भावित माध्यमबाट तोड्ने प्रयास गरेको छ। आर्थिक घाँटी निमोठ्ने काम, कूटनीतिक एक्लोपन, हत्याका षड्यन्त्रहरू, अस्थिरताका अभियानहरू र अनन्त प्रतिबन्धहरू यी सबैको उद्देश्य क्युबालाई पुनः परनिर्भरता र दासतामा फर्काउनु थियो। तैपनि क्युबा अडिग रह्यो। ठूला कठिनाइहरूका बाबजुद, समाजवादी क्युबाले यस्ता सामाजिक उपलब्धिहरू हासिल गर्यो जुन धनी पुँजीवादी देशहरूका ठूलो जनसङ्ख्याका लागि अझै पनि पहुँच बाहिर छन्।
डोनाल्ड ट्रम्प र उनी वरपरका बढ्दो प्रतिक्रियावादी शक्तिहरू समकालीन अमेरिकी साम्राज्यवादको सबैभन्दा आक्रामक अनुहार हुन्। क्युबाप्रति उनीहरूको आशक्तिको "मानव अधिकार" सँग कुनै सम्बन्ध छैन। क्युबा अझै पनि तारो बनिरहेको छ किनभने यसले अवज्ञाको एक ऐतिहासिक साहसलाई प्रतिनिधित्व गर्दछ । एउटा सानो देश जसले संयुक्त राज्य अमेरिकाको शक्तिको प्रतिरोध गर्यो र जीवित रह्यो। त्यो यथार्थले वासिङ्टनका साम्राज्यवादी संयन्त्रलाई अझै पनि क्रोधित बनाउँछ।
त्यसैले, राउल क्यास्ट्रो विरुद्धको यो अभियान एउटा व्यक्तिका विरुद्ध मात्र लक्षित छैन। यो क्युबाली क्रान्तिको समग्र ऐतिहासिक वैधतामाथिको प्रहार हो। यसले साम्राज्यवाद विरोधी सङ्घर्षलाई नै अपराधीकरण गर्न खोज्छ भने अर्कोतर्फ ल्याटिन अमेरिका र बाँकी विश्वमा संयुक्त राज्य अमेरिकाले गरेको हिंसा, हस्तक्षेप र प्रभुत्वको लामो रेकर्डलाई मेटाउन खोज्छ।
तर त्यहाँ एउटा यस्तो ऐतिहासिक स्मृति छ जसलाई साम्राज्यवादले सजिलै मेटाउन सक्दैन।
विश्वभरका लाखौँ मानिसहरू अझै पनि क्युबाली क्रान्तिलाई सार्वभौमसत्ता, प्रतिरोध र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको प्रतीकको रूपमा हेर्छन्। क्युबाको बाटोका बारेमा जस्तोसुकै बहसहरू भए तापनि एउटा तथ्य निर्विवाद छ: यो क्रान्तिले विदेशी प्रभुत्वको साङ्लो तोड्यो र यो प्रमाणित गरिदियो कि एउटा सानो राष्ट्रले पनि आत्मसमर्पण नगरी साम्राज्यवादी शक्ति विरुद्ध उभिन सक्छ।
जे सुकै भए पनि, राउल क्यास्ट्रो त्यो गौरवशाली इतिहासको हिस्सा रहिरहनेछन्। अर्कोतर्फ, प्रतिबन्ध, आक्रामकता र साम्राज्यवादी प्रभुत्वका योजनाकारहरू साम्राज्यवाद, दमन र हिंसाको लामो ऐतिहासिक रेकर्डको हिस्सा मात्र रहनेछन् ।
स्रोत: https://www.idcommunism.com
ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
कम्पनीको नुन
ज्ञान र कौशलको पुस्तान्तरण
लोकतन्त्र, असन्तोष र एन्टी-एस्टाब्लिसमेन्ट राजनीति
सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
भारतमा वाम युगको अन्त्य
फुर्सदको समय
प्रतिक्रिया