बुढ्यौलीबाट युवावस्थातिर फर्कन सक्ने विचित्रको जेलिफिस

यस संसारमा अचम्म र विचित्रका प्राणीहरु पाइन्छन् । त्यस्तै एउटा अत्यन्तै अचम्म र विचित्र प्राणी हो– ट्युर्रिटोप्सिस डोहर्नी (Turritopsis dohrnii) । यो जेलिफिसको एउटा प्रजाति हो । हेर्दा अत्यन्तै आकर्षक देखिने यो जेलिफिसलाई यसको अचम्म र उदेकलाग्दो जीवनचक्रका कारण अमर जेलिफिस पनि भन्ने गरिन्छ ।

यो जेलिफिसको विचित्रको विशेषता भनेकै यो यौनपरिपक्वता (मेड्युसा)को अवस्थामा पुगेपछि पुनः पुरानो जीवन चरण (पोलिप)मा फर्कन सक्छ । सामान्यतः जीवको जीवनचक्रमा बृद्धावस्थाबाट युवा वा किशोरावस्थामा फर्कनु असम्भव जस्तै कुरा हो । तर यो जीव चाहिँ मज्जाले फर्कन सक्छ । त्यसैले सैद्धान्तिक रुपमा यसलाई कहिल्यै नमर्ने अमर प्राणीको संज्ञा दिने गरिन्छ ।

जीवनचक्र

संसारभरिको समशीतोष्णदेखि उष्णकटिबन्धीय पानीमा पाइने यस जेलीफिसको जीवनचक्रलाई सामान्यतः दुई चरणमा विभाजित गर्न सकिन्छः

मेडुसा (Medusa): यस चरणमा यो स्वतन्त्र रुपमा पानीमा तैरिइरहेको हुन्छ । घण्टी आकारको स्वरुपमा देखिइने यसलार्य धेरैजसो मानिसले जेलिफिसको रुपमा चिन्दछन् । ट्युर्रिटोप्सिस डोहर्नी आकारमा तुलनात्मक रुपमा साना खालका जेलिफिस हुन् । यसको व्यास समान्यतः ४.५ मिलिमिटर हुन्छ ।

पोलिप (Polyp): जेलिफिसको जीवनचक्रको दोस्रो चरणलाई पोलिप भनिन्छ । यस चरणमा यो समुद्रको फेदमा जोडिएर बस्ने गर्छ ।

अमरताको प्रक्रिया

सबैभन्दा अद्भूत कुरा चाहिँ यसको ‘अमरता’लाई झल्काउने प्रक्रिया हो । जब ट्युर्रिटोप्सिस डोहर्नीले तनाव, भोकमरी वा चोटको अनुभव गर्दछ, यसको शरीर पोलिप चरणमा फर्कन सक्छ । यस प्रक्रियालाई ट्रान्सडिफरेन्टिएसन भनिन्छ । यस प्रक्रियाले यस जेलिफिसलाई आफ्नो जीवनचक्र ‘रिसेट’ गर्न र सम्भावित रुपमा जीवनचक्रको शुरु वा अघिल्लो चरणमा फर्कन सम्भव तुल्याइदिन्छ ।

त्यसो त यस जेलिफिसको पोलिप चरणमा फर्कन सक्ने क्षमता अद्भूत र विचित्रकै छ , तर यसैको आधारमा यो वास्तवमै अमर छ वा परम्परागत मान्यता अनुसार कहिल्यै मदैन भनेर ठान्नु चाहिँ भूल हुनेछ । अरु जीवित जीवजन्तुहरु जस्तै यो जेलिफिस पनि यसलाई भोजन बनाउने अन्य शिकारी प्राणी, रोगव्याधि तथा वातावरणीय परिवर्तनले पार्ने असरहरुका कारण मर्न वा मासिन सक्छ । अधिकांश ट्युर्रिटोप्सिस डोहर्नी जेलिफिस आफ्नो जीवनकाल पूरा हुन नपाउँदै शिकारी, रोगव्याधि वा वातावरणीय प्रतिकूलताका कारण मर्ने गर्छन् ।

वैज्ञानिकहरुको चासो

आफूलाई पुरानो अवस्थामा फर्काउन सक्ने ट्युर्रिटोप्सिस डोहर्नीको अद्भूत क्षमताले वैज्ञानिकहरुलाई निक्कै रोमाञ्चित तुल्याउने गरेको छ । यही कारण यो जीव वैज्ञानिक चासो र अध्ययनको विषय समेत बन्ने गरेको छ । पुराना कोषहरुलाई पुनर्नवीकरण गर्ने यस जीवको क्षमतालाई बुझ्न सकियो भने त्यसले कोषहरुको पुनर्निमाण तथा बुढ्यौलीलाई रोक्ने वा सुस्त तुल्याउने दिशामा नयाँ बाटो पत्ता लाग्न सक्छ ।

Image source: https://static27.tgcnt.ru