संसारको पहिलो ‘बर्थ सर्टिफिकेट’

दक्षिणी इराकमा भेटिएको करिब ४००० वर्ष पुरानो माटोको ट्याब्लेटलाई संसारको पहिलो बर्थ सर्टिफिकेट मानिन्छ। सुमेरियन सभ्यताको समयमा सो माटोको ट्याब्लेट  (२०००-१५९५ ईसा पूर्व) लेखिएको थियो। यो ट्याब्लेटमा नवजात शिशुको बारेमा सबै जानकारीहरु समावेश गरिएको थियो।। जसमा शिशुको लिङ्ग, बाबु आमाको नाम र उसको पैतालाको छाप समेत संलग्न छ।

संसारकै सबैभन्दा पुरानो जन्म सम्बन्धी दस्तावेज मानिने यो सामग्री अहिले पनि अमेरिकाको पेन्सलभेनिया म्युजियममा प्रदर्शित छ।

सुमेरियन सभ्यता अत्यन्त विकसित सभ्यता थियो। सुमेरियनहरुले धेरै चिजहरुको आविष्कार गरेका थिए । उनीहरुले त्यसमा सुधार गरेका थिए र दैनिक जीवन व्यापक मात्रामा प्रयोग गर्ने गर्थे। जस्तै चक्का, क्युनिफर्म लिपि, अंकगणित, ज्यामिती, सिचाई, रथ गाडी, आरा र अन्य औजारहरु अनि बियर सुमेरियन सभ्यताकै देन मानिन्छ।

भनिन्छ सुमेरियनहरु दिलमुन भन्ने पुरानो सभ्यताबाट आएका थिए। त्यो सभ्यता अरबियन खाडीमा कतै अवस्थित थियो। यो सभ्यता एउटा ठूलो बाढीको कारण अन्त्य भयो। त्यसमा परेर अधिकांश मानिसको मृत्यु भयो। जो जति बाँचे उनीहरु दक्षिण मेसोपोटेमियामा बसाई सरे र त्यहाँ उनीहरुले सुमेर सभ्यताको स्थापना गरेको मानिन्छ। त्यो विनाशकारी बाढीको बारेमा पहिलो पटक सुमेरियनहरुले नै लेखेका थिए।