प्राणीहरुको विचित्र संसार

प्राणीहरुमा विचित्रका क्षमता हुन्छन् ।  यहाँ त्यस्ता केही जानकारी पस्केका छौं ।

चील र बाज

बज्जार्ड (Buzzard) नाम गरेको चीलको आँखाको प्रत्येक  एक मिलिमिटर बराबरको क्षेत्रमा १० लाख बराबर फोटो रिसेप्टरहरु (आँखालाई देख्न सक्ने बनाउने ग्रन्थीहरु) हुन्छन् ।

• यस चील ले आकाशको १५००० फिटमाथिबाटै जमीनमा रहेको एउटा सानो मुसालाई समेत देख्न सक्छ ।

• चील (Eagle) का आँखाको लम्बाइ ३५ मिलिमिटर हुन्छ । मानिसको आँखाको लम्बाइ भने २४ मिलिमिटर हुन्छ । मानिसको तुलनामा चीलको देख्ने क्षमता २ देखि ३.६ गुना बढी हुन्छ ।

• बाज (Falcon) ले १० से.मी. बस्तुलाई १.५ किलोमिटर परबाटै देख्न सक्छ ।

• मानिसको तुलनामा बाजको देख्ने क्षमता २.६ गुना तेजिलो हुन्छ । यसले १०० माइल प्रतिघण्टाको गतिमा उड्दा पनि बस्तुहरुलाई सफा र प्रष्टसँग देख्न सक्छ ।

• बुटियो (Hawk Buteo) नाम गरेको बाज चराको देख्ने क्षमता अति तेजिलो हुन्छ । यसको आँखामा पनि एक वर्ग मिलिमिटर बराबर १ मिलियन फोटोरिसेप्टरहरु हुन्छन् ।

सर्प

• पिट भाइपर नाम गरेको सर्पको आँखा र नाकको बीचमा आधासेन्टिमिटर गहिरो तापक्रम थाहा पाउने अंग हुन्छ । यो अंगमा ७००० वटा स्नायु नशाहरु जोडिएका झिल्ली हुन्छन् । त्यो झिल्लीको मद्दतले यो सर्पले वातावरणको तापक्रममा हुने सानोभन्दा सानो परिवर्तन समेत थाहा पाउने गर्छ । कतिसम्म भने यसले तापक्रममा हुने ०.००२ देखि ०.००३ डिग्रीसेन्टिग्रेडसम्मको परिवर्तनलाई पनि थाहा पाइहाल्छ ।

र्‍याटल स्नेक नाम गरेको सर्पले वातावरणको तापक्रमभन्दा १० डिग्रीसेन्टिग्रेडसम्म बढी तापक्रम भएको मुसालाई ४० सेन्टिमिटर परबाटै थाहा पाउन सक्छ ।

• सर्पको जिब्रोमा स्वाद थाहा पाउने ग्रन्थीहरु हुँदैनन । यसको जिब्रो प्रयोग शिकारको गन्ध र स्वादलाई मुखसम्म ल्याउनको लागि प्रयोग हुने गर्छ । मुखको माथिल्लो भागमा हुने ज्याकबसन अर्गानको मद्दतले सर्पले गन्ध र स्वाद थाहा पाउने गर्छ ।

• सर्पको बाहिरी कान हुँदैन त्यसैले त्यसले सपेराले बजाएको बीन बाजाको संगीत पनि सुन्न सक्दैन । वास्तवमा सर्पले सपेराले बजाएको गीत हैन, त्यसको हातको हल्लाइको आधारमा आफँलाई यताउता चलाइरहेको हुन्छ । सर्पले आवाजको कम्पनलाई हड्डी हुँदै टाउकोको मध्यमा रहेको कानमा पुगेर मात्रै सुन्न सक्छ ।

• मानिस तथा अरु प्राणीहरुमा भएजस्तो सर्पमा चलाउन मिल्ने गरी आँखा छोप्ने ढकनी हुँदैन । त्यसको बदलामा सर्पको आँखालाई पारदर्शी झिल्लीले ढाकेर रक्षा गरिरहेको हुन्छ ।

मोथ

• नक्टुइड मोथको सुन्ने क्षमता अति विचित्रको हुन्छ । यसले १००० हर्जदेखि २ लाख ४० हजार हर्जसम्मको आवाज सुन्न सक्छ ।

• एम्परर मोथले पोथी मोथको गन्ध (pheromones)  ५ किलोमिटर परबाटै थाहा पाउन सक्छ ।

• सिल्कवर्म मोथले त अझ ११ किलोमिटर परबाट त्यस्तो गन्ध थाहा पाउन सक्छ । यसको गन्ध थाहा पाउने क्षमता कति अद्भँत हुन्छ भने हावाको १००००००००००००००००० अणुबराबर पोथी मोथको रसायनको गन्ध १ अणुमात्रै छ भने पनि थाहा पाउँछ ।