निर्णय सही कि गलत– मदिराले मातिएर जाँच्ने प्रचलन !

सामान्यतः के मानिन्छ भने रक्सीको मात लागेपछि मानिसले आफ्नो होशहवास, बुद्धि गुमाउँछ, उसको निर्णय क्षमता हराएर जान्छ । उसले सही निर्णय गर्न सक्दैन । तर सुन्दा पनि अचम्म लाग्न सक्छ– यस संसारमा कुनै बेला यस्तो पनि चलन थियो, जुन बेला कुनै पनि निर्णय सही वा गलत छ भन्ने कुराको छिनोफानो गर्न रक्सीको मातलाई नै आधार बनाइने गरिन्थ्यो ।

हो, यो प्राचीन पर्सियन साम्राज्यको बेलाको कुरा हो । त्यसबेला कुनै पनि महत्वपूर्ण कुराको बारमो निर्णय लिने तरिका निक्कै उदेक लाग्दो हुन्थ्यो । इतिहासका पिता मानिने ग्रीक इतिहासकार हेरोडोटसले त्यसबारे निक्कै गज्जबको प्रसङ्ग उल्लेख गरेको पाइन्छ । तत्कालीन पर्सियन साम्राज्य (हालको टर्की) अन्तर्गत पर्ने ग्रीक शहर हेलिकामास्सुसमा जन्मेका हेरोडोटसका अनुसार त्यसबेला कुनै पनि कुराबारे सामुहिक भेलाले निर्णय लिने गर्थ्यो । त्यस दौरानमा पहिले निर्णय लिइन्थ्यो र लिइएको निर्णय सही छ छैन भनेर जाँच्नका लागि त्यहाँ भेला भएका सबै जनाले टन्न मदिरा पिउने गर्थे । त्यसरी मदिरा पिइसकेपछि त्यहाँ अघि लिइएका निर्णय सही छ कि छैन भनेर छलफल गरिइन्थ्यो । उपस्थित बहुमतले त्यो निर्णयलाई सही ठहर्‍यायो भने त्यसलाई मान्य ठानिन्थ्यो । त्यसपछि मात्र त्यस्ता निर्णयहरुलाई कार्यान्वयनमा ल्याइन्थ्यो ।

कदाचित मदिराको मदले लठ्ठ भइएकाहरुको बहुमतले सामान्य अवस्था छँदा लिइएको निर्णयलाई गलत वा अमान्य ठहरायो भने चाहिँ त्यस्ता निर्णयहरु खारेज गरिइन्थ्यो, कार्यान्वयनमा ल्याइँदैनथियो ।