पृथ्वी ध्वंशको दिशातिर: मानव अस्तित्वमाथि मडारिएको खतराको घण्टी
ग्रहको अस्तित्व बचाउन अब तत्काल ठोस कदमको आवश्यकता
हामीले आज जुन पृथ्वीमा श्वास फेरिरहेका छौं, त्यो कुनै असीमित स्रोतहरूको अनन्त भण्डार होइन । यो एक सीमित, सन्तुलित र अत्यन्तै संवेदनशील जीवमण्डल हो र हामी त्यसमा निर्भर छौं। पछिल्लो समय प्रख्यात वैज्ञानिक संस्था पोट्सडम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चद्वारा सार्वजनिक गरिएको सन २०२६ को 'प्लानेटेरियन हेल्थ चेक' (Planetary Health Check 2026) नामक विस्तृत वैज्ञानिक प्रतिवेदनले सम्पूर्ण मानवजातिको होश उडाउने खालको भयानक र गम्भीर चेतावनी दिएको छ। विश्वभरका ६० भन्दा बढी ख्यातिप्राप्त अनुसन्धानकर्ताहरूको लामो र कठोर मिहिनेतपछि तयार पारिएको यो रिपोर्टले स्पष्ट शब्दमा मानिसले आफ्ना अनियन्त्रित गतिविधिहरू, अन्धधुन्द औद्योगिकीकरण र प्राकृतिक स्रोतहरूको दोहनमार्फत पृथ्वीलाई जीवित रहने सहनशीलताको सीमाभन्दा धेरै टाढा धकेलिसकेको औंल्याएको छ। यसले पृथ्वीलाई मानव बासयोग्य बनाइराख्ने सम्पूर्ण प्राकृतिक प्रणालीलाई नै गम्भीर धरापमा पारेको छ।
वैज्ञानिकहरूले पृथ्वीको स्थिरता र सहनशीलता कायम राख्नका लागि नौवटा मुख्य पारिस्थितिक सीमाहरू वा सुरक्षात्मक घेराहरू (Planetary Boundaries) परिभाषित गरेका छन्। ती वैज्ञानिक घेराहरूले यो निश्चित गर्छन् कि पृथ्वीको जलवायु, जैविक विविधता र प्राकृतिक चक्र कतिसम्म सुरक्षित दायरामा रहन सक्छन्। तर अत्यन्तै दुःख र चिन्ताको विषय– ती नौवटा महत्वपूर्ण वैज्ञानिक सीमाहरूमध्ये अब सातवटा सीमाहरू पार भइसकेका छन् वा भनौं खतराको रातो घेराभन्दा माथि पुगिसकेका छन्। यसअघि नै जलवायु परिवर्तन, जैविक विविधताको क्षति, भूमि प्रणालीमा आएको अस्वस्थ परिवर्तन, पानीको उपलब्धता र गुणमाथिको अत्यधिक दवाब, रासायनिक तथा जैविक प्रवाहहरूको असन्तुलन, र प्लास्टिक तथा नयाँ कृत्रिम रसायनहरू जस्ता समस्याजन्य कुराहरूको अत्यधिक फैलावटले सुरक्षित सीमा नाघिसकेका थिए।
यसैबीच, हालैको यस नयाँ प्रतिवेदनले अर्को एउटा अत्यन्तै डरलाग्दो तथ्य उजागर गरेको छ– महासागरहरूको अम्लीकरण (Ocean Acidification) प्रक्रियाले पनि आधिकारिक रूपमा खतराको सुरक्षित क्षेत्र पार गरिसकेको छ। यसको सीधा अर्थ के हो भने, अब पृथ्वीका ९ वटा जीवनरक्षक आधारहरूमध्ये केवल दुईवटा मात्र– अर्थात् समतापमण्डलीय ओजोन (Stratospheric Ozone) तह र क्षेत्रीय एरोसोल भार (Regional Aerosol Loading)– आफ्नो सुरक्षित र स्थिर अवस्थामा कायम रहेका छन्, जबकि बाँकी सबै सातवटा आधारहरू गम्भीर जोखिमको भुमरीमा फुलिसकेका छन्। वैज्ञानिकहरूको यो निष्कर्षले स्पष्ट पारिदिएको छ कि हाम्रो ग्रहको प्राकृतिक सुरक्षात्मक ढाल र सन्तुलन कायम राख्ने प्रणालीहरू दिनप्रतिदिन कमजोर हुँदै गइरहेका छन्। अब हामीसँग कुनै पनि प्रकारको ठूलो र अपरिवर्तनीय विनाशलाई रोक्नका लागि अति नै सीमित समय र गल्ती गर्ने छुट बचेको छ।
यो गम्भीर संकट कुनै एक वा दुई स्थानमा देखिएका छिटपुट वातावरणीय समस्याहरूको योगफल मात्र होइन । यो सिंगो पृथ्वीलाई एक आपसमा जोड्ने जटिल र जीवन्त प्रणालीको विफलताको घण्टी हो। आज हामी जताततै यसका प्रत्यक्ष दुष्परिणामहरू भोगिरहेका छौं। अप्रत्याशित रुपमा र यसअघि कहिल्यै नभएका ढङ्गले तातिरहेका महासागरहरू, संसारभरि सल्किरहेका भयानक र अनियन्त्रित डढेलोहरू, बारम्बार आइपर्ने लामो खडेरीहरू र अप्रत्याशित मौसमी विपत्तिहरू यी भङ्ग भएका सीमाहरूका जीवन्त र डरलाग्दा लक्षणहरू हुन्। वैज्ञानिकहरूले दशकौंदेखि हामीले कार्बन उत्सर्जन कम गर्नका लागि पृथ्वीका आफ्नै प्राकृतिक भण्डारहरू जस्तै घना जग्ङ्गलहरू, माटोको उर्वराशक्ति र विशाल महासागरहरू माथि अत्यधिक भरोसा गर्दै आएका कुराको खतराबारे चेतावनी दिँदै आएका छन् । तर आज यी प्राकृतिक कार्बन सिंकहरू (Carbon Sinks) स्वयं नै मानवजन्य अत्यधिक दबाब र जलवायु परिवर्तनका कारण आफ्नो सोस्ने र सन्तुलन गर्ने क्षमता गुमाउँदै गएका छन्। यो खतरनाक जुवा जस्तै जसमा हामी आफ्नो भविष्य दाउमा लगाइरहेका छौं।
यो कहालीलाग्दो अवस्थाबाट बाहिर निस्कन र पृथ्वीको बिग्रँदो स्वास्थ्यलाई फर्काउन अब विश्वका राजनीतिक नेतृत्वकर्ताहरू, उद्योगीहरू, वैज्ञानिकहरू र आम नागरिकहरूले कुनै पनि ढिलाइ नगरिकन एकजुट भएर निर्णायक कदम चाल्नुपर्ने बेला आएको छ। पहिलो र सबैभन्दा महत्वपूर्ण काम भनेको जीवाश्म इन्धन (Fossil Fuels) को प्रयोगलाई पूर्ण रूपमा त्याग्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा अभूतपूर्व फड्को मार्नु हो। दोस्रोमा, हाम्रो परम्परागत र माटोमारा औद्योगिक कृषिपद्धतिमा आमूल परिवर्तन गरी दिगो तथा प्राकृतिकमैत्री कृषि प्रणालीको विकास गर्नुपर्छ। तेस्रोमा, दिनहुँ वातावरणमा मिसिइरहेका विषालु प्लास्टिक र रासायनिक प्रदूषणलाई कडा कानुनी दायरामा ल्याएर पूर्ण रूपमा नियन्त्रण गर्नु अनिवार्य भइसकेको छ। विज्ञानले हामीलाई स्पष्ट बाटो देखाइसकेको छ, समाधानका उपायहरू पनि हामीसँगै उपलब्ध छन्, तर सबैभन्दा गम्भीर कुरा– अब बुद्धिविलास वा तर्कवितर्कमा अल्झिएर ठोस कदम चाल्न ढिलाइ गर्ने समय अब हामीसँग छैन। पृथ्वीको रक्षा गर्न आजै र अहिल्यैबाट कार्य गर्ने बेला आएको छ।
अत्यधिक थकान लाग्छ ? सम्झन गाह्रो पर्छ ? यस्तो हुन सक्छ कारण !
मानव स्वास्थ्य र प्रकृतिको अनौठो अचम्मको साइनो
जलवायु परिवर्तन: सुक्खा क्षेत्र फैलिँदै, पृथ्वीको ४० प्रतिशत भूभाग प्रभावित हुन…
ओरिगेनो: एक शक्तिशाली जडिबुटी
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
प्रतिक्रिया