अनिकालको ढुङ्गो

केही साल पहिले युरोपमा निक्कै गम्भीर खडेरी परेको थियो। युरोपेली देश चेक गणतन्त्रको एल्बे नदी लगभग पुरै सुकेको थियो। नदी सुकेपछि त्यसको पिँधमा रहेको एउटा ठुलो ढुङ्गा देखा पर्‍यो। सो ढुङ्गामा जर्मन भाषामा केही वाक्यहरु कुँदिएको थियो। त्यसमा लेखिएको थियो- Wenn du mich siehst, dann weine (यदि तिमीले मलाई देख्यौ भने रोउ !)

यो ढुङ्गा अनिकालको ढुङ्गा भनेर कुख्यात थियो। यो ढुङ्गामा खडेरी परेका अनेकौं सालका मितिहरु कोरिएका थिए। सबै भन्दा पुरानो तर प्रष्ट बुझिने मिति थियो सन १६१६। तर चेक पुरातत्ववेत्ताहरुका अनुसार त्यो अनिकालको ढुङ्गामा पन्ध्रौं शताब्दीदेखिका १२ वटा वर्षका मितिहरु लेखिएका छन्। विगतमा जति बेला यस्तो चर्को खडेरी पर्थ्यो र यो ढुङ्गा देखा पर्थ्यो, त्यस्को अर्थ हुन्थ्यो– त्यो ठाउँमा अनिकाल र मृत्युको बबण्डर। खडेरीले बालिनाली लगाउन सम्भव हुँदैन थियो र लगाएका खेती पनि सुकेर बर्बाद हुन्थ्यो। परिणामस्वरुप ठुलो अनिकाल सुरु हुन्थ्यो।

त्यही भएर यी पत्थरहरुलाई अनिकालको ढुङ्गा भनिन्थ्यो। ती मानिस जसले यो दुर्दशा भोगे, उनीहरुले आउने पुस्ताका चेतावनी स्वरुप यी वाक्यहरु लेखेर छोडेका हुन्। अनिकालको ढुंगामा सबै निराशा चेतावनीका वाक्यहरु मात्र छैनन्। त्यसमा आशावादिताको सन्देश पनि पाइन्छ। अनिकालको ढुंगामा एक ठाउँमा लेखिएको छ- जीवन फेरि मौलाएर आउनेछ, जब यो ढुङ्गा हराउनेछ!

अहिले नेपालमा यस्तै चर्को खडेरी परेको छ। देशको अधिकांश भागहरुमा वन-जङ्गलमा डढेलो सल्केका छन्। पानीका मुहानहरु सुकेका छन्। देशमा चारैतिर अनिकालका ढुङ्गाहरु देखिँदैछ। तर यहाँको अनिकालको ढुंगामा आशावादी कुनै सन्देश देखिएको छैन ! 

प्रस्तुति: केदार सिटौला