‘अप्रिल फुल’ दिवस मनाउन कसरी  शुरु भयो ?

प्रत्येक वर्ष अप्रिल महिनाको पहिलो तारिख ‘अप्रिल फुल दिवस’ (April Fool' day) मनाइन्छ । यो दिवस संसारभरि नै विभिन्न रुप र तौरतरिकाले मनाइन्छ । तर मनाउने तौर तरिका फरक भए पनि त्यस दिन एकले अर्कालाई छकाउने, मुर्ख बनाउने काम गरिन्छ । त्यस कारण यस दिनलाई ‘मुर्खहरुको दिन’ पनि भन्ने गरिन्छ ।

तर के तपाईलाई थाहा छ–‘अप्रिल फुल’ दिवस किन र कसरी शुरु भयो भन्ने कुरा ?

वास्तवमा, यो दिवस किन र कसरी मनाउन थालियो भन्नेबारे कुनै आधिकारिक तथ्य प्रमाण छैन । यसबारे धेरै किसिमका व्याख्या गरिएका छन् । तर पनि सामान्य के विश्वास गरिन्छ भने, ‘अप्रिल फुल’ दिवस मनाउने प्रचलन मूलत:  फ्रान्सबाटै शुरु भएको हो ।

भनिन्छ, पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । धेरै जनताले राजाज्ञालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी ‘पाइसन डी एविल’  poisson d'avril" (April fools) अर्थात् मुर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मुर्खहरुको दिन’ भनी नामाकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरुलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरु पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मुर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मुर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भन्ने विश्वास गरिन्छ ।

अर्को एक मान्यताले चाहिँ अप्रिल फूल दिवसलाई २५ मार्चको आसपास मनाइने रोमन पर्व हिलारियासँग जोड्छन् । त्यस पर्वमा पनि मनोरञ्जन गर्ने, हास्यव्यंग्य गर्ने कामहरु हुने गर्थ्यो । त्यस आधारमा के विश्वास गरिन्छ भने त्यही पर्वबाट अप्रिल फूल दिवसको शुरुवात भएको हुन सक्छ ।

अर्को मान्यताअनुसार १५८२ मा जुलियन क्यालेन्डरलाई ग्रेगोरियन क्यालेन्डरले विस्थापित गरेको अवसरलाई पनि यस पर्वसँग जोडेर हेर्ने गर्छन् । जुलियन क्यालेण्डरमा नयाँ वर्षको शुरुवात १ अप्रिलबाट हुने गर्थ्यो । त्यस तारिखमा नयाँ वर्ष मनाउने पुरानो परम्परा थियो । त्यही आधारमा ग्रेगोरियन क्यालेण्डर स्थापित भएपछि १ अप्रिललाई हास्यव्यंग्यको पर्वको रुपमा मनाइएको हुन सक्ने तर्क दिइन्छ ।

 यसरी अप्रिल फूलका बारेमा भिन्न भिन्न ऐतिहासिक सन्दर्भ जोडिएको पाइन्छ । यस अर्थमा यसै कारणले अप्रिल फुल मनाउन थालियो भनेर तोक्न गाह्रो छ  ।

जे भए पनि अप्रिल फुल एउटा रमाइलो पर्वको रुपमा विश्वभरि नै मनाइन्छ । यस दिन एक अर्कालाई झुक्याए, मुर्ख बनाएर रमाइलो गर्ने चलन अझै बाँकी नै छ ।