पश्चिमाको आँखा लाग्दा खोसिएको लिबियाली जनताको खुसी

कुनै समय आर्थिक रूपमा उत्तर अफ्रिकाको सर्वाधिक सम्पन्न देशमध्ये एक थियो - लिबिया। सो मुलुक यतिखेर अस्थिरता र समस्याको केन्द्र बनेको छ।

लिबिया त्यो राष्ट्र हो - जसको सम्पन्नता र प्रगतिमा पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को आँखा लाग्दा बर्बाद भयो। कथित ‘अरब स्प्रिङ’को यो शिकार बनेपछि सम्पन्नता र सुविधाको स्वर्ग एकाएक नर्क बनेको हो।

कस्तो थियो लिबिया ?

जनवरी २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल-अबिदिन बेन अली देशबाट भागेको खबर थाहा पाएको दिनदेखि लिबियामा दंगा शुरू भयो। पहिलो प्रदर्शन लिबियाका बेनगाजी, डेर्ना र अल-बायदा शहरमा भएको थियो।

आवास निर्माणमा अत्यधिक लामो समय लगाइँदा असन्तुष्टि बढेको थियो। त्यसैले प्रदर्शनकारीहरूले अधुरा घरहरू कब्जा गर्न थाले, ठेकेदारको कार्यालय र नगरपालिकामा आक्रमण गर्न थाले।

विरोध शुरू भएको तुरुन्तै तत्कालीन नेता मुअम्मर गद्दाफीले र्‍यालीहरूको निन्दा गरे। तर, साथसाथै आवासको निर्माणमा ढिलाइ भएको र दोषीहरूलाई सजाय दिने वाचा गरे।

सन्‌ २०११ जनवरी २७ मा रोयटर्सले रिपोर्ट गर्‍यो कि लिबिया सरकारले ‘जनसङ्ख्याका लागि आवास उपलब्ध गराउन २४ अर्ब डलरको कोष स्थापना गरेको’ थियो।

पाकिस्तानी मूलका प्रख्यात बेलायती प्रचारक तारिक अलीले द गार्डियनका लागि आफ्नो लेख ‘द ओरिजिन अफ द लिबिया विद्रोह’ मा उल्लेख गरे अनुसार ‘लिबियाको विद्रोहको कारण गरिबी वा भ्रष्टाचार वा आर्थिक र सामाजिक होइन अन्य कुनै विषय यसमा प्रमुख छ।’

वास्तवमा त्यसबेला लिबियामा कुनै गम्भीर सामाजिक-आर्थिक समस्याहरू थिएनन्। यद्यपि त्यहाँ आवास निर्माणका लागि लामो समय लाग्ने लगायतका कठिनाइहरू थिए। आवास खरिदको दुई तिहाइ लागत राज्यले ब्यहोरेको थियो। केवल एक तिहाइ खर्चमात्र अपार्टमेन्ट खरिदकर्ताहरूले तिर्नुपर्थ्यो।

सन् २०१० मा सार्वजनिक एक तथ्यांकअनुसार लिबियाको कूल गार्हस्थ उत्पादन (जीडीपी) २.५ प्रतिशतले बढेको थियो। अर्थतन्त्रले दिगो आर्थिक र सामाजिक विकासमा अघि बढिरहेको देखाएको थियो।

त्यसबेला रसिया, बुल्गेरिया र सर्बियालाई पछि पार्दै लिबिया संयुक्त राष्ट्र मानव विकास सूचकांकमा ५३ औँ स्थानमा थियो। सरदर आयु ७४ वर्ष थियो। चिकित्सा र शिक्षा निःशुल्क थियो। बेरोजगारीका समस्याहरू थिए, तर यो घट्दै गइरहेको थियो । २००५ मा २८ प्रतिशतबाट २००९ मा १९ प्रतिशतमा बेरोजगारी घटेको थियो।

यसरी भत्काइयो समृद्ध देश

यद्यपि फेब्रुअरी १७, २०११ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गर्‍यो - जसले लिबियामाथि नोफ्लाई जोन (उडान प्रतिबन्ध) लगायो। अनि ‘नागरिकहरूको सुरक्षा’ गर्न बल प्रयोग गर्ने अधिकार कथित विश्व समुदायलाई दियो। वास्तवमा यो नाटो हस्तक्षेपको लागि हरियो बत्ती थियो, जुन मार्च १९ मा शुरू भयो। परिणाम स्वरूप यो देश रक्तरञ्‍जित गृहयुद्धमा डुब्यो र बर्बाद भयो।

https://www.middleeasteye.net

अक्टोबर २०११ मा गद्दाफी मारिए, तर यसले लिबियामा शान्ति ल्याउन सकेन। बरु, देश अराजकता र विखण्डनमा फस्यो। त्यहाँको सत्ता मुसलमान मिलिसिया सहित विभिन्न सशस्त्र समूहको कब्जामा गयो। त्यसयता लिबिया लगातार हिंसा, अस्थिरता र अराजकताले ग्रसित छ।

लिबियाको बलियो अर्थतन्त्र ध्वस्त भयो। अहिले लिबियाको अर्थतन्त्रको मेरुदण्ड मानिने तेल उद्योगमा नराम्ररी क्षति पुगेको छ। जीडीपी तीव्र रूपमा घट्यो र बेरोजगारी विनाशकारी स्तरमा पुग्यो। आम मानिसको जीवनस्तर पनि खस्कियो।

धेरै लिबियालीहरू अहिले गरिबीमा बाँचिरहेका छन् र खाना, पानी र बिजुलीजस्ता आधारभूत आवश्यकताहरू परिपूर्ति हुन सकेको छैन। लिबियाको ‘लोकतान्त्रिकीकरण’ एक विपत्ति भएको छ। देश ध्वस्त भएको छ, जनताले पीडा भोगिरहेका छन्।

किन चर्चित थिए गद्दाफी ?

विश्व राजनीतिमा एक महत्त्वपूर्ण व्यक्तित्वका रूपमा रहेका मुअम्मर गद्दाफी चार दशकभन्दा बढी समयसम्म लिबियाका शक्तिशाली नेता बन्न बनिरहे। उनको शक्तिको मूल आधार महत्वाकांक्षा, विचारधारा र क्रान्तिको कथा हो - जुन औपनिवेशिक युगमा लिबियाको आत्मनिर्णय र सार्वभौमिकताको खोजसँग गहिरो रूपमा जोडिएको थियो।

यिनको जन्म ७ जुन १९४२ मा सिरते शहर नजिकैको बेदुइन टेन्टमा भएको थियो। त्यस समयमा लिबिया इटालीको औपनिवेशिक अधीनमा थियो, जुन दोस्रो विश्वयुद्धको अन्त्यसम्म चलेको थियो।

गद्दाफी सत्तामा सेनाको बाटोबाट प्रवेश गरे। सन् १९६१ मा उनी बेनगाजीको रोयल मिलिटरी एकेडेमीमा भर्ति भए। त्यहाँ उनी अरब राष्ट्रवादको लहर र इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरका विचारहरूबाट प्रभावित भए।

राजा इद्रिसको नेतृत्वमा रहेको राजतन्त्रलाई प्राप्त पश्चिमा समर्थनका कारण अरब एकता प्रवर्द्धन गर्न र सामाजिक तथा आर्थिक असमानतालाई सम्बोधन गर्न असफल भएकोमा निराश गद्दाफीको समूहले स्वतन्त्र आन्दोलनको लिबिया शाखा गठन गरे।

https://e3.365dm.com

सेप्टेम्बर १, १९६९ मा गद्दाफी र उनका क्रान्तिकारी साथीहरूले राजा इद्रिसको विरुद्ध रक्तपात विहीन विद्रोह गरे। त्यो बेला राजा उपचारको लागि विदेशमा थिए। सुधार र राम्रो जीवनस्तरको लागि उत्सुक रहेका लिबियाली जनताले यस ‘कू’लाई सामान्यतयाः स्वागत गरे।

जनता राष्ट्रियताको भावनामा डुबेका थिए। केवल २७ वर्षको उमेरमा, गद्दाफी क्रान्तिकारी कमाण्ड काउन्सिल (आरसीसी)को नेतृत्व गर्दै नयाँ शासक निकायको नेता बने र तुरुन्तै कट्टरपन्थी सुधारहरूको शृङ्खला लागू गर्न शुरू गरे। 

लिबियाको लागि गद्दाफीको दृष्टिकोण उनको ‘ग्रिन बुक’मा उल्लिखित थियो। जसले समाजवाद र इस्लामका तत्त्वहरूलाई जनताको समिति र कांग्रेसहरू मार्फत प्रत्यक्ष लोकतन्त्रमा जोड दिन्छ। उनको काम प्रायः गैरपश्चिमी राजनीतिक सिद्धान्तको उदाहरणको रूपमा उद्धृत गरिएको छ।

उनले तेल उद्योगलाई राष्ट्रियकरण गरे। लिबियालाई त्यो कदमले मुलुकको मुख्य स्रोतको नियन्त्रण प्राप्त गर्न र राजस्वमा उल्लेखनीय वृद्धि गर्न अनुमति दियो। यो सम्पत्ति पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न प्रयोग गरिएको थियो। जसले धेरै लिबियालीहरूको जीवनको गुणस्तरमा सुधार ल्यायो।

विवादास्पद काम र अन्तर्राष्ट्रिय दबाब

अन्तर्राष्ट्रिय मञ्चमा गद्दाफीले विश्वभरि विभिन्न मुक्ति आन्दोलनहरूलाई समर्थन गर्दै साम्राज्यवाद र जियोनवाद विरुद्धको लडाइँमा लिबियालाई नेताको रूपमा स्थापित गर्न खोजे।

सन् १९८० को दशकमा लिबिया र संयुक्त राज्य अमेरिकाबीच सम्बन्ध तनावपूर्ण थियो। सन् १९८६ मा अमेरिकी सेनाहरूले बारम्बार बर्लिन डिस्कोथेकमा लिबिया प्रायोजित आतंकवादी बम विस्फोटको बदला लिन गद्दाफीको निवाससहित लिबियाविरुद्ध संयुक्त राज्य अमेरिकाले हवाइ आक्रमण शुरू गर्‍यो। अमेरिकी आक्रमणमा गद्दाफीकी छोरीसहित धेरैको मृत्यु भएको थियो।

क्षेत्रीय रूपमा पनि धेरै कठिनाइहरू थिए। लिबिया चाडसँगको लामो सैन्य द्वन्द्वमा संलग्न थियो, जुन सन् १९७० को दशकको उत्तरार्धमा शुरू भयो र १९८० को दशकमा अझै बढ्दै गयो। लिबियाले सन् १९७३ मा युरेनियमयुक्त सीमावर्ती क्षेत्र ओजोउ स्ट्रीप कब्जा गरेको थियो। त्रिपोलीले सन् १९७८ सम्म चाडको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको थियो।

यो देश विशेष गरी चाडको गृहयुद्धमा संलग्न भएको थियो। लिबियाले चाडमा चारवटा हस्तक्षेप गरेको थियो, १९७८, १९७९, १९८०-८१, र १९८३-८७ मा।

त्रिपोलीले गृहयुद्धमा एक पक्षलाई समर्थन गर्‍यो, जब कि विपक्षी पक्षलाई फ्रान्सले समर्थन गर्‍यो। सन् १९८१ मा लिबिया र चाडको विलयको घोषणा पनि गरिएको थियो, तर सो कहिल्यै साकार हुन सकेन।

जुन १९८२ मा हिसेन हब्रेको नेतृत्वमा लिबिया विरोधी सशस्त्र बल चाडमा सत्तामा आयो। पछि अन्तर्राष्ट्रिय मध्यस्थताको एक शृङ्खलापछि लिबियाले आफ्नो सेना फिर्ता ल्यायो र सन् १९९४ मा आफूले दाबी गरेको क्षेत्रमाथि चाडको सार्वभौमिकतालाई मान्यता दिन बाध्य भयो।

सबैभन्दा कुख्यात घटनाहरूमध्ये सन् १९९८ मा स्कटल्यान्डको लकरबीमा प्यान एम फ्लाइट १०३ मा बम विस्फोट थियो, जसमा २७० जनाको मृत्यु भयो। पश्चिमी देशहरूले लिबियालाई यो आक्रमणको आरोप लगाए।

संयुक्त राष्ट्र संघले गम्भीर अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगायो। यी प्रतिबन्धहरू सन् २००३ सम्म हटाइएन, लिबियाले बम विस्फोटको जिम्मेवारी स्वीकार गर्‍यो र पीडितका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भयो। गद्दाफीको नेतृत्वमा लिबिया आइरिश रिपब्लिकन आर्मी (आईआरए) र इजरायलको विरोध गर्ने प्यालेस्टिनी समूहहरूसहित विश्वभरका विभिन्न लडाकु समूहहरूको समर्थनका लागि परिचित थियो।

यी द्वन्द्वहरूले लिबियाको क्रान्तिकारी विचारधारा र इस्लामिक तथा समाजवादी सिद्धान्तहरू संयोजन गर्ने प्रयास गरिरहेको थियो। तर, पश्चिमा देशहरू र छिमेकी अरब राज्यहरूसँग यसले यो देशको दूरी निम्त्यायो।

आर्थिक प्रतिबन्धको परिणामस्वरूपः लिबियाको अर्थतन्त्रले धेरै सङ्कटको सामना गर्‍यो। गद्दाफीको घरेलु र विदेश नीति विचारधाराले पनि लिबियाका कुलीन वर्गहरूबीच असन्तुष्टि पैदा गरायो। जो पछि सन् २०११ को घटनाहरूमा सक्रिय भए।

लिबियाका नेता मुअम्मर गद्दाफीको मरुभूमिको पालबाट शक्तिको केन्द्रसम्मको यात्रा निकै जटिल रह्यो। उनले अन्तर्राष्ट्रिय राजनीतिमा बेग्लै प्रयोग गरे। आफ्नो मुलुकलाई औपनिवेशिक राष्ट्र निर्माण मार्गमा हिँडाउन खोजे। सन् २०११ मा उनको सत्ताच्युत र हत्यापछि भने लिबिया वर्षौंको अराजकतामा डुब्यो, जुन अझै समाधान हुन सकेको छैन।

गद्दाफीपछिको लिबिया

 

सन् २०११ मा मुअम्मर गद्दाफीको पतनले लिबियामा शक्ति शून्यता सिर्जना गर्‍यो। जसले देशलाई राजनीतिक विभाजन, मिलिसिया प्रभुत्व र नागरिक अशान्तिले ग्रसित अराजकताको अवस्थामा पुर्‍याएको छ।

गद्दाफी हटाएपछि राष्ट्रिय सङ्क्रमणकालीन परिषद् (एनटीसी)ले शुरूमा सत्ताको लगाम हातमा लियो। लिबियालाई शासनको नयाँ युगमा नेतृत्व गर्ने जिम्मेवारी यसलाई दिइएको थियो।

यद्यपि, सङ्क्रमणकाल चुनौतीहरूले भरिएको थियो। किनभने काउन्सिलले जनजाति विभाजन, क्षेत्रीय र विश्व शक्तिहरूको सक्रिय संलग्नताले घेरिएको देशमाथि नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको थियो।

सन् २०१२ मा सम्पन्न जनरल नेशनल काँग्रेसको चुनावलाई देशमा राजनीतिक समाधानको लागि आशाको किरणको रूपमा हेरिएको थियो। यद्यपि त्यसो हुन सकेन। शक्तिशाली मिलिसियाहरूलाई अख्तियार प्राप्त भयो - जो वास्तविक रूपमा शक्ति राष्ट्रका दलाल बनेका थिए।

शक्ति शून्यता र एकजुट राष्ट्रिय सेनाको अनुपस्थितिले धेरै मिलिसियाहरूको विस्तार भयो। यस अवधिलाई प्रतिद्वन्द्वी गुटहरूद्वारा नियन्त्रित इलाकाहरूमा लिबियाको खण्डीकरणका रूपमा चित्रण गर्न सकिन्छ। दुई मुख्य शक्तिहरूको उदयको साथ पूर्वमा जनरल खलिफा हफ्तारको नेतृत्वमा अपरेसन डिग्निटी र लिबिया डन तथा पश्चिमी लिबिया मिलिसियाहरूको गठबन्धनका रूपमा देखा परे।

प्रतिनिधि सभा र संयुक्त राष्ट्र संघ समर्थित सरकारबाट राजनीतिक परिदृश्य थप खण्डित भयो। जसले राष्ट्रिय एकतातर्फको बाटोलाई जटिल बनाउने समानान्तर सरकारको अवस्था निम्त्यायो।

यसरी लिबियाको द्वन्द्वले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय ध्यान खिच्यो। विभिन्न विदेशी शक्तिहरूले भिन्न गुटहरूलाई समर्थन गर्दै अगाडी बढे। यो बाह्य समर्थनले द्वन्द्वलाई झन् चर्काएको छ। यसको समाधानलाई अझ जटिल बनाएको छ।

सन् २०२० मा बर्लिन सम्मेलनजस्ता प्रयासहरू शान्तिको मध्यस्थता र एकताबद्ध राजनीतिक प्रक्रियालाई समर्थन गर्ने उद्देश्यले गरिएको थिय। तर पनि मेलमिलापको बाटोमा अझै धेरै अवरोधहरू छन्।

आज लिबियामा प्रभावकारी रूपमा दुई सरकारहरू छन्। एउटा देशको पूर्वमा रहेको मन्त्रिपरिषद् हो, जुन संसद्ले गठन गरेको छ। अर्को त्रिपोलीमा मुख्यालय रहेको अब्दुलहामिद डबेबाहको नेतृत्वमा रहेको राष्ट्रिय एकताको सरकार हो।

आवश्यक संवैधानिक आधार नहुँदा सन् २०२१ मा हुने राष्ट्रपति र संसदीय निर्वाचन हुन सकेन। लिबियाका राजनीतिक दलहरूबीच चुनावी कानुनको मस्यौदाका केही बुँदाहरूमा देखिएको असहमति समाधान हुन सकेको छैन।

लिबियाको समाजमा दोहोरो नागरिकता, सैन्य सेवा र सम्भावित उम्मेदवारहरूको आपराधिक रेकर्डको उपस्थितिको कारण राष्ट्रपतिको उम्मेदवार हुने योग्यतामा विवाद छ।

निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा यसअघि संसद् र देशकै सर्वोच्च प्रदेश परिषद् (एसएससी)का प्रतिनिधि सम्मिलित विशेषगरी बनेको ‘६-६’ संयुक्त समितिले धेरै महिना काम गरेको थियो।

लिबियाको अवस्था अस्थिर र अनिश्चित छ, देश अझै गद्दाफीको शासनको विरासत र स्थिर र लोकतान्त्रिक राज्य निर्माणका चुनौतीहरूसँग जुधिरहेको छ।

अनिश्चित भविष्य

लिबियाको द्वन्द्वको राजनीतिक समाधानको सम्भावना अझै अस्पष्ट छ। १३ वर्षभन्दा अघिदेखि चलिरहेको लिबिया संकटको मूल कारणहरू निर्मूल हुन सकेको छैन।

विशेषगरी यो देश राजनीतिक र आर्थिक रूपमा निकै टुक्रिएको छ। विश्वव्यापी खाद्य सङ्कट, विश्वव्यापी मन्दी, पश्चिम र रुसबिचको द्वन्द्व र सुडान र गाजाको द्वन्द्वले अवस्थालाई थप जटिल बनाउँदै लगेको छ।

निकट भविष्यमा लिबिया उत्तर अफ्रिकालाई नै असर गर्ने अस्थिरताको केन्द्र बन्नेछ। लिबियाको वर्तमान अवस्था - जहाँ कुनै एकीकृत सेना वा सुरक्षा बलहरू छैनन्, आतंकवाद फस्टाउनको लागि अनुकूल वातावरण सिर्जना गरिरहेको छ। समाधानको सम्भावना अस्पष्ट छ।

यस वर्षको जनवरीमा लिबियाका लागि संयुक्त राष्ट्रका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलीले त्यहाँका राजनीतिक शक्तिहरूलाई सन्‌ २०२४ मा संसदीय र राष्ट्रपतिको चुनाव गराउन आह्वान गरे। अन्यथा लिबियाले संकट सामना गर्न सक्ने चेतावनी दिए।

यसअघि बाथिलीले विवादास्पद मुद्दाहरूमा सहमति गर्न र लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रपति चुनाव गराउन लिबियाका पाँच प्रमुख दलका प्रतिनिधिहरूको एकताबद्ध बैठक आयोजना गर्ने प्रस्ताव राखेका थिए। बैठक मितिबारे अझै सहमति जुटेको छैन।

अहिलेसम्म यी पहलहरूले कुनै उल्लेखनीय सुधार ल्याउन सकेका छैनन्। लिबिया अझै विभाजित छ। गद्दाफीपछि प्रत्येक क्षेत्रले आ-आफ्नो सशस्त्र समूहको साथ आ-आफ्ना अभिजात वर्गहरू गठन गरेको छ। निर्वाचन भइहाले पनि त्यसले खास समस्याहरू समाधान गर्दैन र समाजको एकीकरण नेतृत्व गर्दैन।

लिबियामा अब सबैभन्दा पहिले राष्ट्रिय अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र अत्यावश्यक सामाजिक समस्याहरू समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। त्यसपछि राज्यको संरचना, केन्द्र र प्रदेशको कामकारबाही तय गर्न आवश्यक छ। त्यसपछि मात्रै राष्ट्रव्यापी निर्वाचन हुनसक्छ। अर्को शब्दमा भन्नुपर्दा भविष्यको स्थिर लिबिया फराकिलो क्षेत्रीय शक्ति भएको महासंघको रूपमा मात्र देख्न सकिन्छ।

तर जे होस् - एउटा कुरा स्पष्ट छ : मुअम्मर गद्दाफीको पतन नागरिकहरूको सामाजिक-आर्थिक समस्याहरूसँग जोडिएको थिएन। तर ‘अफ्रिकाका राजाहरूका पनि राजा’लाई पश्चिमाहरूले मन नपराएकोसँग जोडिएको थियो।

नाटो गठबन्धनमा रहेका बाह्य शक्तिहरूको हस्तक्षेपले यो देशको शक्तिलाई कमजोर बनायो र आम लिबियालीहरूलाई स्वतन्त्रता र खुसी खोस्यो। लिबिया अझैसम्म पश्चिमी आधिपत्यको शिकार बनिरहेको छ।