स्टालिन अर्थात् इस्पातले बनेको मान्छे !

सोभियत नेता स्टालिनको बाल्यकालको घटना हो यो ।

उनका बुवा बेसारियन जुगासभिली जुत्ता बनाउने काम गर्थे । उनी रक्सीका अम्मली थिए । यही अम्मलका कारण उनको व्यवसाय चौपट्ट भएको थियो । उनी पैसा बचत गर्न सक्दैनथिएसधैं आर्थिक संकटमा परिरहन्थे । दैनिक गर्जो टार्न उनले आफ्नो डेरा नजिक रहेको एउटा किराना पसल बाट आवश्यक सामानहरु उधारोमा लाने गर्थे ।

जुगासभिलीले उधारोमा लगेका सामानहरुको हिसाब पसलेले बहिखातामा टिप्ने गर्थे । रक्सीका अम्मली भए पनि जुगासभिली इमान्दार थिए । उनी केही पैसा बचत हुनेबित्तिकै उधारो तिरिदिन्थे ।

तर पसले धूर्त थिए । प्रायःजसो रक्सीको नशामा रहने जुगासभिलीले पैसा तिरे पनि तिरेको छैन भनेर अड्डी लिन्थे । यो क्रम धेरैपटक दोहोरिइरह्यो ।

एक पटकको कुरा हो, पसलेको यो धुत्र्याइको जुगासभिलीले चर्को विरोध गरे । तर धूर्त पसलेले प्रहरीलाई बोलाएर उनलाई थानामा थुनाइदिए । त्यस बेला स्टालिन जम्मा एघार बर्षका मात्रै थिए ।

स्टालिन घरमा आइपुग्दा आफ्नी आमालाई रोइरहेको देखे । उनले कारण सोधे । आमाले सबै कुराको बेलिविस्तार लगाइन् । बालक भए पनि स्टालिन कडा थिए । सानैदेखि उनमा अन्यायको प्रतिरोध गर्ने बानी थियो । उनी फन्किएर पसलेको घरमा गए । पसलेसँग उनको निक्कै चर्को वादविवाद भयो । आखिरमा पसले आफ्नो गल्ती स्वीकार गर्यो । उनी स्टालिनका बाबुविरुद्धको जाहेरी फिर्ता लिन सहमत भए । एउटा एघार वर्षको बालकले छट्टु पसलेलाई माफी मगाएको र आफ्ना बुबालाई प्रहरीको हिरासतबाट छुटाएको घटना जर्जियाको गोरी शहरमा एकदमै चर्चित बन्यो।

एघार बर्षको सानो बालकले धूर्त पसलेलाई माफी मगाएर कसरी मुद्दा  फिर्ता गर्न लगायो भन्ने कुराको रहस्य कसैले थाहा पाएन । सबैजना यो कुरा थाहा पाउन उत्सुक थिए । तर स्टालिनले त्यो कुरा कसैलाई बताएनन् । पसले आफैंले त त्यो बताउने कुरै भए ।

धेरै समयपछि स्टालिनले यो कुराको भेद खोले । आफू ११ वर्षको बालक हुँदा त्यो धूर्त पसलेको अन्यायको प्रतिरोध कसरी गरेका थिए त ? त्यो रहस्य खोल्दै स्टालिनले भनेको थिए वास्तवमा त्यो बेला मैले खासै केही गरेको थिइनँ । मैले पसलेलाई तिमीले गलत गरिरहेको र आफ्नो बुबाबिरुद्धको अन्यायपूर्ण उजुरी फिर्ता लिन्नौ भने म तिम्रो पसलमा आगो लगाइदिनेछु ।

हुन त स्टालिन त्यो बेला ११ वर्षको बालक मात्रै थिए तर उनको कठोर लवज अनि दृढ निश्चय देखेर पसलेको मुटु काम्यो । उनले बुझेयी फुच्चे केटा कोरा धम्की दिइरहेका छैनन् । उनको कुरा नमान्ने हो भने उनले जे पनि गर्न सक्छ । त्यही भएर पसलेले त्यसबेला  जुगासभिलीविरुद्धको उजुरी फिर्ता लिएका थिए ।

वास्तवमै स्टालिन बाल्यकालदेखि नै दृढनिश्चयी थिए । उनी अन्याय र अत्याचार पटक्कै सहन सक्दैन थिए । कसैमाथि पनि भएका अन्याय अत्याचारको उनी प्रतिवाद गरिहाल्थे । हुन पनि स्टालिन इस्पातले बनेका मानिस थिए, उनको नामको अर्थ जस्तैइस्पातले बनेको मान्छे !