मार्क ट्वेनको विन्दास पारा

विश्व–साहित्यमा रुचि हुनेहरुले मार्क ट्वेनको नाम सुनेकै हुनुपर्छ । बाल्यकालमै आफ्ना गुमाएका ट्वेनले ११ वर्षकै सानो उमेरमा आफ्ना पितालाई पनि गुमाएका थिए । यस अर्थमा उनको जीवन निक्कै कठीन र संघर्षमय रहेको थियो । तर उनी विन्दास किसिमका मानिस थिए ।

 उनको युवाकालको एउटा घटना हो यो । मार्क ट्वेनले एउटा पत्रिकाको कार्यालयमा काम पाए । तर उनी विन्दास थिए, कार्यालयको परम्परागत कार्यशैलीका विपरीत व्यहार उनीबाट हुने गर्थ्यो । उनले काम गरेको ६ महिना जति मात्रै भएको थियो,एक दिन उनलाई सम्पादकले आफ्नो कार्यकक्षमा बोलाए ।  उनको काम गर्ने शैलीको आलोचना गर्दै सम्पादकले मार्क ट्वेनलाई भने– “तपाईं त भयंकर अल्छे हुनुहुँदा रहेछ । तपाईंलाई जिम्मा दिइएको काम पनि राम्ररी पूरा गर्नुहुँदो रहेनछ । अत: तपाईंलाई हामी काममा राखिराख्न सक्दैनौं । तपाईंलाई अवकाश दिइएको छ ।”

जागिरबाटै निकालिँदा सम्भवत: अरु भए याचना गर्थे होलान्, माफी माग्थे होलान् । तर ट्वेन विन्दास थिए । उनले हाँस्दै सम्पादकलाई उत्तर दिए – तपाईंको कुरा सत्य हो । म अल्छे र काम नलाग्ने मानिस नै हो । तर यति जाबो कुरा थाहा पाउन पनि तपाईंलाई ६ महिना लाग्यो ? तपाईंको पनि त दिमाग नै रहेनछ त ! नत्र यति जाबो कुरा थाहा पाउन यत्तिका समय लाग्नु नपर्ने हो नि !’

ट्वेनको कुरा सुनेर सम्पादक निरुत्तर बने । उनी बोल्नै सकेनन् । ट्वाँ परेर मार्क ट्वेनको मुख हेरिरहे ।

तिनै ट्वेन कालान्तरमा अमेरिकाका विख्यात लेखक, व्यङ्ग्यकार र निबन्धकार बने ।

Image source: https://img.poemhunter.com