प्रसङ्ग सिङ्गापुरको, कुरा राजनीतिक संस्कारको !

नेपाललाई सिङ्गापुर बनाउने सपना त धेरैले बेचे तर त्यो सार्वजनिक खपतका विषयभन्दा बढी कहिल्यै बनेन । नेपाललाई सिङ्गापुर बनाउने सपना देखाउनेहरुले सत्तास्वार्थका लागि भ्रष्टाचारका आरोप लागेकाहरुको बचाउमा न्वारानदेखिको बल लगाउनुको सट्टा तलको प्रसङ्गको मर्मबोध मात्रै गरे, कम्तिमा कानूनी प्रक्रियाअनुसार सफाइ नपाएसम्म नाङ्गो बचाउमा नउत्रिए कत्तिको जाति हुन्थ्यो होला ?

के हामी नेपालमा यस्तो राजनीतिक संस्कार विकसित होला भनेर अपेक्षा गर्न सक्छौ ?

०००

सन् १९८६ तिरको कुरो हो। त्यस बेला सिंगापुरमा ली कुआन यु प्रधानमन्त्री थिए। उनको मन्त्रीमण्डलमा राष्ट्रिय विकास मन्त्री थिए ते चियांग वान । उनको विरुद्ध भ्रस्टाचारको उजुरी पर्यो। उनका एक सहयोगीले दुई चोटी ४-४ लाख डलर घुस लिएको कुरा सिंगापुरको भ्रस्ट आचरण अनुसन्धान निकाय ( Corrupt Practices Investigation Bureau ) समक्ष स्वीकार गरे। यो रकम एउटा विकास कम्पनीलाई जग्गा दिलाएवापत दिएको थियो।

तर छानबिनको क्रममा मन्त्रीले घुस लिएको कुरा अस्वीकार गरे र अनुसन्धान निकायका उपप्रमुखसंग अनुसन्धान अघि नबढाउन सौदाबाजी गर्न थाले। अनुसन्धान निकायका प्रमुखले यो कुरा प्रधानमन्त्री ली कुआन युलाई बताए र ती मन्त्रीले प्रधानमन्त्रीलाई भेट्न चाहेको कुरा पनि सुनाए। ली कुआन युले अनुसन्धान पुरा नभइन्जेलसम्म आरोपित मन्त्रीसंग भेट्न अस्वीकार गरे। हेक्का योग्य कुरा त के छ भने ती आरोपित मन्त्री ली कुआन युका पुराना साथीमध्येका एक थिए।

यसको एक हप्तापछि ती मन्त्रीले आत्महत्या गरे। आत्महत्या गर्नुअघि उनले एउटा चिट्ठी ली कुआन युका लागि लेखेका थिए। त्यस चिठ्ठीमा लेखिएको थियो - 'जुन घटना भयो, त्यसको जिम्मेवारी म लिन्छु। र त्यो अपराधको लागि सबै भन्दा ठूलो दण्ड मैले चुकाउनु पर्छ ।’

ते चियांग वानको मृत्युपछि ली कुआन यु उनको घर गए, लास लाई हेरे र उनकी श्रीमतीलाई भेटे। श्रीमतीले अनुरोध गरिन्– मेरो श्रीमानले सिंगापुर सरकारको सेवा जीवनभर गरे। के अब यो मृत्युको कारण पत्ता लगाउने काम नगर्दा हुँदैन ?

सिंगापुरको कानुन अनुसार चिकित्सकले कुनै व्यक्तिको मृत्यु प्राकृतिक कारणले भएको भनेर प्रमाणित गरेको अवस्थामा मात्र यो छानबिन हुँदैन थियो। ली कुआन युले यो अनुरोध स्वीकार गर्न सकेनन्। अन्तत: मृत्युको कारण बारे छानबिन भयो। शव परीक्षणमा मृत्युको कारण बिषसेवन भएको कुरा प्रमाणित भयो।

संसदमा विपक्षीले यो कुरा उठाए र छानबिन आयोग बनाउने माग गरे। ली कुआन युले यो कुरा स्वीकार गरे। यसले ते चियांग वान परिवारको झन् ठुलो बदनामी भयो। अन्तत ती मन्त्रीका श्रीमती र छोरीले आफ्नो अरु धेरै बदनामी सहन नसकेर सिंगापुर छोडेर गए।

सिंगापुरमा भ्रस्टचारविरोधी कानुन अत्यन्त कडा छ। त्यहाँ कसैसंग आफ्नो आयश्रोत भन्दा बढी सम्पति भेटियो भने त्यसलाई अदालतले भ्रस्टचारको प्रमाणको रुपमा लिन्छ। सिंगापुर त्यसै भ्रष्टाचार मुक्त बनेको होइन।

सिङापुरमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी एउटा भनाइ छ- भर्‍याङ सफा गर्दा माथिल्लो खुडकिलोबाट बिस्तारै तल्लो खुडकिलोमा बढार्दै झर्नुपर्छ। अर्थात् भ्रष्टाचार नियन्त्रण पनि माथिल्लो तहबाटै सुरु गर्नुपर्छ। ज सम्म नेतृत्व भ्रष्ट हुन्छ तबसम्म देशबाट भ्रष्टाचार नियन्त्रण हुँदैन।

Title Photo: https://static.foxnews.com