स्वतन्त्रताको लडाइँमा माकुराबाट प्रेरणा

धेरै वर्ष अगाडिको कुरा हो। स्कटल्याण्ड स्वतन्त्र देश थियो। बेलायातको अधिनमा थिएन। त्यसबेला स्कटल्याण्डका राजा ब्रुस थिए। उनी निक्कै बहादुर र बुद्धिमान थिए।

एक दिन बेलायतका राजाले विशाल सैनिक बलका साथ स्कटल्याण्डमाथि हमला गरे। सो युद्धमा राजा ब्रुस पराजित भए। तर उनले हार मान्न अस्वीकार गरे। देश छोडेर भाग्नुको बदलामा उनले स्कटिस जनाताको सानो समुहलाई भेला पारे।  आफ्नो सानो सेनाको नेतृव गर्दै बेलायतसंग निरन्तर लडिरहे।

राजा ब्रुसको सानो सेनाले बेलायतको सेना संग ६ पटक लडाइँ लड्यो। तर हरेक लडाइँमा पराजित भयो। हरेक लडाई पछि स्कटिस सेना निरन्तर कमजोर बन्दै गैरहेको थियो। उनीहरु सामु बेलायत सामु आत्मसमर्पण गर्ने वा भागेर ज्यान जोगाउनेबाहेक कुनै विकल्प बाँकी रहेन ।

राजा ब्रुसको सेना लगभग विघटन भइसकेको थियो। उनी आफैं पनि ज्यान जोगाउन  भागेर एउटा निर्जन पहाडको गुफामा लुकेका थिए। आफ्नो पुरै सेना तितरबितर भएका ब्रुसले सोच्न सकिरहेका थिएनन् अब के गर्ने भनेर।

 एक दिन गुफामा सुतेको बेला उनले गुफाको भित्तामा एउटा माकुरोले जालो बनाइरहेको दृश्य देखे। माकुरोले गुफाको एउटा भित्ताबाट अर्को भित्तासम्म जालो बुन्ने कोशिस गरिरहेको थियो। जालोको धागो कमजोर र छोटो भएकोले प्रत्येक पटक माकुरो भुइमा खस्ने गर्थ्यो। राजा ब्रुसले माकुराको यो प्रयासलाई ध्यानपूर्वक हेरिरहेका थिए। ६ पटकसम्म माकुराले गुफाको एउटा भित्ताबाट अर्को भित्तासम्म जालो बुन्ने कोसिस गर्थ्यो तर उसका हरेक प्रयास असफल भइरहेको थियो। हरेक पटक माकुरा भुइमा खस्थ्यो। राजा ब्रुस माकुराको नियति देखेर दु:खित बने। उता यो सानो माकुरोलाई भने यी सब प्रयासको असफलताले हार खाएको थिएन । उसले आफ्नो सातौं प्रयासमा गुफाको एक भित्ताबाट अर्को भित्तासम्म जाल बुन्न सफल भयो।

राजा ब्रुस यो दृश्य देखेर चकित बने। एउटा सानो माकुरोको धैर्य, लगनले उनलाई नया आशा र उत्साह प्रदान गर्यो। खुसीले कराउँदै राजा ब्रुसले सोचे– एउटा सानो माकुरोले हरेस नखाइकन आफ्नो काम गर्न सक्छ भने मैले पनि गर्न सक्छु। उनले फेरि सातौं पटक प्रयास गर्ने संकल्प गरे।

राजा ब्रुसले फेरि स्कटिस जनतालाई एकीकृत गर्न थाले। उनले फेरि सेना तयार पारे। नया उत्साह र संकल्पले भरिएका राजा ब्रुसले नेतृत्व गरेको स्कटिस सेनाले यो पटक बहादुरीपूर्वक लड्दै आफूभन्दा कयौं गुणा ठूलो बेलायती सेनालाई पराजित गर्यो। अन्तत: उनले स्कटल्याण्डलाई स्वतन्त्र बनाएरै छाडे। राजा ब्रुसलाई अहिले पनि स्कटल्याण्डको महानायक मानिन्छ !

Title image: https://cdn.britannica.com