गुरुको परीक्षा

रामकृष्ण परमहंस महायोगी थिए । उनका शिष्य, भक्त एवं प्रशंसकहरु थुप्रै थिए । तिनमध्ये एक थिए– नरेन्द्र । रामकृष्ण सबैलाई समान भाव राख्थे तथापि, उनी अरुको तुलनामा नरेन्द्रलाई असीम स्नेह गर्थे ।

अचानक रामकृष्ण परमहंसले नरेन्द्रसँग बोलचाल गर्न बन्द गरे । सबै आश्चर्यचकित थिए । आफ्ना प्रिय शिष्यसँग उनले किन बोलचाल नै बन्द गरे, कसैले भेउ पाएनन् । कसैले सोध्ने हिम्मत पनि गरेनन् । स्वयं नरेन्द्रले पनि गुरुसँग सोध्ने आँट गरेनन् वा गर्न चाहेनन् ।

दिनहरु बित्दै गए । नरेन्द्र सदाझैं गुरुको सेवामा जान्थे तर परमहंस नरेन्द्रलाई हेर्दा पनि हेर्दैन थिए । उनी नरेन्द्रको विपरीततिर मुख फकाउँथे । तर नरेन्द्रले त्यसमा किन्चित पनि दुःख मनाउ गरेनन् । सदाझैं उनी रामकृष्ण भएको ठाउँमा जान्थे, प्रणाम गर्थे र केहीबेर गुरु नजिकै बस्थे ।

यो सिलसिला केही हप्ता चलिरह्यो । न त परमहंस बोले, न त नरेन्द्रले नै सोध्ने कष्ट गरे । अचानक एक दिन रामकृष्णले नरेन्द्रलाई सम्बोधन गरेर सोधे, ‘मैले तिमीसँग कुरा पनि गरिनँ, उपेक्षाभाव राखें तर पनि तिमी हरेक दिन मभएको ठाउँमा किन आइरहन्छौ ?’

नरेन्द्रले शान्तभावले जवाफ दिएँ, ‘म तपाईंलाई श्रद्धा र प्रेम गर्छु गुरुदेव !’

त्यो सुनेर परमहंस भावुक बने । उनले नरेन्द्रलाई आफूतिर तानेर छात्तीमा टाँसे र गदगद हुँदै भने, ‘म पनि तिमीलाई उत्तिकै प्रेम गर्छु नरेन्द्र ! वास्तवमा म त तिमी उपेक्षा सहन सक्छौ कि सक्दैनौं भनेर तिम्रो परीक्षा लिइरहेको थिएँ । तिमी मेरो परीक्षामा पास भयौ ।’

रामकृष्ण परमहंसका प्रिय शिष्य नरेन्द्र अरु कोही थिएनन्, उनी पनि महायोगी थिए । पछि गएर सारा विश्वले उनलाई स्वामी विवेकानन्दको रुपमा चिने ।