‘हिम्मत कहिल्यै नहार्नु !’

विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन आइन्स्टाइनलाई एकपटक एउटा विद्यार्थीले प्रश्न गरे– ‘तपाईंको जीवनको अपार उन्नतिको रहस्य के हो, बताइदिनु हुन्छ कि ?’

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन मुसुक्क हाँसे । उनी केही बेर सोचमग्न बने, अनि  विनम्रतापूर्वक शान्त स्वरमा जवाफ दिए– “मेरो उन्नतिको रहस्यको एउटै सूत्र हो– हिम्मत कहिल्यै नहार्नु ।’

उनले आफ्ना कुरालाई प्रष्ट्याउँदै थप अगाडि भने, ‘जब म सानो थिएँ, त्यतिबेला स्कूलका सबै साथीहरु मलाई बुद्धु भनेर जिस्क्याउँथे। शिक्षकले पढाएका कुराहरु मेरो दिमागमा घुस्दैन थियो । कक्षा कोठामा शिक्षकले सोधेका प्रश्नको उत्तर दिन म सक्दिनथेँ । त्यसको दण्डस्वरुप मलाई बारम्बार बेञ्चमाथि उभिनु पर्ने हुन्थ्यो । शिक्षकहरुको नजरमा म लद्दू विद्यार्थी थिएँ ।  त्यसबेलाको तौरतरिकाले सिकाइने औपचारिक पढाइ मेरो बुझाइभन्दा परको विषयवस्तु थियो । त्यसमाथि गणितको शिक्षकले ‘तिमी त सात जुनीमा पनि गणित सिक्न सक्दैनौं ।’ भनेर मलाई बारम्बार हतोत्साही तुल्याउँथे । त्यो व्यवहार, त्यो कुरा सुनेर म मनमनै रुन्थेँ । तर मुख्य कुरा मैले कहिल्यै पनि हिम्मत हारिनँ । बारम्बार मैले सक्छु भनेर प्रयत्न गरिरहें, स्कुले पढाइभन्दा पर अनौपचारिक पढाइमा समेत जाेड दिएँ । त्यसको नतिजा आज तिमी आफैं देखिरहेछौं– म के बनिसकेको छु ।’