पराधीनताको सुखसयलभन्दा  स्वाधीनताको दुःख कष्ट हजारौँ गुना राम्रो

उहिलेको कुरा हो । अहिले जस्तो दुश्मनी र शत्रुताको जमाना थिएन । जनावरहरू पनि एकापसमा मिलेर बस्ने गर्थे । गफगाफ गर्थे ।

एउटा कुकुर र बाघबिच मित्रता थियो ।  कुकुर धेरै मोटोघाटो, हृष्टपुष्ट थियो । बाघ चाहिँ दुब्लो पातलो, मरन्च्याँसे । एक दिन बाघले कुकुरलाई उत्सुकतावश सोध्यो, ‘, भाइ, एउटा कुरा भन न ! तिमी यति मोटोघाटो कसरी भयौ ? तिमी दिनहुँ के खान्छौ ?'

उसले अगाडि थप्यो, 'म दिनरात भोजनको खोजीमा यताउता घुमफिर गर्दा पनि पेट भरिने गरेर खान पाउँदिनँ । कुनै कुनै दिन त आहार नपाएर  उपवास नै बस्नुपर्छ । पर्याप्त खानेकुरा खान नपाएकै कारण म यति कमजोर भएको हुँ ।’

कुकुरले जवाफ दियो, मैले जे गर्छु, तिमीले पनि त्यही गर्‍यौ  भने त तिमीले पनि मैले जस्तो खानेकुराहरू खान पाइहाल्छौ नि !’

बाघले सोध्यो, ‘मलाई बताऊ न त, तिमी के गर्छौ ?’

कुकुरले भन्यो, ‘त्यस्तो खासै केही गर्नुपर्दैन, रातभरि मालिकको घरको रखवाली गर्ने हो ।’

बाघले भन्यो, ‘ए त्यति मात्रै ! त्यो त म पनि गर्न सकिहाल्छु नि ! खानेकुराको खोजीमा जङ्गल जङ्गल चाहर्दा घामपानीको प्रकोपले धेरै दुःख पाउने गरेको छु । यो अब म धेरै सहन सक्दिनँ ।'

आफ्नो नियतिबारे उसले झन् स्पष्ट पार्‍यो, 'घामपानीको बेलामा घरमै बस्ने पाउने हो र भोकाएको समयमा पेटभरि खान पाउने हो भने त म पनि तिमीले जस्तै घरको रखवाली गर्न सकिहाल्छु नि । त्यसो गर्दा मेरो प्राण बच्ने थियो की ! नत्र त धेरै नै गाह्रो भइसक्यो बाँच्नलाई ।’

बाघको करुण कथा सुनेर कुकुरले भन्यो, ‘त्यसो हो भने मसँग आऊ । म मालिकलाई भनेर तिम्रो लागि पनि सम्पूर्ण व्यवस्था गरिदिन्छु ।’

बाघ कुकुर सँगसँगै गाउँ तर्फ बाटो लाग्यो । हिँड्दै गर्दा बाघले कुकुरको घाँटीमा एउटा डोब देख्यो । त्यो देखेर उसले कुकुरलाई सोध्यो, ‘ए भाइ, तिम्रो गर्धनमा यो डोब चाहिँ कसरी बस्यो ?’

कुकुरले अलिक अप्ठ्यारो मान्दै भन्यो, ‘, यो । त्यस्तो  केही होइन !’

बाघले जोड गर्‍यो , ‘अप्ठ्यारो नमान न भाइ । तिम्रो गर्धनमा यो डोब चाहिँ कसरी बस्यो ? मलाई जान्न मन लागेर मात्र सोधेको ।’

कुकुरले अन्कनाएर जवाफ दियो , ‘त्यस्तो खासै केही होइन क्या ! शायद पट्टाको दाग होला ।’ बाघले अचम्म मान्दै थप जिज्ञासा राख्यो, ‘पट्टाको दाग ? त्यो पट्टा चाहिँ किन नि !’

कुकुरले भन्यो, ‘मालिकले रातभरि मलाई घरको रखवाली गर्न खुला छोडिदिने गर्छन् । दिउँसो चाहिँ घाटीमा पट्टा लगाई त्यसमा सिक्री बाँधेर मलाई राख्ने गर्छन् नि त ! त्यही भएर त्यो डोब बसेको होला ।’

त्यो सुनेर बाघलाई बडो विस्मय लाग्यो । उनी अलि दुःखित हुँदै भयो, ‘त्यसो हो भने तिमीलाई जान मन लागेका ठाउँहरूमा चाहेको बेला जान पाउँदैनौ ?’

कुकुरले भन्यो, ‘त्यसो होइन । दिनको समयमा मात्र  मलाई बाँधेर राखेको हुन्छ तर रातमा त मलाई खुला छोडिदिन्छन् । त्यो बेला म आफूखुसी जहाँ पनि जान सक्छु ।'

कुकुरले आफुले प्राप्त गरिरहेको सुविधाले बाघलाई लोभ्याउने प्रयास गर्‍यो, 'त्यसबाहेक, मलाई मालिकको सेवकले धेरै देख भाल गर्ने गर्छन् । राम्रो, मीठो खानेकुराहरू दिन्छन् । बेला बेला नुहाइदिन्छ । कहिलेकाहीँ मालिकले पनि स्नेहपूर्वक मलाई मुसार्ने गर्छन् । यसो विचार गर त, मलाई कति धेरै सुख छ !’

बाघले भन्यो, ‘कुकुर भाइ, तिम्रो त्यो कथित सुख तिमीलाई प्यारो लाग्छ भने ल तिमीलाई बधाई छ ! तर मलाई तिम्रो जस्तो सुख चाहिएन । पराधीन भएर राजसी सुख सयल भोग्नुभन्दा बरु स्वाधीन भएर भोक, दुःख कष्ट भोग्नु हजारौँ गुना राम्रो लाग्छ मलाई । अब म तिमीसँग यसभन्दा अगाडि जान सक्दिनँ ।’

यसो भनेर बाघ जङ्गल तिरै फर्कियो ।

स्रोत: हितोपदेशको कथा । प्रस्तुति: चन्द्र खाकी

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।