मयूर र कोइली

जंगल धेरैजसो त डरलाग्दो हुन्छ । कतै बाघको हुङ्कार, कतै स्यालको हुइँयाँ, कतै भालुको खुरखुर उसलाई ऊदेखि डर उसलाई ऊदेखि डर जङ्गलमा कसैले पनि ढुक्कसँग बस्न पाएको हुँदैन । यस्तो भयानक जङ्गलमा पनि चराहरुको कोसिसले एकदिन सभा बस्यो । सभामा बाघ, गैँडा, हात्ती, जंगली घोडा, जरायो, खरायो चराहरु सबै आए । सर्पहरु पनि आए । सभामा रमाइलोको लागि एकछिन नाचगान गर्ने कुरा चल्यो र नाच सुरु पनि भयो ।

सर्वप्रथम काला भालुहरु नाचे । हेर्नेहरु सबै मुसुमुसु हाँसेर हेरिरहे । भालु पछि चितुवा ब्वाँसा र स्यालहरु पनि नाचे । गैंडा, हात्ती, जरायो, खरायो सबै नाचे । सर्पहरु पनि टाउको उठाएर यताउति घुमाउँदै र जिब्रो लपलप गर्दै नाचे । आज कम्मर दुखेको छ भनेर बाघ चाहिँ नाचेन । अब नाच्ने पालो चराहरुको थियो । एक पछि अर्का चरा नाच्दै गए । सबैभन्दा पछाडि नाच्ने पालो थियो मयूरको । मयूर आफ्नो पङ्खा फिजाएर नाच्न थाल्यो । नाँच धेरै राम्रो थियो । कतिसम्म भने मयूर नाचेको हेर्न थालेपछि कुनै पनि जन्तुको आँखा झिम्म गरेन ।

नाँच सकिँदा नजिकै बसिरहेको कोइली अति नै चिन्तित देखियो । उसको आँखामा आँसु थियो । सभामा अब गीतको पालो थियो । मयूरले भन्यो– “ल गाउनुहोस् तपाईंको गीतमा पनि म अलिकति नाच्छु ।” मयूरले यसो भन्दा कोइली अरु बढी चिन्तित देखियो । गाउँन अघि सरेन । सबै जीवजन्तुहरु मुखामुख गर्न थाले ।

मयूरले कुरा बुझ्यो । उसले कोइलीतिर हेरेर भन्यो– “तपाईंको स्वर अति मीठो छ । यो मीठो स्वर तपाईंका लागि प्रकृतिको वरदान हो । तपाईंको नाम यसै स्वरबाट चलेको छ । तपाईंले पनि मैले जस्तो नाच्न जान्नुपर्छ, तपाईंको पनि मेरो जस्तै रंगीन बुट्टे पखेटा हुनुपर्छ भन्ने छैन । कसैसित कुनै गुण हुन्छ कसैसित कुनै । मेरा पखेटा राम्रा छन्, म नाच्न जान्दछु तर मेरा खुट्टा हेर्नुस् त कति नराम्रा छन्, म गाउन थालेँ भने रोएजस्तो आवाज आउँछ । यसमा म दुःखित छैन । म मेरो सुन्दरतामा गर्व गर्छु । तपाईं आफ्नो स्वरमा गर्व गर्नुहोस् । अरुको गुण देखेर दुःखित हुने होइन, आफ्नो गुण खोजेर खुसी हुन जान्नुपर्छ । आफूमा त्यस्तो गुण राखिदिएकोमा प्रकृतिलाई धन्यवाद दिनुपर्छ । आउनुहोस् । गीत गाउनुहोस् र हामीलाई तपाईंको त्यो अनुपम आवाजमा लठ्ठिने अवसर दिनुहोस् ।”

मयूरको कुराले कोइलीको चित्त बुझ्यो । कोइलीले आँसु पुछ्यो र आफ्ना स्वरहरुलाई पूर्ण रुपमा उरालेर गर्वका साथ गीत गाउँन थाल्यो ।