हात्ती नारायण

तमिल बालकथा

धेरै पहिलेको कुरा हो– गुरुकुल शिक्षाको जमानाको कुरा ।

 एक घना जङ्गलमा एकजना तपस्वी बस्थे । तिनका थुप्रै शिष्यहरु थिए । शिष्यहरु गुरुसँग बस्थे । त्यस समय पढ्नको लागि अहिलेका जस्ता पुस्तकहरु थिएनन् । पुस्तकको आवश्यकता पनि थिएन । शिष्यहरु गुरुको मुखबाट मन्त्र र उपदेशहरु सुन्थे । अनि कण्ठस्थ गर्थे । बढी ज्ञान पाउन गुरुको सेवा गर्थे । गुरुले भनेको मान्थे । जपतप गर्थे । जसरी पनि गुरुलाई प्रसन्न राख्थे । यस्तै शिष्यहरु गुणी मानिन्थे ।

गुरुको उपदेशहरुमध्ये एउटा थियो– प्रत्येक कुरामा नारायण देख्ने उपदेश । गुरु भन्थे हरेक वस्तुमा नारायणको वास छ । त्यसकारण प्रत्येक वस्तु वा प्रत्येक जीवजन्तुलाई आदर गर्नुपर्छ, नमस्कार गर्नुपर्छ । यसरी उपदेश दिँदा गुरुजी प्रल्हादको कथाको उदाहरण पनि दिन्थे ।

सबै शिष्यका बुद्धिको स्तर बराबर थिएन । वराबर हुन सम्भव पनि थिएन । कुरा गर्ने, सम्झाउने बुझाउने तरिका अलग अलग थियो ।

एक दिन सबै शिष्यहरु गुरुको लागि दुबो टिप्न बीच जङ्गलको बाटोमा निस्केका थिए । परबाट कसैको आवाज आयो – हट हट बाटोबाट हट, टाढा हट, मदमत्त हात्ती आउँदैछ, बाटो छोडेर पाखा लाग ! हट !!”

सबै शिष्यहरु हतारहतार पाखा लागे । तीमध्ये एकजना शिष्य भने कतै पाखा लागेन । बीचबाटोबाट निर्धक्क हिँडिरह्यो । ऊ बहिरो थिएन । आवाज नसुनेर उसले त्यसो गरेको होइन । उसले सोचेरै त्यसो गरेको थियो । उसले सोच्यो, गुरुले प्रत्येक वस्तु र प्रत्येक प्राणीमा नारायणको वास छ भनेपछि मदमत्त हात्तीमा पनि त नारायणको वास होला । नारायणले त रक्षा गर्छन् । म किन नारायणसित डराएर भागूँ ? ऊ अगाडिबाट लस्किँदै आएको हात्तीलाई हात जोडेर प्रार्थना गर्न लाग्यो ।

अटेर बनेर हात्तीको बाटोमा उभिइरहेको यो बहुलाजस्तो मान्छेलाई देखेर हात्तीवाला परबाट चिच्यायो– “ए भाग ! भाग ! त्यहाँबाट भाग !” जति चिच्याएपनि शिष्य बाटोबाट डेग चल्ने पक्षमा थिएन । गुरुनाम जप्दै नमस्कार मुद्रामा उभिइरह्यो ।

छिनभरमै हात्तीनारायण त्यहाँ आइपुग्यो । गुरुभक्त शिष्यलाई सूँढले समातेर उचाल्यो र टाढा फ्याँकिदियो । रुखका हाँगा र बोटहरुमा ठोक्किँदै ऊ निककै टाढा चउरमा पछारियो । आफ्नो बचाउको लागि भयभीत हुँदै यताउति लुकेर बसेका अरु शिष्यहरुले यो दृश्य देखे । तिनीहरु उसको नजिकै आए । उसको शरीरभरि घाउ थिए । ऊ बेहोश अवस्थामा थियो । शिष्यहरुले तुरुन्त गुरुजीलाई खबर गरे ।

गुरुजी हतार हतार त्यहाँ आइपुगे । जडीबुटी खोजे । रस निकाले । शिष्यको घाउमा लेप लगाइदिए । कुनै बुटीको रस मुखमा हालिदिए । कुनै बुटी माडेर सुँघाए ।

शिष्यले बिस्तारै आँखा खोल्यो । उसको एकजना गुरुभाइले सोध्यो – “मदमत्त हात्ती आएको खबर सुनेर पनि तिमीले बाटो नछोडेको किन ?”

‘‘गुरुजीले नै भन्नु भएको त हो नि, सबै वस्तुमा, सबै प्राणीमा नारायण हुन्छ भनेर । हात्तीनारायणलाई नमस्कार गरुँ भन्ने लाग्यो । बाटोमा उभिएँ । तिमीले यति पनि बुझ्दैनौ ?”

शिष्यको कुरा सुनेर गुरुजीले भन्नुभयो, “ल ठीक छ तिमीले भन्यौ हात्तीनारायण आइरहेको थियो तर त्यो हात्तीनारायण आउनुभन्दा अगाडि हात्तीवाला नारायणको जोरजोरको आवाज पनि त आइरहेको थियो । त्यस आवाजलाई चाहिँ तिमीले किन सुनेनौं ? हात्तीवाला नारायणले तिमीलाई बाटोबाट हट हट भनिरहेको थियो । जुन कुरामा पनि नारायण हुन्छ भनी ठान्ने तिमीले त्यो हात्ती हाँकेर आउने मान्छेलाई पनि नारायण ठान्नु पर्थ्यो । उसको कुरा मान्नु पर्थ्यो हैन र ?”

गुरुका शिष्यसित त्यतिखेर जवाफमा बोल्ने कुरा केही भएन । ऊ चूप लाग्यो । एक अर्को शिष्यले भन्यो, “पिठ्यूँतिरबाट पछारियौ र बाँच्यौ । छाती ठोकिएको भए, टाउको ठोकिएको भए धूलो हुन्थ्यौ धूलो ! – हात्ती नारायणको कृपाले तिम्रो यो जिन्दगी त्यहीँ समाप्त हुन्थ्यो ।”

प्रस्तुति: एस.आर.एन.