लोभी बुढी

(श्रीलंकाका कथा)

कुनै समयको कुरा हो । एउटा गाउँमा एउटी बुढी थिई । ती बुढी असाध्यै लोभी थिई । उसका घरमा एउटा खिरिलो जाँगरिलो कुखुरा थियो । त्यसले दिनदिनै एउटा एउटा अण्डा पार्थ्यो । गाउँमा अरु बुढीहरुले पनि कुखुरा पालेका थिए । तिनीहरुका कुखुरा अल्छी थिए । नियमित अण्डा पार्दैनथे । अण्डा  पारे पनि त्यति राम्रो अण्डा  पार्दैनथे । दिनदिनै अण्डा  पार्ने कुखुरा पालेकी बुढीलाई यी सबैले डाहा गर्थे ।

यसरी नै केही महिनाहरु बिते । यसबीच अण्डा  पार्ने कुखुरा पालेकी बुढीका मनमा लाग्यो, “मेरो कुखुराले दिनको एउटा अण्डा पार्छ, दुइटा अण्डा पारे त अरु जाती हुन्थ्यो । अब म यसलाई बढी दाना दिन्छु । त्यसपछि दिनको दुईपटक अण्डा पार्ला नि, बिहान पनि बेलुका पनि !”

त्यस दिनबाट लोभी बुढीले आफ्नो कुखुरालई बढीभन्दा बढी दाना खुवाउन थाली । आफू बसेरै टन्न खुवाउन थाली । यसरी दाना खुवाउँदा खुवाउँदा कुखुरा मोटाउँदै मोटाउँदै गयो । धेरै मोटाएपछि त्यो कुखुरा बसेको ठाउँबाट उठ्न र आँगनतिर जान पनि अल्छी मान्न थाल्यो । पहिले दिनको एउटा अण्डा पार्ने कुखुरा अब एउटै अण्डा पनि पार्न छाड्यो ।

यो कुरा थाहा पाएर गाउँका अरु बुढीहरु पेट मिचीमिची हाँसे । “लोभी बुढीको कुखुराले अण्डा पार्नै छाडेछ । बढी अण्डाको लोभ गरेर बुढीले कुखुरालाई नचाहिँदो किसिमले दाना खुवाई । आखिर अब दिनको एउटा त के ? हप्ताको एउटा अण्डा पनि हरायो ।” यसो भन्दै सर्वसाधारण गाउँलेले पनि आपसमा लोभी बुढीको कुरा काटे ।

प्रस्तुति: शारदारमण नेपाल