आमा कछुवा र छोरा कछुवाका कुरा

एकादेशमा एउटा रमाइलो ताल थियो । त्यहाँ रंगीचंगी माछाहरु थिए । त्यहाँ कछुवाका आमा छोरा पनि थिए ।

एउटा घमाइलो बिहानीमा कछुवाका आमा छोरा तालबाहिर किनारमा निस्के । उनीहरु दुबै घुम्ने, रमाउने मुडमा थिए । मन्द मन्द बतास, हाँसका क्वाँक क्वाँक, पल्लो किनार जंगलमा चराको चिरबिर– सम्पूर्ण वातावरण नै सङ्गीतमय थियो । मानिसहरु ताल किनारका सुन्दर सुन्दर रुखमुनि बेन्चमा बसेर प्रकृतिको मनोरम दृश्यको आनन्द लिइरहेका थिए ।

कछुवाका आमा छोरा डुल्दै डुल्दै तीरमा अगाडि बढे । एक्कासि आमा कछुवाका मनमा आयो, “यत्रोविधि मानिसहरु ठाउँठाउँबाट हामीलाई नै हेरिरहेका छन् त !” उसले आफूप्रति बढी सचेत हुँदै छोरातिर हेरी । छोरो बटारिंदै ब्याङच्याङ् ब्याङच्याङ् गर्दै हिंडिरहेको थियो । हिँडाइ दखेर आमा कछुवालाई लाज लागेर आयो ।

“छोरा,” हतार हतारसित बोलाउँदै आमा कछुवाले भन्यो, “किन तिमी दायाँबायाँ दुबैतिर बटारिंदै हिँडेको ? यो त राम्रो भएन नि ! यस्तो हिँडाइ के हिँडाइ ? छिः देख्नेले पनि के भन्लान् ? त्यत्रा मान्छे हेरिरा’छन् । खै म त त्यसरी ब्याङच्याङ् गरेर हिँड्या छैन । सोझै हिँडिरा”छु ।”

आमाका कुरा सुनेर छोरा कछुवा झोक्कियो । उसले भन्यो, “आमा, मलाई तपाईं त्यसी होच्याएर किन भन्नुहुन्छ ? मैले त तपाईंकै सिको गर्‍या न हुँ । तपाईं जसरी हिँड्नुहुन्छ म त्यसरी नै हिँड्या हुँ । मेरो हिँडाइ बाँगोटिङ्गो छ, सोझो छैन, राम्रो छैन भने पहिले तपाईं सोझो र राम्रो हिँडेर मलाई देखाउनुहोस्, सिकाउनु– होस् ! म तपाईंले सिकाएको तरिकाले नै हिँड्नेछु ।”

छोरा कछुवाका कुरा सुनेर आमा कछुवा चुप लाग्यो । वरिपरि हेर्‍यो । “तै तै छोराले विरोध गरेर भनेको कसैले  सुनेन ! सुनेको भए लाजै हुने !” आमा कछुवाले सोच्यो, “वास्तवमा गल्ती त मेरै हो ! मैले छोरालाई आलोचना गरेजस्तो म आफैं पनि त नढल्पलाइकन सोझो हिँड्न सकेको छैन ! सन्तानलाई राम्ररी चल्न, बोल्न, हिँड्न सिकाउनु छ भने पहिले आफूले पनि त त्यसरी नै चल्न बोल्न र हिंड्न सक्नुपर्‍यो नि हैन र ?”

यस्तो सोचेपछि आमा कछुवाले छोरा कछुवालाई पहिले विचार नगरी प्याच्च भन्ने बानी चटक्कै छोड्यो ।

प्रस्तुति: शारदारमण नेपाल