सम्झनाका तरेलीमा प्राध्यापक माणिकलाल सर

जीवन एउटा रुख हो र मृत्यु त्यसबाट झरेको पात !
सुफी सन्त रुमी

हरेक दिन यस भौतिक संसारबाट लाखौं देहहरुले महाप्रस्थान गरिरहेका हुन्छन् । जन्मेपछि मरण अनिवार्य शाश्वत सत्य हो । यस हिसाबले मृत्युलाई एउटा सहज प्राकृतिक प्रक्रियका रुपमा लिइनुपर्छ । तर केही मृत्यु यस्ता हुन्छन्, जसलाई सहज रुपमा स्वीकार्न गाह्रो पर्छ । त्यस्ता मृत्युले मनमा उदासीनता, बेचैनी र ठूलै चीज गुमाएको अनुभूति गराउने गर्छ ।

जनमानसमा माणिक सरको नामले प्रिय र चर्चित प्राध्यापक माणिकलाल श्रेष्ठको अघिल्लो वर्ष चैत्र ३, २०७७ सालमा भएको दुःखद निधनले त्यतिखेर मलाई त्यही महसूस गराएको थियो ।

(केही साल पहिले भोटाहिटीको आकाशेपुलमा अचानक भेट हुँदा खिचिएको माणिक सरको तस्विर)

मेरो बुझाइमा माणिक सरको व्यक्तित्व र बौद्धिक आभालाई सूर्यसँग तुलना गर्न सकिन्छ, जसको बारेमा महिमामण्डन गरेर शब्दहरु खर्च गर्नु भनेको सूर्यलाई दियो बालेर देखाउनु सरह नै हुन्छ । तथापि, निधनको वार्षिकीको बेलामा मैले चिनेका–जानेका र बुझेका माणिक सरका बारेमा आफ्ना अनुभूतिहरु साझेदारी गर्न उचित ठानेको छु ।

माणिक सरसँगको मेरो परिचय २०४७ सालको जनआन्दोलनपछि मात्रै भएको हो, जुनबेलामा म संरचना साप्ताहिक पत्रिकामा आबद्ध थिएँ । बामपन्थी विचारधाराप्रतिको ‘उग्र’ आकर्षणले मलाई समयक्रममा नेपाली वामपन्थी आन्दोलनका ‘बटवृक्ष’ माणिक सरसँगको भेट जुराइदिएको थियो । अत्यन्तै सरल व्यक्तित्वका धनी माणिक सरमा सिद्धान्त र दर्शनका गहन कुराहरुलाई पनि सहज ढंगले व्याख्या गर्ने र बुझाउन सक्ने खुवी थियो । त्यसबेला वामपन्थी सिद्धान्त, दर्शनका बारेमा सरल, सहज र बुझ्ने ढंगले दीक्षित हुने मौका उहाँको सान्निध्यले प्राप्त भएको थियो । त्यहीक्रममा उहाँका विचारहरु जान्ने, बुझ्ने र छाप्ने मौका मैले पाएको थिएँ । माणिक सरकै माध्यमबाट पहिलो पुस्ताका इमान्दार वामपन्थी नेताहरु शम्भुराम श्रेष्ठ, कृष्णदास श्रेष्ठलगायत अन्य थुप्रै वरिष्ठ वामपन्थी व्यक्तित्वहरुसँग पनि भेटघाट र सान्निध्यताको मौका पनि जुरेको थियो ।

समयक्रममा २०६४ ताका माणिक सरसँग अझ निकट रहेर काम गर्ने अवसर मलाई गोरखापत्र संस्थानमा प्राप्त भयो । गोरखापत्र संस्थानमा उहाँको नियुक्ति सञ्चालक समितिका सदस्यका रुपमा भएको थियो भने मेरो हैसियत प्राविधिक सल्लाहकारको थियो । मेरो बुझाइमा उहाँकै विशेष पहल, सुझाव र अग्रगामी दृष्टिकोणका आधारमा गोरखापत्र संस्थानले इतिहासमै बहुभाषी प्रकाशनहरुको थालनी गर्ने दिशामा अग्रसरता लिन सकेको थियो ।

इतिहासको लामो कालखण्डमा शासकहरुको भजनपत्रको रुपमा गोरखापत्रले कुख्याती कमाएको थियो । त्यो कुख्यातीलाई सुख्यातिमा बदलेर गोरखापत्र पनि जनताका आवाजलाई बोक्ने र बोल्ने अखबारको रुपमा स्थापित गर्ने कोशिशको थालनी हाम्रो टीमले गरेको थियो । खास गरेर समाचार मूल्य नबोक्ने तर शासकहरुले बोलेकै कारण प्रथम पृष्ठमा ठूलो तस्विरका साथ महत्वहीन समाचारलाई पनि प्राथमिकताका साथ छाप्नु पर्ने परम्परालाई हामीले खण्डित गरेका थियौं । त्यसबेला हामीले शासकहरुले भने–बोले वा गरेका आधारमा हैन, समाचार–मूल्यको आधारमा प्राथमिकीकरण गर्ने कार्यको थालनी पनि गरेका थियौं । सबैभन्दा महत्वपूर्ण कुरा त राज्यको लगानीमा प्रकाशित भइरहेको गोरखापत्रको एकल भाषाको एकाधिकारलाई तोडेर त्यसलाई बहुभाषी प्रकाशनको रुप दिइएको थियो । यस कार्यमा सबैभन्दा ठूलो योगदान र हाम्रा लागि प्रेरणाको स्रोत माणिक सर नै हुनुहुन्थ्यो ।


तर गोरखापत्रलाई जनताको अखबार बनाउने हाम्रो प्रयत्नमा थुप्रै तगाराहरु देखापरे, यथास्थितिवाद र प्रतिगमनकारी विचारधाराले बलियोसँग जरो गाडेको गोरखापत्र संस्थानमा काम गर्ने क्रममा केही अप्ठ्याराहरु सिर्जना भए । अरु त अरु, अग्रगमनकारी भनिएको र दावी गर्दै आएको तत्कालीन माओवादी शासनसत्ता पनि त्यसको गोलचक्करमा फस्न पुग्यो । फलतः माणिक सर, तत्कालीन सल्लाहकार राजेन्द्र महर्जन र म चन्द्र खाकीले आपसी सरसल्लाह गरेर राजीनामा दिने टुङ्गोमा पुग्यौं । माणिक सरको राजीनामामा प्रयुक्त शब्दावली निक्कै कडा थियो । त्यो माणिक सरको नितान्त स्वविवेकमा लेखिएको थियो । यो वेग्लै कुरा हो कि सो राजीनामा पत्र उहाँले संस्थानमा बुझाउन अघि हामीसँग त्यसमा प्रयुक्त शब्दावलीहरुका बारेमा चर्चा भने अवश्य पनि गर्नुभएको थियो । तर दुर्भाग्यवश, त्यसको अपजस भने मेरो टाउकोमाथि आइलाग्यो । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरासमक्ष गोरखापत्र संस्थानमा रहेका माओवादी पक्षधर भनिएका केही व्यक्तिहरुबाटै के कुरा पुर्याइयो भने राजीनामापत्रमा त्यस्ता ‘कडा’ शब्दावली चन्द्र खाकीले घुसाएका हुन् । पछि स्वयं माणिक सरले पनि मलाई यो कुरा पटक–पटक बताउनु भएको थियो ।

 


गोरखापत्रबाट अलग्गिएपछि माणिक सरसँगको भौतिक भेटघाट केही पात्लियो तर उहाँसँगको सम्पर्क र सम्बन्ध भने निरन्तर रह्यो । पछि पुनः उहाँसँगको भौतिक भेटघाटलाई सघन बनाइदिने सेतु चाहिँ नयाँ कोशी मासिक बन्न पुग्यो । खासगरी, मोहन वैद्य खेमाले निकालेका नयाँ कोशी मासिकको सम्पादक बनिदिनुपर्ने साथीहरुको आग्रह आयो । प्राविधिक कारणले सम्पादक बसिदिनुृपर्ने साथीहरु, अझ विशेष गरेर इन्द्र राउतजीको आग्रहलाई इन्कार गर्न नसकेकोले म केही समय सो मासिकको पनि सम्पादक भइटोपलें । राम्रो के भयो भने, मेरै रुचि र आग्रहमा नयाँ कोशीकै माध्यमबाट भए पनि माणिक सरसँगको भेटघाट र सान्निध्यताले थप निरन्तरता पायो । विविध सवालहरुमा हामीले नयाँ कोशीमा माणिक सरका विचारहरु पटक–पटक छाप्यौं ।


भौतिक भेटघाट खासै सघन नरहेपनि बेलाबखतमा माणिक सरसँग फोनका माध्यमबाट संवाद भने भइरहन्थ्यो । त्यसबीचमा उहाँले एउटा पुस्तक निकाल्ने कुरा गर्नुभयो । ‘मानव समाजको विकासबारे माक्र्सवादी दृष्टिकोण’ शीर्षकमा सो पुस्तक २०६८ सालतिर प्रकाशित पनि भयो । उक्त पुस्तकको टाइपिङ–साजसज्जादेखि एक चरणको सम्पादन म स्वयंले गरेको थिएँ । सो पुस्तकको अन्तिम सम्पादन मित्र राजेन्द्र महर्जनले गर्नुभएको थियो ।


माणिक सरसँगको सान्निध्यताको संस्मरण गर्दा मलाई अत्यन्तै प्रभावित पारेको कुरा उहाँको विलक्षण संस्मरण शक्ति पनि थियो । इतिहास, भाषा, साहित्य, राजनीति अर्थशास्त्रलगायतका विविध विषयवस्तुहरुमा उहाँको विशेष दख्खल थियो । त्यसमाथि थप, इतिहासमा घटित घटनाक्रमहरुबारे माणिक सरका ज्ञान, जानकारी र संस्मरण लोभलाग्दा थिए । उहाँबाट बेलाबखतमा त्यस्ता थुप्रै घटनाक्रमहरुका बारेमा रोचक जानकारीहरु प्राप्त गर्ने मौका मलाई जुरेको थियो । उदाहरणका लागि, भक्तपुरका मल्लकालीन शासकहरुको सनकमा सर्वसाधारण खलकसँग विवाह गरेको ‘कसुर’ मा कसरी एउटा दरवारिया भारदारका खलकहरु जातिच्यूत/पदच्यूत भएर खाकी थरको उत्पत्ति भएको थियो भन्ने रोचक कथा उहाँले सुनाउनु भएको थियो । त्यसैगरी, बनारसका युवराजले कपिलवस्तुमा आक्रमण गर्दा भागेर तराईका जंगलमा शरण लिएकाहरु कालान्तरमा थारु कहलिएका तथा काठमाडौं उपत्यकामा शरण लिएकाहरु शाक्यका रुपमा स्थापित भएका इतिहासका कथा पनि उहाँले बताउनुभएको थियो । इतिहासमा राम्ररी अभिलेख नभएका, हुन नपाएका थुप्रै घटना–श्रृतिकथाहरु माणिक सरलाई कण्ठस्त जस्तै थियो ।

इतिहासका घटनाक्रमहरुबारेमा उहाँको दख्खल र जानकारीबारे मलाई प्रभाव पारेको एउटा रोचक घटना उल्लेख गर्नु प्रासंगिक नै होला । अस्ट्रियाका ‘युनिभर्सिटी अफ इन्सब्रुक’मा ‘इन्टरकल्चलर फिलोसफी’ विषयमा प्राध्यापन गर्नुहुने मोस्तफा भाजिरीसँग मेरो निकट परिचय छ । मानवशास्त्री तथा पेशाले चिकित्सक समेत रहेका भाजिरीलाई भारतमा मुगल शासनका बारेमा केही जानकारीहरु हासिल गर्ने इच्छा थियो । त्यसबारेमा नेपालमा कसैले सहयोग गर्न सक्छ कि भन्ने उनको जिज्ञासामा मैले माणिक सरको नाम सुझाएको थिएँ । त्यसबारेमा माणिकसरलाई जानकारी गराउँदा उहाँले आफूले जानेबुझेको कुरा बताउन कुनै आपत्ति नहुने भनी सहमति दिनुभयो । पछि मोस्तफा भाजिरी नेपाल आएको बेलामा मैले माणिक सरसँग भेटघाट गराएँ । उहाँहरुका बीच करिब ३ घण्टाजति सघन छलफल/वार्तालाप भएको थियो । वार्तालापका दौरानमा माणिक सरले बताउनुभएका कुराहरुलाई भाजिरीले आफ्नो नोटबुकमा नोट समेत गर्नुभएको थियो । माणिक सरको ज्ञान र संस्मरण क्षमताबाट आफू प्रभावित भएको कुरा भाजिरीले मलाई पछि पनि बताउनुभएको थियो । रोचक त के रह्यो भने त्यसको केही दिनपछि माणिक सरले मलाई फोन गर्नुभयो र भाजिरीसँगको छलफलको दौरानमा आफूले उल्लेख गरेका केही तिथिमितिहरुमा असावधानीवश फरक परेको जानकारी दिनुभयो । साथै उहाँले आफूले वार्तालापका दौरानमा उल्लेख गरेको अमुक मितिको सट्टा अमुक हुनुपर्ने र सो कुराको जानकारी मोस्तफालाई दिन समेत भन्नुभयो । मैले सो कुरा मेलमार्फत् मोस्तफालाई जानकारी गराएको थिएँ । यो घटनाले उहाँलाई निक्कै प्रभाव पारेको थियो ।

पछि कोशी मासिकबाट मैले आफूलाई अलग्याएपछि माणिक सरसँगको भौतिक भेटघाट र सम्बन्ध अलि पातलो भयो । बीचमा फोन सम्पर्क, कुराकानीहरु चाहिँ भइरहन्थे । आफ्नो पूर्व प्रकाशित पुस्तक ‘मानव समाजको विकासबारे माक्र्सवादी दृष्टिकोण’ को परिमार्जित दोस्रो संस्करण निकाल्ने उहाँको इच्छा थियो । त्यसका लागि उहाँले पुस्तकका सामग्रीलाई थप परिमार्जन गर्ने केही कामहरु आफूले गरिरहेको जानकारी पनि दिनुभएको थियो ।

यसबीच माणिक सरको स्वास्थ्य स्थितिमा गडबडी देखापर्यो । अचानक उहाँ सिकिस्त हुनुभयो । उहाँ अस्पतालको उपचारबाट केही विसेक भएपछि घरमै राखेर उपचार गरिएको थियो । त्यसबेला म रातोपाटी अनलाइनमा आबद्ध थिएँ । रातोपाटीका संस्थापक ओम शर्मा, तत्कालीन प्रधान सम्पादक जिवेन्द्र सिम्खडा र म उहाँलाई भेट्न गयौं । विरामीको कारण उहाँको स्मरण शक्ति केही कमजोर भएको थियो । सामान्य अवस्थामा तीब्र संस्मरणशक्ति राख्नुहुने माणिक सरले त्यसबेला चाहिँ आगन्तुकहरुलाई घरि चिन्ने–नचिन्ने स्थिति थियो । मानसिक, शारीरिक रुपमा सधैं सक्रिय माणिक सर ओछ्यान लागेर निश्क्रिय बन्नुपर्दा निराश जस्तै बन्नु भएको थियो । उहाँले पटक–पटक भन्नुभएको थियो– ‘यस्तरी त के बाँच्नु ?’ मैले त्यसबेला उहाँलाई भनेको थिएँ: सर, यस्तो निराशाको कुरा नगर्नुहोला, अझै १०–१५ वटा पुस्तक प्रकाशित नगरिकन यो संसार छोड्ने छुट तपाईंलाई छैन ।’ मेरो कुरा सुनेर उहाँ फिस्स हाँस्नु मात्रै भयो, खासै जवाफ दिनुभएन । हामी फर्कंदा सुशीला म्याम (माणिक सरको धर्मपत्नी, नेपालको पहिलो महिला न्यायाधीश)ले तल आएर मलाई भन्नुभयो– ‘बाबुलाई धेरै धेरै धन्यवाद । उहाँ त खालि निराशाका मात्रै कुरा गर्नु हुन्छ, तपाईंको कुरा सुनेर मनलाई साह्रै बल पुगेको छ ।’

दृढ इच्छाशक्ति, परिवारजनको असीम माया अनि बेलैमा प्राप्त उपचारका कारण माणिक सरको स्वास्थ्यस्थितिमा केही सुधार भएर आयो । तत्पश्चात उहाँलाई घरमै राखेर उपचार गरिन थालियो भने मृगौलमा समेत समस्या देखिएपछि उहाँलाई नियमित डायलोसिस पनि गरिन थालियो ।
यहीक्रममा २०७७ जेठ ९ गते माणिक सरकी धर्मपत्नी सुशीला म्यामको दुःखद निधन भयो ।

अनि माघको पहिलो हप्ता अचानक माणिक सरको स्वास्थ्यस्थिति फेरि बिग्रेर आयो । अचानक मुटुको चाल बन्द भएर बेहोस भएपछि उहाँलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । स्वास्थ्यमा पछि केही सुधार भएपछि उहाँलाई बाँसवारी स्थित गंगालाल अस्पतालमा राखेर उपचार गरियो ।
माणिक सरलाई गंगालालमा राखिएको खबर पाएपछि मित्र राजेन्द्र महर्जन र म उहाँलाई भेट्न गंगालाल पुगेका थियौं । उहाँका जेष्ठ छोरा मलखलालले सरको स्वास्थ्यस्थितिमा केही सुधार भए पनि कोमामा नै रहनुभएको र यसै भन्न नसकिने जानकारी दिनुभएको थियो । स्मरण रहोस्, मलखलाल श्रेष्ठ आफैं विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।

तत्पश्चात सरको स्वास्थ्यस्थितिबारे मलखलालजीबाट बेलाबखतमा जानकारी प्राप्त भइरहेकै बीच अचानक उहाँको दुःखद निधन भयो । खबर प्राप्त हुनेबित्तिकै हामी दौडियौं दाहसंस्कार स्थल शोभा भगवतीतिर । आफ्नो कर्मक्षेत्र जर्मनीबाट मलखलाल दिउँसो आइपुग्नुभयो । उहाँको परम्परागत दाहसंस्कार भयो ।
०००

माणिक सरको निधन नेपाली वाम आन्दोलनको लागि एउटा ठूलो क्षति हो– यो कुरामा कुनै शंकै छैन । नेपाली वामआन्दोलनका अग्रज तथा समग्र वामआन्दोलनकै मार्गदर्शकको हैसियत राख्नुहुने माणिकलाल सरलाई पुराना पुस्ता मात्र होइन, अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् । उहाँको ज्ञानको परिधि निक्कै फराकिलो थियो, विविध विषयमा उहाँको बलियो पकड थियो र स्मरण क्षमता पनि विलक्षणको थियो । त्यसैले कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि उहाँसँग बहस/छलफल गर्ने तथा सरसल्लाह लिने गर्थे । माणिक सरको शवयात्राको दौरानमा मूल्यांकन मासिकका पूर्व प्रधान सम्पादक तथा वामपन्थी बुद्धिजीवि श्याम श्रेष्ठ, राजेन्द्र महर्जन, नारायण वाग्ले र हामीहरु साथसाथै थियौं । त्यसबेला श्याम श्रेष्ठले बताउनु भएअनुसार, ‘माओ त्से तुङ र उत्तर कोरियाली सर्वोच्च नेता किम इल सुङले समेत व्यक्तिगत रुपमा सोधीखोजी गर्ने नेपालका एक मात्र वामपन्थी व्यक्तित्व माणिकलाल सर नै हुनुहुन्थ्यो ।’

उहिल्यै नयाँ कोशीको सम्पादन गर्ने सिलसिलामा माणिक सरको जीवनी, अनुभव–अनुभूतिहरुलाई क्यासेटमा धारावाहिक रेकर्ड गर्ने कुरा पनि मैले गरेको थिएँ । त्यसबेला सरले पाटनका कवि एवं अभियन्ता शाक्य सुरेन र साथीहरुले केही हदसम्म त्यो काम गरेको, त्यसैलाई व्यवस्थित गर्दा हुने र त्यहाँ नसमेटिएका कुराहरु चाहिँ थप रेकर्ड गर्न सकिने सल्लाह पनि दिनुभएको थियो । पछि ती सामग्रीहरुलाई आमजनतामाझ कसरी पुर्याउने भन्नेबारे शाक्यजीसँग एक चरण फोन कुराकानी पनि भएको थियो तर परिस्थिति अनुकूल नभएर त्यो कुरा त्यत्तिकै अगाडि बढ्न सकेन । अझै पनि उक्त सामग्रीलाई व्यवस्थित गरेर सार्वजनिक गर्न सकियो भने माणिकसरलाई बुझ्न तथा उहाँको अनुभवका आधारमा उहाँले भोग्नुभएको कालखण्डलाई पढ्न–बुझ्न गहकिलो स्रोत बन्न सक्छ ।

माणिक सरका कतिपय पुस्तकहरु प्रकाशित छन् । त्यसबाहेक उहाँका थुप्रै रचना–अन्तर्वार्ताहरु फुटकर रुपमा प्रकाशित छन् भने कतिपय रचनाहरु सम्भवतः अप्रकाशित पनि हुन सक्छन् । ती सबैलाई एकत्रित गरी संगालेर पुस्तकको रुपमा प्रकाशित गर्न सकिएमा नेपाली वामआन्दोलन– जाति–भाषा आन्दोलनका लागि एउटा राम्रो पठनीय स्रोत–सामग्रीहरु नै पनि बन्न सक्छ ।

सुखद कुरा के पनि हो भने यस कार्यका लागि उहाँका दुवै छोराहरु पनि सकारात्मक हुनुहुन्छ । त्यस कार्यलाई कसरी अगाडि बढाउने भन्नेबारेमा हामी (मलखलाल श्रेष्ठ, राजेन्द्र महर्जन र म) बीच एकाध पटक अनौपचारिक कुराकानी पनि भएका छन् । त्यस दौरानमा माणिक सरको नाममा एउटा फाउण्डेसन बनाउने र सोही संस्थामार्फत् माणिक सरका कृति रचनाहरुलाई खोज्ने, संगाल्ने र प्रकाशित गर्ने प्रारम्भिक सोच पनि बनेको हो । सम्भवतः कोभिडको कहर नभएको भए उक्त कार्य निक्कै अघि बढिसकेको हुने थियो । आशा गरौं, उक्त कार्यले भविष्यमा चाँडै नै मूर्तता लिन पाउनेछ ।

तिथिका आधारमा गत फागुन २१ गते राजधानीमा आयोजित माणिकलाल सरको सम्झना सभा