कलम लिएर अँध्यारोसित लड्ने महान् योद्धा पारिजात

पारिजात विश्वकै सफल महिला साहित्यकारमध्ये एक मानिनुहुन्छ  ।  वहाँ नेपाली साहित्यको त अत्यन्तै चम्किलो तारा नै हुनुहुन्छ । नेपाली साहित्यमा महाकवि देवकोटापछिको युग वास्तवमा पारिजातको युग रह्यो । पारिजातले कविता कथा, निबन्ध, उपन्यास सबै विधामा कलम चलाउनुभयो । सुन्दर प्रवाहसहितको कवितामय भाषा समकालीन महत्वको विषयवस्तु र प्रस्तुतिको मीठो शैलीले पारिजातका उपन्यासहरु बेजोड बनेका छन् । काव्य प्रतिभा र सीपकी धनी पारिजातले आफ्नो जीवन रहँदासम्म नेपाली साहित्यलाई गति र नेतृत्व दिने प्रयास गर्नुभयो । वहाँ आफ्नो शारीरिक पीडालाई पनि पर्वाह नगरी साहित्य सिर्जनामा लागि रहने, अत्यन्त नीडर, स्वाभिमानी र स्पष्टवक्ता व्यक्तित्व हुनुहुन्थ्यो ।

पारिजातका पिताको नाम डा. एस. के. वाइवा र माताको नाम अमृत मोक्तान थियो । परिवार गरिखाने वर्गको थियो । पारिजात बालखैदेखि गम्भिर स्वभावकी हुनुहुन्थ्यो । कल्पनाशील र अन्तर्मुखी हुनुहुन्थ्यो । बाल्यकालमा वहाँ साथी सँगीनीसित चिया बगान, बन बगैँचा, नदी किनार डुल्न–घुम्न, पोल्टा भरिने गरी जंगली फँल टिप्न, खोलाका स–साना राम्रा चिप्ला ढुंगा बटुल्न, गीत गुनगुनाउँन, नाच्न मन पराउँनु हुन्थ्यो । वहाँलाई खाना पकाउँन पनि रमाइलो लाग्थ्यो । बाल्यकालका यी बानीबेहोरहरु वहाँमा पछिसम्म पनि कायमै रहेको थियो ।

परिजातका एक दाजु हुनुहुन्थ्यो र एक बाहिनी हुनुहुन्छ । दाजु शिव पोखरीमा डुब्न लागेको मान्छे बचाउन जाँदा आफैँ डुबेर बित्नु भयो । यो २०१० सालको घट्ना थियो । यस घटनापछि दार्जिलिङ बस्नै मन नलागेर डा. एस के वाइबा दुई छोरीका साथ काठमाडौं आउनुभयो । पारिजात पद्मकन्या विद्याश्रम डिल्लीबजारमा भर्ना हुनुभयो । त्यतैबाट २०११ सालमा एस.एल.सी. परीक्षा दिनुभयो, उत्तीर्ण हुनुभयो । २०१३ सालमा आइ.ए., २०१५ सालमा बी.ए. उत्तीर्ण गर्नुभयो । अंग्रेजी विषय लिएरै एम.ए. पढ्न शुरु गर्नुभएको थियो । स्वास्थ्यको कारण जाँच दिन सक्नु भएन । १३ वर्षकै उमेरदेखि वहाँलाई नसा र हाडको रोगले समातेको थियो । रोगले क्रमशः च्याप्दै लग्यो र एम.ए.को जाँच दिने समयतिर त उहाँलाई अशक्त नै बनायो ।

पारिजात अतिनै मिहिनेती हुनुहुन्थ्यो । बिरामी परेर जाँच दिन नभ्याए पनि वहाँले पढ्न छोड्नु भएन । अंग्रेजी र नेपाली साहित्यको धेरै अध्ययन गर्नुभयो । केही वर्ष विद्यालयमा अध्यापन पनि गर्नुभयो । यसैबीच २०२२ सालमा सिरिसको फँल उपन्यास प्रकाशित भयो र यसमा वहाँले मदन पुरस्कार पाउनुभयो ।

यसबीच दिनदिनै उहाँको स्वास्थ्य झन् झन् बिग्रदै गयो । हाडजोर्नीको रोगमाथि टि.बी., अल्सर, दम लगायतका रोगहरु पनि थपिए । आफ्नो मिहिनेतको बलबाट क्षमताले भ्याएसम्मको उपचार गराउँनुभयो तर सन्चो भएन । यस्तो अवस्थामा पनि नआत्तिकन साहित्य सिर्जनामा लागिरहनुभयो । हात खुट्टा पुरै कक्रेका थिए । उठ्न हिँड्न सक्ने अवस्था थिएन । शरीर सुकेको सिन्का बनेको थियो । त्यस्तो अवस्थामा पनि वहाँले लेखिरहनुभयो । वहाँले दर्जनौं कथा, उपन्यास, निबन्ध र कविताहरु लेख्नुभयो । वहाँले नाटक, गीतरचना र पत्रिकाको स्तम्भलेखन पनि गर्नुभयो । वहाँको इच्छाशक्तिकै कारण कलम समात्ने तीन वटा औँलाहरुलाई रोगले पनि निष्क्रिय पार्न सकेन । सभा गोष्ठीमा पुग्न र आफ्ना विचार राख्न वहाँले छोड्नु भएन । यसैबीच २०३१ बाट त वहाँ कम्युनिष्ट पार्टीकै सदस्यता लिएर काम गर्न थाल्नुभयो । शारीरिक अस्वस्थता र पीडाको पर्वाह नगरी ने.क.पा चौथो महाधिवेशनको बहिनी संगठन अखिल नेपाल महिला संघको अध्यक्ष हुनुभयो र भँमिगत शैलीबाट विभिन्न आन्दोलनमा सरिक हुनुभयो । ०३६ र ०४६ को आन्दोलनमा पारिजातले ठँलो योगदान दिनुभएको थियो । ०४६ मा लेखक कलाकारहरुले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको विरोध प्रदर्शनमा पारिजात अग्रपंक्तिमा हुनुहुन्थ्यो । जनआन्दोलन सकिएपछि पनि प्रज्ञाप्रतिष्ठानलाई दरबारिया नेतृत्वबाट मुक्त गर्न र लोकतान्त्रिक बनाउँन वहाँले आवाज बुलंद गर्नुभएको थियो । वहाँ त्यति बेलाको संघर्ष समितिको संयोजक नै हुनुहुन्थ्यो ।

पारिजातले नेपाल मानव अधिकार संगठनको संस्थापक उपाध्यक्ष, अखिल नेपाल महिला संघको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष भएर पनि काम गर्नु भएको थियो । पारिजातले विवाह गर्नु भएन । वहाँलाई जीवनभर साथ दिने र बाँच्न सघाउने वहाँकी बहिनी सुकन्या हुनुभयो ।

लामो समय सम्मको पुरानो रोगबाट २०५० वैशाख ५ गते विहान ४ बजे ५६ वर्षको अल्पायुमै काठमाडौको वीर अस्तपालमा वहाँको निधन भयो ।

Image source: https://www.facebook.com