प्रजा, प्रजातन्त्र र लोकतन्त्र

शब्द धातुबाट बन्छ । व्याकरण र शब्दकोषले शव्दको अर्थ निर्धारण गर्छ । शब्दको अर्थ सधैं एकैनासको रहिरहँदैन । प्रयोगका आधारमा शब्दको अर्थ माथि उठ्न, तल खस्न र पूरै बदलिन पनि सक्छ । यस्तो हुनु भाषाको नियम नै हो ।

उदाहरणका लागि हामी “प्रजा” शब्दलाई पनि लिन सक्छौं । जन्मने, जन्माउने अर्थको जा धातुमा प्र उपसर्ग लागेर प्रजा शब्द बन्छ । प्रजाको अर्थ सन्तान हो । उहिले उहिले कसैले थुप्रै सन्तान जन्मायो भने त्यसलाई प्रजापति भनिन्थ्यो । पुराणमा दक्षप्रजापति, कश्यपप्रजापति आदिका कथाहरु पढ्न पाइन्छन् । ती प्रजापतिहरु थुप्रै थुप्रै छोराछोरीका जन्मदाता थिए ।

समाज विकासका क्रममा ठाउँ ठाउँमा राजतन्त्र शुरु भएपछि “राजा भनेको सबैको बाबु हो” भन्ने प्रचार पनि शुरु भयो । त्यसै सिलसिलामा राजाहरु जनतालाई “प्यारा प्रजा” भनेर सम्बोधन गर्न थाले । व्यवहारमा क्रमशः जनताको शक्ति सम्पत्ति हत्याउँदै जान पनि थाले । जनतालाई अधिकारविहीन बनाउँदै जान पनि थाले । प्रजा शब्द राजासँग जोडिएर आउने शब्दका रुपमा चलन चल्तीमा रहिनै रह्यो । राजा महाराजाहरुले जनतामाथि गर्दै आएका व्यवहारका आधारमा “प्रजा” शब्दको अर्थ चाहिँ क्रमशः रैती र दुनियाँमा परिवर्तित हुँदै गयो । कुनै अधिकार नभएका निरीह रैती ।

युरोपतिर जनताको शासन चालु भएको केही शताब्दीपछि यही गत १८ औं १९ सौं शताब्दीतिर भारतीय महाद्वीपमा पनि “जनताको शासन” भन्ने कुरा चर्चामा आयो । अंग्रेजीमा “जनताको शासन” लाई “डेमोक्रेसी” भनिन्थ्यो । भारतीय विद्वान्हरुले त्यस शब्दको अनुवाद गर्दा “लोकतन्त्र” भन्ने शब्द चर्चामा ल्याए । त्यसैगरी “जनतन्त्र” भन्ने शब्द पनि प्रयोगमा आयो ।

भारतमा झण्डै २०० वर्षदेखि बेलायतका अंग्रेजको शासन थियो । जनता त्यसको विरोधमा थिए । १९४७ जनताको विरोधले जितेपछि अंग्रेजहरु बेलायत फर्के । भारतमा भारतीय जनताले छानेका प्रतिनिधिहरुको शासन शुरु भयो । त्यस शासन व्यवस्थालाई त्यहाँ लोकतन्त्र भन्ने गरिएको पाइन्छ ।

नेपालमा “जनताको शासन” भन्ने अर्थमा प्रजातन्त्र शब्दलाई प्रयोगमा ल्याइएको थियो । प्रजा भन्ने बित्तिकै “राजतन्त्र अन्तर्गतका जनता” भन्ने बुझिन्छ । पछि राजतन्त्रको पक्ष लिनेहरु आफैं पनि राजतन्त्र र प्रजातन्त्र एकैसाथ जान सक्दैन भन्न थाले । ०७ सालदेखि हालसालसम्मको व्यवहार र अनुभवबाट यो कुरा सबैले बुझ्ने गरी छर्लङ्ग पनि भयो । यसै कारण अहिले, अझ विशेष गरेर गणतन्त्र आइसकेपछि नेपालमा “जनताको शासन” को अर्थमा प्रजातन्त्र शब्द प्रयोग गर्न छाडिएको छ र लोकतन्त्र शब्द चलन चल्तीमा आएको छ ।