सम्प्रदाय: सही अर्थ, सन्दर्भ र समकालीन पुनर्व्याख्या
आजको समाजमा “सम्प्रदाय” शब्द सुन्नासाथ धेरै मानिसहरूको मनमा नकारात्मक धारणा उत्पन्न हुने गरेको छ। यसलाई संकीर्णता, कट्टरता, विभाजन र द्वन्द्वसँग जोडेर बुझ्ने प्रवृत्ति बढ्दो छ। तर, यदि हामी यसको मूल अर्थ, ऐतिहासिक विकास र दार्शनिक आधारलाई गहिराइमा बुझ्ने प्रयास गर्छौँ भने “सम्प्रदाय” वास्तवमा अत्यन्त सकारात्मक, आवश्यक र सभ्यताको विकाससँग जोडिएको अवधारणा हो। त्यसैले, यस शब्दको सही अर्थ र यसको समकालीन सान्दर्भिकताको पुनर्व्याख्या गर्नु आजको आवश्यकता हो।
“सम्प्रदाय” शब्द संस्कृत भाषाबाट आएको हो, जसको व्युत्पत्ति “सम् + प्र + दा” (सम्यक् रूपमा प्रदान गर्नु) बाट भएको मानिन्छ। यसको अर्थ हुन्छ: एक पुस्ताबाट अर्को पुस्तामा व्यवस्थित र शुद्ध रूपमा हस्तान्तरण गरिएको ज्ञान, मूल्य, साधना र अनुभवको परम्परा। यस अर्थमा सम्प्रदाय भनेको केवल कुनै संगठन, समूह वा पन्थ मात्र होइन, बरु गुरुबाट शिष्यसम्म निरन्तर प्रवाहित हुँदै आएको “जीवित ज्ञान–परम्परा” हो। यसले सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक अभ्यास, अनुशासन, आचरण र जीवनशैलीलाई पनि समेट्छ।
मानव सभ्यताको विकासक्रम हेर्दा सम्प्रदायहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण देखिन्छ। प्राचीन कालदेखि नै दर्शन, अध्यात्म, चिकित्सा, कला, सङ्गीत, योग र ध्यान जस्ता विविध क्षेत्रहरू गुरु–शिष्य परम्पराबाट नै विकसित भएका हुन्। यदि यी परम्पराहरू व्यवस्थित रूपमा हस्तान्तरण नभएका भए आज हामीसँग भएका धेरै गहन ज्ञानहरू हराइसक्ने थिए। यस अर्थमा सम्प्रदाय भनेको ज्ञानको संरक्षण गर्ने मात्र होइन, त्यसलाई समयअनुसार व्याख्या, परिमार्जन र विस्तार गर्ने माध्यम पनि हो।
सम्प्रदायको अर्को महत्त्वपूर्ण पक्ष भनेको “अनुशासन” हो। कुनै पनि गहिरो साधना वा ज्ञान प्राप्त गर्नका लागि निश्चित विधि, अभ्यास र मार्ग आवश्यक हुन्छ। सम्प्रदायले यही मार्गलाई स्पष्ट पार्छ । साधकलाई दिशा दिन्छ र अभ्यासलाई निरन्तरता दिन मद्दत गर्छ। उदाहरणका लागि, एउटै सत्यलाई विभिन्न सम्प्रदायहरूले फरक–फरक दृष्टिकोणबाट व्याख्या गर्न सक्छन्, तर सबैको उद्देश्य अन्ततः ज्ञान, मुक्ति वा आत्मबोधतर्फ नै केन्द्रित हुन्छ। यसले “विविधताभित्रको एकता” लाई पनि दर्शाउँछ।
तर, यति सकारात्मक र गहिरो अर्थ बोकेको “सम्प्रदाय” शब्द आज किन नकारात्मक रूपमा बुझिन थालेको छ? यसको मुख्य कारण सम्प्रदायको मूल भावमा आएको विकृति हो। जब सम्प्रदाय ज्ञानको मार्गबाट हटेर केवल पहिचान, शक्ति वा प्रभुत्वको माध्यम बन्छ, तब समस्या सुरु हुन्छ। “मेरो मात्र सही, अरू सबै गलत” भन्ने संकीर्ण सोचले सहिष्णुताको अन्त्य गर्छ र द्वन्द्वको वातावरण सिर्जना गर्छ। यही अवस्थालाई हामी “कट्टर साम्प्रदायिकता” भन्न सक्छौँ, जुन वास्तवमा सम्प्रदायको वास्तविक स्वरूप नभएर त्यसको विकृत रूप हो।
इतिहासमा भएका धेरै धार्मिक तथा सामाजिक सङ्घर्षहरूले पनि “साम्प्रदायिकता” शब्दलाई नकारात्मक अर्थमा स्थापित गरिदिएका छन्। जब धर्म वा परम्परालाई राजनीतिक स्वार्थ, सामाजिक विभाजन वा हिंसाका लागि प्रयोग गरिन्छ, तब सम्प्रदायको मूल उद्देश्य ओझेलमा पर्छ। यसले समाजमा अविश्वास, द्वेष र विघटन ल्याउँछ। यही कारणले गर्दा आज धेरै शिक्षित वर्गले पनि “सम्प्रदाय” शब्दप्रति दूरी बनाउने प्रयास गरिरहेका छन्।
तर, समाधान सम्प्रदायलाई अस्वीकार गर्नु होइन, बरु यसको सही अर्थमा पुनःस्थापना गर्नु हो। हामीले सम्प्रदाय र कट्टर साम्प्रदायिकतालाई स्पष्ट रूपमा छुट्याउन आवश्यक छ। सम्प्रदाय भनेको ज्ञानको परम्परा हो, जबकि कट्टर साम्प्रदायिकता भनेको असहिष्णुता, सङ्कीर्णता र अज्ञानताको परिणाम हो। आफ्नो परम्पराप्रति आस्था राख्नु, त्यसको संरक्षण गर्नु र त्यसमा गहिरो अभ्यास गर्नु सकारात्मक कुरा हो तर अरूको परम्परालाई अस्वीकार गर्नु, अपमान गर्नु वा नष्ट गर्न खोज्नु गलत हो।
समकालीन विश्व बहुसांस्कृतिक, बहुधार्मिक र विविधतायुक्त छ र यस्तो समाजमा सहअस्तित्व अत्यन्त महत्त्वपूर्ण हुन्छ। सम्प्रदायले मानिसलाई आफ्नो पहिचान र जरा दिन्छ, तर साथसाथै अरूको अस्तित्वलाई पनि स्वीकार गर्न सिकाउनुर्छ। सहिष्णुता, संवाद, पारस्परिक सम्मान र खुलापनबिना कुनै पनि सम्प्रदाय दीर्घकालीन रूपमा टिक्न सक्दैन। साँचो ज्ञान सधैँ विस्तारतर्फ उन्मुख हुन्छ, सङ्कुचनतर्फ होइन।
दार्शनिक दृष्टिकोणबाट हेर्दा, सम्प्रदायहरू सत्यका विभिन्न मार्गहरू हुन्। एउटै शिखरमा पुग्नका लागि विभिन्न बाटाहरू हुन सक्छन्। कसैले ध्यानमार्ग अपनाउँछ, कसैले भक्ति, कसैले ज्ञान त कसैले कर्म। यी सबै मार्गहरूलाई व्यवस्थित गर्ने र साधकलाई दिशा दिने कार्य सम्प्रदायले गर्दछ। यदि हामीले यसलाई प्रतिस्पर्धा वा द्वन्द्वका रूपमा होइन, बरु पूरकका रूपमा बुझ्न सक्यौँ भने समाजमा धेरै हदसम्म सद्भाव कायम हुन सक्छ।
अन्ततः, “सम्प्रदाय” शब्दलाई नकारात्मक दृष्टिले मात्र हेर्नु एकपक्षीय बुझाइ हो। यसको वास्तविक स्वरूप ज्ञान, परम्परा, अनुशासन र आध्यात्मिक विकाससँग गहिरो रूपमा जोडिएको छ। समस्या सम्प्रदायमा होइन, हाम्रो दृष्टिकोण र व्यवहारमा हुन्छ। जब परम्परा अहङ्कारमा बदलिन्छ र आस्था असहिष्णुतामा रूपान्तरण हुन्छ, तब विकृति उत्पन्न हुन्छ।
त्यसैले, आजको आवश्यकता के हो भने हामीले सम्प्रदायलाई ज्ञानको जीवित धारा मानेर त्यसको संरक्षण गरौँ, तर साथसाथै सहिष्णुता, विवेक र खुलापनलाई पनि उत्तिकै महत्त्व दिऔँ। यही सन्तुलनले मात्र समाजलाई समृद्ध, शान्तिपूर्ण र सहअस्तित्वयुक्त बनाउन सक्छ। सम्प्रदायलाई विभाजनको आधार होइन, ज्ञान र मानवताको पुलका रूपमा बुझ्नु नै यसको सही र समुचित प्रयोग हो।
भारतमा वाम युगको अन्त्य
फुर्सदको समय
मजदुर दिवस : ८ घण्टाको इतिहासबाट ४ घण्टाको भविष्यतर्फ
कार्ल स्मिट र कातेखोन
अलाबुगा कसरी संसारभरका युवतीहरूका लागि दोस्रो घर बन्यो
सुकुम्बासी समस्या: भूमिहीनताको पीडा कि सहरी आप्रवासनको चुनौती?
इतिहासका महान् पुस्तक प्रेमी र उनको घुम्ती पुस्तकालय
प्रतिक्रिया