इतिहासका महान् पुस्तक प्रेमी र उनको घुम्ती पुस्तकालय

दशौँ शताब्दीको इरानमा साहिब इब्न अब्बाद नामका एक व्यक्ति थिए। उनी बादशाहहरुका वजिर(मन्त्री)हरूको खानदानबाट आएका थिए र उनलाई बाल्यकालदेखि नै यसै कार्यका लागि तालिम दिइएको थियो।

बादशाह रुक्नुद्दौलाका मन्त्री रहेका उनका पिताको मृत्यु तब भयो, जब इब्न अब्बाद मात्र आठ वर्षका थिए। उनका पिताका अर्का एक मन्त्री साथीले उनको पालनपोषणको जिम्मेवारी लिए र उनलाई तालिम दिए। हुर्किएपछि उनलाई बादशाह रुक्नुद्दौलाका तेस्रो छोरा मुअय्यदुद्दौलाको मन्त्री नियुक्त गरियो। राजकुमार मुअय्यदुद्दौला र उनी उस्तै उमेरका भएका कारण दुवैको मित्रता निकै प्रगाढ बन्यो। सन् ९७५ मा जब मुअय्यदुद्दौला बादशाह बने, उनले साहिब इब्न अब्बादलाई आफ्नो मुख्य मन्त्री नियुक्त गरे। १८ वर्षपछि आफ्नो मृत्यु नभएसम्म उनी सोही पदमा रहे।

इतिहासमा साहिब इब्न अब्बादको नाम एक कुशल लेखक र साहित्य संरक्षकका रूपमा निकै सम्मानका साथ लिइन्छ। धार्मिक कट्टरताको विरोध गर्ने यी व्यक्तिले आफ्नो जीवनकालमा पाँच सयभन्दा बढी कवि, लेखक र दार्शनिकहरूलाई आर्थिक सहायता र राजकीय संरक्षण दिलाए। उनले मुअय्यदुद्दौलाको दरबारलाई सम्पूर्ण अरब जगत्‌मा ज्ञान र दर्शनको सबैभन्दा प्रख्यात केन्द्र बनाएका थिए। उनको पुस्तकप्रतिको प्रेम यति असाधारण थियो कि त्यसको अर्को उदाहरण भेट्टाउन गाह्रो छ।

साहिब इब्न अब्बादले आफ्नो एउटा विशाल व्यक्तिगत पुस्तकालय बनाएका थिए। कैयौँ भाषाका जानकार र कुशल कवि रहेका उनी अत्यन्त ज्ञानी व्यक्ति थिए। एक अनुमान अनुसार उनको सम्पूर्ण पुस्तकालयमा डेढ देखि दुई लाखसम्म पुस्तकहरू थिए।

कामको सिलसिलामा उनले कहिलेकाहीँ लामो भ्रमणमा जानुपर्थ्यो। यी महाशय आफ्नो सम्पूर्ण पुस्तकालय साथमा नलिई कतै जाँदैनथे। उनका पुस्तकहरू बोक्नका लागि चार सय ऊँटहरूको एउटा टोली नै नियुक्त गरिएको थियो। तीमध्ये ६० वटा ऊँटमा त केवल शब्दकोशहरू मात्र लादिएका हुन्थे। पुस्तकहरूको सूची मात्रै पनि १० वटा ठूला किताबका आकारमा थिए। उनको सवारीको पछि-पछि हिँड्ने ऊँटहरूको यो ताँती एक माइल लामो हुन्थ्यो।

ती चार सय ऊँटहरूलाई यसरी तालिम दिइएको थियो कि तिनीहरू वर्णानुक्रम  अनुसार लामबद्ध भएर हिँड्थे। त्यसरी नै तालिम प्राप्त गरेका ऊँट चालकहरू पुस्तकालय लाइब्रेरियनमा परिणत भएका थिए । जसले मालिकले माग गर्नासाथ एक मिनेटभित्रै जुनसुकै किताब पनि हाजिर गरिदिन्थे।

साहिब इब्न अब्बादको यो बानीलाई धेरै मानिसहरू फजुल खर्च वा एउटा पागलपन पनि भन्छन्, तर सत्य यो हो कि उनी एक यस्ता दूरदर्शी व्यक्ति थिए जसले इतिहासका सबै महत्त्वपूर्ण पाठहरू कण्ठ गरेका थिए।

इतिहास साक्षी छ कि विश्वभरका क्रूर आक्रमणकारीहरूले जहाँ-जहाँ विनाश मच्चाउनु थियो, सबैभन्दा पहिले त्यहाँका पुस्तकालयहरूलाई ध्वस्त पारे। साहिब इब्न अब्बादको समय इरानी इतिहासको निकै उतारचढावपूर्ण समय थियो। त्यसैले उनलाई आफ्नो पुस्तक सङ्ग्रहको मूल्य थाहा थियो र उनी त्यसमाथि कुनै पनि प्रकारको खतरा आउन दिन चाहँदैनथे। उनले आफ्ना सबै किताबहरू सुत्दा-ब्युँझँदा सधैँ आफूसँगै राखे—स्वदेशमा पनि  र यात्रामा पनि।

यद्यपि, आज विश्वभरका ठूला पुस्तकालयहरूले आफ्ना सबै पुस्तकहरू संसारभर उपलब्ध गराइरहेका छन्। कम्प्युटर र इन्टरनेट आज हाम्रा 'ऊँट' बनिसकेका छन्।

कल्पना गर्नुहोस्, तपाईं घरभन्दा टाढा हुनुहुन्छ। नौलो ओछ्यानमा निद्रा लागिरहेको छैन। तपाईंलाई आफ्नो घरमा राखिएको, पहेंलो भइसकेका पानाहरू भएको त्यो असाध्यै प्रिय पुस्तक पल्टाउँदै निदाउन मन लागिरहेको छ, जसको पुरानो सुगन्ध र एक-एक विवरण तपाईंलाई याद छ। चाहनुभयो भने इन्टरनेटमा त्यसलाई खोज्न सक्नुहुन्छ, त्यसको 'किन्डल' संस्करण डाउनलोड गर्न सक्नुहुन्छ, तर तपाईंको मन भने त्यही भौतिक किताबलाई छुन र पाना पल्टाउन लालायित छ। यदि यस्तो कहिल्यै हुन्छ भने, सम्झनुहोस् तपाईं पनि साहिब इब्न अब्बादकै कबिलाको हुनुहुन्छ।

सन् १६१६ मा आजकै दिन विलियम शेक्सपियरको निधन भएको थियो र त्यसको ठीक एक दिनअघि महान् मिगेल सर्भान्तेसको।

आज विश्व पुस्तक दिवस मनाइँदै छ।

साभार: पांडेको फेसबुक पेज