ट्रम्पको चीन भ्रमण: बाहिर गुलाबको सुवास, भित्र सुरक्षाको अविश्वास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण यतिबेला सर्वाधिक चर्चाको बिषय छ। उनको भ्रमण कत्तिको सफल भयो र यो भ्रमणमा चीनको हात माथि पर्यो वा परेन आदि कुराका बारेमा लामो समयसम्म अन्तर्राष्टिय मामिलाका विश्लेषकहरुले छलफल गर्ने छन्। तर यो भ्रमणको बिचमा भएका सानासाना प्रसंगहरु पनि निक्कै रोचक छन्। जसले दुवै पक्षको एकार्का प्रतिको अविश्वास र आशंकालाई प्रस्ट पार्छ।
कूटनीतिक सम्बन्धका उतारचढाव र ठूला सम्झौताहरूका बीच यस भ्रमणमा केही यस्ता घटनाहरू सतहमा आए, जसले विश्वको ध्यान आकर्षित गरे।
गुलाबको सुन्दरता र आतिथ्यको सुरुवात
व्यापार, ताइवान र इरानका विषयमा कुराकानी गरेपछि, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको पर्खालले घेरिएको जोङनान्हाई बगैँचामा घुमाउन लगे र शताब्दीऔँ पुराना रुखहरू देखाए। उनले ट्रम्पलाई ती रुखहरू ३०० वर्ष पुराना भएको बताए। अर्थात् ती रुखहरु संयुक्त राज्य अमेरिकाको इतिहासभन्दा पनि पुराना थिए । सम्भवतः ट्रम्पले ती रुखहरू पछाडिको लुकेको प्रतीकात्मक अर्थ बुझेनन् । उनले रुखहरूलाई बेवास्ता गर्दै राष्ट्रपति सीलाई सोधे: "के तपाईं अरु राष्ट्रपतिहरूलाई पनि यहाँ घुमाउन ल्याउनुहुन्छ?" उनी आफूलाई विशेष भएको महसुस गर्न चाहन्थे। सीले टाउको हल्लाउँदै जवाफ दिए: "अहँ, ल्याउँदिनँ।" रमाइलो कुरा के भयो भने सीले त्यहाँ सीमित राष्ट्राध्यक्षहरुलाई मात्र ल्याइएको पनि बताए र उदाहरणको रुपमा ‘पुटिन’को नाम लिए ।
त्यस्तै शुक्रबार बेइजिङस्थित चिनियाँ राष्ट्रपति सी जिनपिङको कार्यकारी सरकारी निवास (झोङ्नान्हाई) को भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्प त्यहाँको बगैँचामा फुलेका रैथाने गुलाबका फूलहरूको सुन्दरताबाट निकै प्रभावित भए। आफ्नो यस ऐतिहासिक भ्रमणको अन्तिम दिन ट्रम्पले भने, "यी अहिलेसम्म कसैले नदेखेका सबैभन्दा सुन्दर गुलाबहरू हुन्! मैले राष्ट्रपति सीलाई सोधें, 'के तपाईंले मेरा लागि वाइट हाउसको रोज गार्डनका निम्ति केही फूलहरू उपलब्ध गराउन सक्नुहुन्छ?' र उनले 'हुन्छ' भने। मैले जीवनमा कहिल्यै यति ठूला गुलाबका फूलहरू देखेको थिइनँ!"
ट्रम्पको यस्तो उत्साहजनक प्रशंसापछि सीले, दोभाषेमार्फत बोल्दै, उक्त स्थलको इतिहास प्रस्ट्याए र ट्रम्पका लागि गुलाबका बीउहरू पठाइदिने वाचा गरे। यो दृश्य हेर्दा दुई महाशक्ति राष्ट्रका प्रमुखहरूबीच निकै सुमधुर सम्बन्ध कायम भइरहेको भान हुन्थ्यो।
नौ-परिकारको राजकीय भोज र भित्री अविश्वास
तर, यो कूटनीतिक सौहार्दताको पर्दाभित्र अर्कै शङ्का र सुरक्षा सतर्कताको वातावरण पनि काम गरिरहेको थियो। राष्ट्रपति सी जिनपिङले बेइजिङको 'ग्रेट हल अफ द पिपुल' मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि नौ-परिकार (9-course state banquet) सहितको एउटा भव्य राजकीय भोजको आयोजना गरे। यस हप्ता राष्ट्रपति ट्रम्पको स्वादलाई ध्यानमा राख्दै बेइजिङका शेफहरू (भान्सेहरू) ले चिनियाँ र अन्तर्राष्ट्रिय परिकारहरूको सम्मिश्रणलाई मेनुमा समावेश गरेका थिए।
इन्टरनेटमा उपलब्ध एक रिपोर्टका अनुसार ट्रम्पले आफ्नो भ्रमणका क्रममा चीनमा बनेको कुनै पनि खाना खाएनन्। राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा चीनमा बनेको कुनै पनि खाना खाँदै खाएनन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पका लागि आफ्नै भान्से र आफ्नै खानेकुरा लिएर गएको थियो।
'द न्युयोर्क टाइम्स' का अनुसार, राष्ट्रपति सी जिनपिङले ट्रम्पका लागि आयोजना गरेको बिहीबारको राजकीय भोजको मेनुमा क्रिस्पी बिफ रिब्स, रोस्ट गरिएको हाँसको मासु (रोस्ट डक) र तिरामीसु (एक प्रकारको मिठाई) समावेश थिए। ट्रम्पले बर्गर, राम्ररी पकाइएको स्टेक, फ्राइज र सिजर सलाद जस्ता अमेरिकी कम्फर्ट फुड्स अर्थात जन्क फुड रुचाउने गर्छन्। स्मरणीय छ ट्रम्प फास्ट फुड, मिठाइ र डाइट कोकका अम्मली छन्। साथै उनि रक्सी खादैनन्।
यसै कुरालाई ध्यानमा राखेर, बिहीबारको मेनुमा चिनियाँ र अन्तर्राष्ट्रिय परिकारहरूको मिश्रण राखिएको थियो। जसमा टमाटरको सुपमा लबस्टर, सिजन अनुसारका पकाइएका तरकारीहरू, तोरीको ससमा बिस्तारै पगालिएको साल्मन माछा, प्यान-फ्राई गरिएको पोर्क बन र अन्य धेरै परिकारहरू सामेल थिए। सी चिनपिङले बेइजिङको 'ग्रेट हल अफ द पिपुल' मा ट्रम्पका लागि नौ-परिकारको भव्य राजकीय भोजको आयोजना गरे पनि ट्रम्प भने केवल "आफ्नै खाना" मात्र खान चाहन्थे।
त्यस्तै भ्रमण अवधिभर राष्ट्रपति ट्रम्पका सुरक्षा टिमले उनकोअमेरिकाबाटै ल्याइएको लिमोजिन कारलाई निरन्तर स्प्रे गरेर पुछिरहेका हुन्थे। अनुमान गरिए अनुसार यसो गरिनुको कारण कारमा रहेको ट्रम्पको फिङ्गर प्रिन्टको गोप्यता कायम राख्नु थियो।
उपहार अस्वीकार र उच्च सुरक्षा सतर्कता
शङ्का र सतर्कताको यो शृङ्खला खानामा मात्र सीमित रहेन, यसले झन् गम्भीर रूप लियो जब अमेरिकी प्रतिनिधिमण्डलले चीनबाट बिदा हुने तयारी गर्यो।
'द न्युयोर्क टाइम्स' का एक पत्रकारले रिपोर्ट गरे अनुसार चीन छोडेर विमानमा चढ्नु अघि, अमेरिकी प्रतिनिधिमण्डलका सबै सदस्यहरूले चिनियाँ पक्षले उपहार दिएका सम्पूर्ण सामानहरू फ्याँकिदिए। उनीहरूलाई दिइएका उपहार, ब्याज, पिन र चिनोहरू (सोभेनियर) सोझै त्यहीँको फोहोर फाल्ने कन्टेनरमा फ्याँकिएका थिए। ती पत्रकारका अनुसार, चीनमा बनेका वा त्यहाँबाट प्राप्त कुनै पनि सामान विमानभित्र लैजाने अनुमति थिएन।
यस्ता सतर्कतामूलक उपायहरू प्रस्थानको समयमा मात्र लागू गरिएका थिएनन्: चीन भ्रमणमा आउनु अघि नै अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरूले आफ्ना सबै व्यक्तिगत इलेक्ट्रोनिक उपकरणहरू घरमै छोडेर आएका थिए। जासूसी, ट्र्याकिङ वा डिजिटल प्रतिशोधको डर कुन हदसम्म थियो भन्ने कुरा यसले प्रस्ट पार्छ।
डोनाल्ड ट्रम्पको यो चीन भ्रमण बाहिरबाट हेर्दा जति भव्य, भद्र र उपहार आदानप्रदानले भरिएको देखिन्थ्यो, भित्रभित्रै दुई देशबीचको अविश्वास र सुरक्षा संवेदनशीलता उत्तिकै उत्कर्षमा पुगेको थियो। एकातिर गुलाबको बीउ उपहार दिने वाचा र अर्कोतिर प्राप्त उपहारहरू फोहोरको भाँडोमा फ्याँकिने परिस्थिति यही विरोधाभास नै वर्तमान विश्व राजनीतिका दुई महाशक्तिहरू बीचको वास्तविक सम्बन्धको ऐना हो।
प्रतिक्रिया