एन्टिमाइक्रोबियल प्रतिरोधका कारण आगामी २५ वर्षमा ३ करोड ९० लाख मानिसको मृत्यु हुन सक्छ : विश्व स्वास्थ्य संगठन
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायका अनुसार एन्टिबायोटिक तथा अन्य औषधिप्रति बढ्दो प्रतिरोधले आधुनिक चिकित्साको भविष्यलाई नै जोखिममा पारिरहेको छ।
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance – AMR) बढ्दै जाँदा आगामी २५ वर्षमा ३ करोड ९० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। यसले सामान्य शल्यक्रिया तथा प्रसूति प्रक्रियासमेत जीवन जोखिममा पार्ने अवस्थासम्म पुर्याउन सक्ने खतरा बढाएको छ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायका उच्च अधिकारीहरूले रोकथाम, रोगको निदान तथा एन्टिबायोटिक औषधिको उचित प्रयोगमा भइरहेको प्रगति विश्वव्यापी लक्ष्य हासिल गर्न आवश्यक गतिभन्दा निकै सुस्त रहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठनको एन्टिमाइक्रोबियल प्रतिरोध विभागका कार्यवाहक निर्देशक जिन-पियरे न्येमाजीले एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी छैटौँ वार्षिक विश्वव्यापी सञ्चारमाध्यम मञ्च (6th Annual Global Media Forum on AMR) को भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै भने,
“एन्टिबायोटिक प्रतिरोध मात्र नभई व्यापक अर्थमा हामी एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) को कुरा गरिरहेका छौँ। यो समस्या व्यापक रूपमा फैलिरहेको छ र आधुनिक चिकित्साको भविष्यलाई नै खतरामा पारिरहेको छ।”
उनले थपे, “कोभिड–१९ जस्तो प्रत्यक्ष रूपमा देखिने महामारीभन्दा फरक, औषधिप्रति प्रतिरोधी संक्रमणहरूले वर्षौंदेखि मानिसहरूको ज्यान लिइरहेका छन्। तर हामीले यसको गम्भीरतालाई समयमै महसुस गर्न सकेका छैनौँ र आवश्यक सतर्कता तथा चेतावनीसमेत दिन सकेका छैनौँ।”
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार सन् २०२१ मा मात्र एन्टिमाइक्रोबियल प्रतिरोधका कारण प्रत्यक्ष रूपमा १० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो भने थप करिब ४७ लाख मानिसको मृत्युसँग यसको सम्बन्ध रहेको थियो।
राष्ट्रिय कार्ययोजना
यस वर्ष १८३ देशमा एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध भइरहेको प्रयासको प्रगतिबारे गरिएको अध्ययनले झन्डै १० मध्ये ९ देशमा यस समस्यालाई सम्बोधन गर्न राष्ट्रिय कार्ययोजना रहेको देखाएको छ। सन् २०१७ मा यस्तो कार्ययोजना भएका देशको संख्या १० मध्ये करिब ४ मात्र थियो।
विश्व स्वास्थ्य संगठनकी एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी प्राविधिक अधिकृत प्रवाशा प्रकाशले ४२ वटा देशमा मात्र अर्थात् पाँचमध्ये एकभन्दा कम देशमा यस्तो कार्ययोजना रहेको र ती योजनाहरूका लागि आवश्यक बजेटको व्यवस्था, कार्यान्वयन तथा अनुगमनसमेत भइरहेको बताइन्।
उनका अनुसार “प्रत्येक क्षेत्रमा देशहरूले प्रगति गरिरहेका छन्। तथापि, सन् २०३० सम्मका निर्धारित लक्ष्यहरू हासिल गर्न यो प्रगतिलाई अझ तीव्र बनाउन आवश्यक छ।”
विश्वव्यापी निगरानीसम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार, सन् २०२३ मा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएका प्रयोगशालाबाट पुष्टि भएका प्रत्येक ६ वटा जीवाणुजन्य संक्रमणमध्ये एउटा संक्रमण उपचारका लागि प्रयोग गरिने एन्टिबायोटिक औषधिप्रति प्रतिरोधी रहेको पाइएको छ।
विश्व स्वास्थ्य संगठनमा एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी निगरानी प्रमुख सिल्भिया बेर्तानोलोले बताएअनुसार “परीक्षण नगरी चिकित्सकहरूले संक्रमणको वास्तविक कारण के हो वा कुन एन्टिबायोटिक औषधिले प्रभावकारी रूपमा काम गर्छ भन्ने जानकारीबिना नै उपचार गर्नुपर्ने हुन्छ।”
नयाँ निदानसम्बन्धी उपकरणहरू
विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरूलाई रोग निदानसम्बन्धी क्षमता सुदृढ बनाउन सहयोग पुर्याउने उद्देश्यले तयार पारिएका दुईवटा नयाँ उपकरण सार्वजनिक गरेको घोषणा गरेको छ।
पहिलो उपकरणले प्राथमिक स्वास्थ्य सेवा केन्द्रदेखि विशेषज्ञ सेवा प्रदान गर्ने रेफरल अस्पतालसम्म स्वास्थ्य सेवा प्रणालीका प्रत्येक तहमा उपलब्ध हुनुपर्ने आवश्यक परीक्षणहरू निर्धारण गरेको छ।
दोस्रो उपकरणमा नमुना सङ्कलनदेखि रोगजनक सूक्ष्मजीवहरूको पहिचान तथा एन्टिबायोटिक औषधिप्रतिको संवेदनशीलता परीक्षण (Antibiotic Susceptibility Testing) सम्मका ७३ वटा प्रयोगशालासम्बन्धी प्रक्रियाहरू समावेश गरिएका छन्।
विश्व स्वास्थ्य संगठनले यस समस्याको नियन्त्रण तथा न्यूनीकरणका लागि संक्रमण रोकथाम, खोपको प्रयोग, स्वच्छ खानेपानी तथा सरसफाइमा सहज पहुँच र एन्टिमाइक्रोबियल औषधिहरूको उचित प्रयोगलाई प्रमुख उपायका रूपमा औँल्याएको छ।
दैनिक बदाम सेवनले बुढ्यौलीको स्मरणशक्ति बचाउन सक्छ?
अनुहारको तस्बिरबाट क्यान्सर उपचार परिणामको पूर्वअनुमान
दीर्घायु र स्वस्थ जीवनका लागि कौशी खेतीको महत्त्व
पृथ्वी ध्वंशको दिशातिर: मानव अस्तित्वमाथि मडारिएको खतराको घण्टी
अत्यधिक थकान लाग्छ ? सम्झन गाह्रो पर्छ ? यस्तो हुन सक्छ कारण !
मानव स्वास्थ्य र प्रकृतिको अनौठो अचम्मको साइनो
जलवायु परिवर्तन: सुक्खा क्षेत्र फैलिँदै, पृथ्वीको ४० प्रतिशत भूभाग प्रभावित हुन…
प्रतिक्रिया