गोर्कीको मृत्यु: प्राकृतिक कि षड्यन्त्रको शिकार ?

समाजवादी यथार्थवादका प्रवर्तक महान सोभियत लेखक म्याक्सिम गोर्कीको लेखनसंग को अपरिचित होला र ? उनको आमा उपन्यास नपढ्ने विश्वमा सायदै कोही कम्युनिस्ट कार्याकर्ता वा समर्थक होलान् ।  गोर्कीको लेखन आमा उपन्यासमा मात्र सीमित छैन। उनको आत्मजीवनीको त्रिग्रन्थ–बाल्यकाल, मान्छेहरुको माझमा र मेरो विश्वविद्यालय झनै उत्कृष्ट मानिन्छ। त्यस्तै उनले आफ्नो जीवनको अन्त्यमा तिर लेखेको चार भागमा विभाजित ‘क्लिम समागिम’को जीवनलाई तोल्स्तोयको ‘युद्ध र शान्ति’संग तुलना गर्ने गरिन्छ।  दुर्भाग्यवश यो उपन्यासलाई गोर्कीले पुरा गर्न सकेनन् । गोर्कीलाई १९ औ शताब्दीको अन्त र २० औ शताब्दीको सुरुवात तिरै महान रुसी लेखकहरू दोस्तोयेव्स्की, टोल्सटय र चेखबको समकक्षी मानिन्थ्यो।

गोर्कीको जीवनको बारेमा धेरै कुरा लेखिए पनि उनको मृत्युको अध्याय भने अझै रहस्यमा र अस्पष्ट नै छ। १९३६ मा गोर्कीको मृत्यु भएको थियो। त्यो भन्दा दुई वर्षअघि १९३४ मा गोर्कीका छोरा माक्सिम पेस्कोभको अचानक मृत्यु भएको थियो। आफ्ना छोराको अचानक मृत्युले गोर्कीलाई ठूलो चोट लागेको थियो। आफ्ना छोराको मृत्यु भएको दुई वर्षपछि गोर्कीको पनि निधन भयो। अन्तिम संस्कारमा सम्मान स्वरुप गोर्कीको शवलाई स्टालिन र मोल्तोभले बोकेका थिए।

तर उनको मृत्युको दुई वर्षपछि सोभियत नेता निकोलिई बुखारिनको सोभियत सत्ताविरोधी षड्यन्त्रको मुद्दाको क्रममा गोर्कीको मृत्यु ट्रोटसकीवादीहरु र दक्षिणपन्थीहरुको गठबन्धनले गरेको भनेर आरोप लगाएको थियो। विशेष गरी गोर्कीको हत्याको आरोप तत्कालिन सोभियत गुप्तचर बिभाग एनकेभिडी (पछि केजीबी) का प्रमुख गिनरिक यगोडा माथि लगाइएको थियो। त्यसको ट्रायलको क्रममा यगोडाले गोर्कीको हत्या गर्न आदेश दिएको स्वीकार गरेका थिए। गोर्कीको हत्या यगोडाले कसरी गरेका थिए भनेर स्टालिनका अङ्गरक्षक ए. टि  रेबिनले बिस्तारपूर्वक उल्लेख गरेका छन्।

उनका अनुसार, एक दिन गोर्कीलाई भेट्न यगोडा उनको घर पुगेका थिए। त्यहाँ गोर्की र यगोडाको बिचमा रातभरी करिब बिहानको ४ बजेसम्म छलफल र खानपिन चलेको थियो। त्यसक्रममा यगोडाका साथीहरुले विभिन्न बोतलहरुबाट पेय पदार्थहरु निकालेर कक्टेलहरु बनाइरहेका थिए। यसरी बनेको मादक पदार्थ पिएपछि गोर्की पुरै मात्तिएका थिए। नशामा होसहवास गुमाएका गोर्कीलाई यगोडा र उनका साथीहरुले बाहिर हिउँमा छोडिदिए। रातभरी गोर्की हिउको चिसोमा लडिरहे। त्यो घटनापछि गोर्कीलाई निमोनिया भयो। कालान्तरमा गोर्कीको मृत्युको कारण त्यही निमोनिया बन्यो।  उनको उपचार पनि यगोडाका इसारामा चल्ने चिकित्सकहरुले गरे। आखिरमा यिनै चिकित्सकहरुले गोर्कीलाई मृत्युको मुखमा पुग्न सहयोग गरेका थिए।

 गोर्कीको मृत्यु बारे एउटा प्रश्न सधै उठ्ने गर्छ। के यगोडा मात्रैले गोर्की लाई मार्ने षड्यन्त्र गरे होलान् ? त्यो पनि किन गरे होलान् त? के यगोडाबाहेक अरु कोहि पनि त्यसमा संलग्न त थिएन ? यी अनुत्तरित प्रश्नहरु हुन् जसको उत्तर सम्भवत: अब कहिल्यै फेला पर्ने छैन । तर एउटा कुरा चाहिँ निश्चित छ– गोर्कीको मृत्यु प्राकृतिक वा स्वभाविक रुपमा भने भएको थिएन । त्यसैले उनको मृत्यु पनि ‘षड्यन्त्रको सिद्धान्त’ (Conspiracy theory) को विषयवस्तु बन्न पुगेको छ ।

Image source: https://img-s1.onedio.com