नेपाली सिनेमामा सिद्धान्तको बहस

सिनेमा त्यति सरल कुरा रहेन जति सिनेमा हेर्ने र बनाउने दुवैले सोच्ने गर्छन्।

अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि सिनेमाको गुरुत्व त्यस सिनेमाले उठान गर्ने सैद्धान्तिक बहसमा निहित हुन्छ। सिनेमा समीक्षकको निर्मम बहसमा नपरेका सिनेमा, विश्व मञ्चमा अब्बल ठहरिन र ठूला चलचित्र प्रतिस्पर्धामा स्थान बनाउन असफल हुन्छन् भन्दा अत्युक्ति नहोला। यसो भनिरहँदा सिनेमाको सिद्धान्त अध्ययन नगरी सिनेमा निर्माण असम्भव छ भन्ने तर्क गर्न खोजिएको हैन। सिनेमा सिद्धान्तको अध्ययन नगरी बनेका सुन्दर सिनेमाले पनि थुप्रै सिद्धान्तहरू स्वतःस्फूर्त रूपमा आकर्षित गरेका हुन्छन्। सिनेमा सिद्धान्तको अध्ययन आवश्यक छ वा छैन भन्दा पनि सिनेमाको सैद्धान्तिक पक्ष र त्यसको प्रत्यक्ष-परोक्ष प्रभाव बुझ्न कति आवश्यक छ भन्ने कुराले समग्र सिनेमाको विकास र बिस्तार निर्धारण गरेको हुन्छ। 

"फिल्म मेकरद्वारा फिल्म मेकरका लागि" भनेर २०१० मा र्‍यान कु ले सुरु गरेको 'नो फिल्म स्कुल' मा बिसौँ लाख सिनेमाप्रेमीहरू आबद्ध छन् जसले आफ्ना 'टिउटोरियल' भिडियो, अन्तरवार्ता र जानकारी मार्फत राम्रा सिनेमा कसरी बनाउने भनेर सैद्धान्तिक र व्यावहारिक सिप सिकाइरहेका हुन्छन्। अर्थात् पैसा तिरेर विश्व विद्यालय नगए पनि कुनै न कुनै रूपमा अध्ययन (औपचारिक वा अनौपचारिक) जरुरी छ भन्ने कुरा कसैले नकार्न सक्दैन।

सिनेमा सिद्धान्तको गहन अध्ययन सिनेमा निर्माणको आधार स्तम्भ बन्नु पर्छ भन्ने बहस नेपाली सिनेमालाई माया गर्नेहरू बीच र सिनेमा उद्योगमा अब पनि नगर्दा गुणात्मक सिनेमा कम बने र सङ्ख्यात्मक बढी भनेर भनिरहनु अतिरञ्जना हुन्छ। नेपाली सिनेमा, त्यसमा प्रयोग हुने दृश्य भाषा, आधारभूत व्याकरण, सिनेमाको क्रमगत विकासको इतिहास, ऐतिहासिक र सांस्कृतिक सन्दर्भ, सृजनशील र आलोचनात्मक सोच आदिमा सङ्घर्षरत छ। नेपाली सिनेमाको दृश्य भाषा के हो र कस्तो हुनुपर्छ भन्नेमा एकरूपता छैन।कसैले यो सीमिततालाई नकार्छन् र निर्देशकको स्वतन्त्रताको पक्षमा बहस गर्छन् त कोही आफ्नै पहिचान निर्माण गर्ने भाषा चाहिन्छ भन्ने कुरामा सहमत छन् तर कस्तो भाषा र कसरी निर्माण गर्ने भन्ने कुरामा अस्पष्ट छन्।

सिनेमा सिद्धान्तको बहसले सिनेमा निर्माता र दर्शक दुबैलाई सिनेमाको सौन्दर्य नजिक पुर्‍याउन मद्दत गर्छ। यसको ज्ञानले फिल्म मेकरलाई कथावाचनमा प्रयोग हुन सक्ने सम्भावित विषयवस्तु , पात्रका चाहना र भावनाहरूको प्रभावकारी सञ्चार गराउँछ। सिनेमाको भाषा, इतिहास र प्रविधिहरूको बोध गराउने प्रभावकारी माध्यम पनि सिद्धान्तको अध्ययन नै हो। यसले सृजनशील सीप र समालोचनात्मक सोचको विकास गर्न पनि मद्दत गर्दछ जसका कारण मेकरले सिनेमालाई विभिन्न खण्डमा विभाजन गरी सतहभन्दा थोरै गहिराइको अर्थ प्रदान गर्छ, अरूका सफलता र असफलताबाट सिक्न र आफ्नो क्षमता अभिवृद्धि गर्न मद्दत गरेको हुन्छ। सिनेमा सिद्धान्तको मिहिन अध्ययनले सिनेमा निर्माण गर्न मात्र हैन कि सिनेमा दर्शकको चाहना र आवश्यकतालाई गहिराइसम्म गएर बुझ्न मद्दत गर्छ। दर्शकको मनोभाव बुझेर अर्थपूर्ण र विचारोत्तेजक सामग्रीहरूको उत्पादन र वितरणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

कलाको सृजना गर्नु भनेको यथास्थितिलाई तोड्न हिम्मत गर्नु पनि हो। पुराना संरचनागत स्तम्भहरू भत्काउनु (डिकन्सट्रक्ट गर्नु) पनि हो। अधिकतम नेपाली सिनेमा परम्परागत शैली र संरचनामा नै बनिरहेका छन्। यो यथास्थितिलाई अस्वीकार गरेर नयाँ विधामा प्रयोग गर्ने प्रशस्त अवसरहरू छन् पुराना तथा नयाँ नेपाली फिल्म मेकरहरूलाई। कलाको अन्य विधा नाटक, कथा , कविता, चित्रकला आदिमा प्रयोग भई सकेका र सबै भन्दा कान्छो विधा सिनेमामा प्रयोग हुँदै गरेका र कतिपय भई पनि नसकेका सिद्धान्तहरू नयाँ मेकर र अध्येताहरूलाई खुला अवसर बन्न सक्छन्। यसले नेपाली सिनेमाको क्षितिज फराकिलो बनाउन मदत गर्नेछ। 

समग्र सिनेमालाई लाग्ने सबै भन्दा ठूलो आरोप यो कलात्मक कम र प्राविधिक बढी हुन्छ भन्ने हो। हुन पनि कलात्मकता र सौन्दर्य कम भएको सिनेमामा प्राविधिक पक्ष हाबी हुन्छ नै। सिनेमा भनेको घटनाहरूको छायाङ्कन र त्यसको पुनरावृत्ति मात्र हैन। कुनै सिनेमा लेखक वा निर्देशकले घटनाहरूको सौन्दर्य वा विभत्सतालाई कलात्मक रूपमा प्रस्तुत गर्न सकेन भने त्यो हामीले देखे सुनेकै समसामयिक घटनाहरूको पुनरावृत्ति हुन्छ। कलाको सृजना यो सामान्य परिस्थितिबाट माथि उठ्न सक्नु पर्छ। एउटा फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेको तस्बिरको प्रकृति र प्रवृत्ति, प्रयोग र प्रभाव बुझ्नु र बुझाउन सक्नु पर्छ। एउटा सिनेमा सम्पादकले दृश्य हरूको छनोट र संयोजन कलात्मक रूपमा गर्न सक्नु पर्छ। त्यसैमा सम्पादन कलाको रहस्य लुकेको हुन्छ। एउटा ध्वनि निर्माता वा सम्पादकले आफूले सृजना गरेको ध्वनिले कथाको भावमा कस्तो प्रभाव पार्न सक्छ भन्ने हेक्का हुनु पर्छ। यो विस्तृत चेतना निर्माणको लागि पनि सिद्धान्तको बहस र ज्ञान अपरिहार्य हुन्छ।

सिनेमा यथार्थबाट प्रभावित हुन सक्छ किनभने सिनेमाले घटना, चरित्र र समय-स्थानको संरचनात्मक प्रतिनिधित्व गर्दछ। सिनेमा निर्माणमा यथार्थ र कल्पना - यी दुई ध्रुव बिचको पातलो रेखा मेटाइदिने हो भने वा भनौँ यसको उचित सैद्धान्तिक ज्ञान नराख्ने हो भने दर्शक माथि ठुलो अन्याय हुन जान्छ।

कुनै पनि सिनेमाको अन्तर्यमा प्रवेश गर्न सिनेमा र यथार्थ बिचको फरक बुझ्न जरुरी छ। सिनेमा यथार्थ हो या यथार्थको प्रतिविम्ब? लेखक, निर्देशकले सिनेमालाई यथार्थको कति नजिक सम्म पुर्‍याउन सक्छ? यथार्थ भन्दा कोशौ परको कल्पना वा स्वैरकल्पना सिनेमा हो कि हैन? सिनेमा सिद्धान्तको बहसले मूर्त वा अमूर्त रूपमा यी प्रश्नहरूको जवाफ प्रदान गर्छ। लुमियर ब्रदर्सको कारखाना बाट कामदारहरू बाहिर निस्कँदै गरेको र ट्रेन स्टेसन बाट यात्रीहरू निस्कँदै गरेको पहिलो सिनेमा देखि स्वैर काल्पनिक उत्तर आधुनिक सिनेमा ‘बार्बी’ सम्म आइपुग्दा, सिनेमाको यात्रा उतार चढाव सहितको रोमाञ्चक यात्रा बनेको छ। 

यस सन्दर्भमा सिनेमा निर्देशक र कथा लेखकले 'यथार्थ र सिनेमा' बिचको तात्त्विक फरक छुट्याउन सक्नु पर्छ भन्ने न्यूनतम मान्यता हो। काल्पनिक र मिथकमय सोचको शून्यता भनेको नै यथार्थ हो। यो बस्तुपरक र तथ्यपरक हुन्छ। सिनेमा यथार्थमा आधारित, ऐतिहासिक वा विशुद्ध काल्पनिक वा स्वैरकाल्पनिक जस्तो पनि हुन सक्छ। यो व्यक्तिपरक हुन्छ। यसको उद्देश्य मनोरञ्जन दिने, जानकारी प्रदान गर्ने, शिक्षित बनाउने, दर्शकहरूको भावना र प्रतिक्रियालाई प्रेरित र प्रोत्साहित गर्ने आदि हुन सक्छ। सिनेमा यथार्थ बाट प्रभावित हुन सक्छ किनभने सिनेमाले घटना, चरित्र र समय-स्थानको संरचनात्मक प्रतिनिधित्व गर्दछ। सिनेमा निर्माणमा यथार्थ र कल्पना - यी दुई ध्रुव बिचको पातलो रेखा मेटाइदिने हो भने वा भनौँ यसको उचित सैद्धान्तिक ज्ञान नराख्ने हो भने दर्शक माथि ठुलो अन्याय हुन जान्छ।

सिनेमा र यथार्थ बिचमा अन्तरसम्बन्ध पनि छ। सिनेमाले यथार्थबाट घटना, चरित्र र परिवेश पैँचो लिएको हुन्छ जस लाइ कलात्मक सृजनशीलताको माध्यमबाट अद्वितीय काल्पनिक स्पर्श दिन सक्छ। त्यस्ता विषय वस्तु र घटनालाई सिनेमामा थोरै अतिरञ्जना गरेर सम्मोहक कथा वाचन शैलीको निर्माण गर्न सकिन्छ। डकुमेन्ट्री सिनेमाहरू यथार्थ परक हुन्छन्। वास्तविक समय स्थानमा घटित घटनाहरूको यथार्थपरक चित्रण, सम्बन्धित व्यक्तिहरू सँगको अन्तरवार्ता र काल्पनिक कुराको अनुपस्थिति हुने भएकाले यो यथार्थको धेरै नजिक हुन्छ। केही सिनेमा विशुद्ध मनोरञ्जन र पलायनवादमा आधारित हुन्छन्। यस्ता सिनेमाले दर्शकलाई मनोरञ्जन दिलाउने, काल्पनिक घटनाहरू प्रस्तुत गर्ने, ऐतिहासिक पृष्ठभूमि निर्माण गर्ने, कहिलेकाहीँ भविष्यमा र दैनिक जीवनमा हुने भन्दा अलग दुनियाँको उडानमा लैजान्छ। सिनेमा लेखक र निर्देशकले यथार्थ र सिनेमालाई अलग अलग र एकमुष्ट दुवै तरिकाबाट बुझेको हुनु पर्छ।

 शास्त्रीय सिनेमाका सिद्धान्तहरू सिनेमालाई कसरी कलात्मक बनाउने भन्ने कुरामा नै केन्द्रित भएको देखिन्छ। नाटक, चित्रकला, नृत्य र कलाका अन्य विधामा प्रयोग नभएका कलात्मकता सिनेमाले छानी छानी प्रयोग गर्न थाल्यो। नाटकको स्टेजमा अभिनय गरिरहेको पात्रको अभिव्यक्त मनोभाव मञ्च भन्दा पर बसेका दर्शकले देख्न सक्दैन थिए। सिनेमामा यो कमी को पूर्ति 'क्लोज अप' ले गरिदियो। नाटकले स्मृति र अग्रावलोकन घटना देखाउन सङ्घर्ष गरिरहेको बेला सिनेमाले सामान्य प्रविधि मार्फत कलात्मक रूपमा त्यसता घटनाहरू प्रस्तुत गर्न सक्यो। कथा वाचनको क्रमगत संरचनालाई भत्काउन मद्दत गर्‍यो। सिनेमा एउटा यस्तो कलाको विधा बन्यो जसले विभिन्न विधाहरूको सहकार्ययतालाई सहज बनाइदियो। आधुनिक र उत्तर आधुनिक कालमा सिनेमाको सैद्धान्तिक क्षेत्रको व्यापक विस्तार भयो।

सिनेमा सिद्धान्त को पछिल्लो ३० वर्ष अर्थात् समकालीन सिनेमा सिद्धान्तले प्राथमिकताका साथ नारीवाद, नव मार्कसवाद, उत्तर उपनिवेशवाद, रङ्गभेदवाद, संस्कृति र स्वीकार सिद्धान्त, समलिङ्गी सिद्धान्त आदि लाई केन्द्रमा ल्याएर ध्यान आकृष्ट गर्‍यो। सिनेमा त्यति सरल कुरा रहेन जति सिनेमा हेर्ने र बनाउने दुवैले सोच्ने गर्छन्। सिनेमा एकेडेमिक डिस्कोर्शमा प्रवेश गरे देखिनै यो गहन दार्शनिक र सैद्धान्तिक विषय बन्यो। सिद्धान्तबाट मार्ग निर्देशित निश्चित उद्देश्य प्राप्तिको लागि सिनेमा बन्नु पर्छ भन्ने विचार प्रभावकारी बन्दै गयो। सिनेमाको लागि सिनेमा बनाउने भन्दा सिनेमाको बृहत् उपयोगिता हुन्छ भन्ने स्कुल हाबी हुँदै गयो। सिनेमा सिद्धान्तको अध्ययनले निर्माताहरूलाई आफ्नो कार्य सम्पादन कुशल बनाउन, सिनेमाको दृश्य भाषा को समझ परिष्कृत गर्न, सांस्कृतिक र ऐतिहासिक सन्दर्भको महत्त्व बुझ्न र सृजनशील तथा प्रभावकारी विषयवस्तुको छनोट गरी दर्शक सामु गहन विषय र दर्शन सम्प्रेषण गर्न मद्दत गर्यो। तर नेपालको सन्दर्भमा यो बहस सुरु भए पनि सिनेमा निर्माणको अभ्यासमा मूर्त रूप लिन बाँकी छ। नेपालमा सिनेमा शिक्षा सुरु भएको एक दशक बढी भई सक्यो। सिनेमाको सैद्धान्तिक बहस विश्वविद्यालयबाट नै सुरु हुने गर्दछ। सिनेमा निर्माणमा सैद्धान्तिक हस्तक्षेप नभइन्जेल सिनेमाको सौन्दर्य र गुणात्मकता अभिवृद्धि सम्भव हुँदैन।