छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !

क्रिसमसको रात चार्ली च्याप्लिनले छोरीलाई लेखेको मर्मस्पर्शी चिठ्ठी

चार्ली च्याप्लिनले आफ्नी नृत्यङ्गना छोरीलाई लेखेको चिठ्ठी निक्कै मार्मिक र विश्वविख्यात छ । उक्त चिठ्ठीमा उनले लेखेका छन्– म सत्ताको विरुद्ध जोकर रहें, तिमी पनि गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज, मानिस बन, मानिसहरुलाई बुझ, जीवनमा मानवताका लागि केही गरेर जाऊ, अरुबाट परिचालित हुने खेलौना बन्न मलाई मन पर्दैन छोरी । मैले सबैलाई हँसाएर रुवाएको छु, तिमी सबै हाँसेर बस्नु । बुढो बुबाले आफ्नी छोरीलाई यस्तै थुप्रै मर्मस्पर्शी कुराहरु लेखेका छन् ।

मेरी प्यारी छोरी,

रातको समय छ । क्रिसमसको रात । मेरो यस सानो घरका सबै लडाकाहरु सुतिसकेका छन् । तिम्रा भाइबहिनीहरु पनि निद्राको काखमा छन् । तिम्री आमा पनि सुतिसकेकी छिन् । म आधा जागेको छु, कोठामा मधुरो प्रकाश छ ।

तिमी मबाट जति नै टाढा किन नहोऊ, विश्वास गर, कुनै पनि दिन तिम्रो अनुहार मेरो आँखाको सामुन्ने छैन भने म त्यो दिन अन्धा बन्न चाहन्छु । तिम्रो फोटो त्यहाँ त्यो मेजमा छ र यहाँ मेरो मुटुमा पनि, तर तिमी कहाँ छौ ? त्यहाँ सपना जस्तो भव्य शहर पेरिसमा ! च्याम्पस एलिससको शानदार मञ्चमा नृत्य गरिरहेकी छौ । यो रातको सुनसानमा म तिम्रा कदमको आहट सुन्न सक्छु । शरद ऋतुको आकाशमा टिम्टिम्याइरहेका ताराहरुको चमक म तिम्रो आँखामा देख्न सक्छु । यस्तो लावण्य र यति सुन्दर नृत्य ! ताराहरु बन र चम्किरहौ ! तर दर्शकहरुको उत्साह र तिनीहरुको प्रशंसाले तिमीलाई मदहोश बनाइदिन्छ या तिनीहरुबाट उपहारमा प्राप्त फूलको सुगन्धले तिमीलाई मताइदिन्छ भने चुपचाप एउटा कुनामा बसेर मेरो चिठ्ठी पढ्दै आफ्नो मनको आवाज सुन्नु है !

दर्शकहरुको उत्साह र तिनीहरुको प्रशंसाले तिमीलाई मदहोश बनाइदिन्छ या तिनीहरुबाट उपहारमा प्राप्त फूलको सुगन्धले तिमीलाई मताइदिन्छ भने चुपचाप एउटा कुनामा बसेर मेरो चिठ्ठी पढ्दै आफ्नो मनको आवाज सुन्नु है !

... म तिम्रा पिता, जिरल्डाइन !

म चार्ली, चार्ली च्याप्लिन !

के तिमीलाई थाहा छ, जब तिमी सानी बच्ची थियौ, म रातभरि तिम्रो सिरानीतिर बसेर तिमीलाई निद्रा सुन्दरी (स्लिपिङ व्यूटी) को कहानी सुनाउने गर्थें । म तिम्रा सपनाका साक्षी हुँ । मैले तिम्रो भविष्य देखेको छु, मञ्चमा नाचिरहेकी एक केटी, मानौं आकाशमा उडिरहेकी परी । मानिसहरुको करतल ध्वनिका बीच उनीहरुको प्रशंसाका यी शब्दहरु सुनेको छु– त्यो केटीलाई हेर ! उनी एक बूढा जोकरकी छोरी हुन्, याद छ उसको नाम चार्ली थियो ।

...हो ! म चार्ली हुँ ! बूढा जोकर !

अब तिम्रो पालो हो । नाँच ! म फाटेको पाइन्ट लगाएर नाच्ने गर्थें र मेरी राजकुमारी ! तिमी रेशमको सुन्दर पोशाकमा नाच्छौ । यो नृत्य र यी स्याब्बासीहरु तिमीलाई सातौं आसमानमा लग्नका लागि सक्षम छ । उड, अझै माथि उड, तर ध्यान राख्नु कि तिम्रो खुट्टाले सधैं जमीनलाई छोइरहोस् । तिमीले मानिसहरुको जिन्दगीलाई नजिकबाट हेर्नुपर्छ । अत्यन्तै चीसो सर्दी र भोकले तड्पिँदै  गल्लीहरु र बजारहरुमा नाच देखाइरहेका नृत्याङ्गनाहरुलाई हेर, म पनि उनीहरु जस्तै जिरल्डाइन थिएँ ! ती जादुले भरिका रातहरुमा म जब तिमीलाई लोरी गाएर सुताउने गर्थे र तिमी निद्रामा डुब्थ्यौ, त्यो समय म जागिरहन्थे । म तिम्रो अनुहारलाई हेरिरहन्थे, तिम्रो हृदयको धड्कनहरुलाई सुन्थें र सोच्थें– चार्ली ! के यी नानीले तिमीलाई कहिल्यै बुझ्न सक्लान् ? तिमी मलाई जान्दैनौ, जिरल्डाइन ! मैले तिमीलाई अनगिन्ती कहानीहरु सुनाएको छु तर उसको कहानी कहिल्यै सुनाइनँ । त्यो कहानी पनि रोचक छ । यो त्यो भोको विदूषकको कहानी हो, जो लण्डनको फोहोरी बस्तीहरुमा नाचगान गरेर आफ्नो रोजीरोटी कमाउने गर्थे । यो मेरो कहानी हो । म जान्दछु, भोको पेट केलाई भनिन्छ ! म  जान्दछु कि टाउको लुकाउने छत नहुनुको पीडा के हुन्छ ! मैले देखेको छु, मद्दतका लागि फ्ँयाकिएका सिक्काहरुले उसको आत्मसम्मानलाई छियाछिया पारिदिइरहेको तर फेरि पनि म जीवितै छु, यसकारण यो कुरालाई अहिले यही छाडिदिन्छु ।

मेरी राजकुमारी ! तिमी रेशमको सुन्दर पोशाकमा नाच्छौ । यो नृत्य र यी स्याब्बासीहरु तिमीलाई सातौं आसमानमा लग्नका लागि सक्षम छ । उड, अझै माथि उड, तर ध्यान राख्नु कि तिम्रो खुट्टाले सधैं जमीनलाई छोइरहोस् ।

...तिम्रो बारेमा नै कुरा गर्नु उचित होला !

तिम्रो नाम जिरल्डाइनको पछाडि मेरो नाम आउँछ च्याप्लिन ! यस नामका साथ मैले चालीस वर्षभन्दा बढी समय मानिसहरुलाई मनोरञ्जन प्रदान गरें । तर हाँस्नुभन्दा बढी म रोएको छु । जुन दुनियाँमा तिमी रहन्छौं जिरल्डाइन, त्यहाँ नाचगान मात्रै छैन ।

आधा रातपछि तिमी थिएटरबाट बाहिर आउँदा तिमी आफ्नो धनी र सम्पन्न तिमीलाई चाहनेवालाहरुलाई त बिर्सन सक्छौ तर जुन ट्याक्सीमा बसेर तिमी आफ्नो घरसम्म आउँछौ, त्यो ट्याक्सी ड्राइभरलाई उनकी पत्नीका बारेमा सोध्न कदापि नभुल्नु ! र, यदि उनी गर्भवती छिन् भने उनका जन्मने वाला सन्तानका लागि कपडा– डाइपरहरु किन्न उनीसँग पैसा छ कि छैन भन्ने सोध्न पनि नभुल्नु ! उसको खल्तीमा केही पैसा हालिदिन नभुल्नु ! मैले तिमीलाई खर्च गर्नका लागि बैंकमा पैसा सञ्चिति गरिदिएको छु, राम्रो सोचविचार गरेर खर्च गर्नु ।

...कहिले काहीँ बसहरुमा यात्रा गर्नु, सव–वेहरु तिर डुल्नु, कहिले काहीँ पैदल हिँडेर शहर घुम्नु । मानिसहरुलाई ध्यानपूर्वक नियाल्नु, विधुवाहरु र अनाथहरुलाई दयादृष्टि राख्नु । कमसेकम दिनमा एक पटक आफूले आफैलाई यो अवश्य पनि भन्नु कि म पनि उनीहरु जस्तै हुँ !

हो, तिमी पनि उनीहरुमध्येकै एक हौ ।

https://i.pinimg.com

...कहिले काहीँ बसहरुमा यात्रा गर्नु, सव–वेहरु तिर डुल्नु, कहिले काहीँ पैदल हिँडेर शहर घुम्नु । मानिसहरुलाई ध्यानपूर्वक नियाल्नु, विधुवाहरु र अनाथहरुलाई दयादृष्टि राख्नु । कमसेकम दिनमा एक पटक आफूले आफैलाई यो अवश्य पनि भन्नु कि म पनि उनीहरु जस्तै हुँ !

मेरी प्यारी छोरी! कलाले कुनै कलाकारलाई पखेटा लगाइदिनुपूर्व माथि माथि उड्न सिकोस् भनेर उनको खुट्टालाई रक्ताम्मे अवश्य बनाइदिन्छ । तिमीलाई आफ्नो दर्शकहरुभन्दा महत्वपूर्ण हुँ भन्ने कुरा कुनै दिन लाग्न थाल्यो भने त्यसै दिन मञ्च छोडेर भाग्नु, ट्याक्सी चढ्नु र पेरिसको कुनै पनि कुनामा जानु । मलाई थाहा छ, त्यहाँ तिमीले आफू जस्तै अनगिन्ती नृत्याङ्गनाहरु फेला पार्नेछौ, तिमीभन्दा पनि बढी सुन्दर र प्रतिभावानहरु । फरक यति हो कि उनीहरुसँग थिएटरको चकाचौध र चम्किलो प्रकाश छैन । उनीहरुको सर्चलाइट चन्द्रमा हो ! राम्ररी नियाल त ! तिनीहरु तिमीभन्दा राम्रो नृत्य गर्दैनन् र ! सधैं कोही न कोही आफूभन्दा राम्रो हुने गर्छन्, त्यसलाई स्वीकार्नु । अगाडि बढिरहनु र निरन्तर सिकिरहनु नै त कला हो ।

र, सधैं याद गर, चार्ली परिवारमा ट्याक्सी ड्राइभरलाई अश्लील शब्द बाेलेर गाली गर्ने वा नदीका किनारमा बसिरहेका भिखारीहरुलाई हेरेर हाँस्ने अभद्र मानिस पैदा भएका छैनन् ।

...म मर्छु, तिमी जीवित रहनेछौ । म चाहन्छु तिमीलाई कहिल्यै पनि गरिबीको अनुभूति नहोस् । यो पत्रका साथ म तिमीलाई चेकबुक पनि पठाइरहेको छु ताकि तिमीले आफ्नो इच्छाअनुसार खर्च गर्नु सक । तर दुई सिक्का खर्च गरिसकेपछि यो सोच्नु कि तिमीले समातेको तेस्रो सिक्का तिम्रो होइन, यो त्यो अज्ञात व्यक्तिको हो, जसलाई यो सिक्काको अत्यन्तै खाँचो छ । त्यस्तो मानिस तिमी सजिलै खोज्न सक्छौ, खालि चिन्नका लागि एउटा दृष्टिको जरुरत छ । म पैसाको कुरा यसकारण गरिरहेको छु किनकि म यस राक्षसको ताकत जान्दछु ।

...हुन सक्छ कि कुनै दिन कुनै राजकुमार तिमीप्रति आशक्त हुनेछ । आफ्नो सुन्दर मुटुको सौदा बाहिरी चमकदमक हेरेर मात्रै नगर्नु । याद गर्नु – सबैभन्दा ठूलो हीरा त सूर्य हो जो सबैका लागि चम्कने गर्छ । हो, जब तिमीले कसैसँग प्रेम गर्न थालेको समय आउँछ त उसलाई पूरै मुटुबाटै प्रेम गर्नु । मैले तिम्री आमालाई यस विषयमा तिमीलाई लेख्न भनेको थिएँ । उनी प्रेमका बारेमा मभन्दा बढी जान्दछिन् ।

https://i.pinimg.com

तिम्रा धमनीहरुमा मेरो रगत प्रवाहित छ । जब मेरा धमनीहरुमा बग्ने रगत जम्नेछ त्यसबेला तिम्रा धमनीहरुमा बग्ने रगतले तिमीलाई मेरो याद दिलाउने छ ।

...मलाई थाहा छ, तिम्रो काम कठिन छ । तिम्रो शरीर रेशमी कपडाले ढाकिएको छ तर कला त खुलेपछि मात्रै सामुन्ने आउँछ । म बूढा भएँ । हुन सक्छ, मेरा शब्दहरु तिमीलाई हास्यास्पद पनि लाग्न सक्छ तर मेरो विचारमा तिम्रो अनावृत शरीरको हकदार त्यही हुन सक्छ जो तिम्रो अनावृत आत्माको सच्चालाई सम्मान गर्ने सामर्थ्य राख्छ ।

... म यो पनि जान्दछु कि एक पिता र उसको सन्तानको बीच् सदैव अन्तहीन तनाव बनिसरहन्छ तर विश्वास गर, मलाई अत्यधिक आज्ञाकारी बच्चा मन पर्दैन । म वास्तवमै चाहन्छु कि यस क्रिसमसको रात कुनै चमत्कार होस् ताकि म जे भन्न चाहन्छु, ती सबै तिमीले राम्रोसँग बुझ्न सक ।

...चार्ली अब बूढा भइसकेका छन्, जिरल्डाइन ! ढिलोचाँडो शोकको कालो कपडामा तिमी मेरो लाश गाडिएको स्थानमा आउनै पर्छ । म तिमीलाई विचलित गर्न चाहन्न तर समय–समयमा आफू स्वयंलाई ऐनामा हेर्नु, त्यसमा तिमी मेरो प्रतिविम्ब देख्नेछौ । तिम्रा धमनीहरुमा मेरो रगत प्रवाहित छ । जब मेरा धमनीहरुमा बग्ने रगत जम्नेछ त्यसबेला तिम्रा धमनीहरुमा बग्ने रगतले तिमीलाई मेरो याद दिलाउने छ । याद गर, तिम्रो पिता कोही देवदूत होइन, कोही जिनियस होइन, ऊ त जिन्दगीभरि एउटा मानिस बन्ने कोशिश गरिरहे । तिमी पनि यही कोशिश गर्नु ।

असीम मायाका साथ,

चार्ली,  क्रिसमस, १९६५

 

https://n-nelson.comबाट अनुदित । Title Photo: https://wallsdesk.com

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।